प्रदीप नेपाल
मन्त्री हिसिला यमिले काठमाडौंको खानेपानी व्यवस्थापन ‘काकाकूल’जस्तो लाग्ने कम्पनीलाई दिएपछि धाराको पानी अम्खोराहरूमा थुनिएको छ । सो कम्पनीले मासिक ३० हजार लिटर पानी प्रयोग गर्ने घरका लागि एकखाले दरभाउ र १० हजार लिटर पानी प्रयोग गर्नेलाई सहुलियतको दरभाउको घोषणा गरेको थियो । त्यही आदेशपत्र पढेर काठमाडांैका धारामा १० हजार लिटर पानी आउनेरहेछ भन्ने ज्ञान पाइयो, तर आफ्नो धारामा महिनामा ४ हजार लिटर आएको पनि थाहा छैन । मन्त्रीनिवास छाडेर घर आएपछिका ६ महिना भयो । तर, कुनै महिना पनि पाँच हजार लिटर पानी भरिएको देख्न पाइएन । मन्त्रीनिवासमा भने पानीको अनिकाल कहिल्यै लागेन । अहिले म बसेको छु, काठमाडौं-१५ को लखुतीर्थ मार्गमा र भएको छु एउटा सामान्य नेपाली नागरिक । मन्त्री हुँदा उफ्रीपाफ्री सुविधा पाउने, नागरिक हुँदा सामान्य हक पनि नपाइने नयाँ नेपालको एउटा उदाहरण भएको छु म ।
नागरिक भएर घर आएपछिका दिनमा थाहा पाइयो ट्यांकरको पानी पनि निकै महँगो भएछ । पोहोर-परारभन्दा पानीको भाउ तीनगुना बढेछ । भाउ मात्र होइन, मागफाराम भरेपछि भन्नेबित्तिकै पानी आउँदोरहेनछ, लाइनमा प्रतीक्षा गर्नुपर्दोरहेछ । त्यसैले पानी खर्च गर्ने काममा चर्को सम्झौता गर्नुपर्नेरहेछ । यतिवेला एक अम्खोरा पानीले बिहानको नित्यकर्म सिध्याउनुपर्ने बाध्यता छ । धन्न पश्चिमाहरूले ट्वाइलेटपेपरको आविष्कार गरिदिएछन् । एउटा कर्म त्यसैले सिध्याउँछ । पाइखाना सफा गर्न भान्सामा प्रयोग गरेर फ्याँक्नुपर्ने पानी पुगनपुग भएको छ । दाँत मोल्न, कुल्ला गर्न, दाह्री काट्न र अनुहार सफा गर्न एक अम्खोरा पानीले पुग्दोरहेछ भन्ने ज्ञान काकाकूल काठमाडौंको पानी व्यवस्थापनले सिकाएको छ ।
बिहान ‘बाथरुम’ पस्नुअघि म माओवादीमन्त्री गोपाल किराँतीको स्मरण गर्छु । तिनले महिनामा एकपल्ट नुहाए पुग्छ भन्ने शिक्षा पानी संकटको भविष्य सोचेरै दिएका रहेछन् । पानी हुँदा दिन बिराएर नुहाउने गरेको थिएँ, प्रत्येक बिहान दाह्री काट्ने गरेको थिएँ । अहिले सातामा एकपल्ट सानो हाते तौलिया पानीमा भिजाउँछु र त्यसैले शरीर माड्छु । फोहोर तौलियालाई त्यही पानीमा माडमुड पार्छु र माडिएको पानी पाइखानामा हाल्छु । जहाँसम्म जुँघा-दाह्रीको समस्या हो, साह्रै झुसे भएर अनुहार घीनलाग्दो नदेखियुन्जेल त्यसलाई अनुहारमै टाँसिरहन दिन्छु । नयाँ नेपालको पानी उपहारले रेजर, सेभ र आफ्टर सेभको खर्च जोगाइदिएको छ । पानीको बहुउपयोगी तरिकाले पनि शरीरको गन्ध मार्न नसकेजस्तो लागेर शरीरको गन्ध मार्ने खालको चर्को र तीखो ‘सुगन्ध’ झोल बजारबाट किनेर ल्याएको छु । सरसफाइको अभावमा जिउमा लुतो निस्कने डरले त अहिले पनि सताइरहेको छ । तर, त्यो तीखो सुगन्धले शरीरको पसिने गन्धलाई चाहिँ झ्याप्पै मारिदिँदोरहेछ ।
