अमेरिकाले भीसा नीतिमा परिवर्तन गर्ने
संयुक्तराज्य अमेरिकाले आफ्नो पुरानो नीतिमा परिवर्तन गर्दै एचआइभीग्रस्त मानिसलाई अमेरिकाको भ्रमण गर्न वा बसाइँ सर्नमा दुई दशकदेखि लागिआएको प्रतिबन्ध छिट्टै हटाउने भएको छ । यससम्बन्धमा केही समयपछि नै सिनेटले विधेयक ल्याउने बताइएको छ । यस्तो प्रतिबन्ध सुडान, साउदी अरेबिया, लिबिया, रुसलगायत एकदर्जन मुलुकले पनि लगाएका छन् । सिनेटर जोन केरीका अनुसार चीनले समेत यो नीतिमा परिवर्तन ल्याएको छ ।’कुनै खास रोगलाई कलंक लगाउने छुट कानुनलाई छैन,’ सिनेटर केरीले भनेका छन् । उनका अनुसार एचआइभीग्रस्त मानिसलाई भन्दा एभियन फ्लु र इबोला भाइरस भएका मानिसलाई बरू भिसा पाउन सजिलो छ ।
केरी र अर्का सिनेटर गोर्डन स्मिथ यो प्रतिबन्ध हटाउने प्रयासमा लागेका छन् । १९८७ मा पहिलोपटक यो प्रतिबन्ध लागू भएको थियो र १९९३ मा कंग्रेसले यसलाई अनुमोदन गरेको थियो । प्रतिबन्ध हटाउने विधेयकलाई सिनेटले यो हप्ता पारित गर्ने सम्भावना छ । यसो भएमा अफ्रिका र अन्य गरिब इलाकामा एड्स र अन्य रोगविरुद्ध जुध्न पाँच वर्षका लागि ५० अर्ब डलर उपलब्ध हुनेछ ।