April 29, 2008

हतारको यात्राको केही झझल्को

Filed under: घुमघाम

आज म स्याङजाको भ्रमण गरेर फर्केको छु । चुनावको निहु पारेर लामो स्याङजा वसाइपछि राजधानी फिरेको म एक आफन्तको विवाहकालागि आइतवार स्याङजाको मालुङगा पुगेको थिए । आउदो मंसिर अगाडी लगन नजुरेकोले वैशाखको अन्तिम लगन भएपनि नछुटाउने भनेपछि हतार हतारमा विवाह हुन लागेको रहेछ । ज्यादै नजिकका आफन्त भएकाले म पनि हतार हतार पुर्व तयारी र सुचना विना स्याङजा हान्निएको थिए । विहान कलेज-अफिस सकेर न्युरोडको सामान्य किनमेलपछि म आइतवार अपरान्ह दुइ वजेको वसमा पोखरातिर लागे । म चढेको माइक्रोवसले करिव ७ वजे पोखराको पृथवी चोक पुर्यायो । अन्तिम माइक्रोवस वालिङकालागि जादै रहेछ । त्यसैमा सवार भएर करिव पौने दशवजेतिर म वालिङ भकुन्डेका पुगे । वालिङमा खाना खाइवरी भाइ पुरषोत्तम पान्डेको वाइकमा चढेर पुरुषोत्तम र म लाग्यौ मालुङगा तिर । राती करिव १२ वजेतिर हामाी पुगियो विवाह घरमा । हतारको यात्रा भएकाले यात्रामा केही कठिनाइहरु आएका थिए ।

रात्रीकालिन यात्राका रोचकताहरुपनि उत्तिकै थिए । भ्रमण सकेर म आजै वेलुका राजधानी भित्रिएको छु । साथमा व्लगका पाठककालागि वाटोमा ल्ािइएका केही तस्विरहरु ।

सिद्धार्थ राजमार्ग अन्तरगत स्याङजामा पर्ने भालु पहाड मुनीको पहाड । देख्दा ज्यादै विकट लाग्ने यस पहाडमा केही स्वदेशी फिल्मको सुटिङपनि भएको छ ।

तनहु र कास्कीको बीचवाट वहेको सेतीनदी र नदी कटानवाट वढ्दै गएको पहिरो ।

वाटोमा पर्ने तंनहु छाङका खेतमा झुलेको हिंउदे धान ।

माइक्रोवसवाट लिइएको तंनुहुकै अर्को फांटमा धान झुलेको दृष्य । हतारमा भएकाले ठ्याक्कै कुन ठांउ भन्ने हेक्का भने रहेन ।

वधाइ गगन !

चर्चित युवा नेता गगन थापा वैवाहिक वन्धनमा वाधिएका छन । संविधानसभाको चुनाव नभएसम्म विवाह नगर्ने उनले वताएका थिए । कांग्रेस नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसीसंग विवाह गरेका हुन । अमेरिकामा एमफिल अध्यनरत २५ वर्षिया अन्जनासंग गगनको प्रेम सम्वन्ध रहेको र त्यसलाई आज औपचारिकता दिइएको हो । गगनलाइ सफल वैवाहिक जीवनको हाम्रो पनि शुभकामना ।

मजाक मन पराउने अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले आफ्ना सम्भावित उत्तराधिकारीको मजाक उडाएका छन् । संवाददातालाई दिइएको आफ्नो अन्तिम भोजमा उनले मजाक उडाएका हुन् । उत्तराधिकारीको मजाक उडाउनुअघि बुसले संवाददातालाई औल्याउँदै उनीहरू यसपटक दर्शकदिर्घामा नरहेकामा आफू छक्क परेको बताए । त्यस भोजमा रिपब्लिकन उम्मेदवार जोन म्याककेनको अनुपस्थितिका सन्दर्भमा बुसले भने, ‘सायद उनी आफूलाई मबाट टाढा राख्न चाहन्छन् ।’

