April 20, 2009

लोडसेडिङ घट्यो

Filed under: जन चासो

शुक्रबारदेखि लोडसेडिङ सरदर दैनिक १२ घण्टामा झर्ने भएको छ। मध्य मर्स्याङदीसहित अन्य नदीहरुमा पानीको सहत केही बढेकाले विद्युत गृहहरुमा बढी उत्पादन हुन थाले पछि लोडसेडिङ घट्ने भएको हो।
नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका निर्देशक शेरसि‌ह भाटले मध्य मर्स्याङ्दी सहित नदिमा पानीका सहत बढेका कारण विद्युत उत्पादन बढेकाले हफ्तामा ८४ घण्टा लोडसेडिङ हुने दैनिकी डटकमलाई जानकारी दिए।
प्राधिकरणले लोडसेडिङ घटेको औपचारिक घोषणा नगरेपनि केही दिनदेखि लोडसेडिङमा कमी आएको थियो।

नदीमा पानीका सहत घटे पछि पर्याप्त मात्रमा विद्युत उत्पादन हुन नसकेको भन्दै प्राधिकरणले दैनिक १६ घण्टा लोडसेडिङ गर्दै आएको थियो। रन अफ द रिभर परियोजनाहरुले सुख्या मौसममा १ सय ९३ मेगाबाट विद्युत उत्पादन गर्दै आएकोमा अहिले तिनको उत्पादन २ सय ३० मेगावाट पुगेको भाटले बताए।

November 5, 2008

सरकारद्वारा नियुक्ति एवं बढुवा

Filed under: जन चासो

मन्त्रिपरिषदको बैठकले केही राजनीतिक नियुक्ति एवं प्रहरीमा बढुवा गरेका छन् । २० कात्तिकमा सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा योगेन्द्रप्रसाद यादव, राममणि पोखरेल, अयोदमी यमी, प्रेम कुंवर, सुनीलबाबु श्रेष्ठ र रामदेव सिंहलाई नियुक्त गरेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा उत्तरकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । चर्चामा रहेको नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गरेको छ । नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानीरिक्षक डिआइजीमा विमला थापा र पार्वती थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले ऋण मिनाहासम्बन्धि कार्यविधि तयार गरिएको बताए । महराका अनुसार राजाहरुको नामबाट नामांकित त्रिभुवननगर नगरपालिकालाई घोराही, पृथ्वीनारायाण नगरपालिकालाई गोरखा र महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका नामांकत गरिएको छ । मन्त्रिपरिषद बैठकमा सेना समायोजनसम्बन्धि विशेष समितिको काम कारबाही बारे पनि छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पनि समितिमा आउने दाबी गर्दै समितिले पूर्णता पाएपछि कामलाई गति दिने बताए । स्थानीय विकासमन्त्री रामचन्द्र झाले तर्राईका सशस्त्र समूहसंग वार्ताका लागि थालिएको पहलबारे छलफल भएको बताए । वार्ता छिट्टै शुरु हुने उनको भनाई थियो ।

September 19, 2008

घुस लिदालिदै पक्राउ

Filed under: जन चासो

नेपाल आयल निगमका पाँच कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरिएको छ । नवलपरासीमा रहेका पेट्रोल पम्पहरुको गुणस्तर नाप तथा अनुगमन गर्न काठमाडौँबाट खटिएको टोली नै घुस प्रकरणमा पसेको छ ।

दुम्कीबासस्थित दावन्यदेवी आयल स्टोरबाट नगद एक लाख रुपैयाँ घुस लिँदालिँदै निगमका कर्मचारीहरुलाई पक्राउ गरिएको नेपाल तरुण दलका अध्यक्ष गणेशबहादुर बस्नेतले बताए । पक्राउ पर्नेहरूमा निगमको गुणस्तर अनुगमन विभाग काठमाडौँका प्रबन्धक डम्बर बस्नेत, आनन्द आचार्य, अधिकृत निर्मल गौतम र वरिष्ठ सहायक हिम्मत थापा रहेका छन् ।

उनीहरुसँगै बा १ ञ १०६८ नम्बरको गाडी र चालक रामप्रसाद उप्रेतीलाई पनि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलाहानीमा बुझाइएको तरुण दलका सदस्य अमृत भट्टचनले जानकारी दिए ।

August 3, 2008

नीति परिवर्तन नगरेसम्म माओवादीसँग सहकार्य हुननसक्ने

Filed under: जन चासो

एमाले महासचिव झलनाथ खनालले माओवादीको नीतिमा परिवर्तन नआएसम्म यथास्थितिमा उसँग सहकार्य हुननसक्ने बताएका छन् । राजधानीमा  पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै खनालले यथास्थितिमा माओवादीसँग सहकार्य गरे मुलुक हिटलरको ग्यास च्याम्बर जस्तै हुनसक्ने दावी गरे ।

 खनालले माओवादीबिनाको सरकारको कल्पना कसैले नगरेको उल्लेख गर्दै उसको एकलौटि सरकारको सम्भावना नरहेको पनि बताए । साउन १७ गते माओवादी केन्द्रीय समितिको बैठकले तेश्रो बिकल्पमा आफ्नो एकलौटी सरकार बनाउने निश्कर्ष निकालेको थियो। एमालेसँग सहकार्य टुटेको सन्दर्भमा माओवादी केन्द्रीय समितिले गल्ती स्विकारेकोबारे बोल्दै खनालले माओवादीको आन्तरिक बिबादका कारण आफ्नो दल र माओवादीबीचको सहकार्य टुटेको उल्लेख गरे ।

माओवादीको एक समूह एमालेसँगको सहकार्यको पक्षमा रहेको बताउदै खनालले माओवादीको प्रयोग गर्ने र छाड्ने नीतिका कारण आफ्नो दलसँगको सहकार्य टुटेको धारणा राखे । खनालले राष्ट्रिय सहमतिको सरकारको कुनै बिकल्प नभएको पनि संचारकर्मीहरुबीच बताए ।

July 20, 2008

माओवादी सडकमा जाने

Filed under: जन चासो

अन्तिम समयमा आएर माओवादीले एमालेसँग भएको सहमति तोडेपछि सत्ता बाँडफाँडमा माओवादीइतरका तीनदलबीच नयाँ तर जटिल समीकरणको जन्म भएको छ । कांग्रेस, एमाले र मधेसी फोरमले माओवादीलाई अलग्याएर एकाएक नयाँ गठबन्धन निर्माण गरेका छन् ।

माओवादी-एमाले सम्भावित सहकार्य तोडिएपछि यी तीनदल एक ठाउँमा आउने वातावरण बनेको हो । एकाएक मधेशवादी दलसँग सहकार्य गर्न पुगेको माओवादीले मधेशी जनअधिकार फोरमलाई उपराष्ट्रपति दिन नमाने पछि फोरमले पनि माओवादीसँग सहकार्य नगर्ने घोषणा गर्दै नयाँ गठबन्धनमा सामेल भएको हो ।

नयाँ गठबन्धनका नेताहरुले माओवादीले सबै दललाई झुक्याएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संविधानसभाको अध्यक्ष आफैंले लिन खोजर सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाएका छन् । तीनदलबीच शनिबार भएको सहमतिमा कांग्रेसलाई राष्ट्रपति, फोरमलाई उपराष्ट्रपति र एमालेलाई संविधानसभा अध्यक्ष भाग लगाइएको छ । सहमतिमुताबिक फोरमका उपराष्ट्रपति पदका उम्मेदवारले जिते पनि कांग्रेस उम्मेदवारले बहुमत ल्याउन सकेनन् । यद्यपि, तीनैदलले राष्ट्रपतिको पुनः मतदानमा पनि समीकरण जारी रहने बताएका छन् ।

पछिल्लो समीकरणले आगामी सत्ता-साझेदारीलाई झन् जटिल बनाएको छ । तीनदलले राष्ट्रपति पदका लागि निर्मित गठबन्धनलाई निरन्तरता दिने बताए पनि माओवादीलाई बाहिर राखेर सरकार बनाउनेबारे स्पष्ट छैनन् । यता, माओवादीले तीनदलबीचको गठबन्धनलाई ‘अप्राकृतिक’ संज्ञा दिँदै सरकारमा नजान सक्ने संकेत गरेको छ ।

माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ ध्रुवीकरणले मुलुकलाई द्वन्द्वतिर धकेलेको बताएका छन् । आफूहरूलाई घेराबन्दीमा पार्न खोजिएको उल्लेख गर्दै भट्टराईले घेराबन्दीकै बीचमा सरकार गठन नगर्ने बताएका छन् । भट्टराइले यो नयाँ घेराबन्दी तोड्न आफूहरु सडकमा जानुको विकल्प नरहेको समेत बताएका छन् ।

June 27, 2008

एक दुइ दिनमै नयां सरकार गठन हुने

Filed under: जन चासो

 

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एक दुइ दिनमै नयां सरकार गठन हुने बताएका छन् । १२ असारमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा घोषणा गरेपछि उनले नयां सरकार गठनको ढोका खुलेको बताए । प्रधानमन्त्रीको राजीनामा सकारात्मक भन्दै नयां सरकार सहमति र सहकार्यको धरातलमा उभिएर गठन गर्ने बताए । नेपाली कांग्रेसलाई समेत साथमा लिएर सरकार गठन गर्न पहल गर्ने उनको भनाई थियो । सरकार गठनका लागि अन्य दलसंग छलफल अघि बढाइएको बताए ।

यसअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यमा जोड दिएका थिए । उनले आफू माइनस भएरैभएपनि सहमति र सहकार्यका लागि जोड गरिरहने बताएका थिए ।

May 19, 2008

को को आउलान त २६ जना समानुपातिकमा ?

Filed under: जन चासो

यही मन्त्रीपरिषद्ले मनोनयन गर्ने २६ जना सभासद्का विषयलाई लिएर राजनीतिक नेतृत्वभित्र तिब्र गृहकार्य भईरहेको समाचार छ ।*

यस मनोनित सदस्यका लागि ठूला सात दलहरु बीचमै भागवण्डा हुने देखिएको छ । माओवादीले ८, नेपाली कांग्रेस, एमाले र फोरमले पाँच-पाँच जना, तमलोपा र नेसपा (महतो) ले एक-एक वटा सिट मनोनित गर्ने भागवण्डा मिलाउन लागेको बताईएको छ । ६ दलको संयुक्त कार्यदलमा मनोनित सभासद्हरुको नामावली सिफारिस गर्न विभिन्न पार्टीले नाम छनोट गरी पठाउन थालेका छन् ।
२६ जना सभासद्मा राष्ट्रिय जीवनमा ख्याती कमाएका विशिष्ठ व्यक्ति र संविधानसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजाति र अल्पसंख्यक जाति मध्येबाट छनोट गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
त्यसमा महिला अधिकारवादीहरुले १३ जना र आदिवासी जनजाति, अल्पसंख्यक तथा अपाङ्गहरुले आफ्नो समुदायका व्यक्तिहरुलाई मनोनयन गर्न राजनीतिक दल र सरकारका प्रतिनिधिहरुलाई दबाब दिदैं आएका छन् ।

यसरी मनोनित हुने कोटामा कांग्रेसबाट कानुनविद् दिनेश त्रिपाठी, हरिहर दाहाल, महादेवप्रसाद यादव, लक्ष्मण अर्याल, बद्रीबहादुर कार्की, कुसुम श्रेष्ठ, श्रीहरि अर्याल, दमननाथ ढुंगाना, बुद्धिजीवी र नागरिक समाजका अगुवामध्येबाट दुर्गा पोखरेल, देवेन्द्रराज पाण्डे, मानवअधिकारवादी कृष्ण पहाडी, वरिष्ठ पत्रकार जेपी गुप्ता ‘मायालु’ को नाम सिफारिस भएको बताइन्छ ।

यसैगरी माओवादीले ०४२ सालको वामकाण्डका नेता रामराजप्रसाद सिंह, हरि रोक्का, पदमरत्न तुलाधर, श्याम श्रेष्ठ, दुर्गा सुवेदी, राजावादी राष्ट्रवादीहरु शक्तिहरुमध्येबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र कार्यान्वय गर्न भित्र भित्रै माओवादीलाई सहयोग गरिरहेका भनिएका राजावादी मण्डले रमेशनाथ पाण्डे, राजाका निजी सचिव पशुपतिभक्त महर्जन, विश्वहिन्दु महासंघका पूर्व अध्यक्ष भरतकेसर सिंह, वर्तमान अध्यक्ष हेमबहादुर कार्की, सैनिक तथा प्रहरीतर्फाट सुरक्षाविद्का नाममा पूर्व प्रधान सेनापति धर्मपालवर सिंह थापा, पूर्व रथी बालानन्द शर्मा, नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रबहादुर सिंह, पूर्व डिआईजी अशोक श्रेष्ठआदिलाई मनोनित गर्न नाम संकलन गरेको उच्च श्रोतबाट बुझिएको छ ।

एमालेबाट नेपाल बार एशोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली, हरिकृष्ण कार्की, युवराज संग्रौला, पासाङ शेर्पा, सहाना प्रधान, भीमार्जुन आचार्य आदिका नाम सिफारिस हुने भएको छ । प्रत्यक्ष निर्वाचनमा पराजय व्यहोरेका पूर्व महासचिव माधव नेपाल र स्थायी समिति सदस्य केपी शर्मा ओलीलाई छनोट गर्न पनि नेतृत्वलाई दबाब परिरहेको छ ।

भारतले एमाले नेता ओली, राजपाका अध्यक्ष सूर्यबहादुर थापा, सुजाता कोइराला, तमलोपाका अध्यक्ष महन्थ ठाकुर आदिलाई मनोनयन गर्न सात राजनीतिक नेतृत्वलाई दबाब दिन थालेको बुझिएको छ । उता वरिष्ठ पत्रकार ऋषी धमला पनि २६ सिटमा मनोनित हुन कोशिस गरिरहेको बुझिएको छ ।

May 16, 2008

शैलजा शैयामा, चासो छैन कसैलाइ

Filed under: जन चासो

कांग्रेस नेत्री शैलजा आचार्य पाँच महिनादेखि अस्पतालको शय्यामा छटपटाइरहेकी छिन् । एस्परेसन निमोनियाबाट ग्रसित भएपछि शैलजा शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएकी छिन् । श्वासप्रश्वासको समस्याले उनको फोक्सोमा असर परेको छ । उनी पाकइन्सोलिज्म (शरीर कुज्जिने) समस्याबाट पनि ग्रसित छिन् ।

शैलजाको शरीरमा प्रोटि्रन र क्याल्सियमको कमी भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा. जगदीश अग्रवाल र डा. कवीरनाथ योगी शैलजाको उपचारमा संलग्न छन् । विगतका दिनभन्दा एक हप्तायता नेत्री आचार्यको स्वास्थ्यमा केही सुधार आएको डा. योगीले बताएका छन् । ‘उहाँले मेसिनबाट श्वास फेरिहनुभएको थियो तर आठ दिनदेखि मेसिन निकालिएको छ र प्राकृतिक रूपले श्वास फेरिरहनुभएको छ,’ डा. योगीले भने ।

सघन उपचारकक्षमा रहेकी शैलजालाई स्वास्थ्यमा सुधार आएकाले गत शनिबारदेखि न्युरो वार्डमा सारिएको छ । डा. योगीले शैलजाको निमोनिया बिग्रेको अवस्थामा सुधार आएकाले स्वस्थ हुने आशा व्यक्त गरे ।

शैलजालाई हाल पाइपका माध्यमबाट तरल पदार्थ खुवाइने गरिएको छ । ‘मुखबाट खान त मिल्छ तर मुखबाट खाँदा रोग बल्झेला भनेर नाकबाट तरल पदार्थ खुवाउँछौं, यसले गर्दा उहाँलाई चाहिँदो आहार पुगेको छैन,’ भाइबुहारी मीता आचार्यले भनिन् । शैलजाको स्वास्थ्य उपचारको व्यवस्था सरकारले गरिदिएको उनका भाइ प्रदीप आचार्यले बताए ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com