लेखिका नसरिन दिल्लीमा
स्वीडेनमा बस्दै आएकी बंगलादेशकी लेखिका तस्लिमा नसरिन भारत फर्किएकी छिन् । अधिकारीहरुले आगामी १२ अगस्टमा नसरिनको राहदानीको अवधि समाप्त हुन लागेको कारण राहदानी अवधि बढाउन उनी भारतको दिल्ली पुगेको बताएका छन् । स्वीडेनको नागरिकता लिइकसेकी नसरीन शुक्रबार राजधानी दिल्ली अवतरण गरेपछि उनलाई अज्ञात स्थलतर्फ लगिएको छ । गुप्तचर विभागका अधिकारीहरुले नसरिन भारतीय नागरिकताको लागि आवेदन दिन र कोलकाता जान इच्छुक रहेको बताएका छन् ।
यद्यपि पश्चिम बंगाल सरकारले नसरिनको आगमनका कारण हिंसा भड्कने आशंकाले कोलकाता आगमनमा अनुमति नदिने संकेत देखाएको छ । भारतमा लुकेर बस्दै आएकी नसरिन गत मार्चमा स्विडेन पुगेकी थिइन । चिकित्सकबाट लेखिका बनेकी नसरिन बंगलादेशकी अग्रणी नारीवादी लेखिकाको रुपमा चर्चित छिन् ।
४६ वर्षीय नसरिन सन् १९९३ मा आफ्नो विवादस्पद पुस्तक लज्जाका कारण चर्चामा आएकी थिइन् । सो पुस्तकमा धार्मिक अपमान गरिएको आरोप लगाउँदै इस्लामी कट्टरवादीहरुले नसरिनविरुद्ध मृत्युदण्डको घोषणा गरेपछि सुरक्षाको निमित्त उनले आफ्नो देश छोड्नु परेको थियो ।