कहिलेकाहीँ ठाकठुक त भैहाल्छ: प्रचण्ड पत्नी सीता
विवाह कलिलै उमेरमा गर्नुभा रैछ, अहिले भएको भए बालविवाह मानिन्थ्यो होइन ?
(हा … हा.. हा … हाँस्दै) अहिलेको भए त्यसै भनिन्थ्यो होला।
मागी विवाह हो ?
हो , मागी विवाह नै हो ।
विवाहभन्दापहिले उहाँलाई देख्नुभएको थियो ?
नाइँ , कुरा चलेपछि मात्र देख्या हुँ । त्यतिबेला गाउँ वा खोलाटोलामा जातभातको चलन थियो। त्यही सिलसिलामा विवाह भएको हो ।
त्यतिबेला कस्तो महसुस गर्नुभयो ?
पत्तै भएन , विवाह गर् याजस्तो देखिन्थ्यो। साथीहरू विवाह गर्नुपर्छ भन्थे तर विवाह गरेर के गर्ने, कसो गर्ने, केही मेसो थिएन ।
उसोभए पञ्चेबाजा घन्काएर विवाह गर्नुभयो ?
अँ , धुमधाम साथ पञ्चेबाजा बजाएर भएको हो । जेहोस् त्यतिबेला गाउँमै नभएको विवाह भएको हो ।
तपाईंको पढाइ नि ?
अहँ , कत्ति पनि पढेकी छैन । सायद म पोखरामै भइदिएको भए पढ्न पाउथेँ होला । मेरा साथीहरूले सात आठ कक्षा पढ्या छन् । चितवनमा आएपछि वस्तु चराउने, थारू साथीभाइहरूसँग खेल्ने काम भयो । स्कुल धेरै टाढा थियो । बुवाआमाले पढाउन नखोज्या भने होइन । छोरो भैदिया भए जसरी पनि पढाउनुपर्छ भन्ने हुन्थ्यो होला । छोरी भएको नाताले त्यसो भएन । अर्को , ठाउँ र वातावरणले पढ्ने मौका मिलेन ।तपाईं कत्ति पनि नपढेको मान्छे , पढेको केटासँग विवाह हुँदा अप्ठ्यारो मान्नुभएन ?
त्यतिबेलासम्म उहाँले पनि खासै पढ्नुभएको थिएन । उहाँ दस कक्षा पढ्दै हुनुहुन्थ्यो , विवाह गरेपछि काठमाडौँ पढ्न जानुभयो । त्यस्तो कुनै अप्ठ्यारो भएन ।
तपाईंहरू पुरानो इष्टमित्र पनि हो ?
केही न केही त जोडिएको हो । चितवन बट्यौनी गाविसको सुन्दरबस्ती हाम्रो माइती थियो , उहाँ श्रीनगरको । हिडेर जाँदा १५ मिनेट लाग्थ्यो ।
उहाँ काठमाडौं गएर पढ्न थालेपछि के गर्नुभयो ?सुरूका दिनमा गाउँका महिलाले जे गर्थे त्यही गरियो । १२ वर्षसम्म सगोलमा बस्यौं । ०३५ सालमा परिवारबाट छुट्टियौं। ०३८ सालमा प्रकाश जन्मियो । त्यसअघि तीन छोरी जन्मिसकेका थिए ।
भनेपछि छोरो पाउने अभिलाषा धेरै ढिलो पूरा भयो , होइन ?
हाँस्दै , मलाई त त्यस्तो केही लाग्दैनथ्यो । सासूलाई नाति नै चाहिन्छ भन्ने थियो । मैले त छोरीहरू भएपछि परिवार नियोजन गर्ने भनेकी थिएँ । उहाँले पनि हुन्छ -हुन्छ भन्दाभन्दै छोरो पनि जन्मियो । प्रकाश जन्मिएपछि त उहाँ भूमिगत भैहाल्नुभयो ।
तपाईँ पनि भूमिगत हुनुभयो ?
त्यस्तै मान्नुहोस ।
तपाईँ राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
छोरी पनि भइयो , बुहारी पनि भइयो, महिलाको पीडा पनि भोगियो। ०३५ सालमा अमिक दाइकी श्रीमतीले कक्षा लिने कुरा चल्यो । ठीकै छ , त्यसमा जाऊ न त भन्नुभयो । त्यतिबेला घरबाट निस्कन गार् हो थियो । त्यहाँ गएपछि दिदीको भाषण सुनेर निकै प्रभावित भएँ । त्यसपछि अब आन्दोलन गर्नुपर्छ भन्ने अठोट लिएकी हुँ ।
श्रीमान् राजनीतिमा लागेका बेला कुनै गुनासो गर्नुभयो ?
