May 30, 2008

गिरिजाप्रसादलाई राष्ट्रपति दिन सकिदैन: प्रचण्ड

 

 
  दलहरुबीच कुरा मिलेकै हो ?
 

गिरिजाबाबुले पहिलोपटक औपचारिक रुपले ठूलो दलका हैसियतले सरकार बनाउन तपाईं पहल गर्नुहोस् भन्नुभयो । उहांले सबैका अगाडि अन्यौल हट्ने गरी बोल्नुभयो । अब माओवादीको नेतृत्वमा सरकार बन्नेमा कुनै अन्यौल बांकी रहेन । त्यसअर्थमा सबै कुरा मिलेको छ । तर सहमतिका विषयमा छलफल गर्न बांकी छ ।

 
  सहमति बनाउदा राष्ट्रपति र प्रधानमन्त्री को को हुने ?
 

अहिलेको अन्तरिम संविधानमा उल्लेख भएको व्यवस्थालाई नै निरन्तरता दिनुपर्छ । कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीकै व्यवस्थामा अडिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो स्पष्ट नीति छ । तत्कालका लागि राष्ट्राध्यक्षको भूमिका पनि प्रधानमन्त्रीलेनै खेल्ने गरी गणतन्त्र कार्यान्वयन गर्नका लागि अगाडि बढ्नुपर्छ । नयां संविधान नबन्दासम्म कार्यवाहक राष्ट्रपतिको भूमिका पनि प्रधानमन्त्रीले खेल्ने व्यवस्था रहदा सजिलो हुन्छ भनेका छौं ।

 
  तपाईंहरुको एजेण्डालाई कांग्रेस र एमाले सहमत भएका छन् ?
 

छलफल शुरु भइसकेको छ । मलाई लाग्छ यही आइतबार हामी एउटा टुंगोमा पुग्छौं ।

 
  राष्ट्रप्रमुख र प्रधानमन्त्री तपाईंनै हो ?
 

हाम्रो पार्टीको निर्णय नै यही छ । राष्ट्रप्रमुख र प्रधानमन्त्री एउटै व्यक्तिले संचालन गर्ने निर्णय बनेको छ । पार्टीका साथीहरुले मलाई अगाडि सार्नुभएको छ ।

 
  गिरिजाप्रसाद कोइरालालाई कुन भूमिका दिनुहुन्छ ?
 

गिरिजाप्रसाद कोइरालाको दलसंग पनि कुरा गरें । उहांलाई सम्मानित गर्न, उहांको संरक्षकत्वलाई कायम राख्न, सक्रिय पनि राख्नका लागि समग्र एलाइन्स बनाएर त्यसको प्रमुखका रुपमा भूमिका खेल्दिनुहोस् भने । संविधानमै आवश्यक व्यवस्था गरी दलहरुको एलाइन्सको प्रमुखको जिम्मवारी गिरिजाप्रसादलाई राखौं भनें । गिरिजाप्रसादको सक्रियता, सम्मान र संरक्षकत्व आवश्यक छ ।

 
  गिरिजाप्रसादलाई राष्ट्रपति दिनुहुन्न ?
 

प्रधानमन्त्री नै कार्यवाहक राष्ट्राध्यक्ष रहने भएपछि अहिले राष्ट्रपतिको कुरै नगरौं । शान्ति प्रक्रियामा गिरिजाप्रसादले खेल्नुभएको भूमिकाको हामी उच्च मूल्यांकन गर्र्छौं । अहिले राष्ट्रपति दिन सकिदैन ।

 
  गिरिजाप्रसादको कामको मूल्यांकन कसरी गर्नुभएको छ ?
 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा १२ बुंदे सहमति देखि शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउने देखि संविधानसभा निर्वाचन सफल बनाउन उहांले महत्वपूण् भूमिका निर्वाह गर्नुभएको छ । हामी त्यसको उच्च मूल्यांकन गर्र्छौं । उहांले स्टेट्स्म्यानशिप देखाउनुभएको छ । हामी त्यसको प्रशंशा गर्र्छौं ।

 
  कांग्रेस र एमाले सरकारमा सहभागी हुन्छन् ?
 

