मुनड्रप्सका सञ्चालक पक्राउ
आफूलाई वैदेशिक रोजगारी लगाइदिने बहानामा ठगी गरेको भन्दै पीडितहरुले लाजिम्पाटस्थित मुनड्रप्स म्यानपावरका सञ्चालक पुकार राणालाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएका छन् । ५०/६० जनाको सङ्ख्यामा आएका पीडितहरुले सञ्चालक राणालाई बिहान साढे १० बजेतिर उनकै घर लाजिम्पाटबाट पक्राउ गरेको परिवारले जनाएको छ ।
आफूहरुलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै मोटो रकम लिएको र अहिलेसम्म रोजगारीमा नपठाएको भन्दै पीडितहरुले राणालाई पक्राउ गरेका हुन् । अहिले राणा सिंहदरबार प्रहरीको नियन्त्रणमा छन् ।
पीडितहरुले राणालाई कुटपिटसमेत गरेका छन् । राणाले ठगी गरेको भन्दै श्रम अदालतमा दायर गरिएको मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ ।