वुढेस कालमा पनि प्रेम खोज्ने यो चाला !
प्रेममा फस्न उमेरले छेक्दैन । रिटायर्ड भइसकेका योजी कावामुराले ६५ वर्षे उमेरमा यो कुरा चाल पाए । आफ्नो पार्टटाइम काम, फोटोग्राफीको नयाँ सोख र कम्प्युटर दिन काट्नका लागि पर्याप्त थिएनन् ।
पूर्व ट्याक्सी ड्राइभर कावामुराको २६ वर्षअगाडि सम्बन्धविच्छेद भएको थियो । गत वर्षको जुलाईदेखि उनी अमेरिकास्थित अनलाइन डेटिङ सर्भिस ‘म्याच डट कम’ को साइटमा दर्ता भएका छन् । ‘अहिले मेरो क्षितिज फराकिलो भएको छ । मेरो जीवन रमाइलो भएको छ किनभने म साथीभाइ बनाउन सक्छु,’ कावामुरा भन्छन् । एकैसाथ उनी अहिले तीन महिलासित डेटिङमा व्यस्त छन् । दुई महिला उनीभन्दा नौवर्ष कान्छी छन् भने अर्की महिला ६२ वर्षकी छिन् ।
२००४ देखि म्याच डट कमले जापानमा व्यवसाय सुरु गरेको हो । आठ लाख ४० हजार सदस्य रहेको दाबी म्याच डट कमको रहेको छ । यसका ५० प्रतिशतभन्दा बढी सदस्यहरू ३० देखि ३९ उमेरका छन् भने ५० वर्ष काटिसकेका ९ प्रतिशत जापानी नागरिक सदस्य रहेका छन् । ‘५० वर्ष नाघिसकेकाले प्रेमका कुरा गर्नुहुँदैन भन्ने धारणा समाज व्याप्तमा थियो,’ म्याच डट कमका जापान अफिसका अध्यक्ष्ा काटसुकी कुवानोले भने । ‘तर आजभोलि ५० वर्ष काटेकाहरूले पनि प्रेम र बिहेका कुरा गर्नु सामान्य मानिन थालिएको छ,’ उनी भन्छन् ।
बुढ्यौली जनसंख्या वृद्धिका कारणले गर्दा पनि बुढेसकालको प्रेम र बिहेको सम्बन्धमा परिवर्तन भएको हो । प्रत्येक पाँच जापानी नागरिकमध्ये एक नागरिक ६५ वर्ष काटेको भएको बताइएको छ । यो शताब्दीको मध्यतिर यो प्रतिशत दोब्बर हुने अनुमान गरिएको छ । इन्टरनेट प्रयोगकर्ताको संख्या बढेका कारणले गर्दा पनि अनलाइनमा प्रेम खोज्ने बुढ्यौली लागेका मानिसहरू प्रशस्त छन् ।
‘सम्बन्धविच्छेदका घटना बढेकाले धेरै मानिस आजभोलि दोस्रो बिहे सजिलै स्वीकार गर्छन्,’ टोकियोमा रहेको सोफिया विश्वविद्यालयका समाजशास्त्रका प्रोफेसर जेम्स फरेर भन्छन् । ‘यस्ता कुराले मिडियामा स्थान पाएको देख्दा सांस्कृतिक परिवर्तन भएको भान हुन्छ । बुढेसकाल लागेका मानिसहरू पनि कामुक हुन्छन् । र, उनीहरूले प्रेमका कुरा गर्नु सामान्य मान्न थालिएको छ,’ उनी भन्छन् । आफ्ना बूढाबूढी भएका बाबुआमालाई पुनः बिहे गर्न छोराछोरीले समेत प्रोत्साहन गर्न थालेका छन् ।
‘मानिसहरू धेरै बाँच्न थालेका छन् । प्रायः परिवार सानो हुन थालेको छ । वयस्क छोराछोरी आफ्ना बाबुआमाले कोही साथी खोजून् भन्ने चाहन्छन् । बाबुआमाले कोही साथी खोजे आफूले उनीहरूका बारेमा धेरै पीर नलिनुपर्ने धारणा छोराछोरीको छ,’ फेरर भन्छन् ।
परिवर्तित मान्यताका कारण नै वृद्ध जापानीलाई प्रेम गर्न सजिलो भएको अन्य म्याचमेकिङ साइटहरू स्वीकार गर्छन् । ‘२० देखि ३० वर्ष उमेरका युवायुवती आफ्नो खुशी खोज्नुलाई महत्त्वपूर्ण ठान्छन् । यसैगरी, बाबुआमाका लागि पनि खुसी खोज्नु त्यतिकै महत्त्वपूर्ण भएको उनीहरूले बुझ्न थालेका छन्,’ अनलाइन म्यारिज कन्सलटेन्सी ‘सिनियर लभ’ का अध्यक्ष्ा जुनिची इकेदा भन्छन् । ९० वर्षका एक वृद्धले आफ्नो सेवा लिएको उनी बताउँछन् । तर, अझै पनि मानिस अनलाइन प्रेमप्रति निश्चिन्त हुन सकेका छैनन् । ‘मैले अहिलेसम्म मेरा छोराछोरीलाई अनलाइन डेटिङका बारेमा बताएको छैन । मेरो विचारमा अनलाइनबाट साथी खोज्नुभन्दा प्राकृतिक रूपमा भेट्नु नै राम्रो हो,’ ५२ वषर्ीया नायोमी भन्छिन् । म्याच डट कममा उनी फेब्रुअरीदेखि दर्ता भएकी हुन् । ‘यो विचार पुरानो जमानाको जस्तो लाग्न सक्छ । तर, अनलाइन डेटिङ साइटको छवि राम्रो छैन,’ नायोमी भन्छिन् । म्याच डट कमका सर्वेक्षणअनुसार जापानी महिला र पुरुषले आफ्नो पार्टनरमा हुनपर्ने गुणमा मिल्ने विचारलाई एक नम्बरमा राखेका छन् । पुरुषहरूले समान व्यक्तित्वलाई दुई नम्बरमा राखेका छन् भने महिलाहरूले कमाइलाई । महिलाहरूले काम र कमाइका बारेमा धेरै चासो दिएर सोध्ने भएकाले केही समयका लागि कावामुरा म्याच डट कमबाट बाहिरिएका थिए ।
‘म जहिले-जहिले इमेल पठाउँथेँ, उनीहरू मेरो कामका बारेमा प्रश्न सोध्थे । तर, मेरो कामलाई जापानमा तल्लो दर्जाको मानिन्छ,’ कावामुरा भन्छन् । तर, अहिले उनी अनलाइनमार्फत भेटिएकी एक मित्रसँग नजिकिएका छन् । तर, सम्बन्ध गाँस्न आफूले हतारो नगर्ने बताउँछन् । एकअर्कालाई चिन्न समय लगाउने सुरमा छन् उनी । ‘सबैभन्दा आधारभूत कुरा भनेको इमानदारीपूर्वक धैर्य गर्नु हो,’ उनी भन्छन् ।