July 28, 2009

कुरा झरीको

यतिवेला राजधानी लामो खडेरी पछिको वर्षाले निथु्रक्क भिजेको छ । सडकहरु हेर्दा लाग्छ खोला नै वगेको छ । ठुलो खडेरीपछिको वर्षा भएर होला यसपटकको पानीले ठुलो महत्व पाएको छ । पश्चिमाहरु मौषमका कुरा गर्छन तर हाम्रा कुराका विषय अरु नै हुने गर्थे तर यसपटक लामो खडेरी परेपछि मनशुनलाइ संचारमाध्यमहरुले खुवै चासो दिए । जीवनशैली वनेका संचारमाध्यमहरुको प्रभाव हामीमा नपर्ने कुरै भएन अनि त हाम्रा पनि गफका विषय मनशुन नै भयो ।

भैरहवावाट फोन आएपनि सोध्यो गर्मी कत्तिको छ, कोही धरानवाट अनलाइनमा टुपुल्कीएपनि विषय तातो चिसो कै कोही भेटभएपनि मुखवाट शुरुमै संवोधन कत्ती गर्मी है भन्ने हुन्थ्यो । यस्तैकाबीच चरम खडेरी परेपछि कपिलवस्तु र काभ्रेका किसानले भ्यागुताको विहे गर्न पनि भ्याए । भारतको विहारमा पनि १६ वर्ष पछिको लामो खडेरीवाट आक्रान्त किसानले छोरी वुहारीलाइ नांगै हलो जोत्न लगाए । धन्य हामीकोमा भने त्यसो गर्न परेन ।

कुरा विर्घाको

विर्घापनि खडेरीले गाजीयो शनीवार रातिदेखि परेको पानी रोकिएको छैन । मुख्य खेतहरु मरेगंदा, टारी, अरुवा, खोलाखेत,घांकुर र करंगखेतमा रोपाइ चलिरहेको छ । पानी नपरेपछि रोपाइ गर्न पाइएन अनि किसानहरु संभावित अनिकालवाट त्रस्त थिए । यसैमा आएको पानीले दविल्लो वढेको छ । अरुसाना ठुला खोलाहरुले पनि फुर्ती लगाएका छन ।

पानीको मुल फुटी सकेको त छैन तैपनि कटौदी, राकस्दी, नेवारी कुवा र जरुवाका मुल अली सर्सिएका छन । खोरीयाहरुमा हरियाली छाएको छ । मकैपनि तंग्रीएका छन । मिर्मी विर्घाको वाटोमा जिप चलीरहेका छन । यसपल्ट अली अप्ठेरो ठांउमा ग्राभेल हालीएकाले वाटो त्यती विग्रीन पाएकेा छैन । लाग्छ यो पल्टको दशैमा जानेहरु गाडी मै विर्घा जान पाउने संभावना छ ।

April 20, 2009

कान्तिपुरबाट अलग्गिएकाको नागरिक सुरुवात

 

नेपाल रिपब्लिक मिडियाले आफ्ना दुई राष्ट्रिय दैनिकहरू नागरिक र रिपब्लिका (अंग्रेजी) वैशाख ११ देखि प्रकाशन गर्ने भएको छ। प्रकाशन अध्यक्ष हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले एक विज्ञप्ति जारी गरी यी नयाँ प्रकाशनहरूले सकारात्मक र रचनात्मक पत्रकारिताको नयाँ सुरुवात् गर्ने दृढता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रका प्रतिष्ठित तथा व्यवसायिक पत्रकारहरू र नेपालमा व्यवसायिक दैनिक पत्रिका सुरुवात गर्ने प्रकाशन समूहको यो अद्वितीय सङ्गमले पाठकहरूको चाहना अनुरुप निष्पक्ष, निडर र उत्कृष्ट पत्रकारिताको नयाँ जग बसाल्दै सकारात्मक र रचनात्मक पत्रकारिताको नयाँ सुरुवात गर्ने प्रतिज्ञासहित हामी उपस्थित हुने जानकारी गराउँछौं।’

