अन्तराष्ट्रिय समुदायद्वारा गणतन्त्र घोषणाको स्वागत
अन्तराष्ट्रिय समुदायले गणतन्त्र कार्यान्वयनको घोषणालाई स्वागत गर्दै वक्तव्य निकाल्ने क्रम जारी रहेको छ । आज संयुक्त राज्य अमेरिका र भारतले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेकोमा नेपाललाई वधाइ दिँदै गणतन्त्र घोषणाको स्वागत गरेका छन् ।
नेपालस्थित भारतीय राजदुतावासले वक्तव्य प्रकाशित गर्दै जनताले आफ्नो मतबाट नयां युगको प्रारम्भ गरेको भन्दै गणतन्त्र घोषणाको स्वागत गरेको छ । दूतावासले परिवर्तन नेपालको दिगो शान्ति र समृद्धिका लागि नयां आयाम बन्ने अपेक्षा गरेको वक्तव्यमा उल्लेख गरेको छ ।
त्यसैगरी, अमेरिकाले गणतन्त्र घोषणा नेपाली जनताको चाहना बमोजिम भएको भन्दै स्वागत गरेको छ । अमेरिकी राजदूतावासले प्रेस विज्ञप्तिमार्फत गणतन्त्रको घोषणा नेपालको लोकतन्त्रको विकासमा उत्साहजनक कोशेढुङ्गा भएको उल्लेख गरेको छ । दूतावासले नेपाली जनतालाई बधाई समेत दिएको छ ।
यसैगरी संयुक्त राष्ट्रसंघले हिजो राती नै गणतन्त्र घोषणाको स्वागत गरिसकेको छ । महासचिव वाङ कि मुनले विज्ञप्तिमार्फत नेपाली जनताको मतबाट प्रकट भएको राजनीतिक प्रणालीको स्वागत गर्दै नेपाली जनतालाई बधाई दिनुभएको थियो ।