मैले पढ्न पाइन , दुःख पाएँ भन्ने कुरामा उहाँसँग झगडा गरिन । तर, कयौं कुरा पार्टीसँग सम्बन्धित हुन्छन् नि, त्यहाँ महिलाले खेल्ने भूमिकामा मेलै संघर्ष गरेकी हुँ ।
कस्तो खाले संघर्ष ?
पार्टीभित्र गडबड हुने बेलामा पार्टी फुट्न आँटेको बेला सक्दो भूमिका खेलें । रोल्पामा पार्टीको मिटिङ बसिरहेको थियो , भारतबाट त्यहाँ जाँदा केही गडबड भएको पाएँ । अनि ल है, पार्टी कुनै पनि हालतमा फुटाउन हुन्न भनेर जोडदार कुरा रा राखें। तपाईं दायाँ -बायाँ गर्न पाउनुहुन्न भनेर उहाँलाई पनि भन्थें (हिसिलातिर इंगित गर्दै) । यस्तै कुरामा झगडा हुन्थ्यो, अरू व्यक्तिगत कुरामा होइन । एउटा कुरा त बाल्यकालमा विवाह भयो, हिँजोआजको जस्तो श्रीमान्-श्रीमतीको व्यवहार पनि भएन । प्रचण्डसँगै जन्मियाजस्तो, सँगै हुर्कियाजस्तो , जन्मदेखि नै सँगै रहेजस्तो फिलिङ हुन्छ मलाई, उहाँलाई पनि ।तपाईंहरूबीच पारिवारिक कुरामा कहिल्यै झगडा भएन ?
पारिवारिक कुरामा , बूढाबूढी सँगै बस्दा त्यस्तो झगडा हुँदैनथ्यो । कहिलेकाहीँ ठाकठुक त भैहाल्छ । आफैभित्र द्वन्द्व हुँदा बेलाबेलामा सोचाइ परिवर्तन हुने भएको अवस्थामा दुई जनामा झगडै हुदैन भन्ने होइन ।
श्रीमान् - श्रीमतीबीच झगडा हुँदा धेरै दिनसम्म नबोलेको कुनै घटना छ ? कहिलेकाहीँ विवाद भए होलान तर आधा घन्टाभन्दा बढी नबोलेको रेकर्ड छैन । उहाँको स्वभावले पनि त्यसो गर्न दिँदैन । बरू मलाई रिस उठ्लाजस्तो हुन्थ्यो ।तपाईंको बाल्यकालमै विवाह भयो, उहाँले कृषिमा स्नातक गरेपछि वा पछि पार्टीको नेता भएपछि तपाईंलाई छोड्ने त्रास भैरहन्थ्यो कि ?
बाल्यकालमै विवाह भयो । त्यसपछि आमाले खेल्ने भूमिका पनि खेलियो । छोराछोरीलाई पढाउँदा गहना बेचेर , दुनियाँ सास्ती खाएर जीवन यापन गरियो । यस्ता कुरा केही न केही त थाहा भैहाल्छ । यस्तो शंका न पहिले भयो , न पार्टीमा लागेपछि भयो न अहिले छ ।
तपाईंसँगै भूमिगत हुनुभएको हो ?
उहाँ ०३८ सालमा भूमिगत हुनुभयो । उहाँ सुरूमा नारायणगढमा बस्नुहुन्थ्यो । त्यो सबैका लागि पायक ठाउँ थियो । सबैतिरका साथीहरु त्यहाँ आउँथे । उनीहरूलाई खाना पकाएर ख्वाउनुपथ्र्यो । ०४३ सालदेखि म पनि भूमिगत भएँ । ०४६ सालतिर प्रजातन्त्र आएपछि काठमाडौँ गएँ । जनयुद्ध सुरू नहुँदासम्म केटकेटीहरू काठमाडौंमै थिए । त्यतिखेर जेठी छोरीको विवाह भैसकेको थियो , माहिली छोरी पढ्दै थिइन् । त्यहाँ खर्चबर्च चलाइन्थ्यो । जनयुद्ध सुरू भएपछि केटाकेटी राख्नै गार् हो भयो । त्यतिखेर प्रहरीले स्कुल रस्कुलमा दाहाल नाम गरेका केटाकेटी खोज्दै हिँड्न थालेपछि सुरक्षाका लागि भए पनि सँगै लगियो । पछि छोरीहरूको १० /१० कक्षा पढ्दापढ्दै विवाह गरियो भने छोराले १२ कक्षासम्म पढ्न पायो ।जनयुद्धसुरू गरेपछि काठमाडौँबाट कतातिर लाग्नुभयो ?
