स्याङ्जाका दश गाविस सचिव विहिन
स्याङ्जा जिल्लाका दशवटा गाउ विकास समितिहरु हाल आएर गाविस सचिव विहिन भएका छन् । सचिबहरु गाविसमा नहुँदा गाविसका योजना तथा सर्वसाधारण जनताका सिफारिस, वृद्ध भत्ता देखिका सम्पूर्ण काम कार्वाहीहरु पूर्णतः प्रभावित भएका छन् ।
स्याङ्जाका दुई ओटा नगरपालिका सहित कूल साठी ओटा गाऊँ विकास समितिहरुमध्ये दशओटा गाविसहरु हाल आएर सचिवविहिन भएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ । जिल्ला विकास समिति स्याङ्जाका नायव सुब्बा यामप्रसाद रेग्मीका अनुसार श्रीकृष्णगण्डकी, कुवाकोट, एलादी, छाङ्छाङ्दी, दारसिङ दहथुम, बानेथोक देउराली, तुल्सीभाज्याङ, किचनास, रापाकोट र साँखर गाविस हाल सचिव विहिन बन्न पुगेका छन् ।
रेग्मीका अनुसार नेपाल सरकारको स्वच्छिक अवकासको नीतिका कारण स्याङ्जाका गाविसहरु सचिव विहिन बन्न पुगेका हुन् । उहाँ भन्नुहुन्छ – सरकारले कर्मचारीलाई स्वच्छिक अवकासको नीति लिएर अवकास लिन लगायो तर गाविसमा पदपुर्ति गर्न सकेन जसले गर्दा गाविसमा बसोवास गर्ने सर्वसाधारणले त्यसको मार खेप्न बाध्य भएका छन् । उहाँ थप्नुहुन्छ ( सरकारले सचिवको बैकल्पिक व्यवस्था गरेर मात्र स्वच्छिक अवकासको नीति लिनुपर्थ्यो ।
एउटा गाविसको कामहरु पनि सम्हाल्न हम्मेहम्मे भएको अवस्थामा जिल्ला विकास समितिले दुईरदुई ओटा गाविसको काम गर्न सचिवलाई लगाउँदा सर्वसाधारणलाई सेवा दिन समेत सचिवहरुलाई कठिनाई भएको गाविस सचिव हकहित संरक्षण माचका अध्यक्ष बाबुराम बस्यालले बताउनुभयो ।
बस्याल भन्नुहुन्छ - गाविसमा स्थानिय पदाधिकारीहरु नहुँदा गाविसको सम्पूर्ण बजेट बाँडफाँडयोजना तर्जुमा देखिका कामहरु एकातिर एउटै सचिवले गर्नुपरेको छ भने त्यैमाथि दुई तीनओटा गाविस हेर्नुपर्दा सचिवलाई निक्कै कठिनाई परेको छ । त्यसको असर सचिव तथा सर्वसाधारणलाई पर्न गएको छ ।
तर जिल्ला विकास समितिले भने खाली भएका गाविसहरुमा अर्को गाविसको सचिवलाई भेग मिलाएर काम गर्न जिम्मेवारी दिइएको दावी गरेको छ । उता निवुआखर्क गाविसका सचिव हिरामणि पाण्डेले भने निबुआखर्क र साँखर गाविसको जिम्मेवारी दिइएको छ । जिल्ला विकास समितिले भेग मिलाएर सचिवलाई काम गर्ने जिम्मा दिएको बताएपनि निबुआखर्क र साँखर गाविस झण्डै ५० किलोमिटरको दुरीमा पर्दछन् । पाण्डे भन्नुहुन्छ - दुई ओटा गाविस हेर्न निक्कै कठिनाई भएको छ एउटा गाविसमा जाँदा अर्कोमा पुग्न सकिदैन त्यसले गर्दा दुई ओटा गाविसको काम गर्न अफ्ठ्यारो भएको छ ।