उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने पक्राउ
प्रहरीले वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्ने एकजना अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ गरिएकालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरिएको छ । पक्राउ पर्नेमा धनकुटाका हेमबहादुर मगर रहेका छन् । मगर विगतमा डांका मुद्धामा समेत परेका थिए । प्रहरीका अनुसार तीनजना अभियुक्त भने फरार छन् । फरार भएकामा धनकुटाका कृष्ण राई, सिदार्थ लामा, रुपन्देहीका राजु थापा र सुनसरीका केशव मगर छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।
घटनाको अनुसन्धानमा डा. देवकोटाकी छोरी मेघाले महत्वपूर्ण सहयोग गरेकी थिइन् । अपहरण गरी फिरौतीवापत् एक करोड ३० लाख रकम तिरेपछि उनलाई मुक्त गरिएको थियो । मेघाकै सहयोगमा उनलाई अपहरण गरी राखिएको नख्खुस्थित भाडाको घर पत्ता लागेको थियो । पत्रकार सम्मेलनमा उपस्थित भएका डा. देवकोटाले नेपाल प्रहरीको प्रशंशा गरेका थिए । देवकोटाले प्रहरीको मनोबल उच्च राख्नुपर्ने भन्दै साधन र स्रोतको अभावमा पनि अपराधी पत्ता लगाएकोमा धन्यवाद व्यक्त गरेका थिए । प्रहरीलाई साधन र स्रोत सम्पन्न बनाएर उच्च मनोबलका साथ राख्नुपर्ने उनको सुझाव थियो । अपराधि पत्ता लगाउन सर्वसाधारणको पनि सहयोग हुनुपर्ने देवकोटाले बताएका छन् । अपहरणपछि नेपाली मिडियाले खेलेको भूमिकाप्रति भने देवकोटाले असन्तुष्टि जनाएका थिए ।
आफ्नी छोरी अपरहणमा परेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि बेलायती राजदूतसम्मले सहानुभूती जनाएकोमा देवकोटाले धन्यवाद व्यक्त गरे । आफू नेपाल छाडेर नजाने देवकोटाले स्पष्ट पारे । उनले सुरक्षाका लागि प्रहरी र जनता मिलेर लाग्नुपर्ने बताएका छन् । गत हप्ता मेघा देवकोटा खड्ग भद्रकालीस्थित आफ्नै घरबाट अपहरणमा परेकी थिइन् । उनी रातो बंगला स्कुलमा अध्ययनरत छिन् ।