यतातिर नजाऊँ कि क्या हो । यो प्राविधिक कुरा पर् यो ।
एक्कासि भूमिगत हुँदा निकै अप्ठ्यारो भयो होला होइन ?
अप्ठ्यारोको त कुरै नगरौं । उकाली -ओराली त कति गरियो, गरियो ।
नेपालका कति जिल्ला घुम्नुभयो ?
त्यसको त मेसै पाइन । जहाँ-जहाँ उहाँ जानुहुन्थ्यो, त्यहीँ गइयो ।अहिले पार्टीमा के हुनुहुन्छ ?
केन्द्रीय सल्लाहकार छु।
प्रचण्ड र बाबुरामबीच धेरै पटक खटपट भैसकेको छ , अहिले दुवै यहाँ हुनुहुन्छ । तपाईँहरू पनि झगडा गर्नुहुन्थ्यो ?
किन झगडा गर्ने रु उहाँलाई पनि सोध्नुहोस । मैले भन्थें , खबरदार, यसमा तपाईंको पनि हात छ, दायाँ- बायाँ गर्नुहुन्न । यद्यपी बाहिर जति कुरा आयो, उहाँहरूबीच त्यस्तो वैमनश्य भने थिएन । उहाँहरू (प्रचण्ड र बाबुराम) बीच छलफल पनि हुन्थ्यो , सँगै बस्नुहुन्थ्यो । हामी एकै ठाउँमा खाना खान्थ्यौं ।
तपाईंको विचारमा जनयुद्धले नेपाली महिलालाई के दियो ?
नेपालमा सामन्तवाद , पितृसत्तावाद थियो, अहिले हाम्रो पार्टीमा ४० प्रतिशत महिला सक्रिय छन् । त्यो हेर्दा महिलाको स्तर धेरै बढेको छ र पार्टीको माथिल्लो तहमा उहाँहरू पुग्नुभएको छ ।
तपाईं जनयुद्धमा लागेपछि पढ्न जान्नुभयो रे , हो ?
पढ्न अलिअलि आउँथ्यो । भूमिगत भए पनि अध्ययनलाई बढाउँदै लगें । पत्रिका पढ्छु । कहाँ हाम्रो राम्रो कुरा छ , त्यो पढ्छु ।
सामान्यतया कम्युनिस्ट पार्टीमा सर्वोच्च कमान्डर भनेपछि श्रीमती पनि उत्तिकै प्रख्यात हुने चलन छ । तपाईँ आफूलाई कस्तो महसुस गर्नुहुन्छ ? मलाई घमन्ड छैन । मलाई लाग्छ , पहिले गाउँमा जस्ती थिएँ, त्यस्तै छु । म यी जनता , यी महिलालाई कहिल्यै भुल्दिन । त्यो व्यवहारले देखाउने कुरा हुन्छ । यद्यपि श्रीमान् सँगै हिँड्दा मैले पाएको सम्मान देखेर खुसी लाग्नु स्वाभाविक हो ।
तपाईहरु धेरै समयसम्म भारतमै बस्नुभयो ?
करिब आठ वर्षजति नेपाल आउने -जाने क्रम चलिरहन्थ्यो ।
आफ्नो छोराको विवाह पार्टीका प्रभावशाली नेताकी छोरीसँग धुमधामका साथ गराउनुको कारण ?
त्यस्तो केही होइन । उनीहरू आफैंले एक -अर्कालाई मन पराएका हुन् । हामी विवाह गर्छौं भने । ठीकै छ भनियो । अनि पार्टीले स्वीकृति दिएको हो ।
तपाईँलाई पनि कसैले प्रेम प्रस्ताव गरे होलान् नि ?
नाइँ, कहाँ राख्ने ? हरे, त्यो बेलामा प्रेम भनेको थाहै थिएन । त्यसमा पनि बाहुनका छोराछोरीले । एकैपटक आफ्नै बूढासँग प्रेम भयो हा … हा.. हा.. (हाँस्दै ) ।
सबै छोराछोरीको विवाह गरियो , जीवनमा धेरै दुःख पनि गरियो । धर्मकर्म गरौं, तीर्थधाम जाऊँजस्तो लाग्दैन ?
