August 31, 2008

आर्थिक क्षेत्रमा आमुल परिवर्तन ल्याउने प्रतिवद्धता

प्रत्येक नेपालीको आय मासिक बाह्र हजार रुपैंया एक राष्ट्रिय संकल्प मूल नाराका साथ नेपाल उद्योग परिसंघद्वारा आयोजित आर्थिक सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पूर्‍याउने, नयाँ संविधान निर्माण गर्ने र मुलुकको आर्थिक विकास गर्ने तीन वटा अन्तर सम्वन्धीत विषयहरु पूरा गर्ने दायित्व रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले माओवादीप्रति अन्तर्राष्ट्रिय समुदायमा रहेको आशंका र जनताको आकांक्षालाई विश्वासमा परिणत गर्न सरकारले र्सार्वजनिक निजी साझेदारीको नीतिद्वारा मुलुकको आर्थिक क्षेत्रमा आमुल परिवर्तनको कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल उद्योग परिसंघले प्रस्तुत गरेको आर्थिक विकासको कार्यक्रमले सरकारको नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

यसैगरी नेकपा एमालेका महासचिव झलनाथ खनाल, नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ र मधेशी जनअधिकार फोरमका नेता सरदसिंह भण्डारीलेपनि समारोहमा बोल्नुभएको थियो । सम्मेलन उद्घाटन सत्रमा आफ्ना अबधारणा पत्र प्रस्तुत गर्दै परिसघ अध्यक्ष विनोद कुमार चौधरीले डबल डिजिट आर्थिक बृद्धि हासिल गर्न केवल राजनीतिक प्रतिबद्धता र राष्ट्रिय संकल्प आवश्यक रहेको बताउनु भयो । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष चौधरीले मुख्य अठार विषय केन्द्रीत गरी सरकारले पूवाधार निर्माण र नीजि क्षेत्रले व्यवसाय सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । आर्थिक सम्मेलन तीन दिनसम्म चल्ने छ ।

तीजमा विशेष सांस्कृतिक कार्यक्रम

यस वर्षको हरितालिका तिज भदौ १७ गते परेको छ । तीजको पावन अवसर पारेर आवाज समूह नेपाल, कोटेश्वरले ‘तीज विशेष सांस्कृतिक कार्यक्रम’ आयोजना गर्दैछ । स्थानीय देवस्थल मन्दिर परिसरमा तीजकै दिन उक्त कार्यक्रम आयोजना गरिने आवाज समूह नेपालले बताएको छ ।

उक्त कार्यक्रममा देवस्थल मन्दिर युवा परिवारले समेत सक्रिय सहयोग गर्ने भएको छ । कार्यक्रममा उपस्थिति महिला दिदीबहिनीहरुले ख्याति प्राप्त लोकदोहोरी कलाकारहरुको सुरिलो स्वर सुन्न अनि उनीहरुसँग दोहोरी खेली तिजको रमाइलो मनाउन समेत पाउने छन् ।

आवाज समुह नेपालले विभिन्न संघसंस्था, व्यक्ति र समुदायको सहभागिता एवं सहयोग जुटाइ यस सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष मदनकृष्ण सिलवाल बताएका छन् ।

उक्त दिन स्थानीय सम्पूर्ण दिदिबहिनीहरुलाई कार्यक्रममा सरिक हुन आवाज समूह नेपालले हार्दिक अनुरोध समेत गरेको छ ।

स्मरणरहोस्, आवाज समुह नेपालले गत वर्ष पनि कोटेश्वरकै महादेव मन्दिर परिसरमा तिज विशेष सांस्कृतिक कार्यक्रमको सम्पन्न गरेको थियो ।

यस्ता छन् नयां मन्त्रीहरु

सत्ता-साझेदार तीनदलका तीन उपप्रधानमन्त्री रहने गरी मन्त्रिपरिषद्को भागबन्डा मिलाइएको छ । गठबन्धनभित्रका तीनदल माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकमा साना दललाई समेत सहभागी गराएर आज २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । एमालेको तर्फबाट सरकारको नेतृत्व गर्ने नेता वामदेव गौतमलाई गृहमन्त्रीसहित उपप्रधानमन्त्री बनाउने सहमति भएको छ । त्यस्तै, माओवादीका तर्फबाट अर्थमन्त्री डा. बाबुराम भट्टराई र फोरमका तर्फबाट परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्री बनाइनेछ ।

