खाडीमा नेपाली युवाहरू मन्दीबाट पीडित
रोजगारका लागि चर्को ब्याजमा ऋणको भारी लिएर खाडीमा आएका युवाहरू आर्थिक मन्दीका कारण पीडितमा बन्न थालेका छन्। रोजगारीका क्रममा दुवईका विभिन्न सहरबाट दैनिक रूपमा सयौं आफन्त फर्किन थालेपछि युवाहरू पीडित बनेका हुन्।
एकै ठाउँबाट काममा आएका कपिलवस्तु विशनपुराका शङ्कर चौधरी आएको डेढ महिनामा नै घर फर्किएपछि नुवाकोटका विष्णु भुसाल चिन्तित भएका छन्। उनले केही दिनमा आफू पनि फर्किनु पर्ने हो कि भन्ने चिन्ताले सताएको बताए।
कम्पनीमा म्यानेजरको रूपमा कार्यरत रमेश लम्सालका अनुसार दुवईमा अधिकांश युवाको आर्थिक मन्दीका कारण रातमा निद्रा र दिनमा भोक हराएको छ।
संयुक्त अरब इमिडेट दुवईमा अत्यावश्यक बाहेकका अन्य सामान उत्पादनमा अघिल्लो दिनको तुलनामा आधा कटौती भएका छन्। जसका कारण काममा पनि कटौती हुँदै आएको छ।
नेपाली युवाले कामको अभावमा आपतविपतमा समेत अवकाश पाउने गरेका छन्। विगत दुई महिनाको अवधिमा दुवई सरकारले हजारौं कामदार घर फर्काइ सकेको जनाएको छ। त्यस्तै बलिया थारु सोमबार घर फर्किएका छन्। उनी आएको एक महिनामा नै अवकाश पाएपछि घर फर्किएको थारुका परिवारजनले बताएका छन्।
अर्घाखाँचीका करिब एक दर्जनभन्दा बढी युवा पनि घर फर्किएका छन्। त्यस्तै कन्स्टक्सन दि कम्पनीमा कार्यरत हटौँडा र तनहुँका तीन दर्जनभन्दा बढीले अवकाश पाएका छन्। आबूदावीस्थित नेपाली दूतावासका अनुसार नेपाली युवा घर फर्किने क्रम जारी रहेको छ। दूतावासले आउनेको सङ्ख्या कमी र नेपाल फर्कने बढी भएको जनाएको छ।
उता नेपाली समाज युएईले युवाहरू धमाधम घर फर्किदा परिवारमा समस्या आउने जनाएको छ। समाजले चर्को ब्याजमा ऋण काढेर नयाँ महल बनाउने आशाले आएका युवा तत्काल घर फर्किदा आउने नैराश्यता तथा परिवारमा आउन सक्ने वितृष्णालाई नेपाल सरकारले मेटाउन सक्दो र सुहाउँदो रोजगारको व्यवस्था मिलाउन माग गरेका छन्।