के को तीर्थ ? त्यसै तीर्थजस्तो हुन्छ हामीलाई त । जिन्दगीभर तीर्थ गए जस्तो भएको छ । ५३ वर्ष भइयो, घुमिएकै छ, यही हो तीर्थ हाम्रा लागि । धर्मप्रति त पहिलेदेखि नै पटक्कै विश्वास लाग्दैनथ्यो मलाई ।
बाहुनकी छोरी तथा बुहारी भएर पनि त्यस्तो कट्टर किन ?
बुवा १४ वर्ष बर्मा पुगेर आउनुभाको मान्छे । घरमा आमाले पूजाआजा गर्नुहुन्थ्यो । बुवाले हकार्नुहुन्थ्यो , ए बूढी ढुंगा पुजेर पनि धर्म हुन्छ र रु बुवाको त्यस्तो कुरा सुनेर होला, मलाई सानैदेखि धर्मप्रति आस्था जागेन ।
खाना आफै पकाउनुहुन्छ ?
आफ्नो कोठा भएको ठाउँमा भाँडा छन् भने पकाउँछु ।
कस्तो खानामा रुचि लाग्छ ?
दाल , भात, तरकारी । प्रायः साग पकाइन्छ । माछा-मासु पनि खाइन्छ ।
तपाईँ महिला भएर घर , परिवार, सासू - ससुराको सेवा गर्नुपर्नेमा अध्यक्षसँग बस्न थाल्नुभयो । यसले पारिवारिक कर्तव्य निर्वाह गर्न पाइन भन्ने लाग्दैन ?
व्यक्तिगततिर गइन म । यो पाइन , त्यो पाइन भनेर पनि कहिल्यै भनिन । पार्टीमा लागिसकेपछि व्यक्तिगत कुरातिर त्यति ध्यान गएन । यो कुरा उहाँहरूलाई पनि थाहा होला ( हिसिलातिर लक्षित गर्दै) । बाल्यकालमा सासू -ससुराको स्याहार गरियो । पार्टीमा लागेपछि परिवारभन्दा पनि पार्टीकै चिन्ता लाग्न थाल्यो । पार्टीलाई कसरी जोगाउने हो , उहाँ (अध्यक्ष) लाई कसरी बचाउने हो भन्ने कुरामै लागियो ।
तपाईँहरू यत्रो वर्ष भूमिगत हुनुभयो, कुनैबेला संयोगले जोगिएको अनुभव छ कि ?
त्यस्तो त कति परियो -परियो । डेढ वर्षअघि रोल्पा गएको बेला हामीहरू बसेकै घरमा सेनाले बमबारी गर् यो ।
भारतमा पनि अप्ठ्यारो हुन्थ्यो होला ?
भारतमा त कति हुन्थ्यो भनेर साध्य छैन । अर्काको देशमा बस्या छ , त्यही पनि खोजिराख्या छ । नेपालमा झोलामा टाउको ल्याऊ र झोलाभरि पैसा लिएर जाऊ भनेर मूल्य तोक्या छ । भारतमा कतिखेर के हुने हो , डरैडर थियो । मलाई पनि खुबै टेन्सन हुन्थ्यो ।
जनयुद्धमा लागेर निजी जिन्दगी नै दुःखैदुःखमा गएजस्तो लाग्दैन ?
जिन्दगीको त कुरै छोडौं । हाम्रो पीडा भन्नुहोस् त, यहाँभित्र खुसी पनि छन्, धेरै कुरा भोगियो । घरपरिवार पूरै छताछुल्ल हुँदोरहेछ । सम्पत्तिको नाममा चितवनमा एक कठ्ठा जमिन छ । त्यो पनि कहाँ छ , पत्तो छैन ।
तपाईं अहिले सासू हुनुहुन्छ , जनयुद्धमा १५ हजारभन्दा बढीको बिचल्ली भयो । हजारौं निमुखा सुरक्षाकर्मीका पत्नी विधवा भए । तिनमाथि दया लाग्दैन ? किन नलाग्नु ? दया मात्र होइन, हामी रातका रात नसुत्या बेला पनि छ । हाम्रा पीडा भन्नुहुन्छ भने यति मार्यो उति मार् यो भन्दा निकै पीडा हुन्थ्यो । शाही सेनाका अबोध जवानहरू मारिँदा तीनका परिवारले के गर्लान् , तिनीहरूमा कति पीडा भयो होला भनेर चिन्ता हुन्थ्यो ।
माडीजस्ता धेरै घटना गराएर थुप्रै निर्दोष मानिसको ज्यान पनि लिनुभयो नि ?
