November 15, 2009

जोडि नै पाइएनः मान्डवी

छ सयभन्दा बढी लोकगीतमा स्वर दिइसकेकी माण्डवी त्रिपाठी आजकल पाश्र्वगीततर्फ पनि सक्रिय छन् । छोटो समयमा नै ४० वटा चलचित्रमा स्वर दिइसकेकी माण्डवी अहिले आफ्नो सोलो एल्वम ल्याउने तयारी छन् । लमजुङ सुन्दरबजारकी स्थायी बासिन्दा माण्डवीलाई पुरुषको बोली मन पर्छ रे, तर कसैसँग मायाप्रीति भने बसेको छैन । संगीतमा लागेर मात्र बाँच्न गाह्रो हुने भएकाले साझेदारीमै उनले बोर्डिङ स्कूल पनि सञ्चालन गरेकी छन् । त्रिपाठीसँग गरेको छोटो कुराकानी ।

० आजकल के गर्दै हुनुहुन्छ ?

- गायन क्षेत्रमै सक्रिय छु । चलचित्रमा पनि गीत गाईरहेको छु । चाडै नै सोलो एल्वम ल्याउने तयारीमा छु ।

० लोक गीतभन्दा सिनेमालाई प्राथमिकता दिएको हो ?

- त्यस्तो त होइन । दुवैलाई उतिकै महत्व दिन्छु । लोकगीतको कलेक्शन एल्वममा गाएको छु । आजकल सिनेमामा बढी गाएर त्यस्तो देखिएको हो ।

० लोकगीतमा त भाका भाकैमा लव पर्छ रे नि ?

- खै पर्छ होला, मलाई त अनुभव छैन ।

० यो त पत्याउने कुरा भएन ?

- हाँस्दै, साँच्ची परेन

० राम्री हुनुहुन्छ, प्रस्ताव त खुवै आए होलान् नि ?

- प्रस्ताव त थुप्रै आए, तर लभ कसैसँग परेन ।

० भनेपछि अहिले एक्लो ?

- जोडी नखोजेसम्म त एक्लै हो नि ।

० एरेञ्ज विवाह गर्ने कि लव म्यारिज गर्ने ?

- अलि दोधारमा छु । जुन पनि हुन सक्छ ।

० हित्तचित्त मिलको मान्छे छ भने सहमतीमा विहे अघि सेक्स गर्न सकिन्छ ?

- विहे अघि सेक्स ठीक लाग्दैन् । अरुले गर्छन होला, म चाही गर्दिन ।

० पुरुषको कुन कुरा तपाईलाई आर्कषित गर्छ ?

- पुरुषको बोली र विचारबाट आकषिर्त हुन्छु ।

० मिठो बोली भएको मानिस नपाएकै हो त ?

- होइन, त्यस्तो मान्छे त छन्, तर मन पनि मिल्नु पर्‍यो नि ।

० कामुकताविनाको सुन्दरता अर्थपूर्ण हुनसक्छ ?

- दुवै हुनुपर्छ । दुवैको संयोजन भए राम्रो ।

० गीतमा सेक्स अपिल हुन्छ ?

- आफ्नो हेर्ने दृष्टिकोणमा भरपर्छ । कसैलाई अपिल गरे जस्तो लाग्छ, कसैलाई लाग्दैन ।

० पहिलेको तुलनामा लोक दोहोरी विकृतपूर्ण हुँदैछ नि ?

- मैले पनि त्यस्तो सुनेको छु । यसलाई मर्यादित बनाउनेतर्फ सबैले सोच्नु पर्छ ।

० संगितकारलाई नरिझाएसम्म काम पाइन्न् भन्छन् नि ?

- मैले त कसैलाई रिझाउनु परेन, तर कस्तो रिझाउने भन्न खोज्नु भा हो ।

० शारिरिक सम्बन्ध कायम गर्नेदेखि लिएर अन्य प्रलोभन ?

- मैले पनि त्यस्तो त सुनेको हुँ, थाहा भएन ।

० तपाईलाई कसैले शारिरिक सम्बन्धको प्रस्ताव राखे कि ?

- छैन ।

० तपाई सांगीतिक परिवारभन्दा बाहिरको मानिस स्थापित हुन कतिको चाकडी गर्नुपर्यो ?

- खासै गर्नु परेन् । मिहिनेत अनुसारको प्रतिफल पाएको छु ।

० यस क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?

- बाँच्न पुगेको छ । पूर्ण सुविधायुक्त जीवन निर्वाह गर्न त गाह्रो छ । त्यसैले गायनसँगसँगै साझेदारीमा बोर्डिङ स्कूल पनि सञ्चालन गरेको छु ।

० झुठो कतिको बोल्नुहुन्छ ?

- अरुलाई फाइदा हुन्छ, भने झुठ बोल्छु ।

० भगवानप्रति आस्था छ ?

- भगवानप्रति समर्पित छु ।

० लोकगित मन पर्छ कि आधुनिक गीत ?

- आधुनिक ।

० गाउन कुन सजिलो हुन्छ ?

- छुट्याउन मिल्दैन । दुवै उस्तै हुन् ।

० पाईन्ट कि कुर्ता सुरुवाल ?

- पाईन्ट

० रक्सी पिउनु भा को छ ?

- चाखेको छु । मात्ने गरेर भने पिएको छैन ।

June 7, 2009

कलाकारहरु माओवादीमा

 

चलचित्रकर्मीहरु माओवादी पार्टीमा प्रवेश गरेका छन। काठमाडौंमा आयोजित कार्यक्रममा ९६ चलचित्रकर्मी माओवादी पार्टीमा प्रवेश गरेका थिए । माओवादीमा प्रवेश गर्ने कलाकारहरुमा चर्चित चलचित्र निर्देशक, लेखक तथा निर्माता शिव रेग्मी, चर्चित चलचित्र गायिका अन्जु पन्त, लेखक निर्देशक राजुध्वज राणा, चलचित्र द्वन्द निर्देशक एन।बी महर्जन, निर्माता निर्देशक कलाकार गायक तथा सङ्गीतकार जयनन्द लामा, निर्देशक निर्माता दीपक श्रेष्ठ, वरिष्ठ प्राविधिज्ञ ज्योतिलाल राना,चर्चित नृत्य निर्देशक भुवन श्रेष्ठ, निर्माता तथा वितरक छवि ओझा, चर्चित हाँस्यकलाकार तथा निर्माता निर्मल शर्मा, हाँस्यकलाकार सुलेमान कुँवर ‘इकु’ कलाकार तथा निर्माता रामकृष्ण बजगाईं, नायक तथा निर्माता सुनीलदत्त पाण्डे, निर्देशक तथा रङ्गकर्मी गोपालचन्द्र लामीछाने, द्वन्दनिर्देशक रोशन श्रेष्ठ, निर्देशक निर्माता तथा कलाकार उदय सुब्बा लेखक तथा निर्देशक सुरज सुब्बा पनि सँगै माओवादीमा प्रवेश गरेका छन्।

यसैगरी माओवादीमा प्रवेश गर्नेहरुमा चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठ, निर्माता तथा वितरक वसन्तकुमार श्रेष्ठ, हरी बराल, वितरक तथा प्रदर्शक केवी क्षेत्री, चलचित्र पत्रकार सविन शाक्य, छयाङ्कार डिक खड्का, निर्माता तथा निर्देशक राकेश मानन्धर, नृत्य निर्देशक अच्युत घिमिरे, द्वन्द निर्देशक कुमार श्रेष्ठ, हिमाल केसी, कुमार महर्जन, निर्देशक योगेश घिमिरे, रामजी लामीछाने, सागर लामीछाने, चलचित्र सम्पादक राजु भण्डारी, नायिका सिर्जना बस्नेत, निर्माता तथा नायक राहुल केसी, निर्माता तथा कलाकार विवेक सापकोटा, प्रदर्शक तथा वितरक गोपाल कायस्थ, छायाङ्कार दुर्गा पौडेल, लेखक तथा कलाकार कृष्ण ढुङ्गाना छन्।

स्थिर छायाङ्कार सुरज चन्द, शृङ्गारकर्ता राजकुमार भुजेल, गायक तथा सङ्गितकार विकास चौधरी, मनोज राज, कलाकारहरु राजेन्द् पोखरेल, सुन्दर श्रेष्ठ, आमोद कार्की, सुभद्रा पोखरेल, वीपेन्द्र खड्गी, अनिता कार्की, वृन्दा दुलाल, भरत कार्की, टीका गर्तौला, जानुका केसी, धन पाख्रीन, आशिष तिवारी, विकास श्रेत्री, सरु खड्का, वीरबहादुर तामाङ, डीपी क्षेत्री, नीरबहादुर बलम्पाखी शनिबार माओवादीमा प्रवेश गरे।

यसैगरी माओवादीमा नवप्रवेशीहरुमा चलचित्र पत्रकार राजन घिमिरे, नायक तथा निर्माता कल्याण घिमीरे, निर्माता इन्द्र कार्की, निर्माता तथा निर्देशक मोहन शाह, छायाङ्कार नारायण श्रेष्ठ, महेन्द्र थापा, शम्भु सापकोटा, डम्बर राई, मदन घिमिरे, सौरभ लामा, दिनेशकुमार राई, घनश्याम पुरी, नृत्य निर्देशक रुपेश उप्रेती, कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रणक राजु क्षेत्री, निर्माता सन्देशमान श्रेष्ठ, द्वन्द कलाकार गोकुल खत्री, कला निर्देशक निर्जल श्रेष्ठ, निर्देशक विनोद सेरेङ्गा, सृङ्गार विनोदमणी दाहाल, निर्माता तथा कलाकार कृष्णकुमार कार्की, गायिका पुजा सुनुवारलगायत छन्।

