July 24, 2009

ज्ञान तिम्रो मित्र हो : शिवपुरी बाबा

राजा महेन्द्रको राज्याभिषेकमा नेपाल आएका महान दार्शनिक तथा भारतका राष्ट्रपति डा. सर्भपल्ली राधाकृष्णन् विमानस्थलबाट सिधै शिवपुरी बाबा समक्ष पुगे र सोधे, "तपाईँको शिक्षाको सार के हो ?" बाबाले भने " म तीनवटा अनुशासन सिकाउँछु… आध्यात्मिक, नैतिक र शारीरिक।" अनि डा. राधाकृष्णन् सोधे ,"समग्र सत्य यति थोरै शब्दमा?" बाबाले भने, "हो।"
शिवपुरी बाबाका शिक्षाका ति तीन अनुशासनलाई व्याख्‍या गर्न डा. राधाकृष्णन्‌जस्ता दार्शनिकलाई नै पन्ध्र मिनेटभन्दा बढी समय लागेको थियो। सन् १८२६ मा केरलाको नम्बोद्री बाहुन परिवारमा जन्मेका शिवपुरी बाबाले सारा संसारको भ्रमण गरेपछि अन्त्यमा काठमाडौँलाई आफ्नो घर बनाएका थिए।

 उनको शिक्षाका बारेमा लेखिएको पुस्तक "लङ पिल्ग्रिमेज" का लेखक जे. जी. बेनेटले सन् १९६१ मा भेटदा बाबा १३५ वर्षका भइसकेका थिए। "मेरो बारेमा होइन मेरो शिक्षाका बारेमा लेख " भन्ने शिवपुरी बाबाले सन् १९६३ को जनवरीमा समाधि लिए। शिक्षा क्षेत्रमा लागेकाहरूलाई फाइदा पुग्ने मनसायले शिवपुरी बाबाका शिक्षा र अनुशासनसम्बन्धी विचारहरूलाई यहाँ समेटिएको छ।
सशक्त मष्तिष्कका लागि नैतिक अनुशासन आवश्यक छ र त्यससँगै कर्तव्य र उपासना। सही जीवन बाँच, परमात्माको आराधना गर, यो नै पर्याप्त छ, यसभन्दा बढी केहि गर्न पर्दैन।परमात्मामा विश्वास गर्छौ भने तिमीले परमात्मालाई नै खोज्नु पर्छ, तर तिमी केहीमा पनि विश्वास गर्दैनौ भने पनि यो देखिने संसारको पछाडि कुनै अर्थ होला भन्ने तिमीलाई लाग्न सक्छ। तिमीले त्यो अर्थ खोज्नै पर्छ र त्यसलाई बुझ्नु पर्छ।
परमात्माले तिमीसँगै ज्ञानलाई पठाएका छन्। ज्ञान तिम्रो मित्र हो। ज्ञानले चाहनासँग अवैधानिक सम्पर्क गरेर दिमागलाई जन्म दियो। दिमागले चन्चलतासँग विवाह गरेर पाँच इन्द्रियहरूलाई जन्म दियो । दिमागले फेरि आशासँग अर्को विवाह गर्‍यो र रिस र लोभ नामक दुइ छोरा जन्मायो। यसरी एउटा परिवार बन्यो र तिम्रो शरिरभीत्र बस्यो। ज्ञान र चाहना बीचको चलखेल अविद्या हो। समय समयमा दिमागले पाँच इन्द्रिय मार्फत त्रास र चिन्ताको अनुभव गर्छ अनि हडबडाउँछ र आफ्नी आमा ज्ञानसँग सहयोग माग्छ। त्यसपछि ज्ञान तिमी अर्थात आत्मासँग परामर्श लिन आउँछ आत्माले आफ्ना परिवार त्याग्न र आत्मामै समाहित हुन भन्छ। आत्मामा ज्ञान समाहित हुनुलाई नै बोध भनिन्छ।
मानिसका तीन खालका कर्त्तव्य हुन्छन् : शारीरिक, नैतिक र आध्यात्मिक। शारीरिक कर्त्तव्यमा जन्म लिनुका दायित्व पूरा गर्ने, बाँच्नका लागि कमाउने, संसारमा आफू र आफ्नो क्षमतालाई स्थापित गर्ने, आफू प्रति आश्रितहरूको हेरविचार गर्ने आदि पर्छन। नैतिक कर्त्तव्यमा आफू प्रतिको दायित्वप्रति सधै सजग रहने र चौबीसै घण्टा सत्यको खोजी गर्ने पर्छ भने आध्यात्मिक कर्त्तव्यमा परमात्माको आराधना।

