November 11, 2009

अम्रिकाले भिसा दिएन, नेपालमा बस्न मन छैन

I have no country to fight for;
my country is the earth,
and I am a citizen of the world. ~Eugene V. Debs

तिनी जन्मेको खुशीयाली बडो उत्साहमय थियो। हजुर बाउपनि के कम तुरुन्तै हल्दिरामको सोना पाप्रीले मुख मिठाइ हाले। हुन त उनको सुगर रोग पुरानै हो। तर आज चाँही बाल मतलब थिएन। पहिलो नातिनी लक्ष्मी नै हो भन्ठाने। दिउसो तिर त छोरोको साथीले कता कता बाट फेस बुकबाट फोटो डाउनलोड गरेर प्रिन्ट नै गरेर ल्याइ दिएछन्। भर्खर मात्रा के जन्मेको भनेर अम्रिकाबाट फोन आएको थियो। फोटो पनि ट्याक्कै हेर्न पाइयो भनेर दङ्गदास परे दुबै हजुरबुवा र हजुर मुमा।

नेपालमा किन हो कुन्नी नाती नातिनाप्रती हजुर आमा बुवाको बिशेष लगाब हुन्छ। मगन्नै पैसा भएर पनि काम बाहेकले पोखरा पनि घुम्न नगएका बुढा बुढीलाई नातिनिको मायाले चुम्बक जस्तै तान्यो। एक झलक हेरौ, खेलौ, माया गरौ भन्ने झल्को आइ रह्यो।
लौ मरी लानु के छ त अम्रिका पनि घुमौ , छोरा बुहारी नातिनीलाई पनि भेटौ भनेर भिसाको लागि अप्लाइ गरे। भिसा preparation को लागि सबै कागजात तयार भयो आफ्नो चल अचल सम्पत्ति सबैको हिसाब किताब देखाइयो। काठमाडौंको मात्रै मेन चोकमा दुई वटा घर । दुई वटाको करीब दुई करोड पर्ने । सुन १५ तोला जती, त्यस बाहेक जग्गा जमिन। ठुलै ढड्डानै तयार भयो।
उही black and white नातिनीको dot matrix printer मा प्रिन्ट गरेको अनुहार पनि राम्ररी नदेखिने फोटो देखेरै मक्ख परेका बुढा बुढीलाई कती बेला अमेरिका जाउ जस्तो भएको थियो। यि सारा सपना त जब चकना चुर भयो तब बुढा बुढीले भिसा पाएनन्। निर्दयी मुटु भएकाहरुले भिसा दिनु पर्ने कारण नै देखेनन रे। अ रे बाबा सितैमा जान्छु त भनेको छैन नि, टिकेट काटेर गजब सँग पैसा खर्च गरेर देश घुम्न जान्छु भन्दा नि नपाईने?? आफ्नो छोरा बुहारी नातिनीलाई भेट्न जान्छु भन्दा नि नपाउने? के ७० बर्षकटेका बुढा बुढीले कहाँ कमाउन बस्लान भन्ने डर पो भएछ कि? सार्है अमिलो मुख लाएर हजुर बुवाले भने भगवानले यो संसार मानब जातीको लागि बनाइ दिएको आज तेरो मेरो गर्दा आफु पैसा तिरेर जान्छु भन्दा नि यो ईश्वरको रचना कस्तो रहेछ भनेर हेर्न नपाईने? उनी सँग धन नभएको पनि होइन उनी सँग मज्जाले एक महिना सम्म होटेलमा बसेर मज्जाले घुमेर आउने गरी जिन्दगी भर कमाएका थिए।
उनको गल्ती यही थियो कि उनी नेपालमा जन्मिए। त्यस्को सट्टा लण्डनमा जन्मेको भए क्रेडिट कार्डमा केही हजार डलर देखाएर अमेरिका जान पाउथे। नेपालमा जन्मिनाले मिलियन डलर देखाउदा नि पत्याएनन्। यो अमेरिकाले नि विद्यार्थी , अरु कामको लागि जाने लाई रोक टोक गरेनी कमसेकम बुढाबुढीलाई त छोरा छोरी भेट्न जान दिनु नि।
हाम्रो देशमा आउन त त्यस्तो झन्झट छैन कसैलाई। तिमी सँग घर होस् या नहोस् तिमी सँग जती नै रिन होस्। घुम्ने मात्रै पैसा देखाए पनि तिमीहरु लाई स्वागत छ त । अझै ए!! आउन हो!! नेपाल आउ भनेर निमन्त्रणा दिएकै छौ। तिम्रो देश आधुनिक रुपमा बिकास भएको होला तर हाम्रो देश त एउटा स्वर्गकै टुक्रा हो। तिमी लाई जती आफ्नो देश को माया लाग्छ तेती नै हामी लाई पनि लाग्छ।
तिमी बिदेशी नेपाल आउने भन्नासाथ नेपालीहरु एअरपोर्ट देखीनै फुल माला अबिरले स्वागत गर्छन् तर तिम्रो देशमा फूल माला त के नेपालमा रहित अमेरिकन embassy देखी नै निरास पार्छौ।
तिमी नेपाल आउदा खर्च गर्छौ होला। नेपालीहरु पनि त कम छैनन नी अमेरिका गएको बेला ठाटले खर्च गर्छन् नेपालमा कोदोकै रोटी खाएको भए नि newyork र California मा बिस डलरको पिज्जा खान्छन्। अन्तिममा बुढा हजुर बुवा भन्छन ओबामा तिमी आफ्नो बुढी , छोरीहरु र कुकुरसँग हासी खुशी बस । हामी चाँही नातिनी को फोटो हेरेरै चित्त बुझौला।    By:अर्चना

July 26, 2009

लाइफका प्रसेन्टेजहरु

by:Archana

५०% उमेर त सुतेर बितिसक्यो तपाईं भन्नुहोला कसरी? भनेर अब दिनभर जाग्ने रातभर सुत्ने गरेपछी आधा उमेर त सुतेर बिताएको भएन त? अहो हामी त कुम्भकर्णनै रैछौ बस कुन्भकर्ण र हामीमा एती फरक छ कि हामी दिनदिनै सुत्छौ, उनी ६ महिना सुत्ने र ६ महिना उठ्ने गर्थे।

कहिले काहि लाग्छ यो दिएको उमेर छोटो छ। एकजना युरोपियन कबिलाई पनि आफ्नो उमेर सार्है छोटो लागेछ कुन अर्थमा लागेछ भने आफ्नो प्रेमिकाको ब्याख्या गर्न । यो अहिले पाएको जीवनमा त उनका प्रेमिकाको आँखा मात्र पनि प्रशंशा गर्न भ्याउदैनन रे। वा! लिटरेचर भन्ने चिज नै यस्तै जती कल्पनाको उचाइमा पुगे पनि हुने। यि त भए 18th century का कुरा अहिलेका प्रेमीलाई यस्ता कुरा सुनायो भने त झटारोले हिर्काउछन । बकम्फुसे कुरा भन्लान तर बकम्फुसे फूल त राम्रै हुन्छ भगवानलाई पनि त चढाइन्छ। आँखा हेरेर जिन्दजी बिताउनेमा त आँखाका डाक्टर मात्र होलान जस्तै आँखाका डाक्टर सन्दुक रुइत आँखानै हेरेर कत्ती अवार्ड पाइसके । आहा!! कत्ती लक्की आँखा हरु…..

१०% चाँही बाटो काटेर, हिंडेर काटियो होला कत्ती कामले हिडियो होला कत्ती बेकामले हिडियो होला । ५% चहि खादा खादै बित्यो होला कठै ज्यान पाल्न परि हाल्यो भातको लत बसेको छ, त्यही नखाइ नहुने बिहान बेलुका। २०% पढाईमा बित्यो होला बिहान देखी बेलुका सम्म स्कुल, कलेज गयो फेरी घर आयो होमवोर्क गर्‍यो । दिनहरु कसरी बित्यो पत्तै भएन। 0.५% चाँही कलेज बङ्क सङ्क गरेर बित्यो होला सधैं पढ्न मन नलाग्ने कहिलेकाही कलेजबाट भाग्दा पनि रमाइलो नै हुने । 0.५% सरको पिटाइ खाएर बित्यो होला । पिटाइको पुरा गर्दा एकचोटि मैले दरो पिटाइ खाएको याद आयो । ४ मा पढ्दा म्याथ टिचर लक्ष्मण सर भन्ने हुनु हुन्थ्यो। साह्रै कडा मिजासका , सरको लौरो देखेरै डर लाग्ने । एक्दिन सबैलाई blackboard मा simplify गर्न लाउनु भयो र कसैलाई पनि सल्भ गर्न आएन र सबैलाई मेच माथि उठाउनु भयो मलाई अली म्याथ आउने भएकोले लास्टमा गर्न लाउनु भयो मैले पनि खराखर सल्भ गर्दिए ।

त्यसपछी त सरले सबलाई गएर गालामा झापड लगा भन्नु भयो मलाई त पर्नु फसाद पर्यो । आफु भन्दा धेरै ठुला ठुला अग्ला केटाहरुलाई र आफ्नै साथीहरुलाई कसरी झापड लाउने मैले त यो काम गर्न सक्दै सकिन अब झापड लाएर के गर्नु फेरी क्लास सके पछी केटाहरुले झापड बदला लिए भने त म दश गज पर पुग्थे, आफु त फुच्चे मान्छे। तेस्तै सोच्दा सोच्दै सर फेरी कुर्लिए, पिट भनेको सुनेनस फेरी सबैलाई स्कुलबाहिर चौरमा कुखुरा बनाएर राखिदिन्छु भने। अब सबैको अगाडि कुखुरा बन्नु भन्दा बरु साथीकै हातबाट झापड खान बेश लागेछ क्यारे सबै साथीहरुले पिट अर्चना भने अब म बडो दोधारमा परेर टेबल माथि चढेर एक्जना साथीको गाला बिस्तारै हातले के छोएको थिए सर त जङिएर तलाई पिटन आउदैन ल यता आइजा म सिकाउछु भनेर पाच औंलाको डाम बस्ने गरेर झ्याम्म हाने। त्यो झापडले ३ दिन सम्म गाला छोपेर हिंड्नु पर्‍यो साथीहरुले तेलले गाला मालिस गर्दिएको क्षण पनि बिर्सि नसक्नु छ। १०% चाहि काम गर्दै बित्यो होला जब देखी काम गरियो सुत्न कम गरियो काममै लत बस्यो फेरी नयाँ नयाँ कुरो एकै चोटि सिक्न मन लाग्ने हाडी घोप्टे बानी।

बाकिको ४% चाँही परिवार सँग रमाइलो गरेर , साथी हरु सँग गफ चुटेर , टि.भी हेरेर , म्युजिक सुनेर आदी इत्यादी गरेर बिताइयो होला । यसरीनै लाइफका प्रसेन्टेजहरु हरु जोड घटाऊ हुँदै जान्छन उमेर बढदै जान्छ । 

July 23, 2009

गुल्मी बैठकमा विश्राम कक्ष !

