July 27, 2008

थप आन्दोलन गर्नुस्: बादल

माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ खाएको बिरुद्ध बिद्यार्थीहरु आन्दोलित हुनुपर्ने बताएका छन् । माओवादीसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीले राजधानीमा चितवनका सभासदहरुलाई साउन ११ गते गरेको सम्मान कार्यक्रममा बोल्दै बादलले झाले हिन्दी भाषमा सपथ खानु राष्ट्रियतामाथि खतरा भएको उल्लेख गरे । ‘अहिले उनी नेपाली भाषा नै बोल्न आउदै भन्दैछन्, नेपाली बोल्न नआउने मानिसले त्यत्रो वर्ष न्यायसम्पादन कसरी गरे’ बादलले प्रश्न गरे । उपराष्ट्रपति झाले सपथ खाँदा हिन्दी भाषा प्रयोग गरेकोबिरुद्ध सबै प्रमुख राजनीतिक दलसम्बद्ध बिद्यार्थी संगठनहरु संयुक्तरुपमा आन्दोलित छन् भने सर्वोच्च अदालतमा पनि त्यसबिरुद्ध मुद्धा परेको छ ।

कार्यक्रममा बादलले माओवादीलाई सबै शक्तिले घेरावन्दीमा पार्न खोजेको तर, बिस्तारै घेरावन्दीमा पार्ने शक्ति नै घेरामा पर्न सक्ने पनि उल्लेख गरे । बादलले आफ्नो दलसँग शक्ति बाँडफाँडमा कुरा नमिलेपछि मधेसवादी दलहरु नेपाली कांग्रेस र एमालेको गठवन्धनमा सामेल भएको पनि बताए । एमालेसँग समझदारी भंग हुनुमा पनि बादलले शक्ति बाँडफाँड नमिल्नु कारण भएको स्पष्ट पारे ।

July 20, 2008

कांग्रेस, एमाले र फोरमबीच गठवन्धन

राष्ट्रपति तथा उप राष्ट्रपति चुनावका लागि नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीच तालमेल भएको छ । साउन ४ गते सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यलयमा भएको तीन दलको छलफलपछि त्यहाँ उपस्थित संचारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री अर्जुननरसिंह केसीले राष्ट्रपतिमा नेपाली कांग्रेसका डा. रामवरण यादव तथा उप राष्ट्रपतिमा फोरमका परमानन्द झालाई जिताउने तीन दलबीच सहमति भएको जानकारी दिए । केसीका अनुसार, संविधानसभाको अध्यक्षमा एमालेका उमेदवार पूर्व सभामुख सुवास नेम्वाङलाई जिताउने सहमति पनि आजको बैठकले गरेको छ । एमाले केन्द्रीय सदस्य प्रदीप  ज्ञवालीले पनि तीन दलबीच गठवन्धन भएको पुष्टि गरे । संविधानसभा अध्यक्ष र उपाध्यक्षको चुनावको मिति भने तोकिइसकेको छैन ।

५९४ मतदाता रहेको चुनावमा तीन पार्टीबीच समिकरण बनेपछि यो समिकरणका उमेदवार डा. रामवरण यादव माओवादीका उमेदवार रामराजाप्रसाद सिंहभन्दा बलियो बनेका छन् । यसैगरी, समिकरणका उप राष्ट्रपतिका उमेदवार परमानन्द झा पनि माओवादी उमेदवार शान्ता श्रेष्ठभन्दा बलिया भएका छन् । तीन दलको समिकरणसँग २७३ मत छ भने माओवादीसँग २२६ मत मात्र छ । राष्ट्रपति तथा उप राष्ट्रपति चुनाव जित्न २९८ मत ल्याउनै पर्छ, कुनै उमेदवारले त्यति मत नल्याए धेरै मत ल्याउने दुई उमेदवारबीच दोश्रो चरणको चुनाव हुने ब्यवस्था छ ।

तीन दलीय गठवन्धनका उमेदवारलाई निश्चित  जित हात पार्न २१ मत रहेको तराई मधेस लोकतान्त्रिक पार्टीको सहयोग र थप ४ मत आवश्यक पर्छ । गठवन्धन श्रोतले भने पहिलो पटकमै आफ्ना उमेदवारले जित हात पार्ने दावी गरेको छ ।

July 10, 2008

कांग्रेसलाई सत्ताको कुनै मोह छैन: रामचन्द्र पौडेल

Q. ० सरकारले मधेशको माग सम्बोधन गर्न गरेको निर्णयलाई मधेशवादी दलले विरोध गरेका छन् नि?
A.

हामीले विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग भएको सम्झौतालाई आधार बनाएर पूरक संविधान संशोधन प्रस्ताव सदनमा लगिदिएका छौं। अब सदनले छलफल गरी टुंगो लगाउनेछ। विरोधको कुनै आवश्यकता र औचित्य दैखिदैंन।

