July 24, 2009

ज्ञान तिम्रो मित्र हो : शिवपुरी बाबा

राजा महेन्द्रको राज्याभिषेकमा नेपाल आएका महान दार्शनिक तथा भारतका राष्ट्रपति डा. सर्भपल्ली राधाकृष्णन् विमानस्थलबाट सिधै शिवपुरी बाबा समक्ष पुगे र सोधे, "तपाईँको शिक्षाको सार के हो ?" बाबाले भने " म तीनवटा अनुशासन सिकाउँछु… आध्यात्मिक, नैतिक र शारीरिक।" अनि डा. राधाकृष्णन् सोधे ,"समग्र सत्य यति थोरै शब्दमा?" बाबाले भने, "हो।"
शिवपुरी बाबाका शिक्षाका ति तीन अनुशासनलाई व्याख्‍या गर्न डा. राधाकृष्णन्‌जस्ता दार्शनिकलाई नै पन्ध्र मिनेटभन्दा बढी समय लागेको थियो। सन् १८२६ मा केरलाको नम्बोद्री बाहुन परिवारमा जन्मेका शिवपुरी बाबाले सारा संसारको भ्रमण गरेपछि अन्त्यमा काठमाडौँलाई आफ्नो घर बनाएका थिए।

 उनको शिक्षाका बारेमा लेखिएको पुस्तक "लङ पिल्ग्रिमेज" का लेखक जे. जी. बेनेटले सन् १९६१ मा भेटदा बाबा १३५ वर्षका भइसकेका थिए। "मेरो बारेमा होइन मेरो शिक्षाका बारेमा लेख " भन्ने शिवपुरी बाबाले सन् १९६३ को जनवरीमा समाधि लिए। शिक्षा क्षेत्रमा लागेकाहरूलाई फाइदा पुग्ने मनसायले शिवपुरी बाबाका शिक्षा र अनुशासनसम्बन्धी विचारहरूलाई यहाँ समेटिएको छ।
सशक्त मष्तिष्कका लागि नैतिक अनुशासन आवश्यक छ र त्यससँगै कर्तव्य र उपासना। सही जीवन बाँच, परमात्माको आराधना गर, यो नै पर्याप्त छ, यसभन्दा बढी केहि गर्न पर्दैन।परमात्मामा विश्वास गर्छौ भने तिमीले परमात्मालाई नै खोज्नु पर्छ, तर तिमी केहीमा पनि विश्वास गर्दैनौ भने पनि यो देखिने संसारको पछाडि कुनै अर्थ होला भन्ने तिमीलाई लाग्न सक्छ। तिमीले त्यो अर्थ खोज्नै पर्छ र त्यसलाई बुझ्नु पर्छ।
परमात्माले तिमीसँगै ज्ञानलाई पठाएका छन्। ज्ञान तिम्रो मित्र हो। ज्ञानले चाहनासँग अवैधानिक सम्पर्क गरेर दिमागलाई जन्म दियो। दिमागले चन्चलतासँग विवाह गरेर पाँच इन्द्रियहरूलाई जन्म दियो । दिमागले फेरि आशासँग अर्को विवाह गर्‍यो र रिस र लोभ नामक दुइ छोरा जन्मायो। यसरी एउटा परिवार बन्यो र तिम्रो शरिरभीत्र बस्यो। ज्ञान र चाहना बीचको चलखेल अविद्या हो। समय समयमा दिमागले पाँच इन्द्रिय मार्फत त्रास र चिन्ताको अनुभव गर्छ अनि हडबडाउँछ र आफ्नी आमा ज्ञानसँग सहयोग माग्छ। त्यसपछि ज्ञान तिमी अर्थात आत्मासँग परामर्श लिन आउँछ आत्माले आफ्ना परिवार त्याग्न र आत्मामै समाहित हुन भन्छ। आत्मामा ज्ञान समाहित हुनुलाई नै बोध भनिन्छ।
मानिसका तीन खालका कर्त्तव्य हुन्छन् : शारीरिक, नैतिक र आध्यात्मिक। शारीरिक कर्त्तव्यमा जन्म लिनुका दायित्व पूरा गर्ने, बाँच्नका लागि कमाउने, संसारमा आफू र आफ्नो क्षमतालाई स्थापित गर्ने, आफू प्रति आश्रितहरूको हेरविचार गर्ने आदि पर्छन। नैतिक कर्त्तव्यमा आफू प्रतिको दायित्वप्रति सधै सजग रहने र चौबीसै घण्टा सत्यको खोजी गर्ने पर्छ भने आध्यात्मिक कर्त्तव्यमा परमात्माको आराधना।