प्रधानमन्त्रीपछि दोस्रो मर्यादाक्रममा एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्ने नेता गौतम रहनेछन् । करिब डेढ दसक लामो संसदीय अभ्यासमा सरकारमा तीन उपप्रधानमन्त्री भएको यो पहिलोपटक हो । यसअघिको सातदलीय गठबन्धनको सरकारमा दुई उपप्रधानमन्त्री बनाइएका थिए ।

६ भदौमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा दोस्रो बरियता नपाएपछि एमाले सरकारमा सहभागी बनेको थिएन । अन्तिम समयमा माओवादी र एमालेबीच बरियताको विवाद बढेपछि प्रधानमन्त्री दहालले माओवादी र फोरमका चार/चारजना सम्मिलित सानो आकारमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

माओवादीले मन्त्रिपरिषद्मा थप दुईजना सचिवालय सदस्यसहित सातजना क्याबिनेट र पाँचजना राज्यमन्त्री पठाउने भएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी हुने सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ र टोपबहादुर रायमाझी ‘अनिल’ छन् । कुन-कुन मन्त्रालय सम्हाल्नेबारे भने आज मात्र निश्चित गरिने माओवादीले जनाएको छ ।

माओवादीले मधेसबाट केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री मातृकाप्रसाद यादवलाई नै निरन्तरता दिने भएको छ भने पूर्वबाट पूर्वराज्यमन्त्री पदमबहादुर राई मन्त्रिपरिषदमा जानेछन् । सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य लेखराज भट्टलाई पठाइने भएको छ ।

भेरी-कणर्ली राज्यसमितिबाट पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेवा राज्य समितिबाट केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय हिसिला यमी र पम्फा भुसाल मन्त्रिपरिषदमा सहभागी हुनेछन् । उपप्रधान तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमी एउटै मन्त्रिपरिषद्मा पुग्ने पहिलो दम्पती हुनेछन् । टोपबहादुर रायमाझी र पम्फा भुसाल दुवै अर्घाखाँचीका हुन् । मगरात राज्य समितिबाट जयपुरी घर्तीमगरलाई पठाइने भएको छ । उनी अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष हुन् । सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र जयपुरी घर्तीमगर गरी रोल्पाका तीनजना मन्त्री बन्नेछन् ।

मगरात राज्य समितिबाटै जनमुक्ति सेनाको तर्फबाट पूर्वडेपुटी कमान्डर एवं माओवादी केन्द्रीय सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लाई पठाइने भएको छ । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई हराउने झापाका पूर्णप्रसाद राजवंशी ‘सूर्य’ राज्यमन्त्री हुने भएका छन् । राजवंशी माओवादी कोचिला राज्य समिति सदस्य तथा कोचिला राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष हुन् । राज्यमन्त्रीमा काभ्रेका सूर्यमान दोङ ‘लालध्वज’ वा सिन्धुपाल्चोकका दावा तामाङ ‘क्षितिज’मध्ये एकजनालाई सहभागी गराउने माओवादीले जनाएको छ । यसैगरी लिम्बुवान राज्य समितिबाट राज्यमन्त्रीमा तेह्रथुमकी सुशीला कन्दङ्वा ‘वर्षा’लाई पठाइने भएको छ । वर्षा माओवादी लिम्बुवान राज्य समिति सदस्य तथा तेह्रथुम सहइन्चार्ज हुन् ।