तर यो पछि नै गरिनु पर्छ सबैभन्दा अगाडी त पहिला दुइ कर्त्तव्यमा ध्यान दिनु पर्छ। यी दुइ कर्त्तव्यबाट कहिल्यै पनि ध्यान हटाउनु हुँदैन। एक मिनेट मात्रै पनि यी दुइ कर्त्तव्यबाट ध्यान हटायो भने तिम्रो दिमागमा अनेकन अनुरागहरूले आक्रमण गर्न थाल्दछ। यस्ता अनुरागहरूलाई बाहिरै राख्‍न पनि सजिलै छ।तिम्रो घरमा अनेकन मानिस आउँछन्, तिमी तिनलाई चियाआदि दिएर स्वागत गर्छौ। तिनिहरू फेरि आउछन् किनकी तिनिहरूलाई तिमीले स्वागत गर्छौ भन्ने थाहा छ। तर तिमीले तिनलाई स्वागत नै गरेनौ भने तिनीहरूले तिमीलाई छोड्छन् र अन्यत्रै जान्छन्।यहाँ मेरो घरमा जस्तै। यहाँ वरपर काँडेतार लगाइएको छ मैले भीत्र आउन दिनेहरू मात्र भीत्र आउन पाउँछन्।तिमी पनि तिम्रो दिमागको वरपर काँडेतार लगाउ । शरिरका अनेकन आवश्यकताहरू हुन्छन्।