Q. ० तपाईंहरूले मधेशवादी दललाई धोका दिनुभयो रे?
A.


कसरी धोका दिएको हुन्छ? हामीले धोका दिएका छैनौं र दिनेपनि छैनौं। उहांहरूले अहिलेनै मधेश प्रदेशको टुंगो लगाउने, राज्य पुनर्संरचनाको टुंगो लगाउने कुरा गर्नुभएको हो भने त्यो जनमतको अपमान हुन्छ। जनताले संविधानसभामा छलफल गरी राज्य पुनर्संरचना गर भनेर पो म्याण्डेट दिएका हुन्।

Q. तपाईंहरूले स्वायत्त मधेश प्रदेश लेख्न किन चाहनुभएन?
A.


स्वायत्त मधेश प्रदेश लेख्न पार्टीहरू सहमति थिएन।

Q. ० उपेन्द्र यादवले त तपाईंहरूले गर्नुभएको निर्णयलाई अलोकतान्त्रिक भन्नुभएको छ नि?
A.

सदनमा नै प्रस्तुत गरेर छलफल गरौं भन्नु अलोकतान्त्रिक हुन्छ?

Q. ० नेपाली कांग्रेस स्वायत्त मधेश प्रदेश लेख्न तयार छ?
A.

हामीले सहमतिको प्रस्ताव तयार गरेका छौं। संविधानसभामा रहेका ।

Q. स्वायत्त प्रदेश मधेशको माग थाँती रह्यो त?
A.

यो सदनले टुंगो लगाउने विषय हो।

Q. मधेशवादीसँग फागुन १६ गते गर्नुभएको सम्झौता उल्लंघन गर्नुभएको भनिदैछ नि?
A.


त्यो सदनको विषय हो। संविधानसभाले टुंगो लगाउछ भनेर लेखिएको छ। यो कुनै सरकारले टुंगो लगाउने विषय होइन।

Q. तपाईंहरूले मधेशवादी दललाई झुक्याउनुभएको हो?
A.


कसरी झुक्याएको भन्नुभयो? उहाँहरूले शंका गर्नुमात्र पनि गलत हो।

Q. संविधानसभामा पूरक संशोधन प्रस्तावमाथि मतदान हुन्छ?
A.


त्यो सदनसँग सोध्नुपर्छ। त्यहाँ छलफल हुन्छ अनि निष्कर्षमा पुगिन्छ।

Q. मधेशवादी दलहरुले आन्दोलनमा जान्छु भनेका छन् नि?
A.

अब आन्दोलन गर्न कसरी मिल्छ। जबकि जनताको मत पाएर त्यत्रा प्रतिनिधि आएका छन्। उहांहरू पनि त्यत्रो मत पाएर आउनुभएको छ। सदनमा प्रतिनिधित्व चाहियो भनेअनुसार समानुपातिक व्यवस्था गरिएको छ। त्यस्तो सदनको विश्वास नगरेर आन्दोलनमा कसरी जान हुन्छ? संविधानसभामा छलफल गर्नुपर्ने विषयमाथि अवरोध गरेर आन्दोलनमा जानु उपयुक्त हुनैसक्दैन।

Q. साना वामहरूले पनि तपाईंहरूको निर्णयको विरोध गरे नि?
A.


उनीहरूलाई विरोध गर्ने अधिकार छ। लोकतन्त्र भनेको यही हो। उहांहरूलाई चित्त बुझेन अनि असहमति व्यक्त गर्नुभयो।

Q. अबको राजनीतिक कसरी अगाडि बढ्छ?
A.


संविधानसभामा छलफल गरेर जनप्रतिनिधिको विचार विमर्श गरेर संसदीय प्रक्रियाअनुसार मुलुक चल्छ।

Q. सहमति या गणीतिय कुन प्रक्रियामा जान्छ?
A.


सहमतिको प्रक्रियामा जानुको विकल्प छैन। सहमतिको बाटोबाटै मुलुकले चाहेको दिगो शान्ति, समृद्धि र विकास सम्भव छ। अरुले गणीतीय प्रक्रियाको बाटो लिन खोजे हामी पनि सोचौंला।