कांग्रेस र एमाले सरकारमा आउनेछन् र आउनुपर्छ । त्यसको कुनै विकल्प छैन ।

 
  कांग्रेस र एमाले किन सरकारमा आउनुपर्छ ?
 

कांग्रेस र एमाले सरकारमा नआए संविधान लेख्ने कुरा सहज हुदैन । त्यसले सरकार गठन प्रक्रियालाई पनि सहज हुन दिदैन । संविधान लेख्न र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने प्रमुख लक्ष्य पूरा गर्नका लागि उहांहरु सरकारमा आउनुपर्छ ।

 
  कांग्रेस र एमालेले उठाएको संविधान संशोधनमा तपाईं सहमत हुनुहुन्छ ?
 

अहिले संविधान संशोधन गर्दा धेरै समस्या आउनसक्छ । हाम्रो आग्रह छ कि यही संविधानलाई टेकेर नयां सरकार बनाऊ र गणतन्त्र कार्यान्वयनमा अगाडि बढौं । हामी सहमति र सहकार्यको संस्कृतिको विकास गर्न यही संविधानबाटै टेक्न आग्रह गर्र्छौं । संविधान संशोधनको पक्षमा छैनौं । तर सहमति अपरिहार्य छ ।

 
  राजालाई कसरी बिदाई गर्नुहुन्छ ?
 

बिदाईमा सैद्धान्तिक सहमति जुटिसकेको छ । विधि र प्रक्रियाबारे करिब करिब टुंगोमा पुगेका छौं । हामी चाहन्छौं कि सहज निकासको वातावरण बनोस् । त्यसले भोलिसम्मका लागि राम्रो राष्ट्रिय एकता बनाएर अगाडि बढ्ने अवस्था सृजना होस् । देशको समृद्धिका लागि वातावरण बन्नेगरी पाइला चाल्नुपर्छ भन्ने हाम्रो चाहना छ ।

 
  राजाले नारयणहिटी छाड्लान् ?
 

नारायणहिटी छाड्नुको विकल्प छैन ।

 
  नारायहिटी छाडेनन् भने के हुन्छ ?
 

मैंले त्यतातर्फसोचेको छैन । त्यतातिर सोच्नुपर्ने आवश्यकता समेत छैन । राजाले दरबार छाड्छन् भन्नेमा म विश्वस्त छु ।

 
  तपाईंले राजाका ज्वाईं राजबहादुर सिंहलाई भेट्नुभएको हो ?
 

त्यो समाचार पूरा गलत र कपोकल्पित हो । मैंले भेटेको छैन ।

 
  राजालाई केही सन्देश पठाउनुभएको हो ?
 

मैंले सन्देश त र्सार्वजनिक रुपमा पठाएकै छु । राजाका नजिक भन्ने मान्छेमार्फ् पनि सन्देश पठाएको छु ।

अन्तराष्ट्रिय समुदायद्वारा गणतन्त्र घोषणाको स्वागत

अन्तराष्ट्रिय समुदायले गणतन्त्र कार्यान्वयनको घोषणालाई स्वागत गर्दै वक्तव्य निकाल्ने क्रम जारी रहेको छ । आज संयुक्त राज्य अमेरिका र भारतले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेकोमा नेपाललाई वधाइ दिँदै गणतन्त्र घोषणाको स्वागत गरेका छन् ।

नेपालस्थित भारतीय राजदुतावासले वक्तव्य प्रकाशित गर्दै जनताले आफ्नो मतबाट नयां युगको प्रारम्भ गरेको भन्दै गणतन्त्र घोषणाको स्वागत गरेको छ । दूतावासले परिवर्तन नेपालको दिगो शान्ति र समृद्धिका लागि नयां आयाम बन्ने अपेक्षा गरेको वक्तव्यमा उल्लेख गरेको छ ।

