विर्घाका वृद्ध वृद्धा गांउमै सम्मानित
सामुदायिक विकास तथा स्वास्थ्य प्रतिष्ठानको आयोजनामा स्याङ्जाको विर्घा गाउँ विकास समितिको वडा नं 6 स्थित करन्डाँडामा निशुल्क स्वास्थ्य शिविर तथा बृद्ध बृद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बृद्धबृद्धा देशका निधि हुन् सम्मान गरौँ अपाङ्गता पाप कर्मको फल होईन मानवीय व्यवहार गरौँ बृद्धबृद्धा र अपाङ्गको ईच्छापनि हाम्रोजस्तै हो यसलाई परिपूर्ति गरौँ भन्ने मूल नाराका साथ गरिएको सम्मान कार्यक्रममा ८५ वर्षभन्दा माथिका ४१ जना बृद्धबृद्धालाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा विर्घा गाउँविकास समिति भित्रका २०८ जना अपाङ्ग व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य सेवा समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठीले बृद्धबृद्धाको सम्मानको लागि यो कार्यक्रम प्रेरणाको स्रोत भएकोले जिल्लाका सबै गाउँ विकास समितिमा यस्तो कार्यक्रम लागु गर्नुपर्ने आवस्यक रहेको खाँचो औल्याउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति खगेन्द्रराज रेग्मी भूपू गृहसचिव अनन्तराज पाण्डे प्रहरी नायब उपरिक्षक उत्तमराज सुवेदी महिला विकास अधिकृत शोभा साह लगायतका वक्ताहरुले बृद्धबृद्धा र अपाङ्गहरुलाई राज्यले छुट्टै व्यवस्था ल्याउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
सामुदायिक विकास तथा स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष यामप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको साचालन कालिगण्डकी क्याम्पसका प्रमुख पशुपति पाण्डेले गर्नुभएको थियो । यस संस्थाले गत वर्षपनि स्याङ्जाको मालुङ्गा गाविसमा पनि निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको अध्यक्ष पाण्डेले जानकारी दिनु भयो ।