Q. कांग्रेस प्रतिपक्ष या सरकार कहां बस्छ?
A.


कांग्रेस अहिले सरकारमा जाने पक्षमा छैन। तथापि हामी कुनै टुंगोमा पुगेका छैनौं। प्रतिपक्ष या सरकार कहां बस्ने भन्ने देशको परिस्थितिले निर्क्यौल गर्छ। अब माओवादीको व्यवहार कस्तो हुन्छ। सहमतिबाट मुलुक अगाडि बढ्छ या बढ्दैन त्यसअनुरुप कांग्रेसले आफ्नो नीति बनाउनेछ।

Q. अझै तपाईंहरू सत्ता छाड्न तयार हुनुहुन्न?
A.


हामीलाई सत्ताको कुनै मोह छैन। कांग्रेस देशमा लोकतन्त्र स्थायित्व गराउन र दीगो शान्ति स्थापना गर्न चाहन्छ। हामी विकास र आर्थिक क्रान्ति गर्ने बाटोमा छौं। कांग्रेसभित्र प्रतिपक्षमा बस्नुपर्छ भन्ने व्यापक दबाब छ। हामी तदनुरुपको निर्णयमा पुग्दैछौं।

Q. माओवादीलाई सरकारमा जानबाट कांग्रेसले रोकेको हो?
A.


हामीले सरकार बनाउन माओवादीलाई रोकेका छैनौं। प्रधानमन्त्री गिरिजाप्रसाद कोइारलाले पदत्यागको घोषणा गरिसक्नुभएको छ। माओवादीले सहमति जुटाएर छिटो सरकार बनाएहुन्छ त्यसमा कांग्रेस सहयोगका लागि तयार छ। कांग्रेसलाई आरोप लगाएर कोही पनि उम्कन पाउनेछैन।

Q. माओवादीले गिरिजाप्रसाद कोइरालाको नाममा आपत्ति जनाएपछि तपाईंहरू कसलाई राष्ट्रपतिका रुपमा प्रस्तुत गर्दै हुनुहुन्छ?
A.


माओवादीले उहाँको नाममा किन आपत्ति गरिरहेको छ त्यो कुरा पत्ता लगाउदैछौं। गिरिजाप्रसाद कोइरालाको नाममा आपत्ति जनाउनुपर्ने कुनै आधार र कारण छैन।

Q. गिरिजाप्रसाद कोइराला नै राष्ट्रपति बन्नुहुन्छ?
A.


त्यो कसले भनेको? म ज्योतिषी हैन। सबै कुराको भविष्यवाणी र खुलासा गर्ने कुरा भएन।

Q. कांग्रेस नै गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन चाहँदैन भनिन्छ नि?
A.


यो मुलुकलाई सही नेतृत्व दिन र संरक्षकत्व प्रदान गर्न गिरिजाप्रसाद कोइरालाले ऐतिहासिक दायित्व निर्वाह गर्दै आउनुभएको छ। उहां सबैले मान्ने सर्वमान्य नेता हुनुहुन्छ। उहां राष्ट्रपति हुदा मुलुकले सही दिशा लिन्छ भन्ने कांग्रेसको निष्कर्ष हो। कांग्रेस गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएर मुलुकमा सहमति र सहकार्यको राजनीति स्थापित गर्न चाहन्छ।

Q. कांग्रेस सहमतिको राजनीतिको खोजीमा छ?
A.

सहमति श्रेयष्कर हो भन्ने कांग्रेसको निष्कर्ष हो। सहमतिको विकल्प छैन।

By: Rishi Dhamala

June 26, 2008

को को छन मनोनित २६ सभासदमा ?

सरकारले मनोनीत गर्ने २६ सभासद्मा आफ्नो भागमा परेका पाँच सदस्य छान्न कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ । एमाले, माओवादी, सद्भावना आनन्दीदेवी, माले, जनमोर्चा र नेमकिपाले भने सभासद् छानेका छन् । मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टीले पनि आन्तरिक रूपमा नाम छनोटको गृहकार्य गरे पनि जानकारी नपाएकोभन्दै बुधबार साँझसम्म नाम सिफारिस गरेका छैनन् ।
फोरम र तमलोपाले नाम सिफारिस नगरेकै कारण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सभासद् मनोनयन गर्न सकेन । मंगलबार सातदलको बैठकले २६ सभासद्मा संविधानसभाको हैसियत-अनुसार प्रमुख ९ दलबीच भागबन्डा गरेको थियो । भागबन्डामा माओवादीले ९, कांग्रेस र एमाले ५/, फोरम २, तमलोपा, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, आनन्दीदेवी र मालेले १/१ सिट पाएका थिए ।
माओवादीबाट हरिलाल थापामगर, डबलबहादुर शाह, चन्द्रलाल मेचे, इन्द्रकुमारी गुरुङ, धामी बराम, शेरबहादुर पहरी, कपिल लामा, पद्म ज्योति, हरि रोका छानिएका छन् । रोका अन्तरिम व्यवस्थापिका सदस्य तथा ज्योति उद्योगपति हुन् । झापाका चन्द्रलाल माओवादी एरिया समिति सदस्य हुन् ।