मधेसबाटै राज्यमन्त्रीमा माओवादी केन्द्रीय सल्लाहकार एवं सहिद रामवृक्ष यादवपत्नी रामकुमारी यादव ‘शिला’लाई पठाइने भएको छ । एमालेले आफ्नो भागमा परेका ६ मन्त्रालय सम्हाल्न स्थायी समितिका दुई र केन्द्रीय कमिटीका चार नेतालाई मन्त्रिपरिषदमा पठाउने निर्णय यसअघि नै गरिसकेको छ । जसअनुसार वामदेव गौतमले गृह, विष्णु पौडेलले जलस्रोत, रामचन्द्र झाले स्थानीय विकास, किरण गुरुङले वन तथा भूसंरक्षण, अष्टलक्ष्मी शाक्यले उद्योग र गोपाल शाक्यले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

एमाले महासचिव खनालका अनुसार प्रधानमन्त्री प्रचण्डले माओवादीका बाँकी पाँच मन्त्रीको छनोट र अन्य साना दलसित सहमति जुटाउन सके आज मन्त्रिपरिषद्को विस्तार हुनुका साथै नयाँ मन्त्रीको शपथग्रहण हुनेछ । तीनदलीय गठबन्धनबीच भएको सहमतिअनुसार माओवादीले आफ्नो भागमा परेका चारजनालाई यसअघि नै मन्त्री नियुक्त गरिसकेको छ । सहमतिअनुसार चार साना दललाई मन्त्रिपरिषदमा सहभागी गराइनेछ ।

मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा प्रधानमन्त्रीले शनिबार नै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना, जनमोर्चा नेपाल, नेकपा माले र दलित जनजाति पार्टीसित पनि छुट्टाछुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डको आग्रहका बाबजुद तमलोपाले भने सरकारमा सहभागी नहुने जनाएको छ । ‘हामी सरकारमा सहभागी हुँदैनौं, बाहिरै बसेर सरकारका गुण र दोषका आधारमा सहयोग गर्छौं भनेर प्रधानमन्त्रीसित भनेका छौं,’ छलफलपछि तमलोपा अध्यक्ष महन्त ठाकुरले भने ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासित १६ फागुनमा भएको सम्झौता कसरी कार्यान्वयन हुन्छ, त्यो हेरेर पनि सरकारलाई सहयोग गरिने अध्यक्ष ठाकुरले बताए । प्रधानमन्त्रीसितको छलफलमा मालेले अन्तरिम सरकारदेखि नै सम्हाल्दै आएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयको माग गरेको छ । प्रधानमन्त्री प्रचण्ड पनि त्यसमा सकारात्मक देखिएपछि मालेले आफ्नो पार्टीको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने नेताको नामसमेत प्रधानमन्त्रीलाई बुझाएको छ । ‘हामीले पुरानै मन्त्रालय मागेका छौं, प्रधानमन्त्री सकारात्मक देखिएपछि एकजनाको नाम बुझाएका छौं,’ मालेका महासचिव सिपी मैनालीले बताए । मालेले पोलिटब्युरो सदस्य डम्बर श्रेष्ठको नाम मन्त्रीका लागि प्रधानमन्त्रीलाई बुझाएको छ ।

जनमोर्चा नेपालका तर्फबाट गिरिराजमणि पोखरेल वा लीलामणि पोखरेलमध्ये एकलाई मन्त्री बनाइनेछ । प्रधानमन्त्रीले भने महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशलाई नै मन्त्री बन्न अनुरोध गरेको स्रोतले जनाएको छ । नेकपा संयुक्तले यसअघि नै सरकारमा सहभागी हुने जनाइसकेको छ । स्रोतका अनुसार संयुक्तका तर्फबाट गणेश साहलाई मन्त्री बनाइनेछ । उनलाई विज्ञान तथा प्रविधि मन्त्रालय दिइने बताइएको छ ।

म्यान पावर कम्पनीका नाममा मानव तस्करी

कतारमा म्यान पावर कम्पनीका नाममा मानव तस्करी भइरहेको छ । तस्करीमा त्यहाँका ठूलाबडा नेपाली नै सक्रिय रहेका छन् । छोटै समयमा करोडपति बन्न सफल ती नेपाली मानव तस्करहरूले कतारमा श्रमिक सप्लाई गर्नका लागि त्यहाँका निर्माण कम्पनीबाट सेवा शुल्कवापत नेपालबाट कतार जाने हवाई टिकटका साथै अन्य खर्चवापत प्रति व्यक्ति एक लाखदेखि ढाई लाखसम्म रकम पाउने गरेका छन् ।