February 24, 2009

ओस्कारको उपाधि स्लमडग मिलेनियर´लाई

८१ औं ओस्कारको उपाधि स्लमडग मिलेनियर´ ले जितेको छ । उत्कष्ट फिल्म सहित ८ वटा अवार्ड जितेको छ। मुम्बईको झुपडी वस्तीको केटाले गेम शोमा दुई करोड जितेको कथामा बनेको यो फिल्मका लागि बेलायती निर्देशक ड्यानी वोयलले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।

यसैका लागि सिमोन वोयफीले उत्कृष्ट ´एडप्टेड´ पटकथाको अवार्ड जितेका छन्। यसैका लागि भारतीय संगीतकार एआर रहमानले दुई ओस्कर जितेका छन्। ´स्लमडग मिलेनियर´ का लागि उनले उत्कृष्ट संगीत र गीत दुवै ओस्कर जिते। यो फिल्मको ´जय हो´ बोलको उनको गीत उत्कृष्ट छानियो। यसका साथै यो गीत लेख्ने गीतकार गुलजार र गायक सुखविन्दर सिंह पनि ओस्कर विजेता भएका छन्।

दश विधामा मनोनित स्लमडगले सिनेम्याटोग्राफी, सम्पादन र ध्वनी मिश्रणमा पनि अवार्ड पाएको छ। सन पेनले उत्कृष्ट अभिनेताको ओस्कर जितेका छन्। उत्कृष्ट अभिनेत्रीको अवार्ड ´द रिडर´ का लागि केट विन्स्लेटले पाइन्। सहअभिनेताको अवार्ड ´द डार्क नाइट´ का लागि दिवंगत हिथ लिजरले पाए भने सहअभिनेत्री ´विकी क्रिस्टिना वार्सिलोना´ का लागि पेनिलोप क्रुजले पाइन्।

मौलिक पटकथाको अवार्ड ´मिल्क´ ले जितेको छ। समलिङि्गी अभियन्ताको जीवनीमा आधारित यो फिल्मका लागि डस्टिन ल्यान्स व्ल्याकले ओस्कर जितेका छन्। पटकथामा पनि अवार्ड पाउने मानिएको ´वाल इ´ ले भने उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड जितेको छ। विदेशी भाषाको फिल्मको दावेदार मानिएको इजरायलको ´वाल्ट्ज विथ वसिर´ भने पछि पर्यो। यसलाई उछिन्दै जापानको ´डिपाचर्स्´ले ओस्कर जित्यो।

October 27, 2008

आमिर खान किशोर कुमारको भूमिकामा

ऐतिहासिक भूमिकामा मंगल पाण्डेमा अभिनय गरिसकेका आमिर खान अब भारतीय कालजयी गायक किशोर कुमारको भूमिकामा देखापर्ने भएका छन् । पर्सेप्ट पिक्चर्स कम्पनीले किशोर कुमारको जीवनीमाथि फिल्म बनाउन लागेको हो र उक्त भूमिकामा कम्पनीले आमिरसँग प्रस्ताव राखिसकेको छ । किशोर कुमारलाई एकदम सम्मान गर्ने अभिनेता आमिर अहिले स्क्रिप्ट पढिरहेका छन् । स्क्रिप्ट पढेपछि आमिरबाट सकारात्मक जवाफ पाउनेमा कम्पनी आश्वस्त बनेको छ । ‘मलाई किशोर कुमारको भूमिकामा अभिनय गर्ने प्रस्ताव आएको साँचो हो, तर यसबारे म पूरा स्क्रिप्ट नपढी कुनै निर्णय गर्न सक्दिनँ,’ आमिरले भने ।अहिले राजकुमार हिरानीको ‘थ्री इडियटस्’मा अभिनय गरिरहेका आमिरको नयाँ फिल्म ‘गजिनी’ केही महिनामै रिलिज हुने तरखरमा छ । आमिर पछिल्लो समयमा आफ्नो ब्लगसाइटका कारण चर्चामा थिए । उनी लामो समयपछि फेरि ब्लगमा फर्किएका छन् । लामो समयको ग्यापपछि ब्लगमा फर्किएका आमिरले आफ्नो साइटमा लेखेका छन्, ‘केही दिनअघि मेरो रात निकै खराब रह्यो । रात-दिनको लामो कामपछि म रातको तीन बजे सुत्न खोज्दै थिएँ, मेरो कानमा केही चिजले टोक्यो, त्यसपछि पेट, घाँटी, खुट्टा सबैतिर त्यसले मलाई टोक्यो, सुरुमा मैले सहेरै बसेँ तर, एकछिनपछि त्यो दुखाइ यति बढ्यो कि म ब्युँझिन बाध्य भएँ । उठेर हेर्दा खाटभरि कमिला फैलिएका थिए ।’आमिरको खाटमा केही होइन सयौँ कमिला जम्मा भइसकेका थिए । आधाभन्दा बढी कमिला उनको शरीरमा उक्लिसकेका थिए । त्यसपछि उनी खाटमा उफ्रेर सिधै बाथरुम गई नुहाउन बाध्य भएका थिए । त्यति धेरै कमिला कहाँबाट कसरी जम्मा भए ? आमिरलाई अचम्म लागेको छ । उनले ठट्टा गर्दै लेखेका छन्, ‘सायद कमिला गुलियो चिज खोज्दै खाटमा आएका थिए, जब कि गुलियो चिज अर्थात् मेरी श्रीमती किरण त्यो रात सुटिङले गर्दा मसँग थिइनन्, कमिलाले मलाई नै किरण ठानेको हो कि ?’ब्लगको दुनियाँदेखि लामो समय अलग रहेकामा उनले आफ्ना प्रशंसकहरूसँग माफी मागेका छन् । ‘पिठ्युँमा पिटिनयोग्य मान्छे भएको छु म,’ उनले पछुतो गरेका छन् ।