त्यस्तै, पहरी माओवादी मकवानपुर जिल्ला सदस्य हुन् । लामा मनाङ र बराम गोरखाका स्थानीय माओवादी नेता हुन् ।
हरिलाल डडेल्धुरा र शाहले बाजुराको प्रतिनिधित्व गर्छन् । यी दुई जिल्लाबाट संविधानसभामा माओवादीको प्रतिनिधित्व थिएन । पूर्वशिक्षक हरिलाल माओवादी जिल्ला सदस्य तथा मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य हुन् । शाह भने अहिले माओवादीको बाजुरा सचिव छन् । गोर्खाकी इन्द्रकुमारी गुरुङ (इन्दिरा) विकलांगबाट सभासद्मा चुनिएकी हुन् । २८ वर्षीया गुरुङ माओवादी निकट अखिल नेपाल क्रान्तिकारी अपांग संघकी केन्द्रीय कोषाध्यक्ष हुन् ।
एमाले स्थायी समिति बैठकले पासाङ शेर्पा, महेश चौधरी, सुशीलचन्द्र अमात्य, पार्वती चौधरी र शिला कतिलालाई छानेको छ । पासाङ आदिवासी जनजाति महासंघका अध्यक्ष हुन् भने अमात्य नेराशिसं पूर्वअध्यक्ष हुन् । ०४८ मा तत्कालीन राष्ट्रिय सभा सदस्य चौधरी पूर्वराज्यमन्त्री हुन् । काभ्रेकी कतिला र सुनसरीकी पार्वती चौधरी एमाले स्थानीय नेता हुन् । एमालेले उसको भागमा परेका जातिको प्रतिनिधित्व नगराएको आरोप माओवादीको छ । हामीले अल्पसंख्यकको प्रतिनिधित्व गरायौं,’ माओवादी नेता डा. बाबुराम भट्टराईले भने, ‘तर एमालेले बेइमानी गर्‍यो ।
फोरमले मन्त्रिपरिषद्लाई नाम नदिए पनि श्यामसुन्दर सुमन, विद्याधर मल्लिक र नलिना चित्रकारमध्ये दुईलाई पठाउने तयारी गरेको स्रोतले जनाएको छ । फोरमका नेता बिपी यादव भने मनोनीत सभासद्बारेमा सरकारले अहिलेसम्म पार्टीलाई कुनै जानकारी नगराएको बताउँछन् । जनमोर्चा नेपालले नेकपा (एकताकेन्द्र-मसाल) का महासचिव नारायणकाजी श्रेष्ठ (प्रकाश) लाई छानेको छ । ०४७ देखि भूमिगत राजनीतिमा सक्रिय श्रेष्ठ गत १४ जेठमा मात्रै सार्वजनिक भएका थिए । मालेले भने उद्योगपति खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानलाई छानेको छ । पार्टी महासचिव सिपी मैनालीले बुधबार साँझ नै आफ्नो दलका तर्फबाट खेतानको नाम सिफारिस गरेको एक मन्त्रीले बताए । तर, मैनालीले भने अझै कुनै टुंगो नलागेको दाबी गरे ।
सद्भावना आनन्दीदेवीले उद्योगमन्त्री श्यामसुन्दर गुप्ताको नाम सिफारिस गरेको छ । म आफैं छु, मेरो पार्टीबाट,’ मन्त्री गुप्ताले भने । संविधानसभाको प्रत्यक्ष चुनावमा रूपन्देही-७ बाट उम्मेदवार मन्त्री गुप्ता चौथो स्थानमा थिए । नेमकिपाले जग्यबहादुर शाहीलाई सिफारिस गरेको नेता सुनिल प्रजापतिले बताए । पार्टी केन्द्रीय सदस्य शाही पूर्वसांसद हुन् ।
एक सिट भाग परेको तमलोपाले भने त्यसबारे कुनै औपचारिक जानकारी नभएको बताएको छ । मिडियाबाटै हाम्रो भागमा पनि एक सिट परेको सुनेका हौं, तर औपचारिक जानकारी नपाएकाले कसैलाई छानेका छैनौं,’ नेता हृदयेश त्रिपाठीले भने । तर, अध्यक्ष महन्थ ठाकुरलाई सिफारिस गर्ने निर्णय भएको तमलोपाका एक नेताले बताए ।