नेपाली जनप्रगतिशील मञ्च कतारस्थित नेपाली श्रमिकहरूको साझा सामाजिक संगठन हो र यो संगठन कतारस्थित नेपालीहरूको हक र हितका लागि केही वर्षदेखि क्रियाशील छ । संगठनले दोहास्थित नेपाली राजदूतावासको समेत सहयोगमा धेरै नेपालीहरूको उद्दार गरेको छ र ती मानवतस्करहरूले ठगी गरेको रकम फिर्ता गराउने र उनीहरूलाई न्याय दिलाउने काम पनि गर्दै आएको छ । यी मानव तस्करमध्येको प्रमुखका रूपमा कतारमा क्रियाशील व्यक्ति हुन सागर नेपाल ।

 उनी नेपालबाट कतारमा नेपाली लगेर उनीहरूलाई बन्ध वा मजदुरका रूपमा बिक्री गरेर करोडौं रुपैयाँ कुम्ल्याउने काममा सफल हुँदै आएका छन् । नेपाली युवकहरूलाई कतारमा लगेर तस्करी गर्ने मात्र होइन, उनी मकाउ पठाउने र मासिक एक लाखसम्म तलव दिने भनी प्रलोभन देखाएर एकजनाबाट ४ लाखसम्म ठगीे गर्ने गर्दछन् । उनी कतारबाट प्रकाशित हुने कान्तिपुरका प्रमुख हुन् र उनले त्यहाँबाट प्रकाशित हुने कान्तिपुरलाई आफ्नो कालोधन्दा छोप्ने पर्दाका रूपमा प्रयोग गर्दै आएका छन् ।

यहाँबाट प्रकाशित कान्तिपुरका हरेक अंकमा मकाउ जाने नेपालीका लागि सुवर्ण अवसर भएको विज्ञापन प्रकाशित भएको पढ्न पाइन्छ । सागर नेपालको यो मानव तस्करीको लागि नेपाली जनप्रगतिशील मञ्च र दोहास्थित नेपाली राजदूत ठूलो अवरोध भएको हुनाले जनप्रगतिशील मञ्चलाई तहसनहस पार्ने र महामहिम राजदूत डा. सूर्यनाथ मिश्रलाई नेपाल फिर्ता बोलाउने कसरतमा लागेका छन् । तर उनी त्यो काममा अहिलेसम्म सफल हुन सकिरहेका छैनन् । कतारमा प्रभाव जमाएर बसेको सागर नेपालले नेतृत्व गरेको मानव तस्करी गिरोहमाथि अविलम्ब नियन्त्रण गरी उनलाई देशभित्र ल्याउन सरकारले कतार सरकारसमक्ष माग गरी राजदूतावासमार्फत कारबाही चलाउनुपर्दछ भन्ने कतारस्थित आमनेपाली श्रमिकहरूको जोडदार माग रहेको छ । विश्वास छ, सरकारले यी मानव तस्करलाई नेपाल फिर्ता गरी नेपाली युवकहरूको तस्करीलाई रोक्ने काममा तत्परता देखाउने छ । - कतारका नेपालीहरु

August 21, 2008

मन्त्रालय बांडफांडको टुंगो

 तीन दलबीच मन्त्रालय बांडफांडको टुंगो लागेको छ । नेकपा माओवादी, नेकपा एमाले र मधेशी जनअधिकार फोरमबीच भएको सहमति अनुसार माओवादीले रक्षा, अर्थसहित ९ मन्त्रालय सम्हाल्नेछ ।

नेकपा एमालेले उपप्रधानमन्त्रीसहित गृह, जलस्रोत, वन, स्थानीय विकास, युवा तथा खेलकूद र उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनेभएको छ । मधेशी जनअधिकार फोरमले उपप्रधानमन्त्रीसहित परराष्ट्र, सूचना तथा संचार, कृषि र आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । कुरा मिलाउन शिक्षा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राइएको छ । साना दलहरुमा नेकपा मालेलाई भूमिसुधार, जनमोर्चा नेपाललाई स्वास्थ्य मन्त्रालय दिने टुंगो लगाइएको स्रोतले बतायो ।

