बकर इद पर्व मनाउँदै
देशभरका मुसलमान समुदायले आफ्नो ठूलो चाड बकर इद धुमधामकासाथ मनाउँदै छन् । आजको दिन विहानै नुहाइ धुवाइ गरी सफा लुगा लगाएर सबै मुसलमानले इदगाह मस्जिद वा खुला मैदानमा भेला भइ नमाज पढेर सामूहिकरुपमा प्रार्थना गर्छन । त्यसपछि उनीहरु एक अर्कासँग हातेमालो गरेर इदुल अजहाको बधाइ तथा शुभकामना आदान प्रदान गर्छन ।
काठमाडौंको घण्टा घरमा रहेको जामे मस्जिदमा पनि मुस्लिम धर्मावलम्वीहरुले नमाज पढि बकर इद मनाएका छन् । यसैबीच प्रधानमन्त्री प्रचण्डले समस्त नेपाली खासगरी मुसलमान धर्मावलम्बी दाजुभाई एवम् दिदी-बहिनीहरूको धार्मिक-सांस्कृतिक आस्थाको केन्द्रविन्दु एवम् मिलन, आपसी भाइचारा, सम्मान र सद्भाव प्रवर्द्धन गर्ने प्रेरणाको स्रोत बकर इद पर्वको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
यसै उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी नेपाली कंग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले बकर इदले सबै जिम्मेवार पक्षलाई राष्ट्रिय जिम्मेवारी पूरा गर्नका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।