मैले राजा भेटेको हुँ : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार साँझ पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको स्वीकार गरेका छन् । उनले शुक्रबार हेटौंडामा राप्रपा नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा ज्ञानेन्द्रलाई भेटेको स्वीकार गरेका हुन् । उनले पूर्वराजासँग नभेटेको र आफू हेटौंडा रहेको बताएका थिए ।
’मैले पूर्वराजालाई भेटेको हुँ, भेटमा भएको कुरा भन्न मिल्दैन,’ थापाले भने । बिहीबार बिहान हेटौंडा आइपुगेका थापाले पूर्वराजासँगको भेट सामाजिक शिष्टाचार मात्र भएको बताए । ‘प्रधानमन्त्री, विभिन्न पार्टीका नेता र तपाईं पत्रकारलाई भेटेजस्तै उनीसँग भेट्नु पनि सामान्य हो, जुन सधैं हुन्छ,’ उनले भने । पूर्वराजा ज्ञानेन्द्र राजतन्त्र छोडेर माओवादीसँग सहकार्य गर्नसक्ने तर आफूले राप्रपा नेपालको सिद्धान्त छोड्न नसक्ने दाबी गरे ।