नागरीकको अमन चयनका लागि पहल गर्छु: प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको भावना र जनताको चाहाना अनुसार नै सरकारले कार्यनिति तय गर्ने बताएका छन् । नागरिक समाजका प्रतिनिधिहरुसंग ५ भदौको विहान भएको भेटमा उनले देशमा देखिएको समस्या समाधानका लागि नागरिक समाजको सहयोग रहने आशा व्यक्त गरे ।

प्रचण्डनिवास नयाँबजारमा भएको छलफलमा अहिले देशमा देखिएको राजनितिक गतिरोध, शक्तिबाँडफडमा दलहरु बिचको खिचँातानीलगायतका विषयमा छलफल भएको नागरिक समाजमा अगुवा पद्यमरत्न तुलाधरले बताए । भेटकाक्रममा प्रधान मन्त्रीले आफुले नागरीकको अमन चयन र सुशासनका लागि हदैसम्मको पहल गर्ने बताए । नागरीक समाजका प्रतिनिधिहरुले जनताको भावना र जनआन्दोलनको म्यान्डेट अनुसार सरकार सञ्चालन गर्न दलहरुलाई सुझाव दिएको बताए ।

त्यस्तै कोशीबाँध भत्किएपछि परेको डुवानका विषयमा पनि सरकारको ध्यानआकर्षण गराएको र छिटो छिटो भन्दा छिटो पिढितको उद्धारको पहल गर्न आग्रह गरेको समेत तुलाधरले जानकारी गराए । पछिल्लो राजनितिक घटनाक्रम र कोसिबाधबारे ध्यानआकषर्ण्र्ााराउन नागरीक समाजका १० जना अगुवा नयाँ बजार पुगेका थिए ।

राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालमा फुट

 

राप्रपा बाट विभाजन भएको राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालमा फुट आएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा माओवादीको पछिलग्गु भएको भन्दै बरिष्ठ नेता राजेश्वर देवकोटा र रविन्द्रनाथ शर्मासहित २१ जना नेता कार्यकर्ता पार्टीबाट अलग भएका छन् ।

उनीहरु आज पुरानै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किने राप्रपा नेपालका एक नेताले जानकारी दिएका छन् । राप्रपा नेपालका बरिष्ठ नेता शर्माले कमल थापा माओवादीको प्रवक्ताका रुपमा देखिएकाले आफुहरुले पार्टी छाड्न लागेको जानकारी दिए ।

August 16, 2008

इतिहास रचे प्रचण्डले

प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै भनेछन्, “तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ ।” त्यतिखेर प्रचण्डका बाबु मुक्तिराम दाहाल फिस्स हाँसेका मात्र थिए । पहाडमा जग्गा कम तर परिवारसंख्या ठूलो भएका कारण मुक्तिरामले पुख्र्यौली थलो कास्कीको ढिकुरपोखरीबाट चितवनतिर बसाइँ सरे र शिवनगर गाविसको भीमसेननगरमा स्थायी घर बनाए । चितवन सर्दा प्रचण्ड ७ वर्षका थिए । त्यहीं बाल्यकालको पढाइ सकियो । उनी सानैदेखि सबैसँग मिल्थे । गाउँमा कसैको झगडा पर्दा भन्थे- ‘खै छविलाल कहाँ छ ? त्यसले मिलाई दिन्छ कि ?’ घरमा भाइबहिनीहरूबीच झगडा हुँदा पनि छविलालले मिलाउँथे । मुलुकको द्वन्द्व पनि उनले नै मिलाउने आशा गरिएको छ ।

