पृथ्वीबाहिर एलियन भएको दाबी
एपोलो १४ का अन्तरिक्षयात्रीले पृथ्वीबाहिरका प्राणी -एलियन) ले सम्पर्क राखेको तर, यो कुरा ६० वर्षदेखि ढाकछोप गरिएको दाबी गरेका छन् । अपरिचित प्राणीहरूले मानवसँग कैयौंपटक सम्पर्क राखेको तरयो सत्यतालाई सरकारहरूले ६० वर्षदेखि लुकाइआएको चन्द्रमामा टेक्ने एपोलो-१४ का छैठौं अन्तरिक्षयात्रीको दाबी छ । अन्तरिक्ष्यात्री डा. एडगर मिचेलको भनाइअनुसार नासामा आफू कार्यरत रहँदा पृथ्वीबाहिरका धेरै अपरिचित उडान -युएफओ)ले पृथ्वीको भ्रमण गरेको आफूले थाहा पाएको तर प्रत्येक घटनाको ढाकछोप गरिएको थियो ।
७७ वषर्ीय डा. मिचेलले रेडियो अन्तर्वार्ताको दौरान बताएअनुसार अन्तरिक्ष संस्था -नासा) का एलियनसँग सम्पर्क रहेका सूत्रले उनीहरू ‘साना र हामीलाई अच्चम लाग्ने खालका मानिस भएको उनलाई बताएका थिए । उनीहरू हामीले काल्पनिक रूपमा सोचेको ‘इटी’ -एक्स्ट्रा टेरिटोरियल) जस्तै सानो आकार, ठूला आँखा र टाउका भएका थिए ।’ मिचेलको दाबीअनुसार हाम्रो प्रविधि उनीहरूको जस्तो परिष्कृत छैन । ‘उनीहरू शत्रुतापूर्ण भइदिएको भए हामी यतिन्जेलसम्म पृथ्वीबाट लोप भइसकेका हुने थियौँ,’ उनी चेतावनी दिँदै भन्छन् ।
डा. मिचेल र एपोलो-१४ का कमान्डर एलान सेर्फडले १९७१ मा चन्द्रमामा नौ घन्टा, १७ मिनेट हिँडेर अहिलेसम्म चन्द्रमामा धेरै हिँड्ने रेकर्ड राखेका छन् । ‘युएफओको अपूर्व घटना वास्तविक हो,’ मिचेल भन्छन्, ‘६० वर्षदेखि हाम्रा सबै सरकारले यसको ढाकछोप गरेका छन् । तर, बिस्तारै यो तथ्य चुहियो र हामी केहीले यसबारे थाहा पाउने सौभाग्य प्राप्त गर्यौँ ।’ मिचेल भन्छन्, ‘म सैनिक र गुप्तचर वृत्तमा थिएँ । हाम्रो धर्तीमा पृथ्वीबाहिरका प्राणीले भ्रमण गरेकोमा म विश्वस्त छु । हालसालका अखबार पढ्दा पनि यस्तो घटना भएको बुझिन्छ ।’ १९४७ मा न्यू मेक्सिकोको रोसवेलमा भएको युएफओ दुर्घटना वास्तविक भएको र अपरिचित प्राणीको भ्रमण सम्बन्धमा निरन्तर अनुसन्धान भइरहेको डा. मिचेलको दाबी छ ।
केराङ रेडियोका छक्क परेका कार्यक्रम सञ्चालक निक मार्गेरिसनलाई उनले भने, ‘बल्ल यी कुरा बाहिर आउँदैछन् । मेरो विचारमा हामी अब वास्तविक खुलासाको दिशातर्फ बढेका छौँ ।’ तर, नासाका अधिकारीहरूले मिचेलको यो दाबीको तत्काल खण्डन गरेका छन् । यससम्बन्धी विज्ञप्तिमा एक प्रवक्ताले भने, ‘नासाले युएफओ फेला पारेको छैन । यो ग्रहका वा ब्रह्माण्डका कुनै पनि ठाउँका अपरिचित प्राणीबारे कुनै प्रकारको ढाकछोप गर्नमा नासा सम्लग्न छैन ।’ ‘डा. मिचेल महान् अमेरिकी हुन् तर, हामी यो विषयमा उनीसँग सहमत छैनौँ,’ प्रवक्ताले भनेका छन् ।