तर यो पछि नै गरिनु पर्छ सबैभन्दा अगाडी त पहिला दुइ कर्त्तव्यमा ध्यान दिनु पर्छ। यी दुइ कर्त्तव्यबाट कहिल्यै पनि ध्यान हटाउनु हुँदैन। एक मिनेट मात्रै पनि यी दुइ कर्त्तव्यबाट ध्यान हटायो भने तिम्रो दिमागमा अनेकन अनुरागहरूले आक्रमण गर्न थाल्दछ। यस्ता अनुरागहरूलाई बाहिरै राख्‍न पनि सजिलै छ।तिम्रो घरमा अनेकन मानिस आउँछन्, तिमी तिनलाई चियाआदि दिएर स्वागत गर्छौ। तिनिहरू फेरि आउछन् किनकी तिनिहरूलाई तिमीले स्वागत गर्छौ भन्ने थाहा छ। तर तिमीले तिनलाई स्वागत नै गरेनौ भने तिनीहरूले तिमीलाई छोड्छन् र अन्यत्रै जान्छन्।यहाँ मेरो घरमा जस्तै। यहाँ वरपर काँडेतार लगाइएको छ मैले भीत्र आउन दिनेहरू मात्र भीत्र आउन पाउँछन्।तिमी पनि तिम्रो दिमागको वरपर काँडेतार लगाउ । शरिरका अनेकन आवश्यकताहरू हुन्छन्।