रामकृष्ण भण्डारी

हुन त २०४६ सालमा तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्या गुल्मी भ्रमणमा आउदां म नेपाल स्काउटका तर्फबाट मैले पिरामिडबाट स्यालोट गर्ने (सलाम गर्ने) अवसर पनि पाएको थिए । तर अन्तिम क्षणमा म पिरामिडबाट खसेपछि त्यो कार्यक्रम नै स्थगित भएको थियो ।

जे होस मैलै केटाकेटी मै राजारानीको नजिक पुग्ने विषेश अवसर त्यो बेला ठुलो अवसर नै थियो पाएको थिए । तर पछि २०४६ सालको अन्त्यतिर प्रजातान्त्रिक आन्दोलनका बेला लहलहैमा भएपनि केटाकेटी उमेर मै आन्दोलनमा सरिक भएकोले राजाको गुणगान गाउने मोह हरायो र पछिपछि त उल्टै राजतन्त्र चाहिन्न पो भन्न थालियो ।

 जेहोस नारायणहिटी दरवारको त्यो भब्यता हेर्न पाइएला भनेर गणतन्त्र आउनुअघि मैलै कहिल्यै सोचिन । तर गणतन्त्र स्थापना भने त्यो सम्भावना लगभग निश्चित जस्तै लागेको थियो । अन्तत आज २०६५ फागुन १६ त्यो मौका मिल्यो । हो आज म पहिलो पटक केटाकेटीमा कल्पना गरेको तिनै राजाहरुको संसारमा प्रवेश गरे । उनी बस्ने गफ गर्ने खानेसुत्ने सवै ठाउ हेरे । उनी बस्ने सिहासन पनि देखें अनि विरेन्द्रको वंश नास भएको ठाउ पनि ।

मेरो जन्मस्थल गुल्मीको नाममा रहेको गुल्मी बैठकमा विश्राम कक्ष रहेछ । तर नारायणहिटी दरवारको सबैभन्दा भब्य गोरखा बैठक रहेछ । िसंहासन राखिएको गोरखा बैठकको माथि सिलिग मा देवीहरुका कलात्मक चित्र बनाइएको रहेछ । इन्द्राणी वैष्णवी आदि नामका दैवी शक्ति प्राप्त हुने विश्वास गरिने देवीहरुका भब्य चित्र । यस्तो भव्य नारायणहिटी दरवार अव संग्रहालय बनेको छ । र सर्वसाधारणका लागि खुला भएको छ ।

 एकसताब्दी अघिदेखि शाहवंशीय राजपरिवारले उपभोग गर्दै आएको यो दरवार गत जेठमा राजाले गद्धीत्याग गरे पछि सरकारले संग्रहालय बनाउने घोषणा गरेको थियो ।दरबारको मुख्य ढोका गौरीशंकरद्वारबाट प्रवेश गरी कास्की बैठक हुदै १९ वटा कक्षको भ्रमण गरेपछि उत्तर तर्फको अन्नपूर्णद्वारबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

निस्कने क्रममा राजाको बगैचा हेर्न सकिने छ । त्रिभुवन सदन जहाँ २०५८ साल जेठ १९ गते रात्रिभोज भैरहदा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्य सहित एक दर्जन शाही परिवार र नातेदारको हत्या भएको स्थान पनि देख्न पाइने छ । राजाले राज्यभिषेकको समयमा प्रयोग गर्ने श्रीपेच राजदण्ड लगायतका बहुमुल्य सामग्री भने सरकारले दोस्रो चरणमा मात्र प्रदर्शनीमा राख्ने बताएको छ । हिटलरले राजा त्रिभुवनलाई दिएको गाडी विरेन्द्र र ऐश्वर्यको निजी निवास पुजा कोठा पनि अहिले प्रदर्शनीमा राखिएको छैन । नारायणहिटी दरबार परिसरको ७ सय ५३ रोपनी जग्गा मध्ये करिब साढे तीन सय १५ रोपनी क्षेत्रफलमा संग्रहालय रहेको छ ।

May 25, 2009

कविसँग कविता गाउँको यात्रा

· बालकृष्ण बस्नेत

चैतको मध्यदिनमा पनि ज्याकेटको याद आउने गरी चिसो हावा चलेको थियो । हामी हाम्रो पैदल यात्रा थाल्नु अघिको विश्राममा थियो । पारीपट्ट माच्छापुच्छ्रे हिमाल खुलेर हास्दै थियो । सँगैका केही सहयात्री आफ्नो रोजाई अनुसारको खानेकुराले भोक मेटदै थिए । मौसमको मेलो नपाएर मैले पातलो कपडा मात्र लायर आएको थिए, त्यसैले म अलिक हतार गरेर बाहिर घाममा राखेको टेवुलमा निस्किय । निकै आनन्दको अनुभूति भयो । एक्लो घामको बसाइलाई साथ दिन छेउँमै आएर बसिन सहयात्री बसन्ती । म भन्दा त्याहाको परिवेशसँग अलिक पुरानो चिनजान छ उनको ।

म उनीसँग सोध्न थाले हाम्रो यात्रा र स्थानीय परिबेशको वारेमा । उनले मायालु स्वरमा झर्को मानेझै गरेर भनिन ‘सबै अहिले नै भन्यो भने यात्राको रमाइलो घटन सक्छ ।’ मैले जिज्ञासा राख्ने क्रम रोकिन । सायद बढी नै सोधे कि क्याहो । उनले कडा स्वरमा भनिन, ‘टुरिष्ट नै त नवनन यार’ । ‘घरको भात त मीठै नलाग्ने’ । हाम्रो ध्यान खिच्ने गरी १५/१६ वर्षो किशोर आवाज सुनियो । हामी दुवैले ती किसोर भएतर्फटाउँको फर्कायो । ऊ आफ्नै साथीसँग गफमा मस्त थियो ।  ‘म तरकारी खादिन’ होटल साहुनीको तरकारी हाल्दीउ भन्ने अनुरोधलाई प्रतिवाद गर्दै ती किसोरले जवाफ फर्काए । उसलाई मासुको लत लागेको रहेछ । दुवै रहेछन् बसका   सहचालक । दुइ दिनको कविता गाउँको पदयात्रामा निस्किएका हामीलाई चकित पार्ने गरी तिनीहरु कुरा गर्दै थिए ।

‘भाई त्रि्रो नाम के हो नि -’ साथी वसन्तीले प्रश्न तेरसाइन । ‘सवैले खले भन्छन क्यारे’ बागलुङ घर बताउने उनले विनासंकोच इमान्दार भएर बोले । बसका सहचालक रहेछन् उनी । खलासी भएर होला खले भनेका । कस्ले भन्छ तिमीलाई खले ड्राइभरले – प्रश्न पनि सकिन नपाइ तिनले जवाफ दिए ‘होइन’ । ‘ड्राइभर पनि पहिला खलासीबाटै बनेका हुन’ उसले भन्यो । त्यसो भनिरहदा उसलाई आफ्नो नाम प्रति कुनै गुनासो थिएन ।

‘घर जान हिडेको दिलिपले भन्यो ‘घरमा पनि नमिठो त काहा“ हुनु तर फरक फरक होटलका स्वादले मुख बिग्रिएको छ’ । स्कुल पढ्दा-पढदै छोडेर आएका उनीहरुमा पहिला शहर हेर्ने रहरले तान्यो रे । अनि त घर बस्ने गरी फर्किएनन । बाटोमा ओहोर-दोहोर गर्नेको भिड थियो । यतिवेलासम्म हाम्रा यात्राका सहयात्री गितकार/कवि विनोद गौचन, र कवि भावना अधिकारी हाम्रो गफको स्रोता बन्न नजिक आइपुगी सकेका थिए ।
र्
पर्यटन साहित्यलाई प्रोत्साहन गर्ने उद्देश्यले विनोद गौचनको परिकल्पनामा भर्खर लुम्ले गाविस कविता गांउमा परिणत भएको हो । ‘लुम्लेलाई औपचारिक रुपमा कविता गाउँ घोषणा गरिएपछिको यो पहिलो साहित्यीक यात्रा हो’ गीतकार गौचनले भने । लुम्लेकै पोथना पुग्ने योजनामा हामी थियौ । ‘ओई पत्रकार’ म झसंग भएर पछाडि हेरे । करिव २४ वर्षो गुरुङ युवतीले मुस्काउदै भनिन, ‘हजुरलाई भनेको होइन’ । अन्तै गफमा मस्त साथी वसन्तीको पिठ्युमा मायालु धाप मार्दै ती युवतीले भनिन, ‘बोलाको पनि सुन्न छाडिस है ।’ उनी रहिछिन हाम्र्रा् सहयात्रीको बाल्यपनको साथी  निरु गुरुङ । धेरै दिनपछि भेट भएका हितैषीहरुको मायालु संवादमा हामी पनि केही वेर रमायौ । ‘अलिक अगाडि आएको भए लालीगुरास फुलेको हेन पाइन्थ्यो’ निरुले हाम्रो यात्राको बारेमा प्रतिक्रिया दिइन । जवाफमा विनोद दाइले हास्दै भने, ‘हामी मनमा लालीगुरास फुलाएर यात्रामा निस्किएका बनमा फूल सुकेर के भो र -’ निरुसँग ठट्यौली विदाई गर्दै हाम्रो पैदल यात्रा सुरु भयो ।