त्यसैगरी, अमेरिकाले गणतन्त्र घोषणा नेपाली जनताको चाहना बमोजिम भएको भन्दै स्वागत गरेको छ । अमेरिकी राजदूतावासले प्रेस विज्ञप्तिमार्फत गणतन्त्रको घोषणा नेपालको लोकतन्त्रको विकासमा उत्साहजनक कोशेढुङ्गा भएको उल्लेख गरेको छ । दूतावासले नेपाली जनतालाई बधाई समेत दिएको छ ।

यसैगरी संयुक्त राष्ट्रसंघले हिजो राती नै गणतन्त्र घोषणाको स्वागत गरिसकेको छ । महासचिव वाङ कि मुनले विज्ञप्तिमार्फत नेपाली जनताको मतबाट प्रकट भएको राजनीतिक प्रणालीको स्वागत गर्दै नेपाली जनतालाई बधाई दिनुभएको थियो ।

नारायणहिटीबाट राजाको झण्डा हटाइयो

गणतन्त्र कार्यान्वयनको निर्णय भएको १२ घण्टा नबित्दै नारायणहिटी दरबारबाट राजाको झण्डा हटाइएको छ । अहिले भर्खरै त्यहाँबाट झण्डा हटाइएको हो । अब त्यहाँ गणतन्त्र नेपालको राष्ट्रिय झण्डा फहराइने छ । पूर्व राजा ज्ञानेन्द्रले सजिलै दरबार छाड्लान् कि नछाड्लान् भन्ने आशंका भइरहेको बेला राजाको झण्डा हटाइएको हो ।

यसैबीच, अहिले केहीबेरपछि मन्त्रीपरिषदको बैठक बसी गणतन्त्रको कार्यान्वयन सम्बन्धी केही प्रस्ताव पारित गर्ने तयारी भइरहेको छ । समाचारस्रोतका अनुसार नारायणहिटीमा राष्ट्रिय झण्डा फहराएर त्यहाँ एकाउन्न तोपको सलामी दिने र उक्त समारोहमा को-को उपस्थित हुने भन्ने सम्बन्धमा समेत मन्त्रीपरिषदमा छलफल हुने मन्त्रीपरिषदस्रोतले बताएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले कोमलसहित नारायणहिटी छाडे

नेपाल सरकारको दरवार छाड्न पन्ध्रदिनको म्यादसहितको चिठी ज्ञानेन्द्र शाहको हातमा नपर्दै हिजो राती पौने एक बजे ज्ञानेन्द्र शाहले कोमलसहित नारायणहिटी छाडेका छन् ।

उनी पौने एक बजे ट्रक र भ्यानहरुमा सामान लोड गरेर गाडीको लस्करसहित नारायणहिटी छाडी निर्मल निवासमा गएका हुन् । उनको साथमा नारायणहिटीमा रहेका परिवारका अन्य सदस्य को-को गएका छन् भन्ने नखुले पनि ज्ञानेन्द्र शाह र कोमल भने हिजै निर्मल निवास प्रवेश गरेका हुन् । उनले आधा दर्जनभन्दा बढी ट्रकहरुमा सामान लोड गरेर सँगै थुप्रै निजी गाडीहरुका लस्करसहित नारायणहिटी छाडेका हुन् ।

संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको निर्णय गरेपछि ज्ञानेन्द्र शाह आफैले राजतन्त्रको प्रतीक झण्डा हटाउन लगाएका थिए । हिजो दिनभरी राष्ट्रिय झण्डा नारायणहिटीमा फहराउन सरकारमाथि चर्को नागरिक दवाव परेपछि साँझ ज्ञानेन्द्र शाह आफैले राष्ट्रिय झण्डा फहराउन लगाएका थिए ।

सरकारले पन्ध्रदिनभित्र नारायणहिटी छाड्न चिठी लेख्नुअगावै उनले मध्यराती नारायणहिटी छाडेका हुन् । यस सम्बन्धमा सरकार र ज्ञानेन्द्र शाहको आधिकारिक टिप्पणी सार्वजनिक भएको छैन ।