शरिरका हरेक अङ्गका सहि गतिविधिका बारेमा तिमीले थाहा पाउनु पर्छ। ति सहि गतिविधिको छनौट गर्नु पर्छ र बिना कुनै निर्देश वा भूल तिनलाई कार्यान्वयन गर्दै जानु पर्छ।अर्को कुरा दिमाग हो। दिमागमा भावनाहरूले राज्य गर्छन् तर दिमागमा तर्कको राज्य हुनु पर्छ।दिमागमा शान्ति हुनुपर्छ। एउटा कर्त्तव्य आफ्नो शरिर प्रति हुन्छ अर्को घर प्रति हुन्छ, कर्त्तव्य समाजप्रति पनि हुन्छ र कर्त्तव्य समग्र राष्ट्रका प्रति पनि हुन्छ। अर्को कर्त्तव्यचाहिँ व्यवसायिक जीवनको हुन्छ। कर्त्तव्यहरूको पालनाका लागि सबैले धन कमाउनु नै पर्छ।
कर्त्तव्यको पालना सिकाउने काम शिक्षक र अभिभावक दुवैको हो।दुवैले त्यसै अनुसार तयारी गर्नु पर्छ। बालबालिकालाई पाँच वर्षको उमेर देखिनै कर्त्तव्य पालनाका शिक्षा दिइनु पर्छ, उनीहरूको दिमागले कारणहरू सोच्न थाल्नुभन्दा अगाडी देखिनै।
शरिर प्रतिको कर्त्तव्यको पालना शरिरको आवश्यकताको अध्ययन गरेर गर्नु पर्छ।खाने काम पनि शरिरलाई ठिक ठाउँमा राख्‍नका लागि मात्र हुनु पर्छ।यसैगरी सुत्‍ने हेर्ने छुने दिसापिसाव गर्ने आदि सबै कर्त्तव्यको पालना शरिरलाई ठिक ठाउँमा राख्‍नका लागि तोकिएको समयमा र बिना कुनै गल्ती गरिनु पर्छ।यी सबै कुरा बालबालिकालाई सिकाइनु पर्छ। उनीहरूलाई यी सबै कुरा स्पष्ट पार्नु पर्छ र उनीहरूले गल्ति गरे भने तिमीले त्यो गल्ती औल्याउनु पर्छ।
यस्ता कुरा अभ्यासमा भर पर्छ। मैले तिमीलाई चिया बनाउन भने । तिमीले बनायौ तर त्यसमा गल्ति भएको हुन सक्छ र सहि स्वाद नआएको हुन सक्छ। चिनि धेरै भएको हुन सक्छ, रङ्‌ग कडा भएको हुनसक्छ।आज गल्ती पत्ता लगाउ समाधान भोलि हुन्छ। भोली तिमीले फेरि गल्ति गर्न सक्छौ पर्सि समाधान निक्लन्छ । यसैले एउटा कुरालाई लामो समयसम्म नियमित अभ्यास गर्दै गए पछि तिमीले सहि स्वाद पाउछौ र तिमी त्यसैलाई निरन्तरता दिन सक्छौ।यसरी नै तिमीले आफ्ना कर्त्तव्यको अध्ययन गर्नु पर्छ । जबसम्म सहि उत्तर पाइदैन हामीले काम दोहराउदै जानुपर्छ, हिजोका गल्तीहरूलाई आज सुधार गर्दै जानु पर्छ ।
तिमी कति चाहन्छौ भन्ने कुरा पहिल्यै निधो गर। कति साथी चाहिन्छ, कति मानिसलाई भेट्नु पर्छ, परिवारसँग बाँच्नका लागि कति कमाउनु पर्छ, राजनीति पत्रकारिताजस्ता विषयमा सोच्न र कुरा गर्न कति समय दिनु पर्छ, कति खाने कति पिउने र कति मनोरञ्जन तिमीलाई चाहिन्छ ति सबैको पहिले नै निधो गर र त्यस अनुरूप नै आफूलाई ढाल। आफूले तोकेको सीमाभन्दा बढी कहिल्यै जान नदेउ।
सत्यको अनुभूति गर्न जीवनलाई त्याग्नु पर्छ तर जीवनलाई त्याग्नुको अर्थ जङ्गल तिर वा गुफामा जानुमात्र होइन। बुद्धले पनि बोधिसत्व प्राप्ति पछि त्यसो गर्न आवश्यक नभएको वताएका छन्। सहि जीवन बाँच्ने हो भने घरमै बसेर पनि सत्यको अनुभूति गर्न सकिन्छ। जीवन त्याग गर्नु भनेको नाम, ख्‍याति र मनोरञ्जनका चाहनाहरूलाई त्याग्नु हो।
दृढ सङ्‌कल्प
समुन्द्रको किनारामा एउटा बदाम जत्रो सानो चरा बस्थ्यो। समुन्द्रतटमा उसले फुल पार्थ्यो तर सधै समुन्द्रको छालले उसको फुल बगाइदिन्थ्यो।सधै यस्तो भए पछि त्यो चरो साह्रै रिसायो।आफ्ना फुलहरू फेरि पाउनका लागि उसले समुन्द्र नै सुकाउने योजना बनायो । दृढसङ्‌कल्पका साथ उसले योजना बनायो र समुन्द्रमा आफूलाई भिजाउँदै टाढा गएर आफ्नो जीउबाट पानी फाल्दै सुकाउन थाल्यो। यो काम उसले नियमित र निरन्तर गर्दै गयो।उसको काम देखेर उ जस्तै अर्को चरो आयो के गरेको भनेर सोध्यो। चराले समुन्द्रमूनि रहेका आफ्ना फुल लिनका लागि समुन्द्रनै सुकाउन लागेको वतायो। अर्को चराले पनि आफ्ना फुल लिनका लागि त्यसै गर्न थाल्यो। ति चराहरू एक पछि बढदै हजारौ भए अनि लाखौ र समुन्द्रनै सुक्यो।

(जे. जी. बेनेट र ठाकुरलाल मानन्धरद्वारा लिखित तथा सन् १९६५ मा प्रकाशित "लङ पिल्ग्रिमेज" मा आधारित)

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/07/24/p676/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com