डा. राजाराम सुवेदी
लुम्बिनी अञ्चलको पाल्पा जिल्ला अर्गली गा.वि.स. वार्ड नं १ हृषिटोलको रुरुक्षेत्र रिडी भन्ने ठाउँमा काली गण्डकी र रिडी खोलाको संगम रहेको छ । पुराणमा वणिर्त तपस्वीनी रुरुकन्याका क्लान्त शरीरमा प्रवेश गरी उनका इन्द्रियहरूलाई पुनः चेतन प्रदान गर्दै प्रादुर्भाव भएका चतुर्भुज नारायणलाई हृषिकेश भनी सम्बोधन गरिएको कुरा पाइन्छ । रुरुकन्या परमतपस्वी देवदत्त र अप्सरा प्रम्लोचाका गर्भबाट पैदा भएकी रुरुमृगद्वारा लालनपालन गरिएकीले तपस्या गरी भगवान् विष्णुलाई ज्यादै प्रशन्न गर्राई वरप्रसाद प्राप्त गरेर सिद्धी प्राप्त गरेको क्षेत्र नै रुरु क्षेत्र वा रिडी हो । त्यसै बेलाबाट रिडी क्षेत्रले प्रख्याती पाई आएको हो ।

प्रख्यात रिडी क्षेत्रको दोभानमा स्नानसन्ध्या पछि भगवान नारायणको दर्शनबाट अक्षय पुण्य आर्जन गर्ने परम्परा त्यहाँ रही आएको छ । रिडी क्षेत्रमा कालो शालीग्रामी शिलामा चतुर्वाहु नारायणको मूर्ति कुँदिएको अवस्थामा स्थापित रहेको छ । भनिन्छ पहिले -अज्ञात समयदेखि) कालीगण्कीभित्र दविएर रहेको थियो । पाल्पाका प्रख्यात राजा मुनिमुकुन्द सेन धार्मिक प्रवृत्तिका हुनाले नित्य रुरुक्षेत्रमा पुगेर स्नान गर्दथे । पाठपूजा पछि पाल्पा दरवारमा फर्केर राजकाज गर्दथे । उनै राजाले एकरात सपनामा चतुर्वाहु नारायणबाट "भोलि तिमी कालीगण्डकीमा स्नान गर्नजाँदा पानीभित्र मेरो शिलामूर्ति फेलापार्ने छौ" भन्ने चेष्टा प्राप्त गरे । तद्नुसार भोलिपल्ट नुहाउन जाँदा नुहाउन भनी कालीगण्डकीमा डुबुल्की मार्दा अचानक एउटा शिलामा र्स्पर्श गर्न पुगे । छाम्दा त्यो कुँदिएको अवस्थामा महसुस भई बाहिर झिक्न लगाए । सो मुर्ति चारवाहुमा शख, चक्र, गदा र पद्म लिएको मनोहारी आकृतिको थियो । मति प्राप्त पछि स्थापनार्थ अर्न्यर्थ लैजाने भनी नदीपारि पुर्याउने प्रशङ्गबश त्यहाँ पुर्याएरु बिसाएपछि त्यहाँबाट हलचल गराउन सकिएन । । त्यो बुझी राजा मुकुन्द सेनले सोही स्थानमा ठूलो मेहनत साथ कलात्मक मन्दिर निर्माण गरी स्थापना गराइदिए । त्यसपछि नित्यपूजा गर्ने, भोग लगाउने, भण्डारा बनाउने, पर्वपूजा, जात्रामेलाको र गुठीको बन्दोवस्त गरियो । त्यो घटना वि.सं. १५७५-१६१० को अन्तरालमा भएको बुझिन्छ । त्यसपछि बेलाबेलामा जीर्णोद्वार, मरम्मत, सुधार गरिंदै आएको छ । वि.सं. १८१९ मा रणदल पाँडेले निर्माण गरिदिएको मन्दिर नै वर्तमान कालमा त्यहाँ रहेको छ ।