पढाईमा उनको प्रगति अनौठो छ । कक्षा एकमा एकपल्ट फेल भएका उनी दुई कक्षामा दोस्रा भए । कक्षा तीनमा प्रथम भएर एकैचोटि कक्षा पाँचमा गए । कक्षा पाँचमा पनि पहिलो भए । र, दुई कक्षा फड्किएर सातमा पुगे । कक्षा आठ, नौ र १० मा उनले शिवनगर हाइस्कुलमा (चितवन) पढे । एसएलसी पास गरेपछि ललितपुरको पाटन संयुक्त क्याम्पसबाट आईएस्सी पढ्दै गर्दा प्रचण्डलाई बाबुआमाले गाउँकै सीता पौडेलसँग विवाह गरिदिए । अनि, रामपुर क्याम्पसबाट कृषिमा बि. एस्सी. एजी. गरे । ठीक त्यहीबेला सरकारी जागिर खान भनेर प्रचण्ड चितवनबाट हिँडेरै धनकुटा गए ।

तर, जागिर पाएनन् । फर्केर घर आए । बाबु मुक्तिरामका स्मरणमा, त्यतिखेर प्रचण्ड रिसाएर घर फर्केका थिए । त्यसपछि नवलपरासीको त्रिभुवननगर र गोरखाको आरूघाटमा दुई-दुई वर्ष पढाए। प्रचण्ड सानैदेखि गम्भीर स्वभावका थिए। परिवारमा जेठो सन्तानको भूमिका राम्रै निभाएका थिए उनले। छविलालका बाबु मुक्तिराम दाहालले २०५७ सालको जनादेश साप्ताहिकमा भनेका छन्, ‘ऊ जेठो जान्ने-बुझ्ने छोरा, उसकी आमा क्यान्सर रोगी भएकीले भाइबहिनीलाई उसले नै अभिभावकको माया दिएको थियो । गाउँमा बचत कार्यक्रम चलाएको थियो, ढुकुटी चलाएर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्थ्यो।’ सानैदेखिको यो गुणकै कारण होला, २०४७ सालमा विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता गराएर उनी पार्टीको महामन्त्री बने । ०५७ मा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट महामन्त्री पदको ठाउ“मा दाहाललाई अध्यक्ष बनाइयो । त्यसको एक वर्षछि माओवादी छापामारका सर्वोच्च कमाण्डर भए ।

रोचक प्रसंग के छ भने ‘जनयुद्ध’ का दौरानमा फौजी आक्रमणको योजना बनाए पनि मोर्चामा कहिल्यै गएनन् । युद्ध सुरु हुनुभन्दा धेरै पहिले ०४६ मा गोरखा सिरुबारीमा १६ कार्यकर्तालाई हतियार चलाउने तालिम भने दिएका थिए । प्रधानमन्त्री भएपछि दाहालको छविले नया“ उचाइ पाएको छ ।खुला राजनीतिमा आएका बेला उनको वाक्कलाको प्रशंसा सबैतिरबाट

भयो । तर हतियार खोलाले बगाएको र जलेर नष्ट भएको, अमेरिकी अधिकारीको हत्याको षड्यन्त्र दरबारले गरेको जस्ता आधारहीन कुरा गर्न थालेपछि उनको बोलीको विश्वसनीयतामा कमी आएको धेरैले अनुभव गरेका थिए ।

अन्तरविरोधलाई समायोजन गर्न सक्ने नेताका रूपमा उनलाई पार्टर्ीीत्र र बाहिर चिनिन्छ । राष्ट्रिय राजनीतिमा उनले देखाएको लचकता पनि प्रशंसायोग्य छ । ‘लचकता, पार्टर्ीीत्रका अनेकौं धारलाई समेटेर लैजाने खुबी र नया“ कुरा स्थापित गर्ने साहस दाहालका सकारात्मक पक्ष हुन्,’ विश्लेषक श्याम श्रेष्ठ भन्छन्- ‘सहमति गर्ने तर कार्यान्वयनमा ढिलाइ गर्नु, विद्यार्थी नेताका शैलीमा टिकाउ कुरा नबोल्नु र आफूलाई केन्द्रमा राखेर विश्लेषण गर्नु उनका कमजोरी हुन् ।’

