ज्ञानेन्द्र-पारस बोलचाल बन्द
पूर्वराजा ज्ञानेन्द्र र उहाँका पुत्र पारसवीच बोलचाल बन्द भएको छ । पारस सिंगापुरबाट फर्किएको दुई साता नाघेपनि बाबुछोरावीच भेटघाट र बोलचालसमेत भएको छैन । सिंगापुरमा रहदा त्यहाको दैनिक द न्यू पेपरलाई अन्तरवार्ता दिदैं पूर्वयुवराज पारसले आफ्नो पिता ज्ञानेन्द्रप्रति आक्रोश व्यक्त गरेका थिए ।
सो अन्तर्वार्ताले गर्दा सम्बन्धमा झन दरार उत्पन्न भएको थियो । समाचारपत्रमा पकाशित समाचार अनुसार ´म उहाँलाई सधै नयाँ पुस्ताको सल्लाह लिन आग्रह गर्थे जसले नेपाललाई अगाडि बढाउन सक्थे तर उहाँले सधै बूढापाकाको मात्रै कुरा सुन्नुभयो ।´
पूर्वयुवराज पारसले आफ्ना बाबु ज्ञानेन्द्रसँग बस्न नसक्ने भएपछि देश छोडेको र त्यस बेला नेपालमा रहनु आफ्ना लागि सुरक्षित नभएको बताउनुभएको थियो । तर नेपाल फर्किएपछि दुवै जना निर्मलनिवासभित्र हुनुहुन्छ तथापि भेटघाट भने छैन । पारसको नेपाल आगमनको दुईवटा उदेश्य भएको उहाँका निकटस्थहरुले बताएका छन् । सिंगापुरमा व्यापार गर्न बाबुसँग पैसा माग्नु र नेपालमा पाटी गठनका लागि सहयोगीहरुसँग छलफल गर्ने उद्देश्य भए पनि पारसका यी दुवै उद्देश्य भने पूरा नहुने भएका छन् । सिंगापुरको सो दैनिकलाइ पारसले पार्टी खोलेर ब्यालेटको सहयोगबाट सत्तामा पुग्ने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा सुधार आएपछि सेयरको कारोबार गर्ने बताउनुभएको थियो।
नेपाल फर्किएपछि बाबुछोराबीच भेटघाटसम्म नहुनुले उहाँले व्यापारमा लगाउने पैसा पाउने स्थिति नदेखिएको पारका सहयोगीहरुले जानकारी दिए । ´बाबुछोरा दुवै निर्मलनिवासमै बसेका छन् तर खाना खाने समयमा पनि एकसाथ कहिल्यै हुँदैनन् । ज्ञानेन्द्र सधै नियमति समयमा खाना खान आउनुहुन्छ तर पारस भने खाना खान कहिले पनि समयमा आउनुहुन्न´ स्रोतले भन्यो ।