June 6, 2008

विद्यार्थी वर्वाद गर्ने शिक्षक !

सामान्यतया शिक्षकहरूको पढाउने काम हो । तर, बाँकेका एक शिक्षकले विद्यार्थीलाई पढाउने मात्र काम गरेनन्, आफ्नै एक छात्राका लागि कलम, कापी र ‘ड्रेस’समेत किनिदिए । फकाएर यौनसम्बन्ध राखे, त्यही बेला विद्यार्थीको नाङ्गो तस्बिर पनि खिचे । तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै तीन वर्षसम्म यौनशोषण पनि गरे । सप्तरी घर भई हाल बाँकेको गणेश मावि, ढकेरीमा कार्यरत जीवछप्रसाद यादवले आफ्नै विद्यार्थी माया (नाम परिवर्तन)सँग पहिलोपटक यौनसम्बन्ध राख्दा माया कक्षा ९ मा पढ्दै थिइन् । उनी त्यतिबेला १४ वर्षकी थिइन् । अहिले उनी उच्च माध्यमिक तहमा पढ्दै छिन् ।

यादवले पहिलो यौनसम्बन्धमै मायाको नाङ्गो तस्बिर खिचेका थिए । पहिलो यौनसम्बन्ध राख्दा उनले मायालाई फकाएका थिए, त्यसपछि सम्बन्ध राख्दा उनले फोटो देखाएर ‘ब्ल्याकमेल’ गर्दै आएको दाबी मायाको छ । मायाका अनुसार तिम्रो नाङ्गो फोटो लिन आऊ भन्दै एकान्तमा बोलाएर यौनशोषण गर्दै आएका थिए । एसएलसीको तयारी गरिरहेको बेलासमेत शिक्षक यादवले दबाब दिएर यौनशोषण गरेको दाबी छात्राको छ । शिक्षक यादवले छात्रासँग धेरैपटक यौनसम्बन्ध राखे, फोटो पनि धेरैपटक खिचे, कहिले मोबाइलबाट त कहिले क्यामराबाट । सबै फोटो संकलन गरेर उनले दुईवटा सिडी बनाएका छन् । तिनै सिडीको आधारमा उनले पटक-पटक यौनशोषण गरे ।

‘पहिले उसले फोटो खिच्यो, फोटो सार्वजनिक गरिदिन्छु भनेर पटक-पटक यौनसम्बन्ध राख्यो,’ मायाले भनिन् । यादवले अरूसँग बिहे नगर्न पनि मायालाई धम्की दिँदै पत्र पनि लेखेका थिए । ‘मैले चाहेको बेला भेट्नुपर्छ, अरूसँग बिहे गर्न पाइँदैन, गरिस् भने फोटो सार्वजनिक गरिदिन्छु भनेर धेरैपटक धम्क्यायो,’ उनले भनिन् । शिक्षक यादवको ज्यादतीविरुद्ध मायाले प्रहरीमा उजुरी हालेकी छिन् ।

यादवमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ अनुसार हदैसम्मको कारबाही माग गर्दै प्रहरीमा जाहेरी उजुरी परेको छ । मायाका वकिलले यादवले बनाएको दुई सिडी र धम्कीपूर्ण पत्रलाई प्रमाणको रूपमा पेस गरेका छन् । यादवले मायालाई पठाएको पत्रमा लेखिएको छ, ‘तिम्रो नाङ्गो फोटो र सिडी चक्का मसँग छ । लिन आउनू । अन्यथा सार्वजनिक गरिदिन्छु ।’

मायाको उजुरीका आधारमा शिक्षक यादव पक्राउ परेका छन् । जिल्ला सरकारी वकिल कार्यालय बाँकेका न्यायाधिवक्ता उमाकान्त पौडेलले पीडितले दिएको जाहेरी किटानीका आधारमा अभियुक्त यादवमाथि अनुसन्धान भइरहेको बताएका छन् । उता यादवले भने शारीरिक शोषण गरेको आरोप अस्वीकार गरेका छन् । ‘उनी मेरी विद्यार्थी हुन्, मैले कापी, कलम र ड्रेस किनिदिएको हुँ । तर, एउटा शिक्षकले आफ्नै विद्यार्थीसँग यौनसम्बन्ध राख्न सक्छ र? ’ उनले प्रतिप्रश्न गरे ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/06/06/p360/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com