‘साच्चै लालीगुरास त सुकिपो सकेछन’ गुरासको फेदीमा छायँपर्दै भावनाले भनिन । ‘यसपालीको लामो खडेरीले चाडै सुक्यो नानी’ लाहुरे भेषका एक अधवैशेले भने । लाइट भएको एफएम रेडियो बोकेर काडेको उकालो चढदै गरेका  खाइलाग्दो देखिने ती अधबैशेले मोटो लौरो टेकेका थिए । मनमनै सोचे बहादुरै मान्छेलाई पनि उकालोमा लौरोको सहारा त चाहिदो रहेछ ।

काजीमान रानामगर नामका ती अधबैशेलाई  जो कोहिले रिटायर्ड लाहुरे भन्ने अनुमान लगाए पनि सबैको अनुमान गलत सावित भयो । ‘आफन्तले ल्याइदिएको फँट्यो यो रहरले आफै किनेर लगाएको ।’ उनले आफ्नो पोशाकको बारेमा स्पष्टिकरण दिदै भने, ‘यो नक्कली हो ।’ तिनलाई राजनीतिमा चासो थिएन तर घृणा पनि रहेनछ । उनी भर्खरै सम्पन्न उप-निर्वाचनको परिणाम जान्नको लािग समाचारको खोजिमा एफएम रेडियोको ट्युन वटार्दै  थिए ।

लान्दुक घर हिडेका उनले भने, ‘गा“उमा कुहिएको चामल जान्छ केही उत्पादन हुदैन छोराको पार्सपोर्ट बनाएर आएको पहिला बनाएको एजेन्टले खायो ।’ समग्र गा“उको प्रतिनिधित्व गर्दै बोले उनी । ‘जुन पार्टर्ीीाए नि खुट्टा तानातान । पहिला ढिडो खुवाएर र सेनाको लात्ती खाएर पालेको मान्छे एैसरले गरीवलाई कानुन लाउने’ तिनी माओवादी भातृसंगठन वाईसीएलको कुरा गर्न खोज्दै थिए । ‘राजनीतिमा पनि च्याख -रहरमर्दै गयो ।’ उकालो चढेको थकानको सुस्केरामा बोले उनी ।

‘ए मामा के छ खवर -’ खच्चडलाई सिमेन्ट बोकाएर आएका पुर्ण बहादुर विक चौतारामा बसेपछि रानाको कुरा मोडियो ।  ४५ देखि ७० हजारसम्म पर्छ खच्चडलाई खुकुरी भिरेका उनले भने ‘एउटा खुकुरी र लाइटको भरमा ७५ वटा जिल्ला घुम्न पर्छ ।’ उनले हामीलाई पछि पार्दै अगाडि बढे । सोचे हामी जस्तै उनी पनि ट्रेकिङ्गका लागि हिडेका भए उनी पनि थकाई मार्दै उकालो चढथे होला । उकालोमा आराम गर्दै गर्दा हामीलाई गा“उका सवैले छाडीसकेका थिए । लालीगुरासको बोटमा बाकी रहेका फाट्ट फुट्ट गुरासका थुंगाले पनि हामीलाई रोमाञ्चित बनायौ ।

‘यो फुल पनि अव राष्ट्रिय फुल हैन भन्न सक्छन् कतिपयले ।’ विनोदले कुरा निकाले, ‘भन त भावना के हुन सक्छ – अवको राष्ट्रिय फुल -’ ‘अअअ… बनमारा’ उनले कुनै सोचविचार नै नगरी प्वाक्क भनिन, यो नेपालमा सबैतिर पाइन्छ ।’ हामीलाई पछि पार्दै अघि बढेका भारी बोक्ने पेसा गर्नेहरुलाई देखेर मनमनै सोचे ‘यो बाटो, यो जङगल कसैलाई दिनचर्या छ कसैलाई ट्रेकिङ ।’

ठुला खर्क पुग्दा अचम्मको बातावरण देखियो ढुङगा कुदेर बनाउन लागेका होटल, सम्मो ठा“उ अनि र्छलङ देखिने हिमाल । तर स्थानीयबासिलाई ती हेरेर रमाईलो हुदो हो त – छोराछोरी बोकेका महिला, तिनका कपडा र कोशेली बोकेका बुढा मानिस, नेपाली भन्दा विदेशी नाम बढी बोल्दै बाटो काटदै थिए । अस्टि्रयन क्याम्प चर्चित रहेछ नाम । मैलेत सोचेको थिए अष्ट्रेलियालीहरु क्याम्प बनाएर बसेका होलान कुनै प्रोजेक्टका लागि तर त्यो त ठाउँको नामपो रहेछ । ‘पहिला अस्टि्रेलियनहरु क्याम्प बनाएर बसेकोले त्यो नाम राखेको’ यो बाटो र गा“उलाई थुप्रै पटक नजिकबाट नियालेका विनोदले भने ।

मन रमाएपनि शरिर थाकेको प्रष्टै अनुमान लाउन सकिने गरी विदेशी पर्यटकहरुको ताती विपरित दिशाबाट आउदै गरेका प्रसस्तै भेटीय । पर्यटक लखतरान थिए । त्यसभन्दा बढी लखतरान थिए तिनीहरुका भारी बोक्ने पोटर । डोकोमा उनीहरुका सामान लिएर हिडदै थिए । तर अनुहारमा खुशी थियो । कर्मा सिङ लोप्चन तामाङ, लक्षिन र्राई एउटै गा“उका रहेछन् रसुवा घर बताउने उनीहरुको दिनचर्या भने कष्टकर थियो । ‘उकालोमा ४०/५० केजिको सामान बोकेर हिड्नु दुःख छ नि घरमा उव्जाएको ४ महिना खान पुग्दैन’ लोप्चानले भने, ‘घरमा काम नभएको बेला यता आएको केही कमाएकोले घरमा सहयोग होला भनेर ।’ झन कर्माले त तीनओटा बिहे गरेका रहेछन् ‘सबै बुढीहरु छोडेर गइहाले’ उनले भने ‘छोराछोरी छन् पाल्न पर्‍यो ।’ दोहोरी गीत खुव गाउनुहुन्थ्यो कि क्या हो – ‘अ हो त दोहोरीमा जितेर त तीन ओटी ल्याएको ।’ दोहारीमा जस्ले जित्यो उसैले लैजाने पुरानो चलनलाई उनले बुझाए हा“स्दै भने ‘तर त्यसरी ल्याएको बस्दा रहेनछन् ।’

लक्षिन राइले भने अझैपनि कुमारमै चित्त बुझाउन परेको रहेछ । ४५ वर्षो र्राईलाई विहे गर्ने रहर नै भएन रे । बाटैभरी नौला-नौला फुल र बोटहरु थिए ति भन्दा नौला लाग्थे पदयात्राबाट फर्केका पर्यटक जो बिभिन्न देश, रुप र रङका थिए । देउरालीमा होटल चलाउने सन्तबहादुर गुरुङ ठूलो झोला बोकेर गा“उ उक्लदै थिए । यतिवेलासम्म हामी हाम्रो गन्तव्यमा पुगी सकेका थियो । पर्यटकीय गांउ सफा थियो । पोथनामा रहेका ७ घर पुरै होटल थिए । त्यसमा पनि झण्डै बास पाउनै मुस्किल जस्तो । घर वरिपरि फुलेका रंगीविरंगी फूल अनि मुटु छुने लुम्लेको हावा साच्चै आनन्ददायी थियो ।

पश्चिमतिरको डाँडाँबाट घाम ओरालो लाग्दै गर्दा चिसोको अनुभूति पनि बढदै थियो । अन्नपर्ण गेष्टहाउसमा  बसेर खाजा खादै गर्दा झुल्किए गितकार/गजलकार प्रकट पगेनी शिव । उनी हाम्रो यात्राको साझेदार हुन नसकेका एउटै मिसनका सहयात्री थिए । प्रकटको आगमनले विनोद दाइको मुहारमा बेग्लै चमक देखियो । शायद उनलाई आफ्नो दौतरी मिल्यो । चाउरिएको गाला थप चाउरी पार्दै मधुर मुस्कानमा विनोद दाइले प्रकटको आगमनलाई साहित्यीक स्वागत गर्दै भने, ‘प्रकृति र प्रकटको मिलनले अव बल्ल पोथना रमाउने भो ।’
 
होचो कदका फूर्र्तिला प्रकटले उमेरले सेताम्मे पारेको कपालमा कालो मेहन्दी भर्खरै लगाएका रहेछन् । सँगैका महिला मित्रहरुले गिज्याएको प्रतिउत्तरमा उनले भने, ‘विज्ञानले गरेका अविष्कारलाई पनि हेला गर्नु हुन्न भनेर प्रयोग गर्दिएको मात्र हु ।’ उनको आगमनसँगै हामी बीचको वातावरणनै साहित्यीक भै सकेको थियो ।

जीवनका महत्वपूर्णा वसन्तहरु लुम्लेमा विताएका प्रकटलाई लुम्लेले नै साहित्य लेखनमा अभ्रि्रेरित गरेको रे । उनको लागि त्यो ठाउँ प्रिय र चिनारु थियो । ‘धेरै हिसावले मेरो लुम्लेसँग भावानात्म सामिप्यता छ’ प्रकटले भने । यसैबीचमा उनका कविता सुरु भै सकेका थिए । अक्सर टंकलालहरु शिर्षमा उनले कविताको सुरुवात गरे-

अमाजु आउलीन घिउ सगाल्नै पर्‍यो
नन्द आउलिन मिठो मसिनो ख्वाउनै पर्‍यो
भान्जाभान्जी आउलान, पाउनापाछा लाग्लान
थोरे व्याएन भनै क्याछ्र्यौ मंसुरी भाउजु – …………….