माडीको कुरै नगर्नुहोस् । माडीले कति दिन , कति हप्ता हामीलाई टेन्सन गरायो , मुडअफ गरायो । त्यत्रा जनतामाथि त्यस्तो हुनु दुर्भाग्य हो , ठूलो भूल हो ।
तपाइ रुनुहुन्छ ?
रोइन्छ कुनै बेला । चिने -जानेका साथीहरू पर्दा रुन्छु । अहिलेसम्म सबैभन्दा बढी पीडा भएको घटना लिस्नेको हो । जुन बेला सबै पत्र-पत्रिकाले आठ, नौ सय माओवादी मरे भनेर प्रचार गर् यो । रेडियो नेपालले पनि त्यस्तै भन्यो । त्यतिबेला फोन थिएन, सेटलाइट फोन पनि थिएन । मान्छे पठाउनुपथ्र्यो , अनि मात्र सही सूचना आउँथ्यो । अलि गार् हो थियो । ५र ६ दिनसम्म प्रस्ट कुरा नआउँदा उहाँलाई पनि निकै टेन्सन भयो । मलाई पनि त्यतिखेर खान मन लागेन , निद्रा पनि लागेन । जब बीबीसीले, सेनाले जे भन्या हो, त्यो उल्टो रै छ भन्यो अनि हामीलाई ठूलो राहत भयो । यस्ता थुप्रै घटना छन , जतिबेला हामी रोएका छौं । विस्तारै बानी पर्दै गयो । युद्ध हो , यस्तो हुन्छ । युद्धमा अघि बढ्नका लागि थुप्रै कुरा सहनुपर्छ भन्ने लाग्यो, त्यसरि नै चित्त बुझाइयो ।
प्रचण्ड र बाबुरामका छोराछोरी भारतमा सेभ गर्ने र अन्य गरिबका छोराछोरीलाई मर्न पठाएको भन्ने आरोप पनि छ नि ?
त्यो झूटो कुरा हो । हामीले छोराछोरीलाई पढाएर ठूला -ठूला स्कुलमा राख्या त होइन । जहाँ गए पनि पार्टीकै काम गरिरहेका छन उनीहरू ।
, आम समुदायलाई मिलिसियाकरण गराउँदै लाने भन्ने माओवादीको नीति छ । तपाईंले हतियारसम्बन्धी कुनै तालिम लिनुभएको छ ?
नाइँ लिएको छैन । युवावस्थ्मा पड्काउने बेलामा त्यो हामीसँग थिएन । अहिले छ , तर पड्काइएको छैन।
महिलालाई आरक्षण दिनुपर्छ भन्ने नारा आएको छ, तपाईंको धारणा के हो ? आरक्षण भनेको के हो , मैले बुझेकी छैन। महिलालाई यति चाहिन्छ भनेर तौलिने कुरा होइन। त्यो त महिलाले प्रयास गरेर धेरै लिनुपर्छ जस्तो लाग्छ । महिलाले कस्सिएर आफ्नो माग राख्नुपर्छ।
अन्तमा , जनयुद्धमा राज्य र माओवादी दुवैतिरका मानिसको ज्यान गयो । तिनको भविष्यप्रति माओवादीको के सोच छ ?
भोली सत्तामा पुगेपछि तिनीहरूलाई हेर्नुपर्छ जस्तो लाग्छ । द्वन्द्वमा पीडा पाएकाहरू केही अभिजात वर्गका होलान् त्यो छुट्टै कुरा हो । नभए धेरैजसो सामान्य परिवारका पुलिस , सिपाहीका परिवारले बढी दुःख पाएका छन। तिनीहरूमाथि मानवीय व्यवहार गरिनुपर्छ, उचित व्यवस्था गरिनुपर्छ। जनयुद्धमा पुलिस, सिपाहीका परिवारले बढी दुःख पाएका छन।
(यो नारीले लिएको अन्तर्वार्ता हो । अहिले उनका पती प्रचण्ड देशको प्रधानमन्त्री भएकाले रोचक होला भन्ने ठानेर यहाँ साभार गरिएको हो )