सचिव मैनालीद्वारा राजीनामा
सरकारका सचिव उमेशप्रसाद मैनालीले राजीनामा दिएका छन् । मुख्यसचिवका दाबेदार उनलाई प्रमुख सचिवका रुपमा राष्ट्रपति कार्यालयको जिम्मेवारी दिइएपनि सरकारले सचिवकै रुपमा पत्र थमाएपछि असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् ।
मैनालीले मुख्य सचिव माधव घिमिरेलाई राजीनामा पत्र बुझाएको बताए । कर्मचारीतन्त्रमा वरिष्ठता र कार्यदक्षता लत्याइएको भन्दै असन्तुष्टि पोखे । आफूलाई शुरुमा प्रमुख सचिव भनिएपनि पछि सचिव भन्दै पत्र दिएर अन्यौल स्थापना गरेपछि राजीनामा दिएको बताए ।
प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न खोज्दा पनि भेट्न नपाएको भन्दै गुनासो पोखे । राष्ट्रपति डा.रामवरण यादव र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर राजीनामा दिने जानकारी गराएका थिए ।
डेढ साता अघि मैनालीलाई वातावरण मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा सरुवा गरिएको थियो । शुरुमा प्रमुख सचिवका रुपमा सरुवा गरिएको भनिएपनि पछि सचिवकै रुपमा पत्र थमाइएको थियो ।