May 28, 2008

आज देखि नेपाल गणराज्य

२ सय ४० बर्षो शाहवंसिय राजतन्त्रको विधिवत अन्त्य गर्दै आज देखि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलकु हुने भएको छ । आज बस्ने संविधानसभाको पहिलो वैठकले सरकारले पेश गरेको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपाल गणतन्त्रात्मक मुलुक हुनेछ । संविधानसभाको पहिलो बैठक आज विहान ११ बजे काठमाण्डुको नयाँ बानेश्वरमा रहेको अन्त्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दैछ ।

संविधानसभाबाट निर्वाचत सबै २५ दलको हिजो राति अबेरसम्म बसेको बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पेशका लागि मन्त्रिपरिषदलाई सहमति दिइसकेको छ । अहिले बस्ने मन्त्रिपरिषदको बैठकले दलहरुको प्रस्तावलाई अनुमोदन गरेपछि नेपाल सरकारका तर्फाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको पहिलो वैठकमा प्रस्ताव पेश गर्नुहुनेछ । मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुनै लागेको स्वास्थ्यमन्त्री गिरिराजमणी पाखरेलले जानकारी दिनुभयो ।

जेष्ठ सदस्यका हैसियतले कांग्रेसका सभासद कूलबहादुर गुरुङको अध्यक्षतामा बस्ने वैठकमा गणतन्त्र कार्यान्यनसँगै अन्तरिम कार्यविधि पारित गरेपछि वैठक अगाडि बढ्नेछ । गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारितसँगै राजालाई नारायणहिटी छोड्न १५ दिनको समय तोकेर औपचारिक पत्र पठाइने एमाले महासचिव झलनाथ खनालले जानकारी दिनुभयो । महासचिव खनालका अनुसार आजैदेखि राजाका हैसियतले राजा ज्ञानेन्द्रले पाएका सबै अधिकार कटौती गरी नारायणहिटीलाई संग्रहालय बनाउने प्रक्रिया शुरु गरिनेछ ।

आज बस्ने संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि मुलुकमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री राख्न दलहरु सहमत भइसकेका छन् । तर उनीहरुको अधिकारका बारेमा टुङ्गो लागाउन तीन दलका शर्ष्ा नेताहरुबीच पनि प्रधानमन्त्री निवास वालुवाटारमा छलफल शुरु भएको छ ।

 तीन दलको छलफलपछि राष्ट्रपति र कार्यकारी अधिकार सहितको प्रधानमन्त्रीको अधिकार बाँडफाड गरिनेछ । त्यस्तै दलहरुको बैठकले २६ जना सभासद् मनोनयनको टुङ्गो लगाएर मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रीपरिषदले मनोनयन गरेपछि ती २६ जनालाई संविधानसभाको वैठक शुरु हुनुअगाडि नै सपथ खुवाइने सभामुख सुवास नेम्वाङले जानकारी दिनुभयो ।

संविधानसभा बैठक शुरु

संविधानसभा बैठक शुरु भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सभास्थल वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुगेपछि बैठक शुरु भएको हो ।

यसअघि विहान ११ बजे शुरु हुने भनिएको बैठक गणतन्त्र कार्यान्वयनको घोषणाका क्रममा राष्ट्रपतिको अधिकारबारे सहमति जुट्न ढिलाई भएकाले सांझ मात्र शुरु भएको हो ।

बैठकमा सहभागी हुन सभासदहरु यसअघिनै सम्मेलनस्थल पुगेका थिए । कूटनीतिक नियोगका प्रमुख, विभिन्न दलका नेताहरु पनि सम्मेलनस्थलमा रहेका छन् ।

‘मस्ट वान्टेड’ बबन सिंहले शपथ लिए

 नेपाल प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेर पनि स्वतन्त्र उम्मेदवारकारुपमा संविधानसभा निर्वाचनमा अप्रत्याशित जित हासिल गरेर चर्चित बनेका बबन सिंहले मंगलबार कसैले पत्तै नपाउने गरी प्रहरीको कडा सुरक्षाघेरा पार गर्दै शपथ लिएका छन् ।

पौने ३ बजे सुरु भएको शपथ कार्यक्रम सुरु हुनैलाग्दा ट्याक्सीबाट ओर्ली परिचयपत्र देखाए आफू सम्मेलन केन्द्र छिरेको उनले बताएका छन । शपथ सकिनाबित्तिकै बाहिर निस्केको र एउटा पान खाएर फ़ेरि बाटो लागेको पनि उनले खुलासा गरेका छन् ।