शरिरका हरेक अङ्गका सहि गतिविधिका बारेमा तिमीले थाहा पाउनु पर्छ। ति सहि गतिविधिको छनौट गर्नु पर्छ र बिना कुनै निर्देश वा भूल तिनलाई कार्यान्वयन गर्दै जानु पर्छ।अर्को कुरा दिमाग हो। दिमागमा भावनाहरूले राज्य गर्छन् तर दिमागमा तर्कको राज्य हुनु पर्छ।दिमागमा शान्ति हुनुपर्छ। एउटा कर्त्तव्य आफ्नो शरिर प्रति हुन्छ अर्को घर प्रति हुन्छ, कर्त्तव्य समाजप्रति पनि हुन्छ र कर्त्तव्य समग्र राष्ट्रका प्रति पनि हुन्छ। अर्को कर्त्तव्यचाहिँ व्यवसायिक जीवनको हुन्छ। कर्त्तव्यहरूको पालनाका लागि सबैले धन कमाउनु नै पर्छ।
कर्त्तव्यको पालना सिकाउने काम शिक्षक र अभिभावक दुवैको हो।दुवैले त्यसै अनुसार तयारी गर्नु पर्छ। बालबालिकालाई पाँच वर्षको उमेर देखिनै कर्त्तव्य पालनाका शिक्षा दिइनु पर्छ, उनीहरूको दिमागले कारणहरू सोच्न थाल्नुभन्दा अगाडी देखिनै।
शरिर प्रतिको कर्त्तव्यको पालना शरिरको आवश्यकताको अध्ययन गरेर गर्नु पर्छ।खाने काम पनि शरिरलाई ठिक ठाउँमा राख्‍नका लागि मात्र हुनु पर्छ।यसैगरी सुत्‍ने हेर्ने छुने दिसापिसाव गर्ने आदि सबै कर्त्तव्यको पालना शरिरलाई ठिक ठाउँमा राख्‍नका लागि तोकिएको समयमा र बिना कुनै गल्ती गरिनु पर्छ।यी सबै कुरा बालबालिकालाई सिकाइनु पर्छ। उनीहरूलाई यी सबै कुरा स्पष्ट पार्नु पर्छ र उनीहरूले गल्ति गरे भने तिमीले त्यो गल्ती औल्याउनु पर्छ।
यस्ता कुरा अभ्यासमा भर पर्छ। मैले तिमीलाई चिया बनाउन भने । तिमीले बनायौ तर त्यसमा गल्ति भएको हुन सक्छ र सहि स्वाद नआएको हुन सक्छ। चिनि धेरै भएको हुन सक्छ, रङ्‌ग कडा भएको हुनसक्छ।आज गल्ती पत्ता लगाउ समाधान भोलि हुन्छ। भोली तिमीले फेरि गल्ति गर्न सक्छौ पर्सि समाधान निक्लन्छ । यसैले एउटा कुरालाई लामो समयसम्म नियमित अभ्यास गर्दै गए पछि तिमीले सहि स्वाद पाउछौ र तिमी त्यसैलाई निरन्तरता दिन सक्छौ।यसरी नै तिमीले आफ्ना कर्त्तव्यको अध्ययन गर्नु पर्छ । जबसम्म सहि उत्तर पाइदैन हामीले काम दोहराउदै जानुपर्छ, हिजोका गल्तीहरूलाई आज सुधार गर्दै जानु पर्छ ।
तिमी कति चाहन्छौ भन्ने कुरा पहिल्यै निधो गर। कति साथी चाहिन्छ, कति मानिसलाई भेट्नु पर्छ, परिवारसँग बाँच्नका लागि कति कमाउनु पर्छ, राजनीति पत्रकारिताजस्ता विषयमा सोच्न र कुरा गर्न कति समय दिनु पर्छ, कति खाने कति पिउने र कति मनोरञ्जन तिमीलाई चाहिन्छ ति सबैको पहिले नै निधो गर र त्यस अनुरूप नै आफूलाई ढाल। आफूले तोकेको सीमाभन्दा बढी कहिल्यै जान नदेउ।
सत्यको अनुभूति गर्न जीवनलाई त्याग्नु पर्छ तर जीवनलाई त्याग्नुको अर्थ जङ्गल तिर वा गुफामा जानुमात्र होइन। बुद्धले पनि बोधिसत्व प्राप्ति पछि त्यसो गर्न आवश्यक नभएको वताएका छन्। सहि जीवन बाँच्ने हो भने घरमै बसेर पनि सत्यको अनुभूति गर्न सकिन्छ। जीवन त्याग गर्नु भनेको नाम, ख्‍याति र मनोरञ्जनका चाहनाहरूलाई त्याग्नु हो।
दृढ सङ्‌कल्प
समुन्द्रको किनारामा एउटा बदाम जत्रो सानो चरा बस्थ्यो। समुन्द्रतटमा उसले फुल पार्थ्यो तर सधै समुन्द्रको छालले उसको फुल बगाइदिन्थ्यो।सधै यस्तो भए पछि त्यो चरो साह्रै रिसायो।आफ्ना फुलहरू फेरि पाउनका लागि उसले समुन्द्र नै सुकाउने योजना बनायो । दृढसङ्‌कल्पका साथ उसले योजना बनायो र समुन्द्रमा आफूलाई भिजाउँदै टाढा गएर आफ्नो जीउबाट पानी फाल्दै सुकाउन थाल्यो। यो काम उसले नियमित र निरन्तर गर्दै गयो।उसको काम देखेर उ जस्तै अर्को चरो आयो के गरेको भनेर सोध्यो। चराले समुन्द्रमूनि रहेका आफ्ना फुल लिनका लागि समुन्द्रनै सुकाउन लागेको वतायो। अर्को चराले पनि आफ्ना फुल लिनका लागि त्यसै गर्न थाल्यो। ति चराहरू एक पछि बढदै हजारौ भए अनि लाखौ र समुन्द्रनै सुक्यो।

(जे. जी. बेनेट र ठाकुरलाल मानन्धरद्वारा लिखित तथा सन् १९६५ मा प्रकाशित "लङ पिल्ग्रिमेज" मा आधारित)

