निर्विरोध नेम्वाङ्ग !
संविधानसभाको अध्यक्षमा नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । आज बसेको संविधानसभाको बैठकमा जेष्ठ सदस्यको रुपमा अध्यक्षता गरिरहनु भएका कुलबहादुर गुरुङले नेम्वाङ सर्वसम्मत निर्वाचित हुनुभएको औपचारिक घोषणा गर्नुभएको हो ।
आजको बैठकमा नेम्वाङको प्रस्तावक विष्णु पौडेल र समर्थक विमलेन्द्र निधिले सहमतिका आधारमा सभाध्यक्ष चयन हुनु राम्रो संकेत भएको बताउनुभयो । चौध दलको सहमतिमा संविधानसभा अध्यक्षका लागि नेम्वाङको मात्र उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । नवनिर्वाचित सभाध्यक्षको सपथ भोलि एघार बजे राष्ट्रपति भवनमा हुनेछ ।
सभाध्यक्षको सपथ राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । सभाध्यक्षमा निर्वाचित भएपछि नेम्वाङले आफु सहमतिका साथ अगाडि बढ्ने र निर्धारित समयमा संविधान निर्माणमा जोड दिने बताउनुभयो । संविधानसभा अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि पुनःस्थापित प्रतिनिधि सभा तथा व्यवस्थापिका संसदको सभामुख हुनुहुन्थ्यो । उहाँ संविधानसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर दुइबाट नेकपा एमालेका तर्फबाट निर्वाचित हुनुभएको छ ।