……फाटी मर्नु छ  टंकलालहरुलाई । मल्लर् इम्पोरिएम देखि सुन पसलका रहर र बकेर्नो भैसीको गोवर सोहर्दैमा वितेको टंकलालहरुको जीन्दगको कुरा कवितामा रसिक मानेर फ्रेन्च चिप्स र कोदोको झोलमा प्रकटले सुनाइरहदा ट्रेकिङ गाइड पल्लो टेवलमा आफ्ना पर्यटकसंग तास खेल्न छाडेर हाम्रै टेवलमा आइपुगे । दाउरा बालेर तातो पारिने स्थानीय हिटरको तातो ले कोठा पुरै न्यानो बनेको थियो । ट्रेकिङ्ग गाइड देवराज अधिकारीले फ्रेन्च केटीहरुलाई सुपारी साइलीहरु भनी गरेका सम्वोधनले हामी सबै हास्यौ । हाम्रो हाँसोले सायद तिनलाई थप उर्जा मिलेछ । अधिकारीले फ्रेन्च केटीहरुलाई हामीले सुन्ने गरी पानपाते साहीली लगाएतका नामहरु पनि राख्न भ्याय । थपिदै गएको कोदोको झोलको मात्राले प्रकट दाइलाई झनै साहित्यीक बनाउदै लगेको थियो । पर्यटकीय गाउँको सीमालाई कदर गर्दै हामी ११ नबज्दै विछ्यौना तिर लाग्यो ।

विहान हुदा“ आगनमा लालिगुरास र पाखामा हिमाल खुलेको थियो । खुशीमान गुरुङ आफ्ना साथिस“ग पोखरा धम्पुस हुँदै पोथना आईपुगेका रहेछन् उनले भने’अव त प्राकृतिक पर्यटन बढ्दो छ । हामी पनि पर्यटक हौ“ नि । मट्टिखान नि रमाइलो छ ।’ नेपालकै पर्यटकीय गा“उ घुम्ने योजनामा रहेछन केदार श्रेष्ठ, सानु र रिञ्जु गुरुङ । क्षेत्र बहादुर गुरुङ थिए त्यस गा“उका गन्यमान्य उनले भने ‘द्वन्द्वले अलि कम भएको अहिले त राम्रो हुदैछ ।’ कविता गा“उ भएकोमा उनी खुशी थिए । साहित्यकारले कुनै पनि ठा“उलाई कति चर्चित र पर्यटकिय गा“उ बनाउन सक्छ भन्ने उदाहरण विनोद गौचनको गित ः "तगारोमा  रुमाल राखि बाटो छेक्यौ तिम्ले, त्यही रुमालमा पञ्चासेको फूल राखे मैले "को प्रसङ्ग पनि त्यस बीचमा उठ्यो । यही गीतले गौचनलाई चिन्ने पनि हाम्रो यात्राको क्रममा धेरै भेटिए ।

विनोद, प्रकट, बसन्ती र भावनाले अघिल्लो दिन रचना गरेका कविता वाचन गरे । मैले भने आफूले लेखेको कवितालाई सेल्फ सेन्सर लगाउदै वाचन नगर्ने निधो गरे । स्थानीयवासी, पर्यटक र घाचोकबाट आएका विद्यार्थी चउँरभरी झुम्मिएका थिए । कसरी यो गा“उलाई व्यवस्थित र  एेतिहासिक बनाउन सकिन्छ – सुरु भयो अन्तक्रिर्या । नानि, धम बहादुर, रेशम गुरुङ लगाएतका उत्साही व्यक्तिहरुले संग्राहालय मात्र हैन सिर्जना गर्ने ठा“उ पनि बनाउने कि एउटा कोठालाई प्रस्ताव अघि सारे । विदेश बसेर आएका हरिमान गुरुङले भने, ‘मैले अव देशमै केही गर्छर्यही पर्यटन व्यवसायलाई दीगो बनाउछु ।’ उनले उत्साह मात्रै हैन विदेशमा सिकेको कुरालाई सदुपयोग पनि गर्ने र्सार्वजनिक वाचा गरे ।

र्फकदा हाम्रो पदयात्राको रुट बदलियो । हामी धम्पुसको लालीगुरास महोत्सवलाई पनि नियाल्ने योजना बनाएर ओरालो लाग्यो । प्रकट र विनोददाइको साहित्यीक संवादहरुले हामीलाई ओरालोमा पनि कठिनको अनुभूति हुन पाएन । प्रकट दाइले छाता निकाल्नु भयो । मैले भने ‘छाता ओढनै पर्ने घाम छ र प्रकट दाई -’ मेरो त्यो प्रश्नले प्रकटदाइको कवि हृद्यलाई खुराक मिलेछ । उनले भने, बालकृष्ण भाइ मलाई कविताको शिर्ष मिलाइदिनुभयो । साच्चै कविता परिवेशले मात्र होइन मनले सिर्जना गर्ने रहेछ । यस्तै लाग्यो प्रकटदाइले सामान्य लाग्ने विषयवस्तुलाई पनि कवितामा ढालेको देखेर ।

‘पदयात्राबाट जिवन, मानिस र ठा“उ बुझ्न सजिलो हुदोरहेछ त्यसैले मस“ग संगत गर्ने मानिस प्रकृती बुझेपछि फिरन्ते बन्छ ।’ पदयात्राको अन्त्यतिर विनोदले निकै प्रफुल्लित भावमा भने । धम्पुसको उकालो चढदै गरेकी एक महिलाले प्रकटलाई संम्वोधन गरेर भनिन ‘ए बाजे’ अरु हा“स्न थाले प्रकटले भने म एैना हर्ेर्दिन, किन – यो प्रसङग अघिल्लो दिन नै आएको थियो । कस्तोलाई बुढो भन्ने – उकालो चढन सक्दिन भनेर पदयात्रामा सामेल नभएका युवा साथिलाई कि पदयात्रामा सिर्जना फुराएर झरेका बाजेलाई – भावनाको हा“सो रोकिएन प्रकटले भने ‘अव को-को पात्र भेटिने हुन् । पहिलाका यात्रामा भेटिएका मानिस, खाना र गरीएका कुराकानिलाई संम्भिmएर बाजे ओरालो झर्दे थिए । कतै नविर्साई ।

पैसठ्ठी सालको अन्तिम र्सर्ुय अस्ताउनु भन्दा ठीक एक दिन अगाडिको र्सर्ुय अस्ताउने तर्खर गर्दै गर्दा हामी पैदलयात्रा सकायर बस चढने ठाउँमा आइपुग्यौ । "मनत मेरो यसै नै धमिलो, धमिलोमा नथप अमिलो" छुटने वेलाको भावइंकित गर्दै प्रकटले भने । साझ नपर्दै हामी पोखरा आइपुग्यो । समय मिलाएर अर्को पदयात्रा पनि गर्ने अनिश्चित योजना वनाएर हामी छुट्टयिो । कविहरुसँगको कविता गाउँको यात्रा टुंगियो तर मनमा बसेको यात्राको सम्झना बर्तमानदेखि भविष्य र भविष्यदेखि सुदुर भविष्य सम्मपनि सायदै मेटिएला..।

April 11, 2009

अष्ट्रेलीयामा रहेका नेपाली चेलीका कथा व्यथा

अर्चना श्रेष्ठ

म सोची रहेको थियो यो बिषयमा केही लेख्दिन किन कि यो यस्तो सम्बेदनशील बिषय हो जुन कुराको ठोस प्रमाण नभेटी हावा को भरमा लेख्दा आफ्ना घर परिवार, आफन्त र देशलाईनै चिन्तिन बनाउन सक्छ।जब नेपालमा अष्ट्रेलियामा नेपाली युबतीहरु देह ब्यापारमा लागेको भनेर पत्र पत्रीकामा छापियो। जवान छोरीहरु पढ्न अष्ट्रेलिया पठाएका बाबु आमा र आफ्न्तका मुटुमा ढयाङ्रो ठोकियो ।

नेपालबाट धेरै जसो छोरी चेलीको घर बाट के हो एस्तो हल्ला सुनिन्छ नि भनेर फोन आयो। देश मात्र नभएर अरु बिदेशबाट पनि आफ्न्तहरुले फोन गरे। यो समाचारले अष्ट्रेलियामा भएका सबै केटीहरु शन्काको घेरामा परे। यहा पनि नेपाली समुहमा खैला बैला मच्चियो । अहो कस्ले यस्तो काम गरेछ ह एस्तो किन राजदूताबास जस्तो ठाउँ बाट यस्तो गरजिम्मेबारी पूर्वक समाचार ठोस प्रमाण नभै नेपाल पुरयायो भनेर हल्ली खल्ली मच्चियो।

खासै भन्ने हो भने नेपाली दुताबासपनी यहाँ छ है भन्ने जब सम्म एस्तो खबर निस्केन यहाँका नेपालीलाई सुइको सम्म थिएन। आफ्नो दु:ख त यहाँ आएका नेपालीहरु आँफै सँग छ। नेपाली दूताबासले साधारण इन्फर्मेसन पनि नेपालीको हितमा दिएको पाइदैन। जस्तो मैले ईण्डियन दूताबासको एउटा पत्रीका पढेको थिए जस्मा विद्यार्थीहरुलाई बिभिन्न जानकारी दिएको थियो जस्तै