August 3, 2008

प्रेम प्रस्ताव राख्ने धेरै छन्: माण्डवी

माण्डवी त्रिपाठी पोहोर साल यो सिजनमा निकै व्यस्त थिइन् । तीज नजिकिँदै गएकोले विभिन्न स्टुडियोमा तीजको भाका उराल्दैमा दिन बितेको पत्तो पाउँदिन थिइन् । तर, यसपालि पोहोरको जस्तो चटारो छैन । ‘यसपालि त तीजको रमझमले छोएन, नाच्ने-गाउँने अर्को वर्ष गर्नुपर्ला,’ उनले भनिन् । यो फुर्सद अरूको कारण मिलेको होइन । आफ्नै काम परेकाले फुर्सदमा भएको बताइन् । भन्छिन्, ‘आफ्नै सोलो एल्बमको तयारी गर्दैछु, त्यही कारण अरू गीत गाइनँ ।’ दसं छेको पारेर नयाँ एल्बम ल्याउने सुरमा छिन् उनी । लोक, आधुनिकदेखि सिनेमाका गीतमा समेत स्वर दिएकी छिन् उनले । उनलाई चिन्नेहरू भने लोकगायिका भन्छन् । लोकबाहेकको पाटो छोपिएकोमा नरमाइलो लाग्दैन ? ‘अँहँ, लोकगीत भनेको ठेट गीत हो । मलाई त लोकगायिका भन्दा रमाइलो लाग्छ ।’ अरूको अनुमान ठीकै भएको धारणा राखिन् ।

एउटा गीत गाएबापत् उनको पारिश्रमिक कति होला ? भन्न चाहिनन् । अवय ढुंगेलसँग मिलेर ‘सुपारी जाईको…’ गीतबाट औपचारिक रूपमा लोकगीत गाउन सुरु गरेकी थिइन् उनले । अहिलेसम्म आठ सयभन्दा बढी गीतमा स्वर दिएकी माण्डवीले दिनमा तीनवटासम्म गीत गाएकी रहेछिन् । कहिलेसम्म गाउलिन् ? ‘खै, थाहा छैन, कहिलेसम्म हुन्छ ? जहिलेसम्म सक्छु, त्यही बेलासम्म गाउँछु ?’ उनले भनिन् । गाउनुअघि शब्द हेर्ने बानी छ उनको । शब्द राम्रो भयो भने गीत पनि राम्रो हुन्छजस्तो लाग्दोरहेछ उनलाई । शब्द चित्त नबुझेकै कारण अहिलेसम्म एउटै गीत गाउँदिनँ भनेको रेकर्ड रहेनछ । किन त ? भन्छिन्, ‘कसैको गीत भएन भन्दा चित्त दुःखाउलान् कि भन्ने डर लाग्छ, आफूलाई राम्रो नलागे पनि गाइदिन्छु ।’ उनका गीत सुनेर श्रोता जति मख्ख छन्, परिवारका सदस्य पनि कम्ती खुसी छैनन् । उनका बुबा शम्भुप्रसाद त्रिपाठी जमानाका नामी भजन गायक रै’छन् । बुबाकै प्रेरणाले संगीतमा लागेकी हुँ भन्ने माण्डवीले आफ्नो नयाँ गीत सुनेर आमाले समेत कमेन्ट गर्ने गरेको बताइन् ।

लोकगीतमा धेरैजसो मायाप्रेमकै भाव समेटिएको हुन्छ, दर्जनौं प्रेमका गीत गाएकी माण्डवीले अझै कसैकी प्रेमिका हुन सकेकी रै’नछिन् । तर, गीत सुनेर ‘आऊ हामी प्रेम गराँ’ भनेर प्रस्ताव राख्ने धेरै छन् । प्रेमका लागि अपिल गर्नेको आग्रह स्वीकार नगरेको बताइन् । उनी आफंले पो कसैसँग आग्रह गरेकी छिन् कि ? हाम्रो जिज्ञासपछि मुस्कुराउँदै भनिन्, ‘त्यतातिर ध्यानै दिएकी छैन ।’

