प्रेम पाउन उनी नाइट-क्लब धाइन् । अनलाइन डेटिङ साइड चाहरिन् । केही पार नलागेर ४२ वषर्या अमेरिकी महिलाले आफ्नो प्रेमसाथै चार बेडरुमसहितको घर बिक्रीमा राखेकी छिन् । साउथ फ्लोरिडाकी डेभेन ट्राबोसले प्रेम बिक्रीमा राखिएको विज्ञापन इबेमा पोस्ट गरेकी छिन् । ‘विज्ञापनको आइडिया मेरो दिमागमा आयो किनभने म प्रेमको खोजीमा छु र घर बेच्न चाहन्छु,’ आफ्नो दुई हजार स्क्वायरफिटको घरमा लेदरको हिल लगाएरमात्र पाइला सार्ने डेभेनले भनिन् । ‘अमेरिकामा हराएकी राजकुमारीलाई बिहे गर्नुस्,’ गत साता इबे र क्रगसलिस्टमा पोस्ट गरेको उनको विज्ञापनमा लेखिएको छ । आफ्नो प्रेम र घर किन्ने मानिसले जीवनभरको रोमान्स र घुमाइका साथै टेनिसकोर्ट, स्विमिङपुल भएको, गुम्जदार छाना भएको भर्खरै टायल फेरेको घर पाउने उनले लेखेकी छिन् ।
‘म संघर्षरत छु । घर पनि गुमाउन चाहन्नँ र प्रेम गर्ने कोही पाउन चाहन्छु,’ उनी भन्छिन् । ‘त्यसैले मैले ‘डि्रम-प्लान’ लिएर आएको छु किनभने म परिकथाकी राजकुमारी बन्ने सपना देख्थेँ,’ उनी भन्छिन् । उनले घरको मूल्य तीन लाख ४० हजार डलर राखेकी छिन् भने आफ्नो मूल्यसमेत जोडेर उनले पाँच लाख डलर राखेकी छिन् । इबेले आफ्नो विज्ञापन निकालिदिएको उनी बताउँछिन् । तर, विज्ञापकका शब्द पुनर्लेखन गरेर फेरि पोस्ट गर्ने उनले बताइन् । प्रतिबन्ध सेवा नीतिअन्तर्गत इबेले मानिसको बेचबिखन, शारीरिक अंगको बेचबिखन र सम्बन्ध बेचबिखन गर्ने विज्ञापनमा प्रतिबन्ध लगाउने प्रवक्ता क्याथेरिन इंग्ल्यान्डले शुक्रबार बताइन् । डेभेनले कुनै विशेष प्रस्तावसहितको इमेल नपाए पनि पाँच सय प्रतिक्रिया पाइसकेकी छिन् । इंग्ल्यान्डका ओटीले ‘तिमीले पूर्णजीवनसहित पूर्णअमेरिकी राजुकमारी प्रस्ताव गरेकी छौँ’ भन्ने इमेल पठाएका छन् ।
आफ्नो ल्यापटपमा भएको सुन्दर इटालियन पुरुष क्लोडियोको तस्बिर उनी देखाउँछिन् । क्लोडियोले डेभेनको विज्ञापनमा प्रतिक्रिया जनाएपछि दुईजनाको लामो समयदेखि इमेलमा कुराकानी भइरहेको छ । सोफामा बसेर क्लोडियोको तस्बिर हेर्दै उनी क्लोडियोलाई भेट्ने कल्पनामा डुब्छिन् । केही सातामा नै उनीहरूको भेट मायामीमा हँदैछ । उनकी २१ वषर्या छोरी हेली आमाले प्रेमी पाऊन् भन्ने चाहन्छिन् । तर, आमाको प्रेम खोज्ने प्रक्रियाबाट १४ वषर्या छोरी भने खुसी छैनन् । आमाको यो कदमले आफूलाई असजिलो पारेको उनी बताउँछिन् । एक इमेेलले त उनलाई आफंलाई बेच्न लागेको आरोप लगाएको छ ।
‘म आफूलाई बेच्दै छुइनँ । पवित्र प्रेम भेट्नका लागि प्रेममात्र बेच्दैछु,’ डेभेन भन्छिन्, ‘मलाई थाहा छ, यसका लागि धेरै ‘केमेस्ट्री’ र सम्बन्ध चाहिन्छ । यो होइन कि म तुरुन्त बिक्रीमा छु । यो पवित्र प्रेमका लागि प्याकेज प्रेम प्रस्ताव हो ।’ इन्टरनेटमार्फत् आफूलाई बेच्ने डेभेन पहिली भने होइनन् । यसअघि एक अस्ट्रेलियाली नागरिकले इन्टरनेटमा घर, काम र साथीभाइसहित आफ्नो जीवन लिलाम गर्ने विज्ञापन प्रेषित गरेका थिए । आफ्नो प्रस्तावलाई युरोपेली पुरुषले स्वीकारोस् भन्ने डेभेनको चाहना छ । विदेशमा बसाइँ-सराइ गर्ने उनको चाहना छ । ‘मलाई थाहा छ, मैले आफूलाई सार्वजनिकरूपमा प्रस्तुत गर्दैछु । म इमान्दार छु । म साँच्चो प्रेममा विश्वास गर्छु । फेरि बिहे गर्न चाहन्छु ।’