कांग्रेसमा भने मनोनयनमा नेताहरूबीच चर्को विवाद देखिएको छ । पार्टीसभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइबरालादेखि महामन्त्री विमलेन्द्र निधिसम्मले बेग्लाबेग्लै नाममा अडान लिएपछि बुधबार राति अबेरसम्म कुनै टुंगो लागेको छैन । एक कांग्रेस नेताका अनुसार प्रधानमन्त्री कोइरालाले गृहमन्त्री सिटौला, आफ्नी छोरी तथा बिनाविभागीयमन्त्री सुजाता कोइराला तथा विवादास्पद पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई राख्नुपर्ने अडान राखेका छन् ।
वरिष्ठ नेता शेरबहादुर देउवाले कानुनविद् नीलाम्बर आचार्य र डडेल्धुराका राउटे थरका एक कार्यकर्तालाई पाँचजनामा ल्याउनुपर्ने अड्डी लिएका छन् भने उपसभापति रामचन्द्र पौडेलले कानुन व्यवसायी तथा पूर्वसांसद राधेश्याम अधिकारीलाई ल्याउन प्रयास गरिरहेका छन् ।
कांग्रेस महामन्त्री निधिले उद्योगपति राजेन्द्र खेतान, नीलाम्बर आचार्य, मंगलप्रसाद गुप्ता र रामनारायण कुर्मीमध्ये दुईलाई सभासद् बनाउन अडान राखेको स्रोतले जनाएको छ । उपसभापति गोपालमान श्रेष्ठले नेवार समुदायका एकको नाम अघि सारेको स्रोतले जनाएको छ । कुनै टुंगो छैन, भोलि हुन्छ कि कहिले हुन्छ,’ कांग्रेस उपसभापति तथा शान्तिमन्त्री पौडेलले छोटो प्रतिक्रिया दिए ।
फोरम र तमलोपाले नाम नपठाएका कारण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २६ सभासद् मनोनीत गर्न सकेन । आज सबै दलको नाम आएन, भोलि बिहान निर्णय होला,’ बैठकपछि उद्योगमन्त्री श्यामसुन्दर गुप्ताले भने । सरकारले मनोनीत गर्न नसक्दा बैठक सुरु भएको झन्डै एक महिनापछि पनि संविधानसभा पूर्ण हुन सकेको छैन । संविधानसभा बैठकमै सभासद्हरूले
यसबारे सरकारको आलोचना गर्ने गरेका छन् ।

May 3, 2008

के हुदैछ नेपालीलाइ कोरीया पठाउने कुरा ?

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान भाषा परीक्षामा सामेल ३१ हजार ५११ मध्ये ६ हजार ७६८ जना उत्तीर्ण भए पनि कतिले जान पाउने हुन् अन्योल नै छ।

शुरुमा पाँच हजार नेपालीले कोरियामा काम पाउने भनी प्रचार गरिए पनि श्रम तथा यातायात व्यवस्था मन्त्रालय र श्रम तथा रोजगार प्रवर्द्धन विभाग समेत यस सम्बन्धमा कुहिरोका काग सरह छन्। विभागका महानिर्देशक केशरबहादुर बानियाँले भने, “सङ्ख्या यकिन छैन, त्यो कोरिया सरकारमै निर्भर गर्दछ।”

 पहिलो समूहलाई असार मसान्तसम्म पठाउने सरकारी योजना छ। मन्त्रालयका प्रवक्ता उद्धवप्रसाद बाँस्कोटा नेपाल आएका कोरिया सरकारका प्रतिनिधिले पाँच हजार कामदार लैजाने मौखिक जानकारी दिएको बताउँछन्। ८ वैशाखमा श्रम मन्त्रालयले पत्रकार सम्मेलनमार्फत परीक्षामा उत्तीर्ण सबैलाई कोरिया पठाउन सरकारले पहल गर्ने जानकारी गराएको थियो। मन्त्रालयका सचिव श्यामप्रसाद मैनालीलेे द्विपक्षीय कूटनीतिक पहलमार्फत अधिकांशलाई काममा पठाउन सकिने  बताए। परीक्षा उत्तीर्ण हुनेको व्यक्तिगत विवरण, स्वास्थ्य परीक्षणको रिपोर्टलगायतका आवश्यक कागजपत्र सरकारले कोरिया पठाएपछि योग्य ठहरिएका सबैको नाम रोष्टरमा समावेश गरी   क्रमशः कामदार लैजाने प्रावधान छ।
कामदार सीधै सरकारले पठाउने भएपनि कोरियाको कोटामा पारिदिने प्रलोभनमा गिरोहहरूले विभिन्न व्यक्तिबाट रकम असुल गरिरहेका छन्। सरकारी सूचना अनुसार कोरिया जाने एक व्यक्तिले ९७० अमेरिकी डलर (करिब रु.६५ हजार) शुल्क तिर्नुपर्छ भने रोजगारीमा गएपछि मासिक न्यूनतम ९०० अमेरिकी डलर (करिब रु.५८ हजार) तलबका साथै खान, बस्न र निःशुल्क ढषधि•उपचार पाउँछन्।

