आर्थिक क्षेत्रमा आमुल परिवर्तन ल्याउने प्रतिवद्धता
प्रत्येक नेपालीको आय मासिक बाह्र हजार रुपैंया एक राष्ट्रिय संकल्प मूल नाराका साथ नेपाल उद्योग परिसंघद्वारा आयोजित आर्थिक सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पूर्याउने, नयाँ संविधान निर्माण गर्ने र मुलुकको आर्थिक विकास गर्ने तीन वटा अन्तर सम्वन्धीत विषयहरु पूरा गर्ने दायित्व रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले माओवादीप्रति अन्तर्राष्ट्रिय समुदायमा रहेको आशंका र जनताको आकांक्षालाई विश्वासमा परिणत गर्न सरकारले र्सार्वजनिक निजी साझेदारीको नीतिद्वारा मुलुकको आर्थिक क्षेत्रमा आमुल परिवर्तनको कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल उद्योग परिसंघले प्रस्तुत गरेको आर्थिक विकासको कार्यक्रमले सरकारको नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
यसैगरी नेकपा एमालेका महासचिव झलनाथ खनाल, नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ र मधेशी जनअधिकार फोरमका नेता सरदसिंह भण्डारीलेपनि समारोहमा बोल्नुभएको थियो । सम्मेलन उद्घाटन सत्रमा आफ्ना अबधारणा पत्र प्रस्तुत गर्दै परिसघ अध्यक्ष विनोद कुमार चौधरीले डबल डिजिट आर्थिक बृद्धि हासिल गर्न केवल राजनीतिक प्रतिबद्धता र राष्ट्रिय संकल्प आवश्यक रहेको बताउनु भयो । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष चौधरीले मुख्य अठार विषय केन्द्रीत गरी सरकारले पूवाधार निर्माण र नीजि क्षेत्रले व्यवसाय सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । आर्थिक सम्मेलन तीन दिनसम्म चल्ने छ ।