“माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना समाप्त”
माओवादीको नेतृत्वमा सरकार गठनको चर्चा चलिरहँदा माओबादीका एक वरिष्ठ नेताले कांग्रेस र विदेशी शक्तिकेन्द्रहरुको षड्यन्त्रका कारण माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना समाप्त भएको भन्दै आफूहरु सरकारमा नजाने बताएका छन् ।
राजधानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओबादीका बरिष्ठ नेता मोहन वैद्य किरणले राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने अवस्था नभएकाले आफ्नो दल प्रतिपक्षमा बसेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सक्रिय हुने बताउनु भएको छ ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयं सरकारको नेतृत्व गर्न अगाडि बढेकाले सरकार बनाएर देखाउन चुनौती दिदै माओवादी वाइपास गरेर जान खोजे मुलुक संकटमा फस्ने दाबी गर्नुभयो ।
नेपाली कांग्रेसले देशलाई दुर्घटनामा पुर्याउन लागेको आरोप लगाउंदै किरणले अरुको नेतृत्वमा बन्ने सरकारमा आफूहरु कुनै हालतमा सहभागी नहुने बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले जनसेनाका सर्वोच्च कमाण्डर छाड्नुहुन्छ भन्ने प्रश्नमा उहांले भन्नुभयो,’माओवादी नेतृत्वमा सरकार बनाउन सहमति भए सर्वोच्च कमाण्डर छाड्ने विषय ठूलो कुरा हैन ।’
उहांले आफ्नो दल सहमतिको सरकार बनाउन राष्ट्रपतिले गरेको आव्हानको समयसीमा लम्ब्याउन आग्रह गर्ने पक्षमा नभएको बताउनुभयो । किरणले राष्ट्रपतिबाट सरकार बनाउनका लागि आव्हान गरेको १० दिनको समयसीमानै बढी भइसकेको बताउनुभयो । देशमा दिल्ली र वासिंगटनको आशिर्वाद थापेर प्रधानमन्त्री बन्ने खेल रहेको भन्दै नेपाली जनताले विदेशी दलालहरुको पर्दाफास गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले माओवादीलाई सरकारका नेतृत्व गर्न दिने सहमति नभएको बताउनुभयो । सरकारको नेतृत्व, शक्तिबांडफांड, साझा नीति तथा कार्यक्रमबारे प्याकेजमै सहमति खोजिने बताउनुभयो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सर्वेन्द्रनाथ शुक्लाले सबैभन्दा ठूलो दलको हैसियतले माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो । प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।
नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभयो । कांग्रेसले राष्ट्रपति, एमालेले सभामुख पाइसकेको अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीलाई सरकार गठनका लागि सहयोग प्रदान गर्नुपर्ने बताउनुभयो
Man parena
Comment by Prabhat — July 3, 2009 @ 7:48 am