June 6, 2008

प्रचण्ड निकै सेक्सी छन: झरना थापा

नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय नायिका हुन् झरना थापा । कलिलै उमेर विवाह भयो उनको । भन्छिन्, "श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ ।" सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने उनको धारणा छ । सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा । भन्छिन्, "विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै भयो । म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन ।" उनको विचारमा सेक्स अपरिहार्य छ । र योविना जीवन पर्हुँदैन ।

 यी चुलबुले नायिकासित सेक्सबारे धेरै प्रश्न सोधियो । सेक्स संवाद लम्बिँदे गएपछि झरनाले मस्केर भनिन्, "विवाह गर्नेलाई थाहा हुन्छ ऋषिजी सेक्स कस्तो हुन्छ भनेर । तपाईं अविवाहित मान्छे मलाई किन यसरी सोध्नुहुन्छ – विवाह गर्नुहुन्छ भने म कुनै नायिका खोजिदिन्छु ।" झरनाले नयाँ पुस्तालाई पनि निकै सन्देश दिएकी छिन् ।

उनले भनिन्, " अहिलेका युवायुवतीहरुलाई म के आग्रह गर्छर्ने जीवनमा प्रेम गर्नुस् मज्जाले । सेक्सचाहिँ विवाहपछि गर्नुहोस् । प्रेम र सेक्सलाई सँगै लिएर जान सकिँदैन । सेक्सका लागि प्रेम गर्नुहुँदैन ।सफा दिलले प्रेम गर्न सक्ने मान्छे नै सुखी र खुसी हुन्छ ।" झरना नेपाली चलिचित्रको भविष्य देख्छिन् । भल्गर होइन । मौलिक कथा वस्तु भएको चलचित्रको ।

भविष्यमा राजनीतिमा गर्ने इच्छा रहेछ उनको । उनले भनिन्, "कुन दलको राजनीति लाग्ने भन्ने चाहिँ थाहा छैन ।" उनलाई माओवादी अध्यक्ष प्रचण्डको हेयर स्टाइल र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला टल पर्सनालिटीले प्रभावित गरेको छ । उनले भनिन्, "मलाई प्रचण्ड र गिरिजा अत्यन्त मनपर्छ । प्रचण्डको कपाल निकै सेक्सी छ ।"

May 7, 2008

वुढेस कालमा पनि प्रेम खोज्ने यो चाला !

प्रेममा फस्न उमेरले छेक्दैन । रिटायर्ड भइसकेका योजी कावामुराले ६५ वर्षे उमेरमा यो कुरा चाल पाए । आफ्नो पार्टटाइम काम, फोटोग्राफीको नयाँ सोख र कम्प्युटर दिन काट्नका लागि पर्याप्त थिएनन् ।

नयाँ जीवनसाथी भेटिने आशमा उनी अहिले म्याचमेकिङ साइट सर्भ गर्दै दिन काट्ने गर्छन् । अनलाइनमार्फत प्रेम खोज्ने उनीमात्र होइनन् । थुप्रै वृद्ध जापानी अहिले अनलाइनमार्फत साथीको खोजी गर्ने गरेका छन् । जब तपाइं मेरो उमेरमा पुग्नुहुन्छ, तपाईंको कार्यक्षेत्र साँघुरो हुन्छ । साँघुरो घेराका मानिससँग मात्र तपाईंको भेट हुन्छ,’ टोकियोको क्याफेमा चिया पिउँदै उनी भन्छन्, ‘आफ्नो सर्कलभन्दा बाहिर जान चाहनु हुन्छ भने पनि कसरी जाने तपाईंलाई थाहा हँदैन ।

पूर्व ट्याक्सी ड्राइभर कावामुराको २६ वर्षअगाडि सम्बन्धविच्छेद भएको थियो । गत वर्षको जुलाईदेखि उनी अमेरिकास्थित अनलाइन डेटिङ सर्भिस म्याच डट कमको साइटमा दर्ता भएका छन् । अहिले मेरो क्षितिज फराकिलो भएको छ । मेरो जीवन रमाइलो भएको छ किनभने म साथीभाइ बनाउन सक्छु,’ कावामुरा भन्छन् । एकैसाथ उनी अहिले तीन महिलासित डेटिङमा व्यस्त छन् । दुई महिला उनीभन्दा नौवर्ष कान्छी छन् भने अर्की महिला ६२ वर्षकी छिन् ।

