माओवादी नेतृत्वमा सरकार गठन गर्न दलहरू सहमत
|
राष्ट्रिय सहमतिको आधारमा सरकार बनाउन सैद्धान्तिक सहमतिमा पुगेका प्रमुख चार राजनीतिक दलहरू आज सरकार गठनका विषयमा थप छलफल गर्दै छन् । चार दलको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा सरकार गठनका लागि राष्ट्रिय सहमतिका आधार र साझा नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल हुने नेकपा एमालेका नेता भीम रावलले जानकारी दिनुभयो । आजको वैठकले सहमतिको निति तथा कार्यक्रम तय गर्न कार्यदल पनि बनाउनेछ । आजको बैठकमा राष्ट्रिय सहमतिको सरकारका नीति तथा कार्यक्रममा दलहरू सहमत भएपछि शक्ति बाँडफाँटका विषयमा छलफल गर्ने नेकपा माओवादीका नेता मोहन वैद्यले जानकारी दिनुभयो । संविधानसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादीको नेतृत्वमा सरकार गठन गर्न सबै दलहरू सहमत भएपछि सहमतिको नयाँ सरकार गठन गर्न पनि ढोका खुलेको छ । राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिको सरकार बनाउन दिनुभएको समयसीमा पनि आज सकिँदै छ । नीति तथा कार्यक्रम र शक्ति बाँडफाँटमा दलहरू सहमत भएपछि आजै प्रधानमन्त्रीको नाम सिफारिस गर्न सकिने काङ्ग्रेस प्रवक्ता अजर्ुननरसिंह केसीले बताउनुभयो । प्रधानमन्त्रीका रुपमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई अघि सारिसकेको छ । |