डिस्कभरीले नेपालका जंगली हात्तीको गणना गर्ने
टेलिभिजन च्यानल डिस्कभरीले नेपालका जंगली हात्तीकोे गणना र शरीरका अंगहरूको आकार अध्ययन गर्ने भएको छ । त्यसका लागि उक्त टेलिभिजन च्यानलको प्रमुख साझेदार ‘डिस्कभरी इनिसियटिभ्स’ ले यसै साता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अनुमति लिएको हो । ‘डिस्कभरी इनिसियटिभ्स ट्राभल टु प्रोटेक्ट’ ले सन् २०१० मा बर्दिया राष्ट्रि्रय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा अध्ययन गर्नेछ । यसले सन् २००१ मा पनि बर्दियामा जंगली गणना गरेको थियो । त्यसक्रममा ६० देखि ७५ वटा हात्ती गणना भएको थियो । डिस्कभरीको गणनापछि सन् २००१ मा भेटिएका हात्तीको अवस्था थाहा पाउन सकिनेछ । गणनामा १६ जना विशेषज्ञ १२ दिनसम्म खटिनेछन् । अध्ययनभर उनीहरू दिनरात जंगलमै बस्ने जानकारी दिएका छन् । हात्तीको अध्ययन गरिरहेका बाबुराम यादवका अनुसार अहिले करिब डेढ सयको हाराहारीमा हात्ती छन् । पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष, चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य बासस्थान हो ।
एसियामै सबैभन्दा ठूलो प्रमाणित भएको बर्दियाको राजागज हात्ती धेरै सयमसम्म नदेखिएकाले मरेको हुनसक्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्ष्ाण विभागले जनाएको छ । ‘हामीले आस मारिसक्यौं,’ विभागका महानिर्देशक श्याम बजिमयले कान्तिपुरलाई भने, ‘बूढो र दुब्लो भएकाले भारततिरको जंगलमा गएर मरेको हुनसक्छ ।’ झन्डै ६४ वर्ष उमेरको राजागज चार वर्षदेखि बर्दियामा देखिएको छैन ।