२००४ देखि म्याच डट कमले जापानमा व्यवसाय सुरु गरेको हो । आठ लाख ४० हजार सदस्य रहेको दाबी म्याच डट कमको रहेको छ । यसका ५० प्रतिशतभन्दा बढी सदस्यहरू ३० देखि ३९ उमेरका छन् भने ५० वर्ष काटिसकेका ९ प्रतिशत जापानी नागरिक सदस्य रहेका छन् । ५० वर्ष नाघिसकेकाले प्रेमका कुरा गर्नुहुँदैन भन्ने धारणा समाज व्याप्तमा थियो,’ म्याच डट कमका जापान अफिसका अध्यक्ष्ा काटसुकी कुवानोले भने । तर आजभोलि ५० वर्ष काटेकाहरूले पनि प्रेम र बिहेका कुरा गर्नु सामान्य मानिन थालिएको छ,’ उनी भन्छन् ।

बुढ्यौली जनसंख्या वृद्धिका कारणले गर्दा पनि बुढेसकालको प्रेम र बिहेको सम्बन्धमा परिवर्तन भएको हो । प्रत्येक पाँच जापानी नागरिकमध्ये एक नागरिक ६५ वर्ष काटेको भएको बताइएको छ । यो शताब्दीको मध्यतिर यो प्रतिशत दोब्बर हुने अनुमान गरिएको छ । इन्टरनेट प्रयोगकर्ताको संख्या बढेका कारणले गर्दा पनि अनलाइनमा प्रेम खोज्ने बुढ्यौली लागेका मानिसहरू प्रशस्त छन् ।

सम्बन्धविच्छेदका घटना बढेकाले धेरै मानिस आजभोलि दोस्रो बिहे सजिलै स्वीकार गर्छन्,’ टोकियोमा रहेको सोफिया विश्वविद्यालयका समाजशास्त्रका प्रोफेसर जेम्स फरेर भन्छन् । यस्ता कुराले मिडियामा स्थान पाएको देख्दा सांस्कृतिक परिवर्तन भएको भान हुन्छ । बुढेसकाल लागेका मानिसहरू पनि कामुक हुन्छन् । र, उनीहरूले प्रेमका कुरा गर्नु सामान्य मान्न थालिएको छ,’ उनी भन्छन् । आफ्ना बूढाबूढी भएका बाबुआमालाई पुनः बिहे गर्न छोराछोरीले समेत प्रोत्साहन गर्न थालेका छन् ।

मानिसहरू धेरै बाँच्न थालेका छन् । प्रायः परिवार सानो हुन थालेको छ । वयस्क छोराछोरी आफ्ना बाबुआमाले कोही साथी खोजून् भन्ने चाहन्छन् । बाबुआमाले कोही साथी खोजे आफूले उनीहरूका बारेमा धेरै पीर नलिनुपर्ने धारणा छोराछोरीको छ,’ फेरर भन्छन् ।

परिवर्तित मान्यताका कारण नै वृद्ध जापानीलाई प्रेम गर्न सजिलो भएको अन्य म्याचमेकिङ साइटहरू स्वीकार गर्छन् । २० देखि ३० वर्ष उमेरका युवायुवती आफ्नो खुशी खोज्नुलाई महत्त्वपूर्ण ठान्छन् । यसैगरी, बाबुआमाका लागि पनि खुसी खोज्नु त्यतिकै महत्त्वपूर्ण भएको उनीहरूले बुझ्न थालेका छन्,’ अनलाइन म्यारिज कन्सलटेन्सी सिनियर लभका अध्यक्ष्ा जुनिची इकेदा भन्छन् । ९० वर्षका एक वृद्धले आफ्नो सेवा लिएको उनी बताउँछन् । तर, अझै पनि मानिस अनलाइन प्रेमप्रति निश्चिन्त हुन सकेका छैनन् । मैले अहिलेसम्म मेरा छोराछोरीलाई अनलाइन डेटिङका बारेमा बताएको छैन । मेरो विचारमा अनलाइनबाट साथी खोज्नुभन्दा प्राकृतिक रूपमा भेट्नु नै राम्रो हो,’ ५२ वषर्ीया नायोमी भन्छिन् । म्याच डट कममा उनी फेब्रुअरीदेखि दर्ता भएकी हुन् । यो विचार पुरानो जमानाको जस्तो लाग्न सक्छ । तर, अनलाइन डेटिङ साइटको छवि राम्रो छैन,’ नायोमी भन्छिन् । म्याच डट कमका सर्वेक्षणअनुसार जापानी महिला र पुरुषले आफ्नो पार्टनरमा हुनपर्ने गुणमा मिल्ने विचारलाई एक नम्बरमा राखेका छन् । पुरुषहरूले समान व्यक्तित्वलाई दुई नम्बरमा राखेका छन् भने महिलाहरूले कमाइलाई । महिलाहरूले काम र कमाइका बारेमा धेरै चासो दिएर सोध्ने भएकाले केही समयका लागि कावामुरा म्याच डट कमबाट बाहिरिएका थिए ।