मिडिया व्यक्तित्व,ख्यातिप्राप्त व्यक्तित्व र राजनीतिज्ञलाई राष्ट्रपतिले वाषिर्क भोज आयोजना गर्ने चलन १९२४ देखि चल्दै आएको हो ।

भोजमा बुसले प्रतिस्पर्धा गरिरहेका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन र बाराक ओवामाको समेत मजाक उडाए । हिलारी क्लिन्टनले १९९० को दशकताका बोस्नियामा जाँदा आफूले कसैले लुकेर चलाएको गोलीको सामना गर्नुपरेको प्रसंगमा बुसले सायद त्यही डरले हिलारी यस भोजमा नआएकी हुनसक्ने मजाक गरे । ओवामाका धर्मगुरुले अमेरिकाको आलोचना गरेको सन्दर्भमा बुसले ओबामाप्रति व्यंग्य गर्दै यति बेला सायद ओवामा चर्चमा छन् होला भने । बुसले आफ्नो यो अन्तिम भोजमा आफू अलि मजाकिया बनेको स्वीकार गरे ।

त्यस भोजमा युएस टेलिभिजनको लेट-लेट सोका प्रस्तोता क्रेग फर्गुसनले पनि बुसको मजाक उडाए । उनले ह्वाइट हाउस छोडेपछि बुसले धेरै बिदा हुने काम खोज्नु बुसका लागि उत्तम भएको सुझाव दिए । बुसले आफ्नो राष्ट्रपतित्वकालको धेरै समय ह्वाइट हाउसभन्दा बाहिर बिताएकामा उनको धेरै आलोचना भएको थियो । यसै सन्दर्भमा फर्गुसनले बुसलाई व्यंग्य गरेका हुन् ।

यसैगरी उनले उपराष्ट्रपति डिक चेनी सायद सरकारी निवासबाट हट्न सुरु गरिसकेको र उनको झिटीझाम्टा ओसार्न धेरै समय लाग्ने भन्दै व्यंग्य गरेका थिए । त्यस भोजमा लेखक सलमान रुस्दी, सिने कलाकार बेन एफलेक, जेनिफर गार्नर, जोन कुजाक, क्लेरे डेन्स तथा पामेला एन्डरसन, गायिका एस्ली सिम्प्सन, जोनास् ब्रदर्सलगायत हस्तीहरूको उपस्थिति थियो । अन्तिम भोज दिने यो चलन १९२४ मा राष्ट्रपति काल्भिन कोलिजले सुरु गरेका हुन् ।

प्रचण्ड र राजा ज्ञानेन्द्रबीच गोप्य वार्ताको तयारी

नेकपा माओवादी अध्यक्ष प्रचण्ड र राजा ज्ञानेन्द्रबीच भेटघाट गर्ने तयारी भइरहेको माओवादी स्रोतले बताएको छ । स्रोतका अनुसार यसै हप्ता भेट गर्ने टुंगो लागिसकेपनि स्थान र समय भने गोप्य राखिएको छ । अनेपेक्षित जीत हात पारेको माओवादीका अध्यक्ष प्रचण्डले सूत्रहरुमार्फत् राजालाई भेट्न चाहेको सूचना चुनावलगत्तै पठाएका थिए । शुरुमा गोप्य रुपमा भेट्ने भने पनि कुरा लुक्न नसक्ने र त्यसले गलत सन्देश जाने ठहरका साथ उनले खुलेआम भेट्ने घोषणा गरेको माओवादी स्रोतले बतायो । प्रचण्ड स्वयंले राजालाई नारायणहिटीबाट हटाउन आग्रह गर्न भेट्न चाहेको खुलासा गरेका छन् ।