" ५ बर्ष अघी मेल्बर्न सुरक्षित मानिन्थ्यो तर अहिले विद्यार्थीले अली सचेत हुनु पर्ने भएको छ । राती हिडडुल गर्दा, राती काम बाट फर्कदा laptop, ipod, महँगो मोबाईल , क्रेडिट कार्ड, डेबिट कार्ड र धेरै पैसा नबोकन्ने, सजिलै job कसरी पाउने, job पाउन के के ट्रैनिङ लिने र ट्रैनमा समुहमा चढदा ठुलो ठुलो स्वरले नबोल्ने" आदी इत्यादी जानकारी थियो।

तर खै नेपाली दूताबासले त अहिले नेपालीको हक हितमा सिन्को सम्म भाचेको सुनिएको छैन। धन्न नेपाली दाजु भाई दिदी बहिनीहरु बहादुर हुनु हुन्छ र जस्तो सुकै दु:ख आए पनि संघर्श गरेर जीवन यापन गरी राख्नु भएको छ।

यदी कोही रहरले नभएर बाध्यताले त्यस्तो पेशामा लागेको छ भने दूताबासले मात्र होइन हामी सबै अष्ट्रेलियामा बसेका नेपाली मिलेर उद्धार गरेर समस्या सुल्झाउन तत्पर हुन पर्छ । बिदेशमा आए पछी हरेक नेपालीहरुले आफ्नो देशको इज्जत काधमा बोकेर हिंडेको हुन्छ र एक नेपालीले गरेको गल्तीले सबै नेपाली र देशकोनै इज्जत खराब पार्न सक्छ। एन आर एन अस्ट्रेलियाले पनि नेपाली महिला विद्यार्थीको सवालमा चलेको हल्ला माथि छानविन गर्ने तयारीमा छ रे । अष्ट्रेलियामा बसेका नेपालीहरुले समाचारको बारेमा दुतावासको स्पस्टिकरण माग पनि गरेका छन्।

June 27, 2008

ईराकमा नेपाली कामदारको अबस्था

हरिकृष्ण न्यौपाने

बिभिन्न म्यानपावर कम्पनि, स्वदेशी तथा बिदेशी दलाल अनि आफन्तमार्फत केहि बैधानिक र केहि अबैधानिक बाटो हुदैँ आ-आफ्नै तरिकाले राम्रो रोजगारीको आशा र धेरै पैसा कमाउने अनि आफ्नो परिवारको रेख-देख गर्ने प्रबल ईच्छहरु बोकेर आज ईराकमा दिन-प्रतिदिन नेपालीको संख्या बढ्नेक्रम जारी छ ।

यसै सिलसिलामा कोहि ईराक आएर त कोहि आउने क्रममै दुबई, कुवेत, जोर्डन, अफ़गानिस्तान, बहराइनमा अलपत्र परेको, कसैलाई काम उपलब्ध नगराएको, कसैलाई ३-४ महिनासम्म दलालीले झूटो आश्वाशन र धम्की दिएर थुनेर राखेको कुराहरु केहि समाचारहरुमा देख्न र सुन्न पाएपनि यसलाई नेपाल सरकार तथा सम्बन्धित संस्थाहरुले कुनै वास्ता नगर्नाले कम पारिश्रमिकमा धेरै घन्टा कामगर्नु त छँदैछ कोहि भने कोठामा थुनिएर दिन-दिनै परिवार र आफन्तलाई सम्झदै आफैलाई हतारमा नबुझिकन दलालीको फेला परेकोमा धिकार्ने गरेको यहाँ कार्यरत धेरै साथीहरुको अनुभब र बास्तबिकता हो ।

म २००५ मा ईराक आउंदा नेपालीहरु मुस्किलले देखिन्थ्यो तर आज एकै क्याम्पमा ५-६ हजारसम्म नेपाली रहेको देखिन्छ । ठूला-साना गरी करिब ६०-६५ ओटा अमेरिकन र मल्टिफोर्स क्याम्प रहेको ईराकमा हरेक क्याम्पमा बिभिन्न कम्पनि अन्तर्गत फरक-फरक कम्पनिमा फरक-फरक सुबिधा र पारिश्रमिकमा नेपालीहरु कार्यरत रहेको देख्न सकिन्छ । आज मैले यो लेखमार्फत केहि साथीहरूको सहयोग, अनुरोध र मैले देख्दै आएको र बास्तबमै नेपालीको भोगाईलाई बास्तबिक र स्थलगत अध्ययनको आधारमा तपाईहरुको अगाडि ल्याउदै छु । साथै रोजगारीको सुरक्षाको कारणले मैले ऊहाँहरूको नाम उल्लेख गरेको छैन । मैंले कामको हिसाबले बर्गिकरण गरेर निम्नअनुसार प्रस्तुत गरेको छु।
१. फूड सर्भिङ र फास्ट-फुड रेस्टुरेण्ट:- ग्रिनबिन्ज क्याफेमा करिब २०० भन्दा बढि नेपाली रहेको र पारिश्रमिक पनि राम्रो रहेको पाइएको छ भने बर्गर्किङ, पिज्जा हट, सिनबोन, ताकुबेलमा ईराक भरी १ हजार भन्दा बढि नेपाली रहेका छन । अनि पप्पैज, सबवेमा पनि निकै नेपालीहरु कार्यरत छन र यिनिहरु दुबै तलब र सुबिधाको हिसाबले मध्यम खालका हुन भने सबैभन्दा बढि नेपाली रहेको तामिमि, जिसिसि र एसएससी कम्पनि अन्तर्गत ईराकभरिको क्याम्पभित्रका आर्मी तथा सिभिलियनलाई डिफ्याक्टमार्फत २४ सै घन्टा खाना खुवाउने काममा ब्यस्त रहने नेपालीहरूको संख्या १०-१२ हजार रहेको र १४ घन्टाको काम तथा कम तलब र सुबिधा भएकोले कति नेपालीले त बिदेश आउदा धितो राखेको जग्गालाई आफ्नो बनाउन घटीमा ३-४ बर्ष बस्नुपर्ने देखिन्छ । अनकुन्डामा १ जना काभ्रे घर बताउने दाईले त उँबिदा-उँबिदा खुट्टा सुन्निएर बिमार परेको सुनाए । सुरक्षाको र कामको हिसाबले अलि सजिलो र सुरक्षित भए पनि तलब र सुबिधामा त्यति राम्रो छैन । यस अन्तर्गत कामगर्नेले मासिक ३५० डलरदेखि २००० डलरसम्म कमाएको देखिन्छ ।
२. सेक्यूरिटी गार्ड र कन्भे रक्षकहरु:- कामको हिसाबले निकै खतरनाक भए पनि धेरै पारिश्रमिक अनि सुबिधा भएको यस सेक्टरमा पनि धेरै नेपाली भेटिन्छन । भूपू ब्रिटिस, इन्डिएन, नेपाली पुलिस, आर्मीमात्र होइन सेक्यूरिटिमा अनुभब भएका दक्ष नेपालीहरू यसमा लागेका छन । कोहि कन्भे (रोडमा गुड्ने साधनको सुरक्षा) लिएर पुरै ईराक हिड्नुपर्छ भने कोहि एयरपोर्ट त कोहि टावर गार्डमा ब्यस्त नेपालीहरूलाई अमेरिकन, ब्रिटिस तथा बिभिन्न कम्पनिले आफ्नै खालको सुरक्षा र सुबिधा दिएका छन। एकजना सुनसरी घर बताउने र ईराकमा लामो समय सेक्यूरिटीमा कमान्डरको रूपमा कार्यरत दाईले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनेअनुसार घटीमा १३०० देखि ७००० डलरसम्म मासिक तलब लिएका छन रे ! खासै भरपर्दो डाटा नभए पनि करिब ४-५ हजार नेपाली यस फिल्डमा रहेको अनुमान उनले बताए ।
३. कस्टमर सर्भिस (सपिङ सेन्टर(BX/PX), पानी-लन्ड्रि सर्भिस, अरू लोजेस्टिक सामानहरु कुवेत, जोर्डन, जर्मनि, साउदीबाट सप्लाइगर्ने ):- आर्मीहरूको सबै सामान खरिद-बिक्रि गर्ने सपिङ सेन्टर (BX/PX) अनि लण्ड्रि तथा खानेपानीको सेवा गर्ने अनि अरू लोजेस्टिक सामानहरु कुवेत, जोर्डन, जर्मनी, साउदीबाट सप्लाइगर्ने काममा पनि नेपालीहरू धेरै रहेका छन । यस अन्तर्गत पिडब्लुसी, एफेस, अल्मुरल, पिपिआई, डिएचएल तथा कुवेत-साउदि तथा जोर्डन र जर्मनीबाट सामान सप्लाई गर्ने सप्लायर्स र अरु धेरै कम्पनि रहेका छन । तलब र सुबिधा राम्रो रहेको यस कम्पनिहरूमा धेरै नेपाली रहेका छन । सिन्धुपाल्चोक घर भएका मेरो एकजना साथीले बताएअनुसार पिडब्लुसिमा धेरै राम्रो सुबिधा छ तर सामानहरु ओसार-पसार गर्दा बाटोमा आइपर्ने समस्याले अलि चिन्तित गराएको छ तर "पैसा भनेको भिरमा हुन्छ" भन्ने बुढापाकाको ऊखानलाई सम्झनु परेको छ,उनले म संगको भेटमा भनेका थिए । यस फिल्डमा पनि करिब ५००० भन्दा बढि नेपाली रहेको उहाको अनुमन थियो । बार्बर सप-बिउटिपार्लरमा कामगर्नेले त धेरै कमाउने गरेका छन । काम अलि झन्झटिलो भएपनि कपाल काट्दा आउने टिप्सनै हाम्रो प्रमुख आम्दनी हो एकजना सर्लाहीका साथीले भन्नुभयो ।
४. क्याम्प सर्भिस, वेयर हाउस, क्याम्प भित्रका बसचालक, ट्वाइलेट क्लिन, अफिस ब्वाई, कन्स्ट्रक्सन, जिमहलमा कामगर्ने हरु:- क्याम्प सर्भिस, वेयर हाउस, क्याम्प भित्रका बसचालक, ट्वाइलेट क्लिन, अफिस ब्वाई, कन्स्ट्रक्सन, जिमहलमा कामगर्नेहरु तथा स्विमिङपुल र अरु मेन्टिनेन्टसमा कामगर्ने र जनरल लेबरका रुपमा यहाँ सबैभन्दा बढि नेपालीहरु भेटिएका छन । कुलाक, फस्ट कुवेती, पिपिआइ, पिरिल, बिभिन्न टुर्किस तथा कोरियन कम्पनिमा धेरै नेपालीहरु रहेका छन । खास कुनै सिपबिनाको कामदेखि लिएर कम्यूटर सफ्टवेर इन्जिनिएर, सिभिल इन्जिनिएर मात्र होइनन् बिभिन्न सीप भएका ब्यक्तिहरू यो काममा ब्यस्त रहेका छन । सायद ईराकमा सबैभन्दा धेरै नेपाली यसै फिल्डमा रहेका छन । किनकि बिशेष गरेर ईराकमा अदक्ष, अर्ददक्ष र कम शिक्षित नेपालीहरु धेरैं भएकाले पनि यस फिल्डमा निकै नेपालीहरु रहेका छन । खासै नेपाल सरकारले ईराक आउन कुनै बैधानिक स्वीक्रिति नदिएपनि कुवेत, दुबई, अफ़गानिस्तान, जोर्डन, बहराईन तथा अन्य माध्यमबाट दिनप्रतिदिन नेपालीकामदारहरु भित्रि रहेका छन । खासै आधिकारिक डाटाहरु नभएता पनि नेपाली महिला र पुरूषगरेर ४० हजारभन्दा बढिँ नेपालि रहेका छन । तर समग्रमा नेपाली हरूले खासै राम्रो पारिश्रमिक पाउनसकेका छैनन भने बेला-बेलामा घटनाहरू परेपनि मिडियामा आउन सकेका छैनन् भने घटना घटेपनि कम्पनिहरुले बाहिर ल्याउने गरेका छैनन्।