म जहिले-जहिले इमेल पठाउँथेँ, उनीहरू मेरो कामका बारेमा प्रश्न सोध्थे । तर, मेरो कामलाई जापानमा तल्लो दर्जाको मानिन्छ,’ कावामुरा भन्छन् । तर, अहिले उनी अनलाइनमार्फत भेटिएकी एक मित्रसँग नजिकिएका छन् । तर, सम्बन्ध गाँस्न आफूले हतारो नगर्ने बताउँछन् । एकअर्कालाई चिन्न समय लगाउने सुरमा छन् उनी । सबैभन्दा आधारभूत कुरा भनेको इमानदारीपूर्वक धैर्य गर्नु हो,’ उनी भन्छन् ।

March 21, 2008

हरिवंशलाइ चुनाव भन्दा सुटिङ प्यारो


अशोक सिलवाल

हरिवंश आचार्यलाई थप परिचय जरुरी छैन । पछिल्लो समय उनी हरिबहादुरको रुपमा पनि चर्चित छन् । नया नेपालको सास्कृतिक स्वरुप र आसन्न संविधानसभा निर्वाचनका बारेमा उनै हरिबहादुरको सम्वाद ।

नयाँ नेपालको सांस्कृतिक स्वरुप कस्तो हुनुपर्छ ?

जनजाति, भाषा, संस्कृति सबैको समानुपातिक प्रतिनिधित्व हुनुपर्‍यो । एउटै मात्र भाषाको एकाधिकार हुनुभएन । सबै भाषा र संस्कृति देशको सम्पत्ति हो । यो हामी सबैको देश हो भनेर गर्व गर्न सकिने वातावरण तयार हुनुपर्छ । स्थानीय भाषाका टेलिभिजन र रेडियो स्थापना हुनुपर्‍यो । त्यसको संरक्षणका लागि राज्यले पनि भरथेग गर्नुपर्‍यो । अर्को कुरा, विज्ञापनको निरन्तर उपलब्धता हुनुपर्‍यो । तर यी सब हुनाका लागि देशमा दिर्घकालिन शान्ति हुनुपर्‍यो । दिर्घकालिन शान्ति स्थापना भएपछि सबैले फल्ने फूल्ने मौका प्राप्त हुन्छ ।

लोकतन्त्र स्थापनापछि तपाईले चाहिँ के फरक अनुभव गर्नुभयो ?

हिजोको भन्दा फरक अनुभूति होला भनेर नै लोकतन्त्र ल्याएको हो, सबैले मिलेर । अहिले नै सबै किसिमले फरक त भइसकेको छैन । फरक होला नि । तर, अहिले नै फरक हुनुपर्छ, सबैको माग पूरा भइहाल्नुपर्छ भन्ने पक्षमा म चाहिँ छैन । यो संक्रमणकालिन अवस्था हो । यस्तो बेलामा आफ्नो भावनालाई कुण्ठित गरेर भए पनि राज्यलाई सकुसल अवतरण गराउनुपर्‍यो । हामीले के पायौं भन्दा पनि के दिन सक्यौं भन्ने बेला हो यो ।

भनेपछि, अहिले यो भएन, त्यो भएन भन्ने बेला हेइन ?

हो ।

जनआन्दोलनमा सक्रिय रहुनुभयो । जुन सपना लिएर तपाईहरु सक्रिय हुनुभएको थियो, त्यो अहिले पूरा हुँदै गरेको लक्षण देख्नुहुन्छ ?

सबभन्दा पहिले हामीले शान्तिको निन्द्रा सुत्न पाउनु पर्‍यो । त्यसरी सुत्न पाएपछि सपना देखिहालिन्छ नि । अनि राम्रो दिन पनि आउँछ ।

आगामी २८ चैतमा संविधानसभा निर्वाचन हुने भनिएको छ । हुन्छ जस्तो लाग्छ ?

हुन्छ जस्तो लाग्छ, मलाई । पहिले पनि हुन्छ जस्तो लागेको थियो तर भएन । अहिले पनि हुन्छ जस्तो लाग्या छ । हुन्छ होला ।

फेरि यसपटक पनि नहुने हो कि ?

यस पटक पनि भएन भने पनि अर्को पटक गर्नुपर्छ । यसमा हामी निरन्तर लागि रहनुपर्छ ।

लोकतन्त्र संस्थागत गर्न कलाकारहरुको भूमिका के हुन्छ ?

सबै नागरिकको जे भूमिका हुन्छ, हाम्रो पनि त्यही भूमिका हुन्छ । तर आम नागरिकहरु भन्दा बढी चिनिएको हुनाले हामीले बिखण्डनको कुरा गर्न भएन । देशमा सांस्कृतिक सद्भाव कायम राखेर अगाडि बढ्ने काम गर्नुपर्छ ।

हिजो आज के गर्दै हुनुहुन्छ ?