नागरिकको सम्पादन नारायण वाग्लेले गर्दैछन् भने अंग्रेजी दैनिक रिपब्लिकाका सम्पादक अमित ढकाल छन्। वाग्ले यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए भने ढकाल दी काठमाडौं पोष्टमा समाचार सम्पादकका रुपमा क्रियाशील थिए।

प्रकाशनका अध्यक्ष हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली कान्तिपुर पब्लिकेसन्सको सुरुका दिनदेखि क्रमशः अध्यक्ष र निर्देशकका रुपमा थिए। दुबै गत वर्ष कान्तिपुरबाट अलग्गिएका थिए।

विज्ञप्तिमा नेपाली र अंग्रेजी दैनिकहरू सम्पूर्ण रुपमा बेग्लाबेग्लै परिचय, चरित्र र मिठास लिएर पाठकहरूको समाचार-तृष्णालाई तृप्ति दिलाउँदै एक सम्पूर्ण पत्रिकाका रुपमा बजारमा आउन लागेको उल्लेख गर्दै यस क्षणमा आफूहरू हामीलाई व्यवसायिक प्रकाशक र पत्रकारहरूको बलियो समूहको रुपमा पहिल्यैदेखि नै चिन्ने, पढ्ने र रुचाउने सम्पूर्ण पाठकहरूको माया र विश्वासको डोरी पुनः जोडिने विश्वास व्यक्त गरिएको छ।
‘सम्पूर्ण पाठकहरूको विश्वास र भरोसाको एक भरपर्दो सेतु बन्दै चाँडै नै यी प्रकाशनहरू देशको पत्रकारिता क्षेत्रमा एक उज्वल नक्षत्र भएर स्थापित हुने दृढ विश्वास यस प्रकाशनले लिएको सबैमा जानकारी गराउँछौं’, विज्ञप्तिमा उल्लेख छ।

March 24, 2009

माओवादी सुध्रिए कांग्रेस सरकारमा

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस तत्काल सरकारमा जाने सम्भावना नरहेपनि माओवादी सच्चिए पुनविचार गर्न सकिने बताएका छन् ।  गृहनगर विराटनगरमा संचारकर्मीसंग बोल्दै आफ्नो दल सरकारमा जाने नजाने माओवादी व्यवहारमा निर्भर रहने बताएका हुन् ।

more माओवादीले अराजक व्यवहार कायमै राखेको भन्दै विगतको सहमति पनि कार्यान्वयन नगरेको बताए । । उनले भने, कांग्रेस अहिले सरकारमा जाने वातावरण बनेको छैन । माओवादी सच्चिएर विगतको सहमति कार्यान्वयन गर्छ भने विचार गर्नसकिन्छ ।

मोरड.का दुइवटा क्षेत्रमा संविधानसभा उपनिर्वाचनको प्रचारप्रसाका क्रममा आएका उनले कसैसंग सम्झौता नगर्ने स्पष्ट पारे । कांग्रेस जनताको चाहनाअनुसार अगाडि बढ्ने पार्टी भएको बताए । कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले आफ्नो दल कुनै हालतमा सरकारमा नजाने बताइरहदा सभापति कोइरालाले लचकताका साथ अभिव्यक्ति दिएका हुन् । कोइरालाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र सरकारमा जाने नजाने दुइवटा लवि देखिएको छ ।

November 16, 2008

मैले राजा भेटेको हुँ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार साँझ पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको स्वीकार गरेका छन् । उनले शुक्रबार हेटौंडामा राप्रपा नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा ज्ञानेन्द्रलाई भेटेको स्वीकार गरेका हुन् ।  उनले पूर्वराजासँग नभेटेको र आफू हेटौंडा रहेको बताएका थिए ।

 ’मैले पूर्वराजालाई भेटेको हुँ, भेटमा भएको कुरा भन्न मिल्दैन,’ थापाले भने । बिहीबार बिहान हेटौंडा आइपुगेका थापाले पूर्वराजासँगको भेट सामाजिक शिष्टाचार मात्र भएको बताए । ‘प्रधानमन्त्री, विभिन्न पार्टीका नेता र तपाईं पत्रकारलाई भेटेजस्तै उनीसँग भेट्नु पनि सामान्य हो, जुन सधैं हुन्छ,’ उनले भने । पूर्वराजा ज्ञानेन्द्र राजतन्त्र छोडेर माओवादीसँग सहकार्य गर्नसक्ने तर आफूले राप्रपा नेपालको सिद्धान्त छोड्न नसक्ने दाबी गरे ।

