यादवलाई सरकारबाट फिर्ता बोलाउने निर्णय
नेकपा माओवादी सचिवालय बैठकले भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाइएका मातृका यादवलाई फिर्ता बोलाउने निर्णय गरेको छ । ३ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई आत्मालोचनासहित राजीनामा दिन भनेको सचिवालय सदस्य वर्षमान पुन अनन्तले बताए ।
अनन्तका अनुसार मातृका यादवले संयुक्त सरकारको संस्कृति विपरित सरकारमा सहभागी मन्त्रीहरुलाई गालीगलौज गरेको भन्दै कारबाहीको निर्णय गरेको हो । स्रोतका अनुसार बैठकमा यादवको चर्को आलोचना भएको थियो । उनले सिराहामा जग्गा कब्जा गर्न जाने शैलीलाई पनि गलत ठहर्याएको छ ।
सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराएका थिए । बैठकले भ्रमण उपलब्धिमूलक र सफल भएको निष्कर्ष निकाल्दै आसन्न संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका जाने तयारीबारे पनि छलफल गरेको छ ।