बेलायती सेनाको तलब वृद्धि हुने
बेलायतका प्रधानमन्त्री गोर्डेन ब्राउनले मुलकुको सेनालाई थप सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बिहीबार बताएका छन् । वरिष्ठ सैनिक कमान्डर जनरल रिचर्ड ड्यान्ननाटले बेलायती सेना अरु बढी तलबभत्ता पाउन योग्य भएको प्रतिक्रिया सार्वजनिक गरेपछि प्रधानमन्त्री ब्राउनले सो कुरा बताएका हुन् ।
यसअघि जनरल स्टाफ प्रमुख ड्यन्नाटको भनाइ उद्धृत गर्दै द सन पत्रिकाले बेलायती सैनिकको तलब ज्यादै न्यून भएकाले केहीलाई खानसमेत धौधौ परेको भन्ने समाचार प्रकाशमा ल्याएको थियो । उनका अनुसार प्रारम्भिक अवस्थामा वार्षिक १२ हजार सात सय ७२ पाउन्ड पाउने सैनिकहरुको तलब ट्राफिक प्रहरीको भन्दा कम छ । ट्राफिक प्रहरीलाई तलबस्वरुप वाषिर्क १७ हजार पाउन्ड प्रदान गरिँदै आएको छ ।
प्रधानमन्त्री ब्राउनले गत वर्ष सबैभन्दा कनिष्ठ तहका सिपाहीको तलब नौ प्रतिशत वृद्धि गरिएको र बासस्थान, स्वास्थ्य हेरचाह र शिक्षाको सुधारका लागि छिट्टै नयाँ प्रस्ताव ल्याइने जानकारी दिए । ‘स्थल, जल र हवाईसेनाका सदस्यले बहादुरीका साथ पुर्याएको योगदानको कदर गर्न हामी सत्तामा रहुन्जेल आउँदा वर्षहरुमा सक्दो काम गर्न प्रतिबद्ध छौं,’ ब्राउनले भने । जनरल ड्यान्नाटले इराक, अफगानिस्तान र अन्य मिसनमा खटाइएका सैनिकहरुले आफ्नो जीवनलाई दाउमा राखेर सेवा गर्दै आएको बताए ।
‘अहिलेको असुरक्षित विश्वमा सेनाले दिएको योगदन वास्तवमै सराह्रनीय छ र राष्ट्रिय सम्पत्तिको केही हिस्सा उनीहरुको हितमा खर्च गर्नु उचित हुन्छ,’ ड्यन्नाटले भने,’सेनाले इराक, अफगानिस्तान र अन्य स्थानमा गरिरहेका कामलाई म सम्मान गर्छु । ’