October 21, 2008

उच्चस्तरीय राजनीतिक संयन्त्रमा नेपाल

 

सरकार संचालनका लागि गठन हुने उच्चस्तरीय राजनीतिक संयन्त्रमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नाम प्रस्ताव गरिएको छ । ४ कात्तिकमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई एमाले महासचिव झलनाथ खनालले नेपालको नाम प्रस्ताव गरेका हुन् ।

नेपालको नाममा माओवादी सकारात्मक देखिएको छ । त्यसबारे सरकारमा सहभागी अन्य दलबीच पनि छलफल हुने बताइएको छ । संयन्त्र ५ कात्तिकमै गठन भई काम थालिने बुझिएको छ । दुइ दलका शिर्ष नेताबीच सेना समायोजनका विशेष समिति गठन गर्ने सहमति पनि भएको छ ।

September 19, 2008

यादवलाई सरकारबाट फिर्ता बोलाउने निर्णय

 

नेकपा माओवादी सचिवालय बैठकले भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाइएका मातृका यादवलाई फिर्ता बोलाउने निर्णय गरेको छ । ३ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई आत्मालोचनासहित राजीनामा दिन भनेको सचिवालय सदस्य वर्षमान पुन अनन्तले बताए ।

अनन्तका अनुसार मातृका यादवले संयुक्त सरकारको संस्कृति विपरित सरकारमा सहभागी मन्त्रीहरुलाई गालीगलौज गरेको भन्दै कारबाहीको निर्णय गरेको हो । स्रोतका अनुसार बैठकमा यादवको चर्को आलोचना भएको थियो । उनले सिराहामा जग्गा कब्जा गर्न जाने शैलीलाई पनि गलत ठहर्‍याएको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराएका थिए । बैठकले भ्रमण उपलब्धिमूलक र सफल भएको निष्कर्ष निकाल्दै आसन्न संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका जाने तयारीबारे पनि छलफल गरेको छ ।

September 17, 2008

मन्त्री यादवद्वारा मालपोतका कागजपत्र नियन्त्रणमा

भूमिसुधार तथा व्यवस्था मन्त्री मातृका यादवले मालपोत कार्यालयमा छड्के गरी कर्मचारी हाजरी पुस्तिका र केही कागजातहरु नियन्त्रणमा लिएका छन् ।
आफ्ना मातहतका कार्यालयहरुमा छड्के गर्दै मालपोत कार्यालय साढे ११ बजे पुगेका मन्त्री यादवले कार्यालयमा पियनबाहेकको कर्मचारी उपस्थित नभएको र हाजिरी पुस्तिकामा हाजिरसमेत नगरेको देखेपछि उनले हाजिरी पुस्तिका, रजिष्ट्ररलगायतका कागजपत्र नियन्त्रणमा लिएका हुन् । पियनलाई कर्मचारीहरु उपस्थित भएपछि आफूसँग सर्म्पर्क गर्न भन्दै उनी फर्किएका थिए ।

छड्केकै क्रममा भूमिसुधार, नापी शाखालगायतका कार्यालयसमेत पुगेका मन्त्री यादवले आम नागरिकको कामकाज सहजरुपमा निष्पक्ष तरीकाले गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

August 21, 2008

मन्त्रालय बांडफांडको टुंगो

 तीन दलबीच मन्त्रालय बांडफांडको टुंगो लागेको छ । नेकपा माओवादी, नेकपा एमाले र मधेशी जनअधिकार फोरमबीच भएको सहमति अनुसार माओवादीले रक्षा, अर्थसहित ९ मन्त्रालय सम्हाल्नेछ ।

नेकपा एमालेले उपप्रधानमन्त्रीसहित गृह, जलस्रोत, वन, स्थानीय विकास, युवा तथा खेलकूद र उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनेभएको छ । मधेशी जनअधिकार फोरमले उपप्रधानमन्त्रीसहित परराष्ट्र, सूचना तथा संचार, कृषि र आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । कुरा मिलाउन शिक्षा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राइएको छ । साना दलहरुमा नेकपा मालेलाई भूमिसुधार, जनमोर्चा नेपाललाई स्वास्थ्य मन्त्रालय दिने टुंगो लगाइएको स्रोतले बतायो ।

June 3, 2008

पूर्व राजा दल खोल्न र राजनीति गर्न पाउँछन् - प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीति तथा व्यापार गर्ने अवसर दिइने बताउनुभएको छ । जापानको योमरी अनलाइनलाई प्रचण्डले दिनुभएको अन्तर्वार्तामा पूर्व राजा ज्ञानेन्द्रले राजनीतिक दल खोल्ने र चुनावमा भाग लिने अधिकार सरकारले दिने बताउनुभएको छ ।

 उहाँले पुर्व राजाले पनि देशलाई अगाडि बढाउन सहयोग गर्नुपर्ने बताउनुभएको छ । अन्तर्वार्तामा प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रले जनमतलाई सम्मान गर्ने संकेत देखाएको उल्लेख गर्नुभएको छ ।

प्रचण्डले संविधानसभामा कसैको बहुमत नभएका कारण मिलेर जानुपर्ने बताउँदै आगामी एक साताभित्र आफू प्रधानमन्त्री अथवा राष्ट्रपति के हुने भन्ने टुङ्गो लाग्ने कुरा बताउनुभएको छ । प्रचण्डलले माओवादी जडसूत्रवादी कम्युनिष्ट नभएकोले अमेरिकाको दृष्टिकोण परिवर्तन हुने संकेत पाएको

May 5, 2008

पत्रकार महासंघको अध्यक्षमा धर्मेन्द्र झा, निर्वतमान अध्यक्षद्वारा राजीनामा

नेपाल पत्रकार महासंघको २७ सदस्यीय केन्द्रीय कार्यसमितिको चौविस पदको लागि हिजो भएको मतदानको परिणाम अहिले विहान प्रकाशित भएको छ । परिणाम अनुसार धर्मेन्द्र झा आगामी ३ बर्षका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा गोविन्द आचार्य, महासचिवमा पोषण केसी, सचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रमेश विष्ट निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा जगत नेपाल, उजीर मगर, शम्भू झा, किशोर कुमार कार्की, शीतल शाह, प्रताप विष्ट, रविन्द्र बाँस्तोला, पुण्य पौडेल, प्रेम केसी, जनक नेपाल, मनमोहन स्वाँर, छत्र साउद, यशोदा तिम्सिना, उमीद बागचन्द, महेश दाश, राजकुमार दिक्पाल, भरत शाक्य, शरदराज गौतम र अजय फुँयाल निर्वाचित हुनुभएको छ । नवनिर्वाचित केन्द्रीय समितिलाई आज दिउँसो नै निवर्तमान केन्द्रीय समितिले कार्यभार हस्तान्तरण गर्नेछ ।

नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विष्णु निष्ठुरीले पत्रकार महासंघको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको छ । आज महासंघको नयाँ नेतृत्व चयन भएपछि उहाँले साधारण सदस्यबाट राजीनामा दिनुभएको हो ।

अस्ति सुरु भएको पत्रकार महासंघको अधिवेशनको बन्दसत्रमा हिसाबकिताब दुरुपयोग भएको भन्दै सभासदहरुले व्यापक होहल्ला गरेका थिए । प्रष्ठ हिसाब देखाउन माग गर्दै बन्दसत्रमा होहल्ला भएपछि बन्दसत्र नै स्थगित गर्नुपरेको थियो । पछि हिसाबकिताब छानविन गर्न एक छानविन समिति निर्माण गरेपछि मात्र बन्दसत्र सूचारु भएको थियो । निवर्तमान अध्यक्ष निष्ठुरीले छानविन समितिलाई आफ्नो काम गर्न सजिलो होस् भन्नाको लागि आफूले सदस्यबाट राजीनामा दिएको बताउनुभएको छ । आफ्नो राजीनामा छानविन प्रक्रिया समाप्त नहुन्जेलसम्मको लागि मात्र भएको पनि निष्ठुरीले जनाउनुभएको छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com