राजालाइ दरवार छाड्न सन्देश पठाइएको माओवादी खुलासा
नेकपा माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले राजालाई नारायणहिटी छाड्न सन्देश पठाइसकिएको खुलासा गर्नुभएको छ । १८ वैशाखमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उहांले सन्देशलाई बेवास्ता गरिए कडा कदम चाल्ने चेतावनी दिनुभयो ।
‘नारायणहिटी छाड्न भन्दै एक हप्ता अघिनै सन्देश पठाएका छौं,’ गजुरेलले चेतावनी दिदै भन्नुभयो,’अटेर गरे अन्य प्रक्रिया अपनाएर भएपनि छाड्न लगाइनेछ ।’ राजालाई जतिसक्दो छिटो बिदाई गर्न आफूहरु सक्रिय भएर लागेको बताउनुभयो ।
साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले सशस्त्र संर्घष्ा गर्ने कट्टर हिन्दुवादीको चेतावनी हास्यास्पद भएको बताउनुभयो । उहांले भन्नुभयो,’जोगीहरुले चिम्टा र त्रिशुल लिएर आउंछु भनेर धम्क्याउदैमा कोही पनि तर्सनेवाला छैन ।’ आफूहरुले हिन्दुवादीको सशस्त्र संघर्ष गर्ने चेतावनीलाई हल्का ढंगबाट लिएको बताउनुभयो ।
नेपाल र भारत सम्बन्धबारे हालै सम्पन्न पटना सम्मेलनका सहभागीसमेत रहनुभएका गजुरेलले १९५० को नेपाल भारत सन्धी खारेज गरी नयां सन्धी गर्नुपर्ने बताउनुभयो । छिमेकी मुलुकसंग समदूरीको सम्बन्ध स्थापित गर्ने स्पष्ट नीति प्रष्ट पारेको उहांको भनाई थियो । नयां परिवेशमा दुइ मुलुकको सम्बन्धलाई आर्थिक लाभमा उपयोग गर्नुपर्नेमा उहांको जोड थियो ।
पटना सम्मेलनका सहभागी नेकपा एमालेका विदेश विभाग सदस्य राजन भट्टर्राईले नेपाल भारतबीचको १९५० को सन्धीको साटो नयां सन्धी निर्माणको आवश्यकता औल्याउनुभयो । राजनीतिक नारामा मात्र सिमित नराखी तत्काल नयां सन्धी गरेर कार्यान्वयन हुने अवस्था तयार गनुपर्नेमा जोड दिनुभयो । उहांले भन्नुभयो,’राष्ट्रिय हितका लागि दलहरुबीच सहमतिको विकास गर्ने बेला आएको छ ।’ दलहरु एक भएर नेपाल भारत सम्बन्ध विकासका लागि थाती रहेको विषयहरु उठाउनुपर्ने बताउनुभयो । नयां सन्धी गरेर नेपालले आर्थिक समृद्धि हासिल गर्ने अवस्था सृजना गर्न उहांको जोड थियो ।