मृत्युले युद्धको औचित्यमाथि प्रश्न ?
मार्क रेटमियरका आमाबाबु उनी अफगानिस्तानबाट र्फकेको, कलेज गएको र आफूहरूसँग ठालु पल्टेको, मोटरसाइकल चढेको र आफ्नो भाइलाई कपाल काट्न हकारेको देख्न चाहन्थे । ‘ऊ छुट्टी लिएर जुलाई ४ मा यहाँ आइपुग्नेवाला थियो,’ बाबु स्टेभ भन्छन्, ‘हामीले उसलाई फिर्ता पाउनै लागेका थियौं ।’ तर, केही दिनअघि डक्टर बन्ने सपना देखेका नेभी अस्पतालमा काम गर्ने १९ वषीय मार्क अंक बन्न पुगे । अर्थात् इराक र अफगानिस्तानमा मारिने क्यालिफोर्नियाका ५००औं व्यक्ति बन्न पुगे । दुई भाइ भएका मार्क बुधबार अफगानिस्तानमा मारिएका छन् । तालिवानले प्रहार गरेको रकेट उनी सवार गाडीमा ठोक्किँदा उनको मृत्यु भएको हो ।
मार्कको मृत्युले उनका आमाबाबु युद्धको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् । त्यो युद्ध छोरोको जीवनको मूल्य लायक हो/होइन घोरिन थालेका छन् । एक स्टोरमा क्लर्कको काम गर्ने मार्ककी आमा जोय आफ्नो छोरोको सैनिक सेवाप्रति सधैं चिन्तित हुन्थिन् । उनका साथीहरूले मार्क अफगानिस्तानमा तैनाथ भएकोमा भाग्यमानी भनेका थिए । उनीहरूको विचारमा इराकको अवस्था अझ गुज्रँदो छ । तर, मार्कले अफगानिस्तानको अनुभवमा पठाएका इमेलहरू पढेपछि त्यहाँ अमेरिकाले खासै उपलब्धि हासिल गरेको छ त भन्ने प्रश्न आमा जोयको मनमा उठ्न थालेको थियो । ‘उसले मलाई गाउँगाउँ घुमेर ड्रइङमा रंग लगाउने पुस्तक बाँड्ने गरेको बताएको थियो । तर, अफगान केटाकेटीले पुस्तक च्यातेर आफूतिर फ्याँक्ने गरेको पनि छोरोले बताएको थियो । ती केटाकेटी त्यहाँ अमेरिकी उपस्थिति चाहँदैनन् भन्ने पनि मार्कले मलाई इमेलमा लेखेको थियो,’ आमाले भनिन् । त्यसपछि उनी छोराको फोटो हेर्दै रुन थालिन् । ‘मेरो बच्चो १९ वर्षको मात्र थियो’ सुँकसुँकाउँदै उनले भनिन्, ‘मैले जुन पीडा भोग्नुपर्यो यो अरू कुनै आमाबाबुले भोग्नु नपरोस् ।’
भित्तामा टाँगिएका आफ्ना छोराका फोटाहरू हेर्दै बाबु स्टेभ भन्छन्, ‘म सेनालाई दोष दिन्न । म सेनाप्रति उत्साही व्यक्ति हुँ । तर, अफगानिस्तानमा हामीले खासै केही हात पारेको मलाई थाहा छैन । मेरो छोरो ५००औं अंक बन्न पुगेको छ । म कोही ५०१ बनेको देख्न चाहन्नँ ।’ मार्कका ७५ वषर्ीय बाजे डेल पावर्स कोरियन युद्धका लडाकु हुन् । नातिको मृत्युले अत्यन्तै आहत भएका उनी भन्छन्, ‘ऊ छायाझैं हरदम मलाई पछ्याउँथ्यो । म उसलाई क्याम्पिङमा लान्थेँ, माछा मार्न लान्थेँ । ऊ हाम्रो परिवारको हाकिमजस्तै थियो ।’
सेनामा भर्ती भएका हेमेत सिनियर हाइस्कुलका पूर्वविद्यार्थी सातजनामध्ये ६ जना लडाइँमा मारिएकोमा हेमेत निवासी चिन्तित छन् । मार्क पनि त्यही स्कुलका विद्यार्थी थिए । हेमेत सहरमा कुनै भविष्य नभएकाले सेनामा भर्ती हुनुलाई नै युवाको विकल्पको रूपमा रहेको एक निवासी बताउँछन् । ‘युद्ध विनासकारी भएको छ । युद्ध नरक बनेको छ,’ मेयर मार्क सर्ल भन्छन् । दोस्रो विश्वयुद्धका योद्धा ८० वषर्ीय जेरी उडबेक भन्छन्, ‘यहाँ हेमेतका घरका झ्यालमा कतै गोल्डस्टार र कतै ब्लुस्टार झुन्ड्याइएका हुन्छन् । गोल्डस्टारको मतलब युद्धमा यो घरको कोही मारिएको भन्ने हुन्छ । यसैगरी ब्लुस्टारको मतलब यो घरको कोही सैनिक सेवामा रहेको छ भन्ने हुन्छ ।’ सैनिक भर्तीवालाहरूको भनाइमा दक्षािण क्यालिफोर्नियाभरि हेमेत सबैभन्दा बढी भर्ती हुने थलो बनेको छ ।
स्टाफ सर्जेन्ट चाल्र्स हड्सन सेनामा भर्ती हुने किशोरहरूको मोहमा दंग छन् । उनी भन्छन्, ‘हेमेतमा भर्ती फल्दोफुल्दो छ । यस्ता किशोरहरू प्रशस्त भएका स्कुल चारैतिर छन् ।’ मार्कका १७ वषर्ीय भाइ म्याथ्यु आफ्नो दाजुजस्तै सेनामा भर्ती हुन चाहन्छन् । ‘मार्कले जे काम सुरु गरे म त्यो काम फत्ते गर्न र उनको विरासतको सम्मान गर्न चाहन्छु,’ म्याथ्यु भन्छन् । तर, उनकी आमा म्याथ्युलाई घुरेर हेर्दै भन्छिन्, ‘म अर्काे छोरो गुमाउन चाहन्न ।’ आमाको यस्तो भनाइ सुन्दा म्याथ्यु घोेसेमुन्टो लगाउँछन् ।