विश्वकै जेष्ठ ब्लगर रिलीको निधन
विश्वकै सबैभन्दा जेष्ठ ब्लगर ठानिएकी अस्ट्रेलियाकी ओलिभ रिलीको निधन भएको छ । उनले आफू बसेको नर्सिङ होमबाट आफ्नो अन्तिम लेख ‘अ ह्याप्पी सङ’लाई ब्लगमा पोस्ट गरेकी थिइन् । रिलीको मृत्यु दुइ दिनअघि नै भएको उनको वेबसाइटले जनाएको छ । ‘ओलिभ रिलीको जुलाइ १२ मा निधन भएको हो । उनको निधनबाट विश्वका हजारौं इन्टरनेट प्रयोगकर्ता र सयौं आफन्त मर्माहत भएका छन् ‘, वेबसाइटमा लेखिएको छ । इन्टरनेटमा आफ्नो भनाइ तथा लेखरचना राख्ने स्थानलाई ब्लग भनिन्छ । यसलाई इन्टरनेट डायरी पनि भन्न सकिन्छ । ब्लगमा राखिएका विषयवस्तु इच्छुक जोकोहीले पनि पढ्न सक्छन् ।
रिलीले ७० वटाभन्दा बढी लेख ब्लगमा राखेकी छिन् । उनले गत फेब्रुअरीयता ती लेख राखेकी हुन् । तिनमा आधुनिक जीवनशैली र २० औं शताब्दीको जीवनशैलीमा रिलीले भोगेका अनुभव उल्लेख छन् । रिली विश्वकै जेष्ठ ब्लगर रहेको विश्वास गरिए पनि यसको आधिकारिकता भने यकिन भएको छैन । अक्टोबर २० सन् १८९९ मा जन्मिएकी रिलीले पहिलो र दोस्रो विश्वयुद्धको अवधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाइन् । कुक र बारमेडको पेसा अपनाएकी रिलीका तीन सन्तान छन् ।
उनको अन्तिम लेख गत जुन २६ मा पोस्ट गरिएको हो । लेखमा भनिएको छ- ‘यस नर्सिङ होममा एक साताभन्दा बढी सयदेखि रहँदै आएको मलाई विश्वास नै लागेको छैन । मैले आफूलाई निकै कमजोर महसुस गरेकी छु । मलाई खोकीले सताएको छ, मेरै छेउको शय्यामा रहेकी पेनीकी छोरी यसै साता यहाँ आइन् । उनी व्यावसायिक गायिका रहिछन् । मैले उनीसँग मिलेर एउटा खुसीको गीत गाएँ, जुन म जहिले पनि गाउने गर्थे । हामीलाई नर्सहरुले पनि साथ दिएपछि सांगीतिक कार्यक्रमकै रुप लियो त्यसले ।’ रिलीको सम्पर्कमा टाढाटाढा रुसदेखि अमेरिकासम्मका पाठक आएका उनका नाति ड्यारेन स्टोनले बटाएका छन् । ‘आफूलाई तन्दुरुस्त देखाउन उहाँ ठट्टामजा गर्नुहुन्थ्यो,’ उनले भने ।