सिन्धुपाल्चोक, हाल अनकुण्डा बलाद ईराक

June 6, 2008

नयाँ नेपाल र प्रवासी युवा

   पदम विश्वकर्मा ‘लेकाली’        

  देश र जनताबीचमा प्रसब अवस्थामा छटपटिइरहेको लोकतान्त्रिक गणतन्त्र यही जेष्ठ १५ गते राती ११ :२० बजे जन्मिएको छ । नयाँ विचार, नयाँ संस्कृति र नयाँ परम्पराको रुपमा नेपाली जनताको घरमा हुर्कने सर्तमा जन्मेको यो गणतन्त्रका लागि विशेषगरी युवावर्गले ठूलै मूल्य चुकाउनुपर्‍यो । दशौं हजारौंको बलिदान, हजारौं वेपत्ता, हजारौं घाइते-अपा· तथा लाखौं घरवारविहीन भएर पनि उत्तिकै दृढसंकल्पका साथ जुन उदात्त कृतिमान खडा भयो, त्यो नेपालको इतिहासमा मात्र नभएर विश्व इतिहासमै यस समयका नेपाली जनता ज्यादै वीर, बहादुर, विवेकशील, सहास एवं स्वाभिमानी छन् भन्ने कुरा सिद्ध भएको छ । २० औं शताब्दीका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दमा "हामी बुद्धु भएर बहादुर भएका नेपालीहरू" अब बुद्धी भएरै बहादुरको उपमा पाउनलायक भएका छौं ।

यो भावना लेखिरहदा मुम्बइका गल्लीहरूमा मजदुरी गरिरहेका मेरा दुई सहोदर दाइरहेको सम्झना आइरहेको छ । एसएलसी परिक्षा दिएश्चात रोजगारीको लागि दाइहरूको पछि लागेर गएको मैले आज भन्दा दश बर्ष अगाडि देखेको थिए — मुम्बइका कोठीहरूमा, गल्लीहरूमा, महलका गेटहरूमा, होटलका भाडा माझ्ने मोहरीहरूमा नेपाली आमाका ती बलवान युवाहरू कैयौं अपमानीत र तिरस्कृत निर्देशनमा आफ्ना सबैभन्दा उर्जाशिल, गतिशिल श्रमहरू ज्यादै सस्तो मूल्यमा लुटाइरहेका छन् । किशोर अवस्थाबाट पार गरेर भखैरै बैशालु उमेरमा टिकेका ती सुन्दर हाम्रा चेलीहरू अधेंरा कोठीहरूमा वेश्या र रण्डीको उपमा भिरेर आफ्नो अस्मिता लुटाइरहेका छन् । मुस्ताङ् र मनाङ् का स्याउदाना जस्ता उनीहरूका गालाहरू ज्यादै निरश, चोक्रिएका र चुसिएका छन् । कत्रो बिडम्बना ∕ दिनभरीको श्रम-मजदुरी गरेर थकित मुद्रामा रातीको विस्तरामा भेट हुने मेरा दाइहरू बहादुरको उपमा पाइ आफ्नो श्रमलाई ज्यादै सस्तो मूल्यमा बेचेको देख्दा म ज्यादै स्तब्ध हुँदै लगत्तैको दुई महिनापछि नेपाल फर्किएको थिए । मेरो एउटै प्रश्न थियो, कि नेपाल र नेपालीहरूले साच्चै यस्तो नियती कहिलेसम्म झेलिरहने ?

त्यतिबेला मैले एउटा संकल्प गरेको थिए । म कहिल्यै यस ठाउमा मेरो श्रम बेच्न आउने छैन । बरु हामी नेपालीलाई गरिबलोगु भनेर घृणा गर्ने ती भारतीय शासक वर्गका प्रतिनिधिहरूका अगाडि ती श्रम गर्ने नेपालीहरूको आत्मसम्मान बढाउनका लागि मेरो जीवन समर्पण गर्नेछु । भोक, रोग, गरीबी, अभाव, उत्पीडन, ज्यादती, अशिक्षाको मारमा परेका ती लाखौ नेपाली आमाका बेरोजगार युवाहरूको लागि एउटा पारिलो किरण बन्ने अवसर प्राप्त गर्न सकु’ भन्ने मनोकांक्षा लिएर नेपाल फर्केको थिए’ । त्यसैबेला मैले अध्ययन गरेको थिए’, भारतीय शासकहरूको मिचाह प्रवृत्ति, नेपाली श्रमजीवी युवाहरूमाथि मात्र नभएर सि·, नेपाल अनि नेपाली भूमिमाथि विभिन्न नाममा भैरहेको छ । यतिसम्मकी हाम्रा सिमा क्षेत्र मिचिएका छन्, हाम्रा चेलीहरू लुटिएका छन्, हाम्रा श्रमहरू सस्तो मूल्यमा बेचिएका छन्, विभिन्न सन्धी सम्झौताका नाममा हाम्रा देशका सबै आर्थिक श्रोत-साधनहरू उनीहरूकोमा थुपारिएका छन् । तर यी सबै कुरा अध्ययन गरेर भावुक भएको मैले दश बर्षमा मुलुकमा ठूलै परिवर्तन पाएको छु । नेपाली जनताहरू अहिले भारतीय शासकवर्ग र उनीहरूको हेपाहा र मिचाहा प्रवृत्तिको खुलेरै घृणा गर्न थालेका छन् । नेपालीहरूबिरुद्ध बिषबमन गर्ने ती शासक वर्गहरूको दुश्चरित्रलाई राम्रैसूग झापड हान्न थालेका छन् । यतिसम्मकी क्षणिक सत्तास्वार्थका लागि आफ्नो भूमिको तिलाञ्जली दिने ती काला इतिहासका नेपाली राजा-महाराजाहरूद्वारा गरिएको विभिन्न असमान सन्धी सम्झौताको खुलेर भण्डाफोर गर्न थालेका छन् । आफ्नो व्यक्तिगत/दलगत स्वार्थका लागि नेपाली आमाका रगतसरी बगिरहेका नदिहरू बेच्ने नयाँ दलालहरूलाई पछारिदिएका छन् । उनीहरू महाकाली तथा टनकपुर जस्ता ‘सन्धी सम्झौताहरूको खारेजीको माग गरिरहेका छन् । यतिसम्मकी भारतीय शासकवर्ग बिरुद्ध जनयुद्ध नै छेडेका छन् । यथार्थ के हो भने दश बर्षे जनयुद्धको महत्वपूर्ण एजेण्डामध्ये एक भारतीय विस्तारवादी शासकहरूद्वारा नेपालमाथि लादिएको सुगौलीसन्धीलगायत असमानपूर्ण कथित सन्धी सम्झौताहरू खारेज मात्रै गरिने हो भने नेपाली युवाहरू अब भारतीय भूमिमा दास बनेर बसिरहन जरुरी देखिदैन ।

हिजो राती ११:०० बजे पश्चात मलाई गर्वको अनुभूति भयो । मसूगै रोजगारीका लागि मुम्बइ गएका मेरा एकजना मित्र जो अहिलेसम्म पनि मुम्बइमा मजदुरी गर्दै आइरहेका छन् उनीले मलाई एउटा एस.एम.एस. गरे – "के हामीहरू नेपाली भूमिमा आएर रोजगारी पाउन सक्छौं ?" उनका अनुसार हिजो ठूलै उत्सव गरेछन् उनीहरूले मुम्बइमा । मलाई उनको मोवाइलबाट आएको छोटो एस.एम.एस.को प्रश्नले पुनः दश बर्ष अगाडिको त्यो होटेल जहाँ जुठो डेक्चीमुनी लुकेर उनी र मैले सूगसूगै भाँडा माझ्दथ्यौं, त्यो ठाउँको सम्झना आइरहेको छ । केरला प्रदेशको एक युवा मजदुरले मलाई प्रश्न गरेको कुरा पनि मैले सम्भिँरहेको छु- "के तिमीहरूको देशमा यसरी भाँडा माझ्ने काम पनि पाउँदैनौं ? भाँडा माझ्नकै लागि यहाँ आउनुपर्ने ?"