भेटका लागि नव माओवादीका रुपमा परिचित पूर्व पञ्चहरुलाई खटाइएपनि त्यसले उल्लेख्य नतिजा ल्याउन नसकेपछि प्रचण्डले शाही गृहमन्त्री कमल थापालाई भेट्नुभएको थियो । राजतन्त्रको वकालत गर्दै चुनाव लडेका थापासंगको भेट राजाको भविष्य र राजा र प्रचण्डबीच भेटको चाजोपांजो मिलाउने विषयमै केन्द्रित थियो । भेटमा उठेका विषयवस्तुबारे थापाले राजालाई जानकारीसमेत गराइसकेको बुझिएको छ । तथापि भेट्ने स्थानबारे कुरा मिल्न नसक्दा हलो अड्किएको छ । स्रोतका अनुसार राजा नारायणहिटी दरबार बाहिर गएर प्रचण्डलाई भेट्ने पक्षमा छैनन् । भेट्ने स्थान र कल्चरल किङ रहनुपर्ने एजेण्डाबारे राजहठ कायमै छ । प्रचण्डचाहिं राजालाई दरबार बाहिर भेट्न चाहन्छन् । राजालाई सांस्कृतिक सम्मान र भत्ताबाहेक राजाको हैसियत नदिने प्रचण्डहठ कायमै रहेको विश्वस्तस्रोतले बतायो ।

दरबार बाहिर भेट्दा गद्यी त्याग्न लागेको सन्देश प्रवाह हुने र त्यसले आफ्ना शुभचिन्तकको मनोवल गिराउने भन्दै निकटस्थले राजालाई प्रचण्डसंग नारायणहिटीभित्रै भेट्न सुझाव दिएको बुझिएको छ । स्थानका बारे कुरा नमिल्दा राजालाई भेट्न आतुर माओवादीको इच्छा पूरा हुनसकिरहेको छैन । यद्यपि भेटका लागि भइरहेको गृहकार्य सकारात्मक मोडमा पुगेको र कुनै अप्रत्याशित घटना नभए आउंदो हप्ता राजा र प्रचण्डबीच भेट हुने दरबार स्रोतको भनाई छ ।

चुनाव अघि राजावादीको शक्ति आफ्नो हितमा प्रयोग गरेका माओवादीले त्यसपछि झनै साथ पाइरहेको छ । राजालाई नारायाणहिटीबाट हटाउन सक्ने नसक्ने प्रश्न तेर्सिइरहदा राजावादीसंगको भेटलाई माओवादीले तीब्र बनाएका छन् । राजाको परममित्र प्रभाकर शम्शेर राणा, दरबारका पूर्वसैनिक सचिव विवेककुमार शाह, पूर्व अञ्चलाधीश सूर्यबहादुर सेन ओली, नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रबहादुर सिंह, पूर्व डिआइजी अशोक श्रेष्ठ, सैन्यविद डा।इन्द्रजीत राईलगायतसंग प्रचण्डको नियमित सम्पर्क र भेट हुनेगरेको स्रोतले बतायो । राजासंग भेटको चांजोपांजो मिलाउन पनि यिनै व्यक्तिहरु सक्रिय छन् । त्यसमध्ये पनि प्रभाकर शम्शेर, विवेक शाह, राजेन्द्रबहादुर सिंह, अशोक श्रेष्ठ निकै सक्रिय छन् । उनीहरुले राजा र प्रचण्डबीच सम्पर्कका लागि पुलको काम गरिरहेका छन् ।

April 25, 2008

तत्कालको लागि म सबै किसिमका हिंसा त्याग्न सक्दिनं: प्रचण्ड

गएको दुई वर्षदेखि शान्तिप्रक्रियामा संलग्न नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उनको पार्टीले अझै सबैखाले हिंसा नत्यागेको बताएका छन्। नेकपा माओवादी संविधानसभाको चुनावबाट सबैभन्दा ठूलो दल बनेर सरकार बनाउने कसरतमा लागेको बेला उनको त्यस्तो भनाइ आएको हो।माओवादी अध्यक्ष प्रचण्ड राजनीतिