June 19, 2008

पूर्वराजा ज्ञानेन्द्रलाई पन्ध्र प्रश्न ?

Filed under: अतिथी

ज्ञानेन्द्रजी नमस्कार,
सर्वप्रथम जनताको अभिमतको सम्मान गर्दै नागरिक हुनुभएकोमा हार्दिक आभार छ । २९ जेठमा नारायणहिटी दरबार छाड्नुअघि तपाइर्ले पत्रकार सम्मेलन आयोजना गरेर वक्तव्य वाचन गर्दैगर्दा म माओवादीको जनयुद्धकालीन राजधानी थवाङ -रोल्पा) पुगेको थिएँ । झयार्रझयार्र गर्ने रेडियो तरंगका माध्यमबाट तपाईंको बोली सुनेँ । जनमतको कदर गर्दै शिष्टतापूर्वक श्रीपेच र राजदण्ड सरकारलाई बुझाएर संविधानसभाको पहिलो बैठकले तोकेको अवधिभित्रै नारायणहिटी छाड्ने तपाईंको निर्णय स्वागतयोग्य लाग्यो । यद्यपि, ०५८ जेठ १९ गते राति भएको रहस्यमय दरबार हत्याकाण्ड र सम्पत्तिबारे तपाईंको स्पष्टीकरणप्रति भने पटक्कै चित्त बुझेन । जनताका मनमा रहेका अनगिन्ती प्रश्नको वैज्ञानिक र तथ्य-प्रमाणपरक जवाफ दिनुको सट्टा शब्दमार्फत गोहीका आँसु झारेर जनताको सहानुभूति बटुल्ने जबर्जस्त प्रयास गरेजस्तो लाग्यो । तर, त्यसबारे आवश्यक बहस, चर्चा-परिचर्चा र टीकाटिप्पणी भएको छैन । त्यसैको यो पत्र लेखेको छु । आशा छ, नागरिकका नाताले भाइको जिज्ञासा मेट्नुहुनेछ । मेरा केही जिज्ञासा यस्ता छन् :

- दरबार हत्याकाण्डका दिन १९ जेठ ०५८ राति पारिवारिक बैठकमा तपाइंको अनुपस्थितिलाई तपाईंका नातेदार र दरबारका पूर्वकर्मचारीसमेतले रहस्यमय र शंकास्पद मानेका छन् । बैठकमा तपाईं कुन जरुरी कामले अनुपस्थित हुनुभयो ?

- हत्याकाण्डको भोलिपल्ट अचेत अवस्थामा राजा बनाइएका तपाइंका भतिजा दीपेन्द्र शाहको राज्य-सहायकको हैसियतले दिनुभएको वक्तव्यमा तपाइंले ‘स्वचालित हतियार पड्कन गई घटना हुन गएको’ भन्नुभएको थियो । तर, केही दिनपछिको नाटकीय पत्रकार सम्मेलनमा घटनाका प्रत्यक्षदर्शी भनिएका डा. राजीव शाहीले तपाईंको भनाइको खण्डन गर्दै दीपेन्द्रलाई दोषी ठहर्‍याए । यति ठूलो विरोधाभाष कसरी ? ‘स्वचालित हतियार पड्केको’ भन्ने तपाईंको भनाइ अपराधबोधले ग्रस्त र विचलित मानसिकताको उपज होइन भन्ने कुनै आधार छन् कि ? होइन भने आफैँ पड्कने स्वचालित हतियार जनताले अहिलेसम्म हेर्न किन पाएनन् ?

- तात्कालिक प्रधानन्यायाधीशको अध्यक्षतामा कथित् उच्चस्तरीय छानबिन आयोग गठन भइसकेपछि त्यसलाई निष्पक्ष छानबिनमा सहयोग गर्नुको सट्टा घटनाका प्रत्यक्षदर्शी भनिएका राजीव शाहीले प्रश्न गर्न नपाइने पत्रकार सम्मेलन गर्नुको औचित्य के थियो ? आयोगलाई मार्गनिर्देश होइन ?

- डा. राजीव शाहीले पत्रकार सम्मेलनमा ‘नसाले हिँड्नै नसक्ने अवस्थामा पुगेका युवराज दीपेन्द्रलाई आफूहरूले बोकेर खोपीमा पुर्‍याएको र उनैले मेसिनगन लिएर आई गोली चलाएको’ बताएका थिए । हिँड्नै नसक्ने अवस्थामा पुगेको व्यक्तिले मेसिनगन लिएर कसरी गोली चलाउन सम्भव भयो ?

- घाइतेलाई नजिकमा रहेको शिक्षण, वीरजस्ता सुविधासम्पन्न अस्पतालमा नलगी तेब्बर दूरीको सैनिक अस्पताल लैजाने बाध्यता किन पर्‍यो ?

- घटनालगत्तै दरबार पुगेका प्रधानमन्त्रीलाई तपाइंकी मुमाको निर्देशनमा सैनिकले केही घन्टा बन्धक बनाउनु र घटनाबारे गुमराहमा राख्नुको उद्देश्य के थियो ?

- छानबिन आयोगसँगको बयानमा तात्कालिक शाही अंगरक्षक गजेन्द्र बोहराले ‘युवराज दीपेन्द्र ढलिसक्दा पनि गोली चल्दै थियो’ भनेका छन् (हेर्नूस् पेज ५५) । दीपेन्द्र ढलिसकेपछि गोली चलाउने को थियो ?

- तपाईंका विश्वासपात्र र कथित उच्चस्तरीय छानबिन आयोगसमेतले ‘दसजनाको हत्या गरिसकेपछि दीपेन्द्रले आत्महत्या गरेको’ आशयको भनाइ सार्वजनिक गरेका छन् । तर, बोहराको बयानमा त ‘दीपेन्द्रको लास छेउमा हतियार थिएन, मैले देखिनँ भनिएको छ । आत्महत्या गरेको भए छेउमा हतियार हुनुपर्ने होइन ?

- अकाल मृत्यु भएका कसैको पनि पोस्टमार्टम नगर्नुको रहस्य के हो ?

- जेठ २२ मा आफू राजा भएलगत्तै तपाइर्ंका दाजु वीरेन्द्रको तस्बिर भएका नोट विस्थापन गरी हतार-हतार आपmनो तस्बिर भएको नोट प्रचलनमा ल्याउन लगाउने हतारो किन ?

- गत जेठ ३० गतेको वक्तव्यमा तपाइंले ‘घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकेका गोलीका टुक्रा अझै बाँकी रहेको’ उल्लेख गर्नुभएको छ । तर, कथित् उच्चस्तरीय छानबिन आयोगको बयानमा तपाईंका पुत्र पारसले त ‘मुमालाई केही नभएको, उहाँको टाउकोमा अधिराजकुमारी शान्तिकोे रगत लागेको’ बताएका छन् (हेर्नूस् पेज २६) । अहिले एक्कासि निकाल्नै नसकिने गोलीका टुक्रा कहाँबाट आयो ? कि त्यसपछि पनि राजदरबारमा गोली चल्यो ?

- गत वर्ष तपाईंले हत्याकाण्ड भएको त्रिभुवन सदन किन भत्काउन लगाउनुभयो ?

- राजदरबार हत्याकाण्डमा तपाइर्ं र तपाईका पुत्र पारस निर्दोष हुनुहुन्छ भने जनताका आशंकाको निरूपण हुनेगरी पुनः छानबिनका लागि सरकारसँग आग्रह किन गर्नुहुन्न ?

- दुनियाँलाई थाहा छ, तपाइंका हजुरबुबा त्रिभुवनले राणा प्रधानमन्त्रीबाट मागेर खर्च चलाउनुहुन्थ्यो । तर, उहाँका नाति तपाइं अनेकौं उद्योगमा लगानी गर्नसक्ने अकुत सम्पत्तिको मालिक कसरी हुनुभयो ? आपmनो सम्पत्तिको स्रोत देखाउन सक्नुहुन्छ ?

- तपाईंले विदेशमा सम्पत्ति नराखेको तथा राजपरिवारका कुनै पनि सदस्यहरूको सम्पत्ति नछिनेको तर्क गरेर पानीभित्रको ओभानो बन्ने प्रयास गर्नुभएको छ । तर, तपाईंकी छोरीका नाममा दर्ता भइसकेको भतिजी श्रुतीले दाइजोमा पाएको जग्गा र धीरेन्द्रको नाममा रहेको सेयर किन फिर्ता गर्नुभएको छैन ?

उही निर्विवेकी र निर्दयीमध्येको एक
कृष्ण अविरल
मेचीनगर-२, झापा

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/06/19/p375/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com