काठमाडौंका जीवन बस्नेत आफूसँगै परीक्षा दिएका सात जना साथीले परीक्षा उत्तीर्ण हुने आशमा रु.७ लाखसम्म तिरेको बताउँछन्। उनी भन्छन्, “मैले त दिइनँ, तर पैसा दिएका सातमध्ये दुई साथी अनुत्तीर्ण भए।” कोरियन भाषा सिकाउने नाममा खुलेका इन्स्टिच्युट र वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूको एक गिरोहले श्रम विभागमा पहुच छ भन्दै गुपचुप रकम असुल्ने गरेका छन्। कतिपय व्यक्तिले परीक्षामा अनुत्तीर्ण भए रकम समेत फिर्ता गर्छौं भनी ढाँटेर समेत रकम असुलेको अर्का एक युवकले बताए। महेन्द्र नामका एक व्यक्तिले रु.४ लाख दिए उत्तीर्ण गराइदिन्छु भनेको बताउँदै भने “पहिले उत्तीर्ण गरिदिनु अनि रकम दिउँला भनें, नाम निस्किएन, अहिले उसको फोन बन्द छ।”

महानिर्देशक बानियाँ भने कोरियाबाटै निष्पक्ष छनौट हुने भएकाले बाहिरका व्यक्तिको कुनै हात नहुने बताउँछन्। उनले भने, “रकम माग्ने व्यक्ति वा संस्था देखाइदिए हामी कारबाही गर्छौं।” कामदार कोरिया पठाउने कार्यालय ईपीएस शाखामा केही उजुरी परेका पनि छन्। मन्त्रालयका प्रवक्ता बाँस्कोटाले भने, “उत्तीर्ण सबै आफ्नो क्षमताले उत्तीर्ण भएका हुन् अब जाने पनि आफ्नै क्षमताले हो, ठगहरूको आश्वासनमा कसैले पर्नुहुँदैन।”

१८ देखि ३९ वर्षसम्मका कामदार मात्र कोरिया जान पाउने र दुवै देशमा स्वास्थ्य परीक्षण गरिने सरकारले जनाएको छ। नेपालमा स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरी चार वटा स्थान तोकिएका छन्। कोरिया पुगेपछि त्यहाँ स्वास्थ्य परीक्षणमा असफल भए उनीहरूको सबै खर्च नेपालमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले व्यहोर्नुपर्ने शर्त छ।

April 1, 2008

पुरुष हसतीसंग भिड्दै महिलाहरु

संविधानसभा चुनावको प्रत्यक्षतर्फ महिला उमेदवारी यसै कम परेको छ, त्यसमाथि महिला उमेदवारहरुले प्रमूख दलका वरिष्ठ नेताहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ । पुरुष, त्यसमाथि प्रमूख दलका शीर्ष नेतालाई जित्न महिला उमेदवारलाई कठिन हुने जो कोहीले अनुमान गर्न सक्छन् । यस्तो स्थितिमा संविधानसभामा महिलाहरुको प्रतिनिधित्व सोचेभन्दा कम हुने सम्भावना छ ।
 
दुई क्षेत्रमा उमेदवारी दिएका एमाले महासचिव माधवकुमार नेपालसँग काठमाण्डौ २ मा ६ जना महिला उमेदवार भिडिरहेका छन् भने रौतहट ६ मा ३ जनाले उमेदवारी दिएका छन् । काठमाण्डौ २ मा जनमोर्चा नेपालकी इन्दिरा वराल, राष्ट्रिय जनशक्ति पार्टीकी कविता थापा क्षेत्री, राष्ट्रिय जनमुक्ति पार्टीकी राधाकुमारी श्रेष्ठ, शान्ति पार्टी नेपालकी मिनाकुमारी बरुवाल, नेपाली जनता दलकी कमला केसी तथा स्वतन्त्र जमुना केसीले एमाले महासचिवलाई प्रतिस्पर्धी बनाएका छन् । एमाले महासचिवसँगै उनीहरुले आफूबीचमा पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उनीहरुको जित लगभग असम्भव देखिएको छ ।