फरार अवस्थामै चुनाव लडेका रौतहटको ब्रह्मपुरी-१ का सिंह हालसम्म सार्वजनिक भएका छैनन् । निर्वाचनमा विजयी भएको प्रमाणपत्र पनि उनका आफन्तले लगिदिएका थिए । राजधानीमा गत भदौ १६ गते भएको मानवताविरोधी बम विस्फोट, रौतहटको ब्रह्मपुरीमा भएको दलितको हत्याकाण्ड तथा गत चैत्र ७ गते गौरमा भएको नरसंहार घटनामा सिंह मुछिएका छन् । तर उनी भने आफूले कुनै अपराध नगरेको सरकारले जबर्जस्ती अभियोग लगाएको दाबी गर्छन् ।

जनमतबाट विजयी भए पनि प्रहरीले खोजी गरिरहेकाले सार्वजनिक हुन नसकेको सिंहले बताउंदै आएका छन । बबनले सदभावना महतोका अजय गुप्तालाई पराजित गर्दै ९ हजार २ सय १ मत प्राप्त गरी सभासदमा विजयी भएका हुन् ।

गणतन्त्र कार्यान्वयनको लागि देशभर प्रदर्शन

Filed under: सरोकार

गणतन्त्र कार्यान्यनको लगि दवाब दिन आज देश भर सर्बसाधासरणले प्रदर्शन गरेका छन् । यसैगरी नागरिक समाजको अगुवाइमा आज विहान वसन्तपुरवाट दबाब र्‍याली निस्किएको छ । हजारौ नागरिक सहभागी रहेको जुलुस माइतीघर मण्डला, नयाँवानेश्वर हुँदै तीनकुनेमा आएर समापन भएको छ ।

यता विभिन्न राजनीतिक दल र तीनका भातृसंगठनले पनि आज राजधानीमा दबाव तथा विजयउत्सव निकाली रहेका छन् ।
। नेकपा एमाले, माओवादी र नेपाली कांग्रेस लगायतका राजनितीक दलले आज विजयउत्सव मनाउन जनतालाइ आह्वान गरेका छन् ।

यसैबीच अहिले पनि संबिधान सभाको बैठक हुने अन्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडी नागरिक समाजको अगुवाइमा प्रदर्शन भइरहेको छ । आज देशका मुख्य सहर पोखरा, बुटवल, दमक, वीरगंज लगायतका ठाउँहरुमा प्रदर्शन भइरहेका छन् ।

धनगढीमा प्रहरी र स्थानीयवासीबीच झडप, तीन जनाको मृत्यु

Filed under: अपराध

धनगढीमा प्रहरी र स्थानीयवासीबीच झडप हुंदा तीन जनाको मृत्यु भएको छ । १५ जेठमा भएको घटनामा कैलालीको उर्मा गाविसका जगराम चौधरी, रामवृक्ष राना र अर्का एक जनाको मृत्यु भएको हो ।

माओवादीले पत्रकार लक्की चौधरीमाथि हातपात गरेकोबारे जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहदा उर्मा गाविसका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । घटनामा छ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले धनगढी नगरपालिकामा कर्फयु आदेश जारी गरेको छ ।

 

May 27, 2008

रत्नपार्कमा बम बिष्फोट

Filed under: अपराध

आज पनि राजधानीको मुटु मानिने रत्नपार्कमा अज्ञात ब्यक्तिहरुद्वारा बम बिष्फोट गराईएको छ । अपरान्हतिर गराईएको बम बिष्फोटमा परी एकजना ब्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाईतेको उपचारका लागि बीर अस्पतालमा भर्ना गरिएको छ ।

उक्त बिष्फोट हिन्दु अतिबादी मानिने रणवीर सेनाले गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। हिजो मात्र बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दक्षिणी प्रवेशद्वारमा पनि यसरीनै बिष्फोट गराईएको थियो ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com