हरिकृष्ण न्यौपाने
बिभिन्न म्यानपावर कम्पनि, स्वदेशी तथा बिदेशी दलाल अनि आफन्तमार्फत केहि बैधानिक र केहि अबैधानिक बाटो हुदैँ आ-आफ्नै तरिकाले राम्रो रोजगारीको आशा र धेरै पैसा कमाउने अनि आफ्नो परिवारको रेख-देख गर्ने प्रबल ईच्छहरु बोकेर आज ईराकमा दिन-प्रतिदिन नेपालीको संख्या बढ्नेक्रम जारी छ ।
यसै सिलसिलामा कोहि ईराक आएर त कोहि आउने क्रममै दुबई, कुवेत, जोर्डन, अफ़गानिस्तान, बहराइनमा अलपत्र परेको, कसैलाई काम उपलब्ध नगराएको, कसैलाई ३-४ महिनासम्म दलालीले झूटो आश्वाशन र धम्की दिएर थुनेर राखेको कुराहरु केहि समाचारहरुमा देख्न र सुन्न पाएपनि यसलाई नेपाल सरकार तथा सम्बन्धित संस्थाहरुले कुनै वास्ता नगर्नाले कम पारिश्रमिकमा धेरै घन्टा कामगर्नु त छँदैछ कोहि भने कोठामा थुनिएर दिन-दिनै परिवार र आफन्तलाई सम्झदै आफैलाई हतारमा नबुझिकन दलालीको फेला परेकोमा धिकार्ने गरेको यहाँ कार्यरत धेरै साथीहरुको अनुभब र बास्तबिकता हो ।
म २००५ मा ईराक आउंदा नेपालीहरु मुस्किलले देखिन्थ्यो तर आज एकै क्याम्पमा ५-६ हजारसम्म नेपाली रहेको देखिन्छ । ठूला-साना गरी करिब ६०-६५ ओटा अमेरिकन र मल्टिफोर्स क्याम्प रहेको ईराकमा हरेक क्याम्पमा बिभिन्न कम्पनि अन्तर्गत फरक-फरक कम्पनिमा फरक-फरक सुबिधा र पारिश्रमिकमा नेपालीहरु कार्यरत रहेको देख्न सकिन्छ । आज मैले यो लेखमार्फत केहि साथीहरूको सहयोग, अनुरोध र मैले देख्दै आएको र बास्तबमै नेपालीको भोगाईलाई बास्तबिक र स्थलगत अध्ययनको आधारमा तपाईहरुको अगाडि ल्याउदै छु । साथै रोजगारीको सुरक्षाको कारणले मैले ऊहाँहरूको नाम उल्लेख गरेको छैन । मैंले कामको हिसाबले बर्गिकरण गरेर निम्नअनुसार प्रस्तुत गरेको छु।
१. फूड सर्भिङ र फास्ट-फुड रेस्टुरेण्ट:- ग्रिनबिन्ज क्याफेमा करिब २०० भन्दा बढि नेपाली रहेको र पारिश्रमिक पनि राम्रो रहेको पाइएको छ भने बर्गर्किङ, पिज्जा हट, सिनबोन, ताकुबेलमा ईराक भरी १ हजार भन्दा बढि नेपाली रहेका छन । अनि पप्पैज, सबवेमा पनि निकै नेपालीहरु कार्यरत छन र यिनिहरु दुबै तलब र सुबिधाको हिसाबले मध्यम खालका हुन भने सबैभन्दा बढि नेपाली रहेको तामिमि, जिसिसि र एसएससी कम्पनि अन्तर्गत ईराकभरिको क्याम्पभित्रका आर्मी तथा सिभिलियनलाई डिफ्याक्टमार्फत २४ सै घन्टा खाना खुवाउने काममा ब्यस्त रहने नेपालीहरूको संख्या १०-१२ हजार रहेको र १४ घन्टाको काम तथा कम तलब र सुबिधा भएकोले कति नेपालीले त बिदेश आउदा धितो राखेको जग्गालाई आफ्नो बनाउन घटीमा ३-४ बर्ष बस्नुपर्ने देखिन्छ । अनकुन्डामा १ जना काभ्रे घर बताउने दाईले त उँबिदा-उँबिदा खुट्टा सुन्निएर बिमार परेको सुनाए । सुरक्षाको र कामको हिसाबले अलि सजिलो र सुरक्षित भए पनि तलब र सुबिधामा त्यति राम्रो छैन । यस अन्तर्गत कामगर्नेले मासिक ३५० डलरदेखि २००० डलरसम्म कमाएको देखिन्छ ।