एमाले महासचिवलाई रौतहट ६ मा चुनैती दिएका तीन महिला उमेदवारमा जनमोर्चा नेपालकी शान्तिकुमारी उपाध्याय, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सीता थापा तथा राष्ट्रिय जनशक्ति पार्टीकी शैलकुमारी देवी छन् । उनीहरुको स्थिति पनि काठमाडौं क्षेत्र नम्बर २ कोभन्दा फरक छैन । नेपाली कांग्रेसले महिला उमेदवार महेन्द्रकुमारी सुब्बालाई झापा क्षेत्र नम्बर ७ मा उठाएको छ । सुब्बाको भिडन्त एमाले स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री केपी शर्मा ओलीसँग छ । सुब्बाको प्रतिस्पर्धामा अन्य महिला उमेदवार नभए पनि ओलीसँगको भिडन्त उनलाई सहज नहुने निश्चित छ ।
 
काठमाण्डौ क्षेत्र नम्बर १० मा माओवादी अध्यक्ष प्रचण्डलाई जनमोर्चा नेपालकी अञ्जना बिशंखे दुलाल, नेपाल सदभावना पार्टी आनन्ददेवीकी प्रतिमा घिमिरे, नेपाल राष्ट्रिय लोकतान्त्रिक दलकी दुर्गा शाह ठकुरी, स्वतन्त्र उमेदवारहरु रविना महर्जन र शुभलक्ष्मी शाक्यले चुनौती दिइरहेका छन् । जनमोर्चाले प्रचण्डलाई र्समर्थन गरिसकेकाले दुलाल चुनावी दौडबाट पछि हटेकी छिन् । दुलालको उमेदवारी त्यागले प्रचण्डलाई सजिलो तथा महिला उमेदवारलाई अझ अप्ठ्यारो पार्ने निश्चित छ । नेपाली कांग्रेसले रोल्पा २ बाट भिमकुमार बुढालाई प्रचण्डको प्रतिस्पर्धी बनाएको छ । बुढालाई कुनै महिलाले चुनौती नदिए पनि प्रचण्डसँगको भिडन्त उनका लागि सजिलो नहुने निश्चित छ । यसैगरी, नेपाल मजदुर किसान पार्टीकी राममायाँ श्रेष्ठ र सदभावना आनन्दीदेवीकी नन्दकुमारी गुरुङ गोरखा २ मा चुनाव लडिरहेका छन् । उनीहरुले माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रतिस्पर्धी पाएका छन् । श्रेष्ठ र गुरुङका लागि भट्टराई कठिन चुनौती हुन् ।

कञ्चनपुर ४ मा जनमोर्चा नेपालकी छायाँ लेखक, नेकपा संयुक्तकी गौरी रोकाय, राप्रपा नेपालकी पार्वती बिष्ट, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालकी शोभादेवी कार्की नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भिडिरहेका छन । त्यहाँका महिला उमेदवारले कठिन प्रतिस्पर्धी देउवासँग भिड्नु परेकै छ, आफूबीच पनि प्रतिस्पर्धा गर्नु परिरहेको छ । बाँके क्षेत्र नम्बर ३ को राष्ट्रिय जनमोर्चाकी उमेदवार मोमिना खातुन नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालासँग भिडदैछिन् । खातुनलाई अरु महिला उमेदवारले दुख नदिए पनि कोइरालासँग भिड्नु उनका लागि सजिलो नहुने निश्चित छ ।

March 21, 2008

चीन विरोधी प्रदर्शन अन्य प्रान्तमा पनि

चीन सरकारको विरोधमा तिब्बतबाट सुरु भएको प्रदर्शन अन्य प्रान्तमा पनि फैलिएको सरकारी समाचार एजेन्सी सिन्हवाले बिहीबार जनाएको छ ।

गत साता तिब्बतमा भएको हिंसात्मक प्रदर्शन नियन्त्रण भए पनि अन्य प्रान्तमा प्रदर्शन भइरहेको सिन्हवाले जनाएको छ । एजेन्सीका अनुसार चीनविरुद्धको प्रदर्शन दक्षिणपश्चिमको सिचुवान, गान्सु, नगवा, क्विनहाई र लाकु प्रान्तमा फैलिएको छ ।

प्रदरश्न फैलँदै गएपछि चिनियाँ सेना र प्रहरीले तिब्बतको गाउँगाउँमा खानतलासी सुरु गरेका छन् । उनीहरुले दलाई लामाका समर्थक र प्रदर्शनकारी नेताको खोजी गरिरहेको बताइएको छ ।

