माओवादीले पेश गर्यो सरकार गठनको खाका
नेकपा माओबादीले राष्ट्रिय सहमतिको सरकार बनाउन आफ्नो तर्फवाट खाका प्रस्तुत गरेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा आज आयोजित २५ दलको वैठकमा माओवादीले ५ खण्डमा विभाजित खाका प्रस्तुत गरेको हो ।
जसमा विकास योजना, शान्ति प्रकृयालाइ निष्कर्षमा पुर्याउने, राहत दिने लगायतका विषय समावेश गरिएका छन् । वैठकमा सहभागी साना दलले माओवादीलाइ समर्थन गर्ने बताएपनि नेपाली कांग्रेसले भने खाकाप्रति असहमति जनाएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले सो खाका आफ्नो दललाइ मान्य नभएको बताउनुभयो ।
नेकपा एमालेका नेता भीम रावलले भने यसवारे पार्टीभित्र छलफल गरेपछिमात्र औपचारिक धारणा बनाउने बताउनुभयो । माओवादीले सवै दललाइ यसवारे छलफल गर्न भनेको छ । दलहरुको आन्तरिक छलफलपछि पुनः २५ दलको वैठक वस्ने माओवादी प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिनुभयो ।