ज्ञानेन्द्रको तेश्रोपटक राजा हुने धोको
‘नियती नै भन्नुपर्ला, म एउटा बालक छँदा मेरो शीरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्नेबाहेक मेरो न त चाहना थियो, न त इच्छा । न त कुनै भूमिकाको गुन्जायस नै थियो । त्यस्तै २०५८ साल जेठ १९ गते राती दोश्रोपटक एउटा त्रासदीपूर्ण घटना राजदरवारमा घट्दा मेरो पूजनीय दाजुभाउजु लगायत आफ्ना आत्मीय परिवारको विभत्स हत्या भएको र ती प्रिय आदरणीय परिवारको शवमा आँशु बगाएर हल्का पार्नसक्ने मौका समेत नपाउने परम्परा र कर्तव्यको जन्जिरमा बाँधिन विवश मेरो अन्तरवेदना शव्दमा व्यक्त गर्न म सक्दिन ।’ जेठ २९ गते पत्रकार सम्मेलनमा पूर्वराजाले भनेका भनाइ हन् यी ।
यो भनाइसंगै संविधान सभाको निर्वाचनपछि ज्ञानेन्द्र शाह नेपालका विशेष मान्छे हुनपुगे । उनले श्रीपेज र राजदण्ड नेपाल सरकारलाई बुझाएर नागार्जुन दरवारतिर सहज बहिर्गमनको बाटो पनि रोजे । तत्कालका लागि नेपाली जनआक्रोशलाई बुझेर उनी नागार्जुन दरवारमा डेरा सरेका छन् । अनि नारायणहिटी छोड्ने बेलामा भनेका छन्, नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डताको रक्षार्थ सँधै लागिरहनेछु । अनि मेरो सात वर्षको शासनकालमा चालिएका मेरा कदम शान्तिका लागि थिए । यद्यपि कहि कतै गल्ती भएमा भुलवश भएको ठानिदिनुहोला ।
ज्ञानेन्द्रको बहिर्गमनसंगै धेरैको मनमा शंका उव्जिएको छ । के अब उनी साँच्चै गान्धि नै बन्न लागेका हुन् त ? उनले नागार्जुन दरवार रोज्नका पछाडि के कारण छ ? सबैलाई लागेको कौतुहलताको कुरा हो यो । ज्ञानेन्द्र राजनीतिमा निकै कूटनीतिक खेलाडी हुन् । यसैले अब ज्ञानेन्द्र नागार्जुनमै बसेर गीत लेखेर बसिरहलान् भन्न सकिन्न । उनको सहज बहिर्गमनकाबारे धेरैका फरक हेराइ र भनाइ होलान् । उनका पूर्खाहरूको शासन चालेको २ सय ४० वर्षपछि बल्ल उनी नागरिक बन्न पाए । नयाँ नेपालका नागरिक भएका ज्ञानेन्द्र अहिले स्वतन्त्र पनि छन् । राज्यले कुनैबेला कारवाही गरेर अन्तराष्ट्रिय अदालतमा पुरयाउनुपर्छ भन्ने मान्छेलाई त्यहि राज्यले सम्मान दिएर राखेको पनि छ ।
हिजो राजामाथि कारबाही गर्नुपर्छ भनेर चर्का कुरा गर्नेहरूले आज किन राजालाई अभयदान दिए ? यसको उत्तर सरकारले दिनसक्नुपर्छ । जनआन्दोलनमा रायमाझी आयोगले राजालाई दोषी ठहरयाइसकेको छ । त्यतिबेला न्वारनदेखिको बल लगाएर राजामाथि कारबाही गर्नुपर्छ भनेर चिच्याउनेहरू अहिले किन चुप छन् ? त्यस्तो कारबाही गर्नुपर्ने मान्छेलाई किन रोजी-रोजी भनेकै स्थानमा बस्न र भनेकैजति सुविधा दिइएको हो ? नेपालको कानून दैवले जानुन् भन्थे, यहि रहेछ ।
ज्ञानेन्द्रलाई नागार्जुन दरवारमा ऐश आरामका साथ बस्न दिएकोमा एमाले निकट प्ररायुसंघ र नागरिक आन्दोलनका अगुवाहरुले विरोध जनाइरहेका छन् । माओवादीका सभासद् एवम् केन्द्रीय सदस्य गोपाल खम्बुले पनि विरोध जनाए । यो निर्णय ज्ञानेन्द्रलाई तेश्रोपल्ट राजा हुन सहयोग गर्छ भन्ने उनको ठम्याई छ । सैनिक दृष्टिकोणले नारायणहिटीलाई जनताले घेरा हाल्न जति अनुकुल छ, नागार्जुनमा घेरा हाल्न प्रतिकुल छ । यसैले त्यस्तो सामरिक महत्वको हाइपोष्टमा ठाउँ दिइएको बारेमा माओवादीका ती नेताको बरु चिन्ता बढेको छ । ज्ञानेन्द्र एक्लै नागार्जुन गएका छैनन्, साथमा सेना र प्रहरी पनि लिएर गएका छन् । सवारी साधन लगेका छन् । निर्मल निवास अझै पारसको कव्जामा छ । निर्मल निवासमा कसैलाई छिर्न नदिने भन्ने अभिव्यक्ति पारसको आईरहेको छ । नारायणहिटीका केहि अंश अझै ज्ञानेन्द्रको नियन्त्रणमा छ । अझै नपुगेर थप भवन माग्दैछन् । अनि केहि कर्मचारी पनि चाहिएको छ उनलाई । गणतान्त्रिक सरकार उनका सबै माग एकपछि अर्को गर्दै पुराइदिने तयारीमा छ ।
एकातिर ज्ञानेन्द्रको सहज बहिर्गमन, अर्कातिर सत्ताका लागि राजनीतिक दलहरुको झिनाझम्टीले सोझा नेपालीहरुको मन यतिबेला पूर्व राजाप्रति तानेको छ । पूर्वराजाको त्यागलाई सम्मान पनि गरेका छन्, जनताले । नेपालीको मन न हो, पूर्व राजाप्रति टीठाउने र सहानुभूति जगाउनेहरुको जमात बढ्न थालेको छ । राजनीतिक दलको झगडा र जनताको मन पगालेको कुरा उनले राम्रोसंग बुझिरहेका छन् । किनभने उनी अरुजस्तो टुलुटुलु हेरेर बस्ने मान्छे परेनन् ।
ज्ञानेन्द्र शाहले भनेजस्तो घर किन्न भेटाएनन् रे । तत्काल घर बनाएर त्यसमा र्सन समय छोटो र वर्षायाम छ । उनी मागेर सँधै गुजारा गर्ने, केही नभएका सुकुम्बासी होइनन् । उनको सुरक्षाको ख्याल पनि राख्नुपर्छ । हिजो दरबारको ढुकुटीबाट बक्सिस खाने परजीवीहरू कता गएका छन् ? यी सबै कुरालाई मध्यनजर राखेर सरकारले उनको निजी घर बन्ने समय विचार गरी डेराको व्यवस्था गर्नु उपयुक्त कुरा हो । नागार्जुनको कति क्षेत्रफलको कुन दरबार कतिञ्जेलका लागि भन्ने नागरिक चासो स्वाभाविक हो । ज्ञानेन्द्र उद्योग-व्यापार चलाएर आएका मान्छे पनि हुन् । उनले आफ्नो निवास बनाउने र व्यवसाय सञ्चालन गरेर आफ्ना सन्तानलाई समेत कुनै काममा लाग्न प्रेरित गरेर सकारात्मक सन्देश दिने पूर्खा बन्न सक्नुपर्छ । सामन्ती अहङ्कार पालेर नोकर-चाकरको बगाल थुपार्ने वा बहिष्कृतहरूसंग एकाकार हुने अस्वस्थकर जीवनशैलीले उनलाई उभो लाग्ने बाटो दिने छैन । उनको सहज बहिर्गमन जनचाहना अनुसार नै हो भने ज्ञानेन्द्र शाह अब असल नागरिक पनि बन्न सक्नपर्छ । हामीजस्तै स्वतन्त्र हुन सक्नुपर्छ ।
तर पनि, उनी हामी अरू नागरिकजस्तो स्वतन्त्रचाहि छैनन् । आफ्नै विगतको अभिमान र संस्कारले ज्ञानेन्द्र थिचिएका छन् भने सुरक्षाघेराको पराधिनता अझै बाँकी छ । नराम्रा सपना देख्ने बानी परित्याग गर्नु र विपनामा बाँच्ने अभ्यासबाट आफूलाई बदल्न सक्नु उनका लागि हितकर छ । तर उनी यसो गर्न कदापि सक्दैनन् । यद्यपि उनको चाहना फेरि तेश्रोपल्ट राजा हुने रहेको पाईन्छ ।
