एमाले महाधिवेशन मंसिर १ गते
एमालेको आठौं महाधिवेशन आउँदो मंसिर १ देखि ५ सम्म काठमाडौंमा हुने भएको छ । एमालेका नवनियुक्त महासचिव झलनाथ खनालको अध्यक्षतामा जेठ ५ बसेको एमाले केन्द्रीय कमिटीको १९ औं बैठकले यो निर्णय गरेको हो । बैठकमा खनालले अहिलेको कार्यनीति, कार्यभार तथा कार्यबिभाजन नामको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खनालको प्रतिवेदन पारित गरेर बैठक आजै सकिने सम्भावना रहेको श्रोतले बतायो ।
एमाले बैठकले केही महत्वपूर्ण कार्यबिभाजनसमेत गरेको छ । श्रोतका अनुसार, बैठकले एमालेको सचिवालय सचिवमा स्थायी समिति सदस्य युवराज ज्ञवाली, संसदीय बिभाग प्रमुखमा बिष्णु पैडेल, प्रचार प्रमुखमा इश्वर पोखरेल, संगठन प्रमुखमा अमृतकुमार बोहोरा, बिदेश बिभाग प्रमुखमा माधवकुमार नेपाल, पार्टी स्कुल बिभाग प्रमुखमा केपी ओलीलाई चयन गरेको छ । यसैगरी, काठमाडौं उपत्यका इन्चार्जमा राजेन्द्र श्रेष्ठ, निर्वाचन समिक्षा कार्यदल प्रमुखमा अशोक राई, राज्य पुनर्संरचना कार्यदल प्रमुखमा बामदेव गौतम, आर्थिक सामाजिक रुपान्तरण कार्यदल प्रमुखमा केशव बडाल र संविधानसम्बन्धि कार्यदल प्रमुखमा भरतमोहन अधिकारीलाई बैठकले चयन गरेको श्रोतले बतायो ।