असार शुरु भयो
असारको दबदबे हिलोमा बाउसे वा रोपाहार भएर कहिल्यै हिलाम्मे यो धर्तिसंग खेल्नु भएको छ ? कि शब्द विसिसक्नु भयो ? धान रोप्ने खेत कोदालीले सम्याउनेलाइ बाउसे भनिन्छ भने धानको विउ रोप्नेलाइ रोपाहार भनिन्छ । याद आयो ?यदी आएको भए असारको मासमा सिमसिम पानीमा भिज्दै धान रोप्दाका ति रमाइला दिनहरु पनि चलचित्र झै आए होलान नी स्मृतिमा हैन ?
हो असार शुरु भयो । बर्खा लाग्यो । बर्खासंगै अहिले किसानहरु असारे धान रोप्नमा मस्त छन । संविधान सभा सकिएको छ । कुसीका लागि केन्द्रको लफडा अझै सकिएको छैन । तर किसानहरु यो विवादमा अल्झीएका छैनन । अन्न उब्जाउनुछ भोलिका लागि । हिलाम्मे माटोमा लडिबुडि खेलेको त्यत्ति लामो स्मरण त म संग पनि छैनन । तर जत्ति छ कहिल्यै नमिटिने गरी बसेको छ । गजगज हिजोमा चोपिलंदै रोपाहार र बाउसेले गाएका असारे गीत सुन्नुको मज्जै बेग्लैछ । भन्नलाइ नेपाल कृषि प्रधान देश भनिन्छ ।
तर, यहां कृषिको मुख्य मौसम आवोस या सुक्खा लागोस कसैलाइ मतलवको विषय हैन । शहरमा बसेर ठालु पल्टनेहरुले हिलोमा लत्पतीको किशानलाइ देख्दा छि भन्ने परम्परा अझै कायमै छ । तर त्यही किसानले मेहनत गरेर पलाएको अन्न खांदा आहा भन्दा ति किसानको मुहार र उनीहरुले गरेको दुख न राष्ट्रले सम्झन्छ न खाने ठालुहरुले नै ।
अन्न आकासवाट खस्दैन । मिहेनती किसानको पाखुराको बलमा फल्छ । जसको आधारमा देशको अर्थतन्त्रको राम्रो हिस्सा ओगटेको छ । तर उनीहरुको हालखवर के छ न शहरका ठालुका चासोका विषय हुन न सरकारको नै । यदी त्यस्तो हुंदो हो त असारको प्रारम्भमै धान महोत्सवको आयोजना गरेर राज्यले कृषकहरुलाई धान उत्पादनमा उत्साहित बनाइहाल्थ्यो नी हैन र तर, यसप्रति सोच्ने फुस्रद कसलाइ ?