हिजो राती ११:०० बजे पश्चात मलाई गर्वको अनुभूति भयो । मसूगै रोजगारीका लागि मुम्बइ गएका मेरा एकजना मित्र जो अहिलेसम्म पनि मुम्बइमा मजदुरी गर्दै आइरहेका छन् उनीले मलाई एउटा एस.एम.एस. गरे – "के हामीहरू नेपाली भूमिमा आएर रोजगारी पाउन सक्छौं ?" उनका अनुसार हिजो ठूलै उत्सव गरेछन् उनीहरूले मुम्बइमा । मलाई उनको मोवाइलबाट आएको छोटो एस.एम.एस.को प्रश्नले पुनः दश बर्ष अगाडिको त्यो होटेल जहाँ जुठो डेक्चीमुनी लुकेर उनी र मैले सूगसूगै भाँडा माझ्दथ्यौं, त्यो ठाउँको सम्झना आइरहेको छ । केरला प्रदेशको एक युवा मजदुरले मलाई प्रश्न गरेको कुरा पनि मैले सम्भिँरहेको छु- "के तिमीहरूको देशमा यसरी भाँडा माझ्ने काम पनि पाउँदैनौं ? भाँडा माझ्नकै लागि यहाँ आउनुपर्ने ?"

यति लज्जित, तिरस्कृत र अपमानितरुपमा त्यहाँ काम गर्ने नेपाली युवाहरूको लागि यतिबेला एउटा उमङ्छाएको छ । उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्ररुपी नेपाललाई सांच्चै आफ्नो बनाउन चाहन्छन् । उनीहरू आफ्नो स्वदेशमा सम्मानित रोजगार चाहन्छन् । उनीहरूका सस्ता श्रमहरू विदेशी भूमिमा सिञ्चित नहोस् । थि्र डी अर्थात ड्रटी, डिफिकल्ट र डेन्जरको सामना गरिरहेका नेपाली युवाहरूको अर्को बिडम्बना सस्तोमा आफ्नो श्रम बेच्नु हो । यथार्थ के हो भने जहाँका शासक प्रशासकहरूले देश र जनतालाई अत्याधिक माया गर्दछन्, देश र जनताको स्वार्थअनुरुप आफूलाई कुर्वानी गर्दछन्, तिनै मुलुकका नागरिकहरू चाहे स्वदेशमा होस वा विदेशमा रहोस, ऊ सम्मानपूर्वक बाँच्न पाउँदछ । नेपाली राजतन्त्रवादी शासकहरूको चरित्र भ्रष्टाचारी, ब्याभिचारी र निरङ्कुशतावादी भएकै कारण यो मुलुकका नागरिक जहाँ गए पनि अपमान मात्रै खेपिरहे ।

हो, २४० बर्षे निरङ्कुश राजतन्त्रले नेपाली जनतालाई आफ्नो निहित स्वार्थका निमित्त नेपाल र नेपाली जनतालाई विश्वमा बदनाम मात्र होइन, लाक्षी र वेवकुफ बनायो, बेरोजगार बनायो, मुलुकलाई कङ्गाल बनायो । फलस्वरुप त्यसको परिणाम अबका दिनहरूमा राजतन्त्रले भोग्दैछ । हिजोदेखि त्यो पूर्ण रुपमा पतन भएको छ । नेपाली जनता जो जहाँ रहे पनि उनीहरू अब एउटा सर्तमा काम गर्नेछन् । सम्मानमा काम गर्नेछन् । मनोबलमा काम गर्नेछन् । बुद्धु भएर होइन साच्चै विवेकी-बहादुर हुनेछन् । किनकि नेपाली आमाका ती महान सपुतहरू जसले देश र जनताका लागि मुक्तिको कसम खाएर उच्च बलिदानी दिए, आज भारतीय विस्तारवादी शासकहरू समेत तर्सिएका छन् कि नेपाली भूमिमा त्यहाँ भएका नेपाली श्रमजीवी मजदुरहरूको दिन फर्किएको छ । यो दिनसूगै भारतमा काम गर्ने प्रवासी नेपालीहरूको अधिकारप्राप्तिको आन्दोलनको प्रारम्भ भएको छ । त्यहाँका लाखौं चेलीहरू जो नारकीय जीवन व्यातित गरिरहेका छन् । उनीहरू त्यहीबाट विद्रोह गर्नेछन् । अब त नयाँ नेपालमा दुश्मनका जेलहरू ब्रेक गर्ने उमा भुजेलहरू जन्मिसकेका छन् । वेश्यालयमा अर्काको शरीर लुक्षेर कामबासना प्राप्त गर्ने ती चुसकहरूलाई ब्रेक गरेर नेपाल र्फकनका लागि यहाँका उमा भुजेलहरू आव्हान गरिरहेका छन् । युवाहरूलाई राष्ट्रविकासको काममा लगाउन आव्हान गर्दै नेपाली राजनीतिक मञ्चमा योङ् कम्युनिष्ट लिग जन्मिसकेको छ । युवाहरूको श्रमलाई प्रयोग गर्न र श्रमको सम्मान गर्ने वातावरण तयार गर्न युवा मन्त्रालयको अवधारणा अघि सारेको छ । अबको नयाँ नेपालले युवाहरूको विगतको बलिदानीपूर्ण किर्तिमानलाई जतिसक्दो छिटो उर्जामा परिणत गर्न जरुरी छ । त्यो भनेको आर्थिक क्रान्तिमार्फत बरोजगारको पूर्ण अन्त्य हो । तर त्यसो हुन नसकेमा अधिकार भन्ने कुरा मागेर नपाइदोरहेछ भन्ने कुरा युवाहरूले बुझिसकेका छन् । यो कसैको दया-मायाले दिने कुरो होइन, खोसेर लिने कुरा हो । विद्रोहको कुरा हो ।

विद्रोह चाहे मलेशियाबाट होस, चाहे वासिङ्टनबाट होस वा बम्वइका कोठीहरूबाट होस् । युवाहरू सम्मानित हुनका लागि उनीहरूको सचेत विद्रोह नै आवश्यकतासिद्ध भएको छ । नेपालमा अब नेपाली आस्थाका धरोहर नयाँ विचार, नयाँ नेपाल जो लाखौं चुसिएका, लुटिएकाहरूको सम्मानित जीवन फर्काउनका लागि आतुर रहेको छ । आऔं ∕ एकजुट होऔं ∕ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो हो । हामी सबै नयाँ नेपालका स्वाभिमानी नेपाली बनौं ।

March 11, 2008

संविधानसभामा माओवादीको वहुमत आउनेछ: डा. भटराइ

अशोक सिलावल

राजनीतिका थोरै सेलिबेटी मध्येका एक हुन डा. बाबुराम भट्टराइ । यसै पनि माओवादी नेताहरु अझै पनि कथाका पात्र जस्तै लाग्छन् । भुमिगत जीवन र सशस्त्र युद्धको रोमाञ्चकता उनीहरुको जीवनको कौतुहलको विषय हो, आम मानिसका लागि । त्यसमा पनि डा. भट्टराइको अर्को पाटो पनि छ, त्यो हो उनको ज्ञानको व्यापकता ।

० दश वर्षे जनयुद्ध र लामो भूमिगत जीवनपछि खुला राजनीति अर्थात संविधानसभा निर्वाचनमा खुला रुपमा भिड्दै हुनुहुन्छ । त्यो समय र यो समयको तुलना गर्दा कस्तो अनुभूति भइरहेको छ ?

युगान्तकारी परिवर्तनको क्रममा संविधानसभा निर्वाचनमा सहभागी हुन पाउँदा गौरवको अनुभूति भइरहेको छ । माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धले नै नेपालमा संविधानसभालाई सम्भव बनाइराखेको छ । २००७ सालदेखिकै यो एजेण्डा राजतन्त्रवादीले तुहाउँदै आएका थिए । र, संसदवादी शक्तिहरुले पनि यसलाई कहिल्यै दह्रो रुपमा उठाउन सकेनन् । कम्युनिष्ट क्रान्तिकारीहरुले मात्रै दशौं हजारको बलिदान दिएर अहिले सार्थक बनाउँदै छन् । त्यसअर्थमा हामीलाई असाध्यै गौरवको अनुभूति भएको छ ।

० एकातिर संविधानसभा निर्वाचनमा व्यापक रुपमा लागिरहनु भएको छ । अर्कोतिर जसरी पनि सत्ता कब्जा गर्छौ पनि भनिरहनु भएको छ । यो त विरोधाभाष भएन र ?

सायद हाम्रो भनाइलाई गलत ढंगले बुझियो । अढाइसय वर्षदेखिको राजतन्त्र र सामन्तवादको अन्त्य गरेर अग्रगमनको निम्ति केन्द्रीय भूमिका खेलेको हुनाले माओवादीको हातमा सत्ता आएपछि जनमुखी एजेण्डा लागू हुनसक्छ । जसले आजीवन संविधानसभाको विरोध गर्‍यो, जो ढुलमुले यथास्थितिवादी शक्ति छन्, तिनीहरुले यो एजेण्डालाई लागू गर्न सक्दैनन् । त्यसैले माओवादीको नेतृत्व अनिवार्य छ भन्ने अर्थमा नै तपाइले भनेको कुरा राखेका हौं । हामीले जसरी पनि सत्ता कब्जा गछौं भन्नुको अर्थ अग्रगमन सुनिश्चित गर्नका निम्ति माओवादीको नेतृत्व संविधानसभामार्फत स्थापित हुन्छ भन्ने अर्थमा बुझ्न उपयुक्त हुन्छ ।

० राजनीतिक विकासका हिसावले त हामी समुन्नत हुने क्रममा छौं । तर, आर्थिक पाटो चाहिँ छायाँमा परे जस्तो छ । के हो माओवादीको आर्थिक एजेण्डा ?