सरकारमा बसेका मन्त्रीहरू ठुल्ठूला भाषण गर्छन् । तर, स-साना समस्याले नागरिकलाई कसरी पिरोलिरहेछ भन्नेतिर तिनको ध्यानै जाँदोरहेनछ । अयोग्य, अकर्मण्य आफन्त वा पैसाका नातागोतालाई लगेर भिन्न-भिन्न कार्यकारी निकायमा भर्ती गर्ने पञ्चायती चलनले अवसर पाइरहेकाले यतिवेला मुलुकमा हाहाकार मच्चिएको छ । बाहिरको हालतको अहिले चर्चा नगरौँ- मुलुकको राजधानी, सभ्य र बडाआदमीको बसोवास भएको काठमाडौंमा खानेपानीको अकाल छ, बिजुलीबत्ती छैन, खोला नाली भएका छन्, बाटामा टेक्नै नहुने गरी फोहोर थुपि्रएको छ । तर, हाम्रा मन्त्री लोकतन्त्र, सेना, वाइसिएलको लफडामा लागेर समय बिताइरहेका छन् । माओवादी पार्टीले पनि आखिर केही गर्न सकेन । पुरानो नातावाद-कृपावादलाई त्यसले पनि निरन्तरतै दियो । कांग्रेसको झिँगापुर काठमाडौंलाई त्यसले दुर्गन्धित गन्धपुर सहरमा रूपान्तरित गरिदियो ।
ऊर्जा-संकटको घोषणा भयो, तर घोषणापछि कुनै काम भएन । ‘ऊर्जा’ लाई संकटकालमा लगेर जोडेपछि सय दिनको म्यादभित्र प्रधानमन्त्रीले एउटा निकास दिन सक्नुपथ्र्यो । खै के भएको छ ? घोषणा गर्नुअघि-पछिको कार्यशैलीमा न कुनै परिवर्तन देखापरेको छ, न त त्यो संकटकालले नागरिकलाई कुनै राहत नै दिएको छ । भारतसँग बिजुली किन्ने दाम दिएर नेपाली निर्मातालाई साना जलविद्युत् आयोजना निर्माण गर्न आह्वान गरिएको भए अहिले नभए पनि आगामी वर्षका लागि लोडसेडिङको यो राक्षसी अनुहार व्यहोर्नुपर्ने थिएन । सायद प्रधानमन्त्रीनिवासमा लोडसेडिङ हुँदैन होला, त्यसैले उहाँलाई देशमा दिनको घोषणामा १६ घन्टा, अघोषित रूपमा १८ देखि २० घन्टासम्म लोडसेडिङ भइरहेको छ भन्ने थाहा छैन होला ।
पानी पनि त्यस्तै हो । हिउँदमा पानीको अनिकाल हुन्छ भन्ने ज्ञान काकाकूल कम्पनीका मानिसलाई थाहा हुनुपर्ने हो । मन्त्री र काकाकूल कम्पनीका सञ्चालकलाई प्रधानमन्त्री र मन्त्री बस्ने ठाउँमा पानीको पउल छ भन्ने काँचो ज्ञान मात्र त छैन होला । उपत्यकामा पानीको अनिकाल छ भन्ने सामान्यज्ञान तिनमा होला नै । नागरिकलाई पानी खुवाउने जिम्मा लिएर बसेपछि तिनले वेलैमा बन्दोबस्त गर्नुपथ्र्यो । त्यो त सकेनन्, नागरिकले आफँ पानी किनेर खान्छु भन्दा पनि समयमा पानी नपाउने रीत चलाइदिए ।
माओवादी सेनाको समायोजन- शान्तिप्रक्रियाको यो एउटा मुद्दा होला । तर, नागरिकका लागि यो कुनै मुद्दै होइन । हिजो पनि शान्तिको निद्रा सुत्न पाएका थिएनन् नागरिक, अहिले पनि आतंकमुक्त छैन यो समाज । दलका तानातानीले नागरिक मानसिकता राज्य र राजनीतिबाट झन् टाढा हुँदै छ । नेताहरूका पाङ्दुरे भाषणले न बिजुली दिन्छ, न खानेपानी । नागरिक राज्यलाई कर तिर्छ, त्यसको बदलामा ऊ सामाजिक सुरक्षा र राज्यले उपलब्ध गराउने सरसामान पैसा तिरेरै प्रयोग गर्न चाहन्छ । राज्यले केही नदिने हो भने नागरिकले किन कर तिरिरहनुपर्छ ?
दलहरूलाई एउटा ज्ञान भएजस्तो देखिएन । राज्यलाई, पार्टीलाई नागरिक चाहिन्छ, अस्तित्व बचाउन । तर, राज्य-पार्टी नभए पनि नागरिक बाँच्न सक्छ, आफ्नै स्वतन्त्रतामा । त्यसैले चासो नागरिकको होइन, सत्ताको बांगो कुर्ची समातेर बसेका पार्टी र नेताहरूको हुनुपर्छ अस्तित्वरक्षाका लागि । नागरिकले राज्य चाहिँदैन भन्न सक्छ, तर राज्य वा दलले नागरिक चाहिँदैन भन्न सक्दैन । त्यसैले नागरिकका लागि केही गर्न नसक्ने, आफ्नै सेना र कार्यकर्ताका लागि मात्र बाँच्न चाहने दल र नेताको नागरिकलाई कुनै आवश्यकता छैन ।