माओवादीसंग मिलेर जान्छौं : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियताका सवालमा नेकपा माओवादीसंग मिलेर जाने बताएका छन् । बुटवलमा आयोजित कार्यक्रममा उनले राष्ट्रियता गम्भीर संकटमा परेको समेत बताए । ‘राष्ट्रियता गम्भीर संकटमा परेको छ ,’ थापाले भने,’राष्ट्रियता जोगाउनका लागि माओवादीसंग मिलेर जान्छौं ।’ उनले अन्य दलभन्दा माओवादीमा राष्ट्रियता भएको बताए । दलहरुले विदेशीको इशारामा परेर पदबांडफांड गरेको उनको आरोप थियो । माओवादी राष्ट्रिय एकताका सवालमा संर्घष् गर्ने पार्टी भएकाले आफूहरुको त्यसबारे कुरा मिल्ने बताए । यद्यपि उसको उग्रवामपन्थी व्यवहारको आलोचना गर्न नछाड्ने उनको भनाई थियो ।
राप्रपा नेपालले राष्ट्रियताका सवालमा सशक्त आन्दोलन गर्ने बताए । राष्ट्रियता खतरामा परेकाले आफूहरु चुप लाग्न नसक्ने उनको भनाई थियो । देशमा विदेशीको नांगो हस्तक्षेप हुदा पनि दलहरु चुप लागेको भन्दै आलोचना गरे ।