March 9, 2008

अलविदा प्रकाश सर

वनेपाका एक सज्जन प्रकाश शाक्यको यसै हप्ता दुखद देहावसान भएको छ । काभ्रे वहुमुखी क्याम्पसका साहायक क्याम्पस प्रमुख समेत रहेका प्रकाश सर कलेजका प्रशासक भन्दा वढि एक सज्जन हुनु हुन्थ्यो । उंहाको देहावसानले वनेपाले एक समाजसेवी, काभ्रे क्याम्पसले एक योग्य प्रशासक र प्राध्यापक राष्ट्रले एक असल नागरिक र मैले व्यक्तिगत रुपमा मलाइ माया गर्ने आदरणीय व्यक्तित्व गुमाएको छु । काम विशेषले यसै हप्ता राजधानी वाहिर रहनु परेकाले यो खवर मेरो कानसम्म ढिलो गरी आइपुग्यो । सोही कलेजकी विद्यार्थी कमला न्यौपानेले मेरो व्लगमा यससम्वन्धी खवर नदेखेपछि खिन्न भएर लेखेको कमेन्ट वक्समा सर हामीले प्रकाश सरलाइ गुमायौ । संभवत राजधानी वाहिर रहेकोले होला तंपाइलाइ यो कुरा थाहा छैन जस्तो छ भनेर दुखका साथ लेखेको त्यो कमेन्ट मैले पुरै पढ्न सकिन ।

प्रकास शाक्य वनेपाजस्तो संकुचित नेवारी समाजवाट अली माथि हुनुहुन्थ्यो । कुनै जमानाका मार्सल आर्टका खेलाडी समेत रहेका प्रकास सर कालक्रममा योग्य व्यवस्थापक मेधावी छात्र र पछिल्लो समय काभ्रे वहुमुखी क्याम्पसका साहायाक क्याम्पस प्रमुख रहनु भएको थियो ।

सरलाइ जे सजिलो लाग्छ- हर केही समस्या लिएर जाने सवैलाइ प्रकास सरको यस्तै मायालु जवाफ हुन्थ्यो । उंहाका यस्तै सहयोगी भावले म पटक पटक कृत कृत भएको छु । कलेजका विद्यार्थी उंहाको मायावाट नतमस्तक थिए । उंहाजस्तो सज्जन व्यक्ति नभएको भए काभ्रे क्याम्पसले यो उचाइ लिन सक्दैनथ्यो होला ।

करिव ४५ वर्षे उमेरका प्रकास सरको गएको २२ गते निधन भयो । आज वेलुका मलाइ कमलाले फोन गरेर जानकारी गराउदा फेरी म वियोगले व्याकुल भएको छु ।

राजधानीवाट वाहिरिनु अघि म प्रकास सरलाइ भेट्न थापाथलीको नर्भिक हस्पिटल पुगेकेा थिए । भेन्टीलेटरमा राखिएका प्रकास सरको हालत अत्यन्त नाजुक थियो । विस्वस्त विवरणहरुका अनुसार प्रकास सरको स्वास्थ्य यति वढि नाजुक हुनुमा चिकित्सकहरुको लापरवाहीको पनि ठुलो हात रहेको थियो । पैसाका लोभी नर्भिकका चिकित्सकले आनावस्यक अप्रेसन र उपचारमा ढिलाइ गरिदिदा सामान्य जन्डिस लागेका प्रकास सरलाइ हामीले समय अगावै गुमाउन पुग्यौ । दैनिक ३६ हजार वेड चार्ज लिने हस्पिटलले समयमै थप उपचारकालागि दिल्ली लैजाने पवरिवारको चाहनामा तगारो हाली दियो । हस्पिटलले वेलैमा जानकारी गराएको भए प्रकास सर संभवत यति छिटै जानुहुन्थेन होला ।

ढिलो चांडो धर्तिमा जन्मिने सवैले विदा लिनुनै छ तैपनि प्रकास सर जस्ता सज्जन व्यत्तिक्तलाइ असमयमै चुडेर लाने मृत्युप्रति मेरो खेद छ । उंहाको तस्विर समेट्ने मेरो योजना प्राविधिक कारण वस सफल भएन । त्यसकालागि क्षमा माग्दै