मदनबहादुर हरिबहादुरको सुटिङमै व्यस्त छु ।

संविधानसभा निर्वाचन भन्दा सुटिङ नै प्यारो होइन त ?

हाम्रो मात्र होइन, तपाई पत्रकारहरुलाई पनि त आफ्नै पत्रिका प्यारो हुन्छ नि । हो कि होइन - हामीलाई हाम्रो पेशा प्यारो हुँदैन त ?

March 13, 2008

अमिर खांनको कृकेट मोह

बलिउडमा मात्र होइन आमिर र शाहरुखको प्रतिस्पर्धा अब क्रिकेटमा पनि देखिने भएको छ । शाहरुख खानले इन्डियन पि्रमियर लिग -आइपिएल) को कोलकाता टोली किनेलगत्तै आमिर खानले आइपिएलको प्रतिद्वन्द्वी इन्डियन क्रिकेट लिग -आइसिएल) को ‘लाहोर वादशाह’ टोली किन्ने तयारी गरेका छन् । भारतीय सञ्चारमाध्यमले स्रोत उल्लेख गर्दै आमिरले लाहोर वादशाह किन्न लागेको बताएका हुन् ।

यसैगरी, आइसिएलको ‘मुम्बई च्याम्पस्’ टोली किनेर करिना पनि प्रीतिलाई जवाफ दिने तयारीमा छिन् । प्रीतिले साझेदारसँग मिलेर आइपिएलको दिल्ली टोली किनेकी थिइन् । आमिर र करिनाको आइसिएल टोली किन्ने तयारी अन्तिम चरणमा पुगेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । क्रिकेटद्वारा आफ्नो फिल्मको प्रवर्द्धन गर्न खप्पीस शाहरुखकै सिको गरेका आमिरले पनि आफ्नो चलचित्रको प्रचार ‘लाहोर वादशाह’का खेलाडीद्वारा गर्न पाउने छन् ।

अब, आमिरको चलचित्रको विज्ञापनमा मोहम्मद साम्ाी र इन्जमाम उलहक देखिए अचम्म नमाने हुन्छ । लाहोर वादशाह किन्ने आमिरको तयारी अन्तिम चरणमा पुगेको र हस्ताक्षर गर्न मात्र बाँकी रहेको छ । सम्झौतामा खेलाडीलाई विज्ञापनमा उपयोग गर्न पाउने बुँदासमेत रहेको छ । टोलीका खेलाडीले पाकिस्तानमा पनि आमिरको चलचित्रको विज्ञापन गर्नुपर्नेछ । आमिर र करिनाको जी टेलिफिल्मस्का प्रमुख सुवास चन्द्रासँगको सुमधुर सम्बन्धका कारण सम्झौता हुन लागेको भारतीय सञ्चारमाध्यमको कथन छ ।

चलिचत्रकर्मी पनि संविधानसभाको प्रचारमा

नेपाली चलचित्रकर्मीहरुले सबिधानसभा चुनावपछि देश स्थायी शान्तितर्फ उन्मुख हुने बताउदै आफूहरु पनि चुनावको तयारीमा बिभिन्न प्रकारले लाग्ने बताएका छन् । फागुन २२ गते राजधानीमा आयोजित कार्यक्रममा यस्तो धारणा राख्ने चलचित्रकर्मीमा प्रख्यात हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य तथा नायक भुवन केसीलगायत थिए।

मदनकृष्ण श्रेष्ठले सबिधानसभा चुनाव सफल पार्न आफूहरुले त्यसबारे टेलिकार्यक्रम बनाइरहेको बताए । दलका नेताभन्दा अघिदेखि आफूहरु टेलिचलचित्रको माध्यमबाट संविधानसभा चुनावको पक्षमा लागेको पनि श्रेष्ठले कार्यक्रममा उल्लेख गरे । राजनीतिक दलहरुले आफ्नो हितमाभन्दा पिछडिएको वर्ग र क्षेत्रको हितमा संविधान बनाउन लाग्नुपर्ने पनि उनको भनाइ थियो ।

हरिवंश आचार्यले शासकहरुले बिगतमा आफ्ना लागि मात्र कानुन बनाएको तथा अब बन्ने संविधान सबै नेपालीले गर्व गर्नसक्ने हुनुपर्ने बताए । संविधानसभा चुनाव सफल पार्न आफूहरु आफ्नो क्षेत्रबाट लाग्ने पनि आचार्यले कार्यक्रममा उल्लेख गरे ।

कार्यक्रमका अर्का वक्ता नायक भुवन केसीले संविधानसभा चुनाव ढिलो गर्न दलहरु नै जिम्मेवार भएको बताए । कार्यक्रममा प्रकाश सायमी, युवराज लामा, केपी पाठक, दीपकराज गिरी, रेखा थापा, सिर्जना बस्नेतलगायतका चलचित्रकर्मीहरुले पनि बोलेका थिए ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com