म्यानमारमा भीषण आँधी,२२ हजारको मृत्यु
आँधीले गर्दा म्यानमारमा कम्तीमा २२ हजार व्यक्तिको मृत्यु भएको छ । आँधीमा परेर ३० हजार व्यक्ति हराइरहेको अधिकारीले मंगलबार जनाएका छन् । तर, आँधीबाट नराम्ररी प्रभावित ४७ सहरी इलाकामा बाहेक म्यानमारका बाँकी भागमा पूर्व घोषणाअनुरूप नयाँ संविधानमाथिको जनमतसंग्रह यसै सप्ताहान्तमा गरिने बताइएको छ । आँधी प्रभावित क्षेत्रमा भने २४ मेमा जनमतसंग्रह गरिनेछ ।
प्रतिघन्टा एक सय ९० किलोमिटर गति र १२ फिट उचाइको यस आँधीले गर्दा लाखौं मानिस घरवारविहीन भएको संयुक्तराष्ट्र संघका अधिकारीले जनाएका छन् । यो विनाशकारी आँधीले निम्त्याएको क्षतिका कारण कूटनीतिक रूपमा विश्वबाट अलग रहेको सैनिक शासनले समेत बाहिरी सहयोग स्विकार्ने संकेत दिएको छ । जब कि २००४ मा आएको सुनामीपश्चात् म्यानमारका जनरलले बाहिरी सहयोगलाई अस्वीकार गर्दै आएका थिए । अहिले उनीहरूले वैदेशिक सहयोगका लागि हात अगाडि बढाएका छन ।
याङ्गुनस्थित युरोपेली संघका दातृअधिकारी बर्नार्ड डेलपुचले सैनिक शासनले आँधी प्रभावित क्षेत्रमा तीन जहाज खाद्यान्न पठाएको जनाएका छन् । यस विपत्तिको सामना गर्न नसके र जनतालाई पर्याप्त राहत उपलब्ध गराउन नसके आफ्नो मार्गमा आउने कुनै पनि चुनौतीसँग जुध्ने सामथ्र्य आफूमा भएको घमण्ड गर्ने सैनिक शासनले ठूलै राजनीतिक मूल्य चुकाउनुपर्ने बताइएको छ ।
‘आफूहरू चुनौतीविरुद्ध पूर्णरूपमा तम्तयार रहेको जुन मिथक सैनिक शासकले पेस गरेका थिए, त्यो पूर्णतः चकनाचुर भएको छ,’ राजनीतिक विश्लेषक अङ नाइङ ओ बताउँछन् । उनी १९८८ को विद्रोहलाई निर्दयतापूर्वक दबाइएपछि थाइल्यान्डमा भागेका थिए । ‘यसले दीर्घकालीन रूपमा व्यापक राजनीतिक असर पार्नेछ ।’