पाल्पा रिडीस्थित हृषिकेश मन्दिर घोप्टो परेको कमल फूलको आकृतिमा गुम्ज शैलीमा निर्मित रहेको छ । मुनि मुकुन्द सेनले निर्माण गराएको मन्दिरलाई जस्ताको तस्तै सुरक्षित राखी त्यसलाई ढाकेर ठूलो मन्दिर बनाइएको छ ।
विवरण
मगर भाषामा रि - कालो, डि- पानी नामबाट रिडीघाट बनेको हो । त्यसै कालोपानी मिसिएर कालीगण्डकीको नाम रहेको अनुमान गरिएको छ । मुस्ताङ जिल्लाको लो मान्थाङदेखि उत्तरपर्ूवमा पर्ने छोस्यारपाखाको स्यार छ्यु र पश्चिमी भागको छोनुवबाट बग्ने नुवछ्यु खोलाहरू मिली कालीगण्डकी बनेको र त्यसमा दामोदरकुण्डबाट पञ्चकुण्डको जल मिसिएपछि कालीगण्डकी पवित्र मानिन्छ । दामोदरकुण्डका डिखोला र छुकसाङखोला मिसिएपछि शाल्रि्राम पाइन्छ ।
कालीगण्डकी रिडीखोलाको संगममा आएर रुरुतीर्थ बनेको छ । गुल्मीको च्युरेक गाउँमा रुरुगुफा र रिडीबजारमा मुकुन्देश्वर महादेव मन्दिर रहेको छ । माघे संक्रान्तिबाट श्रीसूर्यनारायण उत्तरायण हुने हुँदा तीर्थाटनस्नान आरंभ हुन्छ । ज्योतिषचक्रमा महावारुणीयोग -महोदधि) परेको बेला सुनको लेदो कालीगण्डकीमा बग्दछ भन्ने विश्वासमा रिडी क्षेत्र प्रशिद्ध भएको मानिन्छ । त्यसैले माघेसंक्रान्तिमा रिडीमा ३ दिने स्नानमेला लाग्दछ । त्यहाँ व्यापार पनि राम्रै चल्दछ । कार्तिक शुक्ल एकादशीमा भगवान ऋषिकेशको यात्रा रथमा गराइन्छ । गण्डकी माहात्म्यको तेस्रो अध्यायमा रुरुक्षेत्रको वर्णन गरिएको छ । त्यसका साथै वरपरका गाइघाट, और्वाश्रम, भृगुतुङ्ग, रुद्रेवेणी, गोनिष्क्रमणस्थल र्-अर्घली) रुरुगुफा, पाँचधारा, पञ्चपद, ब्रहृमपद, कोटिवटबाट काली गण्डकी र रिडीको संगम महत्त्वपूर्ण रहेको प्रमाणित हुन्छ ।

ऋषिकेश मन्दिरमा पूजा सञ्चालनार्थ १५ मुरी धान खेत, केही पाखो, पूजा सामग्रीबाट जम्मा हुने आयलाट कृष्णाष्टमी, रामनवमीमा विशेष पूजा तथा नित्यनैमित्यिक पूजाबाट भट्टर्राईहरूले संस्कार धानिरहेका छन् । अड्का रकमको विवाद् पछि गुठी संस्थानबाट २ पाले र रथयात्राको खर्च व्यवस्था गरेको छ । एकादशी बाहेक नित्य १२ वटा रोटी भोग लगाउने ऋषिकेश मन्दिरमा ७ वटा पौवाहरू रहेका छन् र प्रशस्त मठमन्दिर, कल्पवासीका आश्रमहरू रहेका छन् ।
(डा. सुवेदीले स्थलगत रुपमा ऋषिकेश मन्दिरको भ्रमण गरी यो सामाग्री तयार पार्नु भएको हो।)