ऋषि तर्पणी मनाइँदै

आज हिन्दु धर्मावलम्बीहरुले जनैपूर्णिमा मनाउँदै छन् । जनैपूर्णीमाको दिन आज विहानै हिन्दु पुरुषहरुले जर्ने फेर्ने काम गरेका छन् । आज नेपालको तराइ भेगमा दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले रक्षाबन्धन दाजुभाइलाई बांधिदिएका छन् भने पहाडमा जनै फेर्ने र रक्षाबन्धन बाध्ने काम गरिएको छ ।

रक्षाबन्धनको धागो बान्दा दैत्यराज बलीको दानसिलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्रवाचन गरिन्छ । तागाधारीहरुले यसै दिन पुरानो जनै फालेर मन्त्रसाधना गरिएको नयां जनै लगाउने चलन छ ।

उनीहरुबाट सप्तऋषि कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वरिष्ठ र विश्वामित्रसहित अरुणधतीलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ ।

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । साउन ३१ गते संविधानसभामा भएको चुनावमा प्रचण्ड ४६४ मत पाई बिजय भएका हुन् । उनको बिपक्षमा ११३ मत परेको थियो । संविधानसभामा ५७७ जना सभासद उपस्थित भए पनि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्तिले तठस्थ रहने घोषणा गरेका थिए भने नेपाली कांग्रेसले उनको बिपक्षमा मत दिएको थियो ।यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद पनि मतदानमा सहभागि भएनन् । प्रचण्डलाई एमाले, मधेसी जनअधिकार फोरमलगायत संविधानसभामा रहेका २१ दल तथा स्वतन्त्र सभासदको समर्थन थियो ।

बि. संं. २०११ सालमा काश्कीको ढिकुरीपोखरीमा जन्मिएका प्रचण्डले २०२९ सालदेखि राजनीति सुरु गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी चोथो महाधिवेशनबाट २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टी मशालका महामन्त्री बनेका थिए । २०५२ सालमा जनयुद्ध सुरु हुनुभन्दा केही अघि गठित नेपाल कम्युनिष्ट पार्टी माओवादीको उनी संस्थापक महामन्त्रीसमेत हुन् । २०५७ सालमा भएको माओवादीको दोश्रो राष्ट्रिय सम्मेलनबाट त्यस पार्टीको उनी अध्यक्ष बनेका थिए । २०६२/६३ को आन्दोलनको सफलतापछि उनी खुला राजनीतिमा आए र संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बनेपछि उनको प्रधानमन्त्री बन्ने बाटो खुलेका हो ।  

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । साउन ३१ गते संविधानसभामा भएको चुनावमा प्रचण्ड ४६४ मत पाई बिजय भएका हुन् । उनको बिपक्षमा ११३ मत परेको थियो । संविधानसभामा ५७७ जना सभासद उपस्थित भए पनि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्तिले तठस्थ रहने घोषणा गरेका थिए भने नेपाली कांग्रेसले उनको बिपक्षमा मत दिएको थियो ।यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद पनि मतदानमा सहभागि भएनन् । प्रचण्डलाई एमाले, मधेसी जनअधिकार फोरमलगायत संविधानसभामा रहेका २१ दल तथा स्वतन्त्र सभासदको समर्थन थियो ।

बि. संं. २०११ सालमा काश्कीको ढिकुरीपोखरीमा जन्मिएका प्रचण्डले २०२९ सालदेखि राजनीति सुरु गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी चोथो महाधिवेशनबाट २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टी मशालका महामन्त्री बनेका थिए । २०५२ सालमा जनयुद्ध सुरु हुनुभन्दा केही अघि गठित नेपाल कम्युनिष्ट पार्टी माओवादीको उनी संस्थापक महामन्त्रीसमेत हुन् । २०५७ सालमा भएको माओवादीको दोश्रो राष्ट्रिय सम्मेलनबाट त्यस पार्टीको उनी अध्यक्ष बनेका थिए । २०६२/६३ को आन्दोलनको सफलतापछि उनी खुला राजनीतिमा आए र संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बनेपछि उनको प्रधानमन्त्री बन्ने बाटो खुलेका हो ।  

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com