पेट्रोल र हवाई इन्धनको मूल्य घटयो
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको घट्दो मूल्यका कारण नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल र हवाई इन्धनको मूल्य घटाउने निर्णयगरेको छ। गत अक्टोबर १६ को मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १६ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा २८ रुपियाँ नाफा रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा अहिले पनि लगातार कच्चा तेलको मूल्य घटिरहेका कारण निगमले एकातिर सरकारी र अर्कातिर उपभोक्ताको समेत दबाबका कारण मूल्य केही घटाएको हो।
निगम सञ्चालक समितिको शनिबार बसेको आपत्कालीन बैठकले पेट्रोलमा ५ रुपियाँ घटाएर काठमाडौंमा प्रतिलिटर खुद्रा मूल्य ९५ रुपियाँ कायम गरेको छ भने हवाई इन्धनमा अन्तर्राष्ट्रिय उडानतर्फप्रतिकिलोलिटरमा १ सय डलर मूल्य घटाएर प्रतिकिलोलिटर १ हजार ४ सय डलर कायम गरिएको छ।
अन्तर्राष्ट्रिय उडानतर्फो हवाई इन्धनको मूल्य छिमेकी मुलुक भारतको कोलकातामा १ हजार १० डलर रहेको छ।डिजलमा भने विगतमा कायम गरिएको दोहोरो मूल्यलाई हटाएर प्रतिलिटर ७० रुपियाँ कायम गरिएको छ। विगतमा डिजलको मूल्य प्रतिलिटर ७० रुपियाँ नै भए पनि खुला बजारको नाम दिएर निगमले ८० रुपियाँमा समेत बिक्री गरेको थियो। आइतबारदेखि डिजलको दोहोरो मूल्य कटौती गरेर एउटै मूल्य कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आउँदो डिसेम्बर महिनाको डेलिभरीको लागि यतिखेर ६२ डलरमा झरेको छ। वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोका अनुसार पेट्रोलमा घटाइएको मूल्यपछि अझै पनि निगमलाई प्रतिलिटरमा १२ रुपियाँ नाफा रहेको छ। तर उहाँले पेट्रोल र हवाई इन्धनको मूल्य घटाउँदा पनि निगमलाई अझै नाफाको स्थिति रहेको उल्लेख गर्नुभयो।
आउँदो नोभेम्बर १ मा इन्डियन आयल निगमबाट नयाँ मूल्यसूची आउँदा सबै किसिमका पेट्रोलियम पदार्थहरू -डिजेल, ग्यास, मट्टीतेल, पेट्रोल र हवाई इन्धन) को अझै भारी मात्रामा घट्ने सम्भावना रहेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको अवसर छोपेर अन्तर्राष्ट्रिय बजारमा घटेको अवस्थामा घट्ने बढेको अवस्थामा बढ्ने संयन्त्र निर्माण गर्ने तयारी गरिरहेको छ।
निगमका कार्यकारी निर्देशक दिगम्बर झाका अनुसार नयाँ मूल्य आएपछि खाना पकाउने ग्यासको मूल्यसमेत समायोजन गरिनेछ। गत अक्टोबर १ को मूल्यअनुसार निगमलाई खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३ सय ४७ रुपियाँ नोक्सानी छ।