अलविदा प्रकास सर

September 17, 2007

मादक काठमाण्डौको मातेको सलाम

३१ भदौ, काठमाण्डौ । भदौ निख्रनै  लाग्दा काठमाण्डौको मौषम मादक वन्दै गएको छ । आज वर्षा ऋतुको अन्तिम दिन पनि हो । भोली वाट यो माटोमा शरदले राज गर्ने छ । यसैपनि शरद ऋतुहरुको राजा नै मानिन्छ । हिलो मैलो हट्ने मात्र होइन हरियालीको मनमोहकता पनि यसै माषमा देख्न सकिन्छ । यति वेला पारखीहरुकालागि पनि उपयुक्त समय हो रे मेरा पियक्कड मित्र हरी दाजु भन्छन खेतानको चिसो पक्डेपनि हुने व्लु रिवन्डमा तातो पानी हालेपनि हुने । म चिसोको एलर्जी हुनेका लागि पनि ठिकै हो । अव हट कफीको सिजन शुरु भएको छ । करै गरे कोक फेन्टा लिएपनि हुने नत्र कफीको स्वादले पनि गर्मी नवनाउने यस्तो मौषम वर्ष दिनभरीमा अरुवेला फेला पर्दै पर्दैन ।

म रहेको वुद्धनगरको यो चारा तल्ला माथि मेरी आमाले पुषमा मकै भुट्दा जस्तै आवाज निकालेर कमप्युटरका की वोर्डवाट साथीहरुले आवाज निकाली रहेका छन । म भने यसो कफीको निंहुमा घुम्न पाए हुन्थ्यो भन्दै दाउ हेर्दै छु । यो सिजनमा घाम ढल्कदै गर्दा मोटरवाइकमा गोदावरी सम्म या चोभारसम्म पुगेर कफी लिनुको स्वाद कम अल्हादित हुदैन । यी गुल्जार वस्तीवाट अलिकता मात्र पर पुग्नुको मजा पनि वेग्लै । यतिवेला निला फुल्ने शिरिषहरु हरिया पातहरुले ढाकिएका छन । माटोमा प्रकृतिको वास्ना मिसिएको छ । दशैको हाराहारीले होला खल्तीपनि खासै हलुङगो छैन । मौषम न तातो छ न चिसो नै । जकेटै लगाइदिएपनि गर्मी हुदैन । हाफ सर्टमा हिडेपनि चिसो छैन । घाम घरी लाग्छ घरी घुम्टो लुकाउछ । वादलका फोकाहरु अनेक आकारमा आउदै विलाउदै गरेका छन ।

मित्र रमेशले पोखरावाट फोन गरेर केही खड्केको छ की भन्दा मैले मोटरवाइकको पछिल्लो खाली सिट वाहेक केही पनि खट्केको छैन त्यसै भनेको होइन । के गर्ने मोषमै मादक छ । वमे उर्फ अश्विनले च्याटमा अझैपनि खाली हो – भन्दा कंहा अझैसम्म हुनु यार भनेर गफ लगाउनुमा यही मौषमकै दम छ । भरी हुनेले पनि पुर्ण महसुस गर्दैन खाली हुनेले पनि एक्लो महशुस गर्दैन । मित्र कुमारले सर मंसिरसम्म त हतियार व्यवस्थापन गर्नु पर्छ है भन्दा म जोशिएरै हतियार त क्यान्टोनमेन्टमा थन्किइ सक्यो भनेर यो मौषमको साथ नभएको भए जवाफ दिन सक्दिनथे हुंला ।

दशैको सामान भन्दै तातेपानी नाकावाट कन्टेनरहरु पुरा लोडका साथ काठमाण्डौमा छिरेका छन । सं साझै झरीको डरले घर फिर्नेहरु गुंड विर्सिएर अलि ढिला मुकाम फिर्न लागेका छन । कलेज ड्रेस लगाउनेहरुपनि मिस नेपालको रिहर्सलमा लागे जस्ता देखिएका छन । तीजले शुरु गरेको रातो श्रृंखला तिहारमा नगइ ओझेल पर्ला जस्तो छैन । शाखा अधिकृत विज्ञापनहुन लाग्यो भनेर जीवनको मजा भुलेका पढैयाहरुपनि पर्सीवाट लागु हुन लागेको आचारसंहिता पछि फुर्सदिला वनेका छन ।

यो मादकतामा पर्यटकहरु हुलका हुल काठमाण्डौ छिरेका छन । अव पर्यटक मौषम शूरु भएर होला ठमेलका क्याफेहरुमा खुट्टो हाल्ने ठांउ छैन । यतिवेलाको काठमाण्डौ गोधुलीमा देखिएको यो शान्त तलाउ भन्दा अलि वढि मादक छ । यो मिस गरेका हरुकालागि संझना गर्दै मादक काठमाण्डौको मातेको सलाम ।