आर्थिक र राजनीतिक क्रान्ति अन्तरसम्बन्धित हुन्छन् । हामी अहिले राजनीतिक क्रान्ति पूरा गरेर आर्थिक क्रान्ति अगाडि बढाउने क्रममा छौं । हामीले संविधानसभाका लागि भनेर प्रतिवद्धतापत्र तयार गरेका छौं । त्यसमा एक्काइशौं शताब्दीमा नेपाली समाजको आर्थिक, सामाजिक आमूल रुपान्तरणको एजेण्डा प्रस्तुत गरेका छौं । त्यसको सार भनेको आगामी १० वर्षभित्र मध्यम स्तरको, २० वर्षभित्र उन्नत स्तरको र ४० वर्षभित्र नेपाललाई विश्वकै सम्पन्नतम धनी देशको रुपमा परिणत गछौं । त्यसको निम्ति कृषिलाई उद्योगको रुपमा रुपान्तरण गर्ने, पर्यटन क्षेत्रलाई विशेष ध्यान दिने, जलविद्युतको विकासबाट औद्योगिक क्रान्तिको आधार तयार गर्ने लगायतका कुराहरु छन् । र, हाम्रो नेतृत्व स्थापित भयो भने आर्थिक क्रान्ति समपन्न गरेर गरिवी, वेरोजगारी, असमानताको अन्त्य गरेर नेपाललाई सम्पन्न मुलुक बनाउन सक्छौं भन्ने विश्वास छ ।

० यो भन्नको लागि मात्र भनिएको योजना हो कि पूरा गर्न सकिने योजना ?

माओवादी जस्तो क्रान्तिकारी शक्तिले भन्नको निम्ति मात्र भन्दैन । किनकी दशौं हजारको बलिदानी दिएर र नेतृत्व पक्ति आफै त्यसका लागि तयार भएर अगाडि आएको शक्ति हो, हामी । त्यसैले हामी संसदवादी शक्तिहरुले झैं जनतालाई झुक्याउन बेतुकका कुरा गर्दैर्नौ ।

० तपाईको दुइटा व्यक्तित्व छ- राजनीतिक र वौद्धिक/प्रविधिक । आफुभित्र यी दर्ुइ व्यक्तित्वबीच टकराव भएको अनुभव हुन्छ ?

मलाई त्यस्तो लाग्दैन । मान्छे भनेको बहुआयमिक हुन्छ । र, ज्ञानको पनि कुनै सीमा हुँदैन । राजनीतिकर्मीको हिसावले प्राविधिक लगायत अन्य ज्ञानलाई लागू गर्नका निम्ति एउटा आधार तयार गरेको छ । मेरो प्राविधिक ज्ञानले आर्थिक नीति निर्माणमा पनि मद्दत पुर्‍याएको छ भने राजनीतिक कृयाकलापले प्राविधिक पाटोलाई कार्यान्वयन गर्ने वातावरण पनि बनाएको छ । त्यसैले यी दर्ुइथरी व्यक्तित्व अन्तरविरोधी होइन, परिपुरक भएका छन् ।

खाडीमा नेपाली चटपटे

शिवराज गौतम

दोहा, उमेरले झन्डै चार दशक काटिसकेको एउटा अनुहार ठूलो झोला संहालेर लाग्छ  शुक्रबारे नेपाली चोक बिस्मिल्लातिर । खजुरको फेदैमुनि झोला बिसाएर हतपत ज्याकेट फुकालेर भुइ"मा राख्छ । तन्ना भुइ"मा बिछ्याएर झोलाभित्रका पोका झिक्न थाल्छ । उसिनेको आलु, भिजाएको चना, काटेको प्याज, भुजाका र खर्ुसानीको पोका, कगातीको झोल, मसला, ग्लास र चम्चाहरू…. अब उसको व्यापार सुरु हुन्छ ।

उसको चटपट बिक्री हुन थाल्छ, प्रतिग्लास २ रियालमा । एक रियालमा आधा ग्लास  यी चटपटे व्यवसायी हुन्, जगतबहादुर कार्की । जा"ते- २, मोरङ मूल घर भएका जगत पुल्चोकस्थित सिटिजन म्यानपावरबाट कतार छिरेका रहेछन् । अल कतारस्थित एक फेसन कम्पनीमा क्लिनरका रूपमा मासिक साढे पा"च सय कतारी रियालमा उनी काम गरिरहेका छन् । उनलाई कामप्रति कुनै गुनासो छै्रन तर समयमै तलब नदिने गरेकोमा भने केही गुनासो छ ।

छोरालाई बोर्डिङ पढाएर ठूलो मान्छे बनाउने सपनामा उनी यता आएका रहेछन् । तर खाडी उनले सोचेजस्तो रहेनछ । सपना पूरा गर्नै पनि थप केही न केही काम त गर्नैपर्‍यो । अरू दिन त कम्पनीकै काममा होइन्छ । साताको एक दिन शुक्रबारे बिदामा उनले पार्टटाइमका रूपमा चटपट बनाउन थालेका रहेछन् । सुरुका केही दिन त चिनेजानेका साथीभाइले उडाएर हैरानै पारेछन् ।  तैपनि उनले काम छाडेनन् । काम गरेर को सानो भएको छ र – चोर्नु पो हु"दैन ।

चटपटेबाट मात्रै सबै खर्च कटाएर सातामा असी रियालसम्म बच्ने रहेछ । यसबाट उनी खुसी देखिन्थे । एक त फर्ुसदको सदुपयोग, अर्कातर्फथोरतिनो आम्दानी !

February 6, 2008

प्रचण्डलाई भोट दिन्छु: रामराजा प्रसाद सिंह


२०४२ सालताका म भर्खर नर्सरी कक्षामा पढ्ने उमेरको थिएँ । त्यतिबेला राजनीतिको
बारे न कुनै चाँसो थियो न कुनै जानकारी नै । तर पनि फाट्टफुट्ट रुपमा रामराजाप्रसाद सिंह’, ‘सत्याग्रह’, ‘सिंहदरबार बमकाण्डसुने जस्तो लाग्छ । त्यसताका र त्यसअघिका चर्चित पात्र हुन् रामराजाप्रसाद सिंह । नेपालमा गणतन्त्रका सुत्रधार मानिने सिंह रहस्य, विवाद, आलोचना र प्रसंशाका सेरोफेरोमै छन् । उमेरको रौनकता छैन तर पनि राजनीतिक तयारी र जोश छ । मान्छेहरुसंगको निरन्तर भेट, राजनीतिक बहस र यस्ता थुप्रै गतिविधिमा सक्रिय छन् । उनै रोमाञ्चक पात्रसंग पछिल्लो राजनीतिक विकासक्रमबारे छोटो कुराकानी ।

तपाई त पहिल्यैदेखि चर्को गणतन्त्रवादी । पञ्चायतकालदेखि नै गणतन्त्रको नारालाई व्यापक रुपमा उचाल्नु भयो । अहिले नेपालमा गणतन्त्र आइसक्या छ जस्तो लाग्छ ?

गणतन्त्र अहिले बाटोमा छ । र, यो आइराख्या छ ।

भनेपछि अब गणतन्त्र रोकिनेवाला छैन ?

अब त समयको कुनै छालले पनि गणतन्त्र रोक्न सक्दैन । यो पर्ुण्ारुपमा आइसकेको त छैन । तर यो हाम्रो असाध्यै नजिक आइसकेको छ ।

गणतन्त्रको कुरा तपाइले उबेलादेखि नै गर्नुभयो । तर अहिले त माओवादी लगायतले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति प्रचण्डलाई बनाउनु पर्छ भनिरहेका छन् नि ?

प्रचण्डजी राष्ट्रपति बन्दै हुनुहुन्छ भने राम्रो । यदि राष्ट्रपतिको निर्वाचन हुँदैछ र उहाँ लड्दै हुनुहुन्छ भने म उहाँलाई भोट दिन्छु ।

भनेपछि तपाईको समर्थन प्रचण्डलाई छ ?

र्समर्थन त नभनौं । भोटरका रुपमा म भोट दिन्छु । तर त्यसबेला अरु को को हुन्छन् भनेर त्यसलाई पनि नजरमा राख्छु ।

मुलुककै जीवनमा पहिलो पटक हुन लागेको संविधानसभा निर्वाचनमा तपाईको भूमिका के हुन्छ ?

म संविधानसभा निर्वाचनमा राम्रोसँग भाग लिन्छु । यो नेपालीको सपना हो । आजदेखि होइन, ७० वर्षभइसक्यो, नेपालीले यो सपना देखेको । म यही सपना बोकेर हिडिरहेको मान्छे । त्यसैले संविधानसभा निर्वाचनमा तन र मनले म खुशीसाथ लाग्नेछु । संविधानसभा निर्वाचनमा भोट हाल्न पाउने जनताको अधिकार हो । तर निर्वाचनमा को उम्मेदवार हुन्छ, राजनीतिमा को कहाँ पुग्छ त्यसको कुनै ठेगाना हुँदैन ।

अहिले तराइतिरबाट संविधानसभा निर्वाचन हुन नदिने खेल भइरहेका छ । होइन ?

जे भइरहेको छ, त्यो विलकुल अर्नगल भइरहेको छ । यस्तो बाटोबाट गणतन्त्र आउँदैन । गणतन्त्र त पवित्र बाटोबाट आउँछ ।

संविधानसभा निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?

संविधानसभा निर्वाचन हुँदैन भने अब यो राष्ट्रमा केही हुँदैन ।

भनेपछि यो अन्तिम मौका हो ?

हो । अब राष्ट्रले चेत्नुपर्छ । संविधानसभा निर्वाचन आफैमा आन्दोलन हो । तर त्यसअघि राष्ट्रपतिको निर्वाचन हुनर्ुपर्छ । अझै पनि संविधानसभा निर्वाचनको लागि तयारी गर्न बाँकी छ । प्रस्तुति- अशोक सिलवाल

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com