राजतन्त्रको विदाइ समारोहमा उनले आफुमाथि लागेका आरोपको खण्डन गरेका छन् । हुन त चोरले कहिल्यै पनि आफु चोर हुँ भनेर भन्दैन । अनि आरोप लगाउनेहरुले त्यसै आरोप लगाउन पनि हुँदैन । अब राजाबाट नागरिक बनेका ज्ञानेन्द्रमाथि लागेका आरोपहरु त्यस्ता आरोप लगाउनेहरुले पुष्टि गर्नपनि सक्नुपर्छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकपटक दरवार हत्याकाण्डको ग्राण्डडिजायन खोल्छु भनेर बचन पनि दिएका थिए । अब उनले यो कुरा खोल्न सक्छन् कि सक्दैनन् ? दरवार हत्याकाण्डपछि ज्ञानेन्द्रलाई दाइमाराको आरोप लगाउने बाबुराम भट्टर्राईको पार्टी सत्तामा छ । अब ज्ञानेन्द्रमाथिको आरोपको पुष्ट्याई जनतामा दिन जरुरी हुन्छ । नत्र चोरले मात्र चोर चिन्ने तर अरुलाई थाहा नहुने हुनसक्छ ।
ज्ञानेन्द्र माथि मूर्तिचोरको अनि बिदेशमा सम्पत्ति थुपारेको जनआरोप छ । तत्कालिन राजा बीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डका योजनाकार र ज्ञाताको आरोप छ । राजनीतिक स्वतन्त्रता र मानव अधिकार हरणकर्ताको आरोप छ । ०४७ सालको संविधानको बाधा फुकाउने धारा १२७ लाई दुरूपयोग गरेको आरोप छ । जनआन्दोलन ०६२/६३ माथि दमन गर्ने प्रमुख दोषी रहेको रायमाझी आयोगको सङ्केत छ । उनीप्रति युग चिन्न नसकेको र राजा महेन्द्रको पञ्चायती लास बोक्न खोजेको आरोप छ । उनीमाथि लागेका अघिल्ला दुइ आरोपका विषयका यो पंक्तिकार जानकार छैन । आरोप लगाउनेहरुबाट पुष्टि खोजिरहेको छ । तर पछिल्ला चार आरोपका विषयमा चाँहि यस पंक्तिकारले खुलेरै पुष्ट्याइ दिनसक्छ ।
ज्ञानेन्द्रको माघ १९ को घोषणाको प्रमुख स्तम्भ उनका भाषामा शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक अनुशासन र अभिव्यक्ति स्वतन्त्रता भएपनि यी कुराहरु उनको शासनकालमा कुनै नेपालीले पनि अनुभूत गर्न पाएनन् । तर यी सबै माघ १९ को कदम सफल बनाउने गुलियो एजेण्डा थिए । शाही घोषणा मार्फत चालेका यी कदमहरु सवै निरंकुशताका सहयोगी सिद्ध भए । ज्ञानेन्द्रको सोंचाई, क्रियाकलाप, संगत र घेरा अघिल्ला निरंकुशतावादीहरुको बिचमा रहेकोले नेपाली जनताले निरंकुशताको चंगुलमा व्यतित गरेका ती दिन कम्ति कष्टपूर्ण रहेन ।
माओवादी जनयुद्धले थलिएको मुलुकमा ज्ञानेन्द्रबाट जारी शाही घोषणाले राजनीतिक दललाई दोषी ठहर्याउँदै मुलुकमा छिट्टै शान्ति बहाली गर्ने कसम खाएकै हो । तर शान्ति स्थापना कुनै जादुको छडी थिएन, उनले सोंचेजस्तो । आतंकवाद नियन्त्रण र शान्ति सुरक्षा स्थापनाको कसम खाएर पनि शान्तिका लागि सिन्कोसम्म नभाँचिएको उदाहरण हामीबाट छिपेको छैन । त्रासबाट मुक्ति खोजिरहेका नेपालीहरुको भागमा अरु त्रास थपिएको थपियै भयो । ज्ञानेन्द्रको त्यतिबेलाको देशविदेशका भ्रमण, दरवारको खर्च र ऐशआरामका सवाललाई लिएर जनताले अब यसरी "सेतो हात्ती" पाल्न सकिंदैन सम्म भन्न भ्याएका थिए ।