September 14, 2007

रोजेका दुखहरु

२८ भदौ, काठमाण्डौ । स्मृतिलाइ वचाइराख कुनै दिन काम आउछ -फ्रान्सेली दार्शनिक ज्या पाँल सार्त्रले भनेका छन । यो कुरा मानव जीवनमा पटक पटक आउदो रहेछ । गएको चैत्र वैशाखमा म मेरो पीएचडी थेसिसकालागि चाहिने प्राइमरी मेटरीयल कलेक्सनकालागि मेरा थेसिस गाइड तथा गुरु प्रा.डा. राजाराम सुवेदीका साथ गण्डकी अन्चलको भ्रमणमा निस्किएको थिए । जगत चहार्न मन पराउने मेरा गुरु र मेरो स्वभाव मिलेर होला हामी काली गण्डकी सभ्यता पत्ता लगाउन नदी किनारवाट उल्टो दिशामा थियौ । देवघाट धाममा एकरात वसेर हामी लाग्यौ काली किनारै किनार ।

मेरा गुरुलाइ धनगढी वहमुखी क्याम्पसले क्याम्पस स्थापनाको ५० वर्ष पुगेका अवसरमा सम्मानकालागि वोलाएको थियो । तैपनि सम्मानका वाटाहरु भन्दा दुखका वाटा उंहालाइ प्रिय लागे । हाम्रो यात्रा ८ दिनकालागि निर्धारित थियो र यस विचमा सवारी साधन पाउने कुनै गुन्जायस पनि थिएन । हामी पैदलै भ्रमण गर्ने पूर्व निर्धारणमा थियौ । हाम्रो यात्रामा कठिनाइहरु थिए । तर ती प्रिय थिए । नरोजेका खुसीहरु भन्दा रोजेका दुखहरु नै हाम्रालागि प्रिय थिए ।

यात्रामा कति दिन खानाको समस्या भयो तै पनि हामी कहिले दही, कहिले केरा त, कहिले भुटेका मकै खादै अगाडी वढ्दै गयौ । यात्रामा अनेक खाले अनुभूतिहरु रहे । यसैगरी पैदलै ७४ जिल्ला भ्रमण गरेका मेरा गुरुलाइ त कमै मात्र नौला अनुभूति भए होलान तर मेरालागि भने यसले सार्है नंया र गतिलो अनुभूति दिएको छ । यस अवसरमा कहिले वासको समस्या कहिले गांसको समस्या । यस्तैमा पनि अनेक दुर्लभ सामाग्री प्राप्य हुदा आंहा गौरवमय आनन्द हुदो रहेछ । यस विचमा मैले लिटरेचर रिभ्यु सकेर पनि दुइवटै सेमिनार पेपर पनि कमिप्लट गरी सके । अव फाइनल थेसिसको टाइम आएको छ । जांगर गरेर लेखे करिव ४ सय पेजको थेसिस आगामी एक वर्षमै पुरा हुने छ । यद्यपि विगतलाइ केलाउदा र पुराना फोटोहरु हेर्दा स्मृतिले घेरेकाले यो नोट लेखे ।

अव फाइनल थेसिस लेख्नु अघि पुन एक पटक फरक रुटवाट १० दिनकालागि फिल्डको यस्तै भिजिट गर्ने मन लागेको छ । यात्रामा साथ दिने गुरु राजाराम सुवेदीले वचन दिइ सक्नु भएको छ । संभवत दशैको नौरथामा यो यात्रा सुरु होला । अवको भिजिट वाग्लुङ, म्याग्दी, स्याङजा, गोर्खा, तनहुं र लमजुङको हुने छ । हेरौ यी अभिलासा हरु पुरा हुन्छन हुदैनन । तपाइहरुको जो माया छ त्यसले पनि उर्जा दिएको छ ।

यो फोटो तंनहुको विकट कोटा गांउ र नवलपरासी सिमानाको हो । काली किनारको यो झरनामा हामी विहानको आठ वजे पुगेका थियौ । यहांवाट कुनै वस्तीमा पुग्न कम्तिमापनि चारघन्टा हिड्नु पर्छ । यसै अवसरको अनुभूति जो तपाइलाइ वांडे ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com