तिब्बतको ल्हासामा भएको प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि पछिल्लो समयमा आएर हिंसात्मकक बनेको थियो । चीन सरकारले प्रदर्शनका क्रममा १६ जनाको मृत्यु भएको र तीन सय २५ जना घाइते भएको जनाएको छ । भारतमा निर्वासित धार्मीक नेता दलाई लामाको इसारामा उक्त हिंसात्मक प्रदर्शन भएको आरोप चीनले लगाएको छ । निर्वासित तिब्बती सरकारले ८० जनाको मृत्यु भएको दाबी गरेको छ ।

ल्हासामा प्रदर्शन गर्ने एक सय ७० जना तिब्बतीले बुधबार सरकारसमक्ष आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गर्नेलाई कुनै कारबाही नगरिने जनाउँदै चीन सरकारले आत्मसमपर्णका लागि गत सोमबारसम्मको समयसीमा तोकेको थियो । चवन्न लाख जनसंख्या रहको तिब्बतमाथिको नियन्त्रण अझ कसिलो पार्न चीनले सोही दिनदेखि कारबाही सुरु गरेको छ ।

March 11, 2008

सुवास घिसिङद्धारा राजीनामा

दार्जिलिङ गोर्खा पार्वत्य परिषद -दागोपाप)का कार्यबाहक प्रशशासक सुवास घिसिङले पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई सम्वोधन गर्दै राजीनमा गरेका छन् । एक सातादेखि दार्जीलिङ क्षेत्र प्रवेशमा समेत रोक लगाइएका घिसिङले सोमबार दिउँसो सिलिगुडीमा जिल्ला शासक राजेश पाण्डेमार्फत राजीनामा पठाएका हुन् ।

घिसिङको राजीनाको चर्चा फैलिएलगत्तै दार्जीलिङमा भरि नै उत्सवको वातावरण सुरु भएको छ । दिउँसो साढे ११ बजेदेखि नारा-जुलुस र आतसबाजी सुरु भएको थियो भने साँझ दार्जीलिङको मुख्यस्थल चौरस्तामा दिपावली चलिरहेको छ । घिसिङकै नेतृत्वमा अलग राज्य माग्दै चलेको गोर्खाल्यान्ड आन्दोलनका क्रमा १२ सयजनाको ज्यान गएको थियो । पश्चिम बंगाल सरकार, भारत केन्द्रीय सरकार र घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका बीच सम्पन्न त्रिपक्षीमय सम्झौतापछि स्वायत्त निकायका रुपमा दागोपाप गठन गरिएको थियो भने त्यसको प्रशासक घिसिङलाई बनाइएको थियो । उनी सन् १९८८ देखि यसमा प्रमुख रहँदै आएका थिए ।

केही महिनाअघि इन्डियन आइडल प्रतिस्पर्धाका बेला प्रशान्त तामाङका पक्षमा खुलेर लागेका घिसिङकै सहयोगी विमल गुरुङले घिसिङविरोधी आन्दोलन सुरु गरे । उनले गोर्खा जनमुक्ति मोर्चा स्थापना गरेर दार्जिलिङ, कालिम्पोङ, खर्साङ र डुवर्सलगायतका नेपाली भाषी क्षेत्रमा शान्तिपुर्ण आन्दोलन सुरु गरेका थिए । पछिल्लोपटक उनीहरुले घिसिङको राजीनमा र भारतीय संविधानको छैटौं अनुसूचिबमोजिमको व्यवस्था लागू गर्न बनेको प्रस्तावित विधेयक खारेजीको माग गरेका थिए । त्यो विधेयक खारेज गर्ने वचन पनि पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले गोजमुमो नेतृत्वलाई दिइसकेका छन् ।

September 26, 2007

आजका दृष्य

९ असोज काठमाण्डो । इन्द्रजात्राका अबसरमा मंगलबार प्रधानमन्त्री रथ यात्रामा सहभागी हुनु भएको थियो । प्रधानमन्त्री सहभागी भएको बिरोधमा केही ब्यत्तिले कालो झण्डा समेत देखाएका थिए । कालो झण्डा देखाउने ती मानिसलाइ प्रहरीले गिफ्तार गरेको थियो । इन्द्रजात्रा प्रत्येक बर्ष यसै समयमा सात दिन सम्म मनाइन्छ । 

लामो समयको पर्खाइपछि अन्तत दुइ कांग्रेस एक भएका छन् । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकवीच अव कहिल्यै नफुट्ने वाचा गर्दै आजै अपरान्ह एकीकरण भएको हो ।

कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले पार्टी एकीकरणको भोलीपल्टै कांग्रेस परित्याग गरेको घोषणा गर्नु भएको छ । कांग्रेसले वीपीको राष्ट्रिय मेलमिलाप नीति छाडेको भन्दै संवैधानिक राजतन्त्रका हिमायति भट्टराइले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com