राजालाई सयौं बोतल मदिरा उपहार
प्रशान्त महासागरको दक्षिणमा पर्ने राष्ट्र तोंगाका बासिन्दाले राजा सिओरी तुपोउ पाँचौंलाई दर्जनौं सुँगुर, फलफूलका टोकरी र सयौं बोतल मदिरा उपहार दिएका छन् । राज्याभिषेको अवसरमा राजालाई ती उपहार दिइएको हो ।
राजा तुपोउ आफ्ना बाबुको निधनपछि दुइ वर्षअघि राजा बनेका थिए । राज्याभिषेकमा भाग लिन टोंगाका चारवटै द्वीपबाट दुइ सयभन्दा बढी भद्रभलाद्मी भेला भएका थिए । स्नातकसम्म अध्ययन गरेका राजा तुपोउ राजा हुनुअगाडि व्यापारी थिए । टोंगामा १७ शताब्दीदेखि राजतन्त्र चल्दै आएको छ ।
राज्यभिषेकको पहिलो कार्यक्रम परम्परागत मदिरा खाने थियो । त्यस बेला राजाले सेतो रेशमी पोसाक ‘ताओभुला’ लगाएका थिए । पहिलो गिलास मदिरा राजाले खाएपछि उत्सव सुरु भएको थियो । राजालाई विभिन्न समुदायका मुखियाले बधाइ दिँदै मदिरा र सुँगुर टक्र्याएका थिए ।
सन् २००६ को नोभेम्वरमा हिंसामा फसेको टोंगाका पूर्वराजाको त्यही वर्ष निधन भएको थियो । त्यस बेला आठजनाको मृत्यु भएको थियो भने राजधानी नुकुलोफा जलेर नष्ट भएको थियो । एक लाख १५ हजार जनसंख्या रहेको टोंगा कहिल्यै उपनिवेश थिएन । राज्याभिषेकको अवसरमा राजा तुपोउले सन् २०१० मा संसदीय निर्वाचन गराउने घोषणा गरेका छन् । त्यसपछि राजा नवनिर्मित राजदरबारमा प्रवेश गरेका थिए ।
राजालाई उपहार दिइएका ७५ वटा सुँगुर, दर्जनौं टोकरी फलफूल र मदिरा राजाले सबैलाई वितरण गरेका थिए । समानता र भ्रातृत्व देखाउन यहाँ उपहार बाँड्ने प्रचलन छ ।