माघ १९ पछि देशमा सुशासन होला भन्ने धेरैको अनुमान थियो । तर माघ १९ को यो "कु" सुशासन नभएर कुशासन रहेछ भनेर प्रमाणित भयो । ज्ञानेन्द्रको शासनकालमा नेपाल राष्ट्रको अखण्डता, अस्मिता तथा अस्तित्वका संरचनालाई जगैसम्मबाट हल्लाएर एक पछि अर्को गर्दै भत्काईयो । सेनाको छवि धमिलियो । अन्तर्राष्ट्रिय छवि पनि धमिलियो । सबैमा पञ्चायतको पुनरावृत्ति देखियो । कुशासनको निशाना नेपालको प्रजातन्त्र, प्रजातान्त्रिक दल र प्रजातान्त्रिक संस्थाहरु नै भए । राजाको इच्छा पुरा गर्न र प्रतिगमनका मतियार बनेकाहरुलाई नगर निर्वाचनका माध्यमबाट उनले सिंहासनमा राज गराए । माघ १९ पछि नेपालका राजनीतिक पार्टीका गतिविधिमाथि प्रतिवन्ध लगाइयो । शाही घोषणा लगत्तै राजनीतिक पार्टी नेताकार्यकर्ता, मानवअधिकारवादी, सञ्चाकर्मीहरुलाई स्थानहद र नजरवन्दमा राखियो । शाही घोषणाका सम्वन्धमा कसैले धक फुकाएर बोल्न सकेनन् । सञ्चारका साधनहरु बन्द गरिए । एफएमका माइक्रोफोन भाँच्ने काम भयो, हप्तौसम्म पत्रपत्रिका बन्द भए । एफएममा समाचार प्रसारणमाथि प्रतिवन्ध लगाइयो । अनि पत्रपत्रिकाहरु सेन्सरसीपको शिकार पनि भए । दशैंका बेलामा पत्रिका वन्द हुन लागेको अवस्था पारि प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने अध्यादेश "सञ्चार अध्यादेश" पनि जारी भयो । प्रेसलाई आफू अनुकुल चलाउन नसकेपछि पत्रकार धम्क्याउने, पक्रिने, बयान-स्पष्टिकरण लिने यावत प्रक्रिया चालु राख्ने काम उनकै भजनमण्डलीबाट शुरु भयो ।
‘प्रशस्ति र चाकरीको किल्ला’भित्र पनि ज्ञानेन्द्रका ज्यादती र अपराध लुक्न सकेन । अन्ततः राजतन्त्र आफ्नै जनविरोधी, युगविरोधी चरित्रका कारणले नेपालबाट समाप्त भयो र अन्तिम राजा ज्ञानेन्द्र शाह शान्तिपूर्ण र संवैधानिक तरिकाले गद्दीच्यूत भए । यस कुराले ज्ञानेन्द्र शाहको शैली सङ्केत त देखिएको छ । उनले जनमतलाई स्वीकार्ने बताएर रूपान्तरणको पाइलो पनि सारिसके । अब ज्ञानेन्द्र शाह एक्लै वा तिनका लोग्ने-स्वास्नी मात्रै फेरिएर पुग्दैन पारिवारिक जिम्मेवारीका हिसाबले । पञ्चायती निरङ्कुशतालाई मन पराउने ज्ञानेन्द्र शाहका सबै नजिकका मान्छे पनि गणतान्त्रिक नेपालमा फेरिन सक्नुपर्छ ।
ज्ञानेन्द्रको सहज बहिर्गमन भएपनि लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको शुरुवात हुन नपाउदै पहिलो गाँसमा ढुंगा लागेको छ । उनलाई लागेको आरोपको पुष्ट्याईसंगै कारवाही गर्न जरुरी पनि छ । अझैपनि मुलुकलाई पुरानै शैलीबाट डोर्याउने चाल रचिएको छ । अझैपनि सत्तामा रुमल्लिएर, क्षणिक आडम्बर मात्र देखाएर गरिमामय संविधानसभाको वैठक स्थगित भएको छ । यो सत्ता र भत्तामा अल्झिने बेला होइन । सत्ताको नाटक छिट्टै अन्त्य भएको र संविधान एवम् राष्ट्र निर्माण भएको जनताले हेर्न चाहिरहेका छन् । यतिबेला ज्ञानेन्द्रको बहिर्गमनले नेपाली जनताको मन पलाएको छ । कमलो मन भएका कोहि नेपाली त उनको विदाइमा रोएका पनि छन् । अनि उनकै अगाडि हामीलाई टुहुरो बनाएर जान पाइन्नसम्म भनिसके । यससंगै दलहरुको झिनाझम्टीले उनीहरुप्रति वितृष्णा जगाएको छ । एकपटक पदच्यूत भएपछि राजतन्त्र स्थापना भएका मुलुक पनि छन् । दलहरुको गैरजिम्मेवारीता कायम रहिराख्यो भने यस्तो अपवाद नेपालमा सिद्ध हुन पनि बेर मान्दैन । अनि ज्ञानेन्द्र फेरि नेपालमा तेश्रोपटक राजा भएर आउनेछन् । त्यसै रोजेका छैनन्, ज्ञानेन्द्रले नागार्जुन । दलहरुलाई चेतना भया ।