२. सेक्यूरिटी गार्ड र कन्भे रक्षकहरु:- कामको हिसाबले निकै खतरनाक भए पनि धेरै पारिश्रमिक अनि सुबिधा भएको यस सेक्टरमा पनि धेरै नेपाली भेटिन्छन । भूपू ब्रिटिस, इन्डिएन, नेपाली पुलिस, आर्मीमात्र होइन सेक्यूरिटिमा अनुभब भएका दक्ष नेपालीहरू यसमा लागेका छन । कोहि कन्भे (रोडमा गुड्ने साधनको सुरक्षा) लिएर पुरै ईराक हिड्नुपर्छ भने कोहि एयरपोर्ट त कोहि टावर गार्डमा ब्यस्त नेपालीहरूलाई अमेरिकन, ब्रिटिस तथा बिभिन्न कम्पनिले आफ्नै खालको सुरक्षा र सुबिधा दिएका छन। एकजना सुनसरी घर बताउने र ईराकमा लामो समय सेक्यूरिटीमा कमान्डरको रूपमा कार्यरत दाईले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनेअनुसार घटीमा १३०० देखि ७००० डलरसम्म मासिक तलब लिएका छन रे ! खासै भरपर्दो डाटा नभए पनि करिब ४-५ हजार नेपाली यस फिल्डमा रहेको अनुमान उनले बताए ।
३. कस्टमर सर्भिस (सपिङ सेन्टर(BX/PX), पानी-लन्ड्रि सर्भिस, अरू लोजेस्टिक सामानहरु कुवेत, जोर्डन, जर्मनि, साउदीबाट सप्लाइगर्ने ):- आर्मीहरूको सबै सामान खरिद-बिक्रि गर्ने सपिङ सेन्टर (BX/PX) अनि लण्ड्रि तथा खानेपानीको सेवा गर्ने अनि अरू लोजेस्टिक सामानहरु कुवेत, जोर्डन, जर्मनी, साउदीबाट सप्लाइगर्ने काममा पनि नेपालीहरू धेरै रहेका छन । यस अन्तर्गत पिडब्लुसी, एफेस, अल्मुरल, पिपिआई, डिएचएल तथा कुवेत-साउदि तथा जोर्डन र जर्मनीबाट सामान सप्लाई गर्ने सप्लायर्स र अरु धेरै कम्पनि रहेका छन । तलब र सुबिधा राम्रो रहेको यस कम्पनिहरूमा धेरै नेपाली रहेका छन । सिन्धुपाल्चोक घर भएका मेरो एकजना साथीले बताएअनुसार पिडब्लुसिमा धेरै राम्रो सुबिधा छ तर सामानहरु ओसार-पसार गर्दा बाटोमा आइपर्ने समस्याले अलि चिन्तित गराएको छ तर "पैसा भनेको भिरमा हुन्छ" भन्ने बुढापाकाको ऊखानलाई सम्झनु परेको छ,उनले म संगको भेटमा भनेका थिए । यस फिल्डमा पनि करिब ५००० भन्दा बढि नेपाली रहेको उहाको अनुमन थियो । बार्बर सप-बिउटिपार्लरमा कामगर्नेले त धेरै कमाउने गरेका छन । काम अलि झन्झटिलो भएपनि कपाल काट्दा आउने टिप्सनै हाम्रो प्रमुख आम्दनी हो एकजना सर्लाहीका साथीले भन्नुभयो ।
४. क्याम्प सर्भिस, वेयर हाउस, क्याम्प भित्रका बसचालक, ट्वाइलेट क्लिन, अफिस ब्वाई, कन्स्ट्रक्सन, जिमहलमा कामगर्ने हरु:- क्याम्प सर्भिस, वेयर हाउस, क्याम्प भित्रका बसचालक, ट्वाइलेट क्लिन, अफिस ब्वाई, कन्स्ट्रक्सन, जिमहलमा कामगर्नेहरु तथा स्विमिङपुल र अरु मेन्टिनेन्टसमा कामगर्ने र जनरल लेबरका रुपमा यहाँ सबैभन्दा बढि नेपालीहरु भेटिएका छन । कुलाक, फस्ट कुवेती, पिपिआइ, पिरिल, बिभिन्न टुर्किस तथा कोरियन कम्पनिमा धेरै नेपालीहरु रहेका छन । खास कुनै सिपबिनाको कामदेखि लिएर कम्यूटर सफ्टवेर इन्जिनिएर, सिभिल इन्जिनिएर मात्र होइनन् बिभिन्न सीप भएका ब्यक्तिहरू यो काममा ब्यस्त रहेका छन । सायद ईराकमा सबैभन्दा धेरै नेपाली यसै फिल्डमा रहेका छन । किनकि बिशेष गरेर ईराकमा अदक्ष, अर्ददक्ष र कम शिक्षित नेपालीहरु धेरैं भएकाले पनि यस फिल्डमा निकै नेपालीहरु रहेका छन । खासै नेपाल सरकारले ईराक आउन कुनै बैधानिक स्वीक्रिति नदिएपनि कुवेत, दुबई, अफ़गानिस्तान, जोर्डन, बहराईन तथा अन्य माध्यमबाट दिनप्रतिदिन नेपालीकामदारहरु भित्रि रहेका छन । खासै आधिकारिक डाटाहरु नभएता पनि नेपाली महिला र पुरूषगरेर ४० हजारभन्दा बढिँ नेपालि रहेका छन । तर समग्रमा नेपाली हरूले खासै राम्रो पारिश्रमिक पाउनसकेका छैनन भने बेला-बेलामा घटनाहरू परेपनि मिडियामा आउन सकेका छैनन् भने घटना घटेपनि कम्पनिहरुले बाहिर ल्याउने गरेका छैनन्।
सिन्धुपाल्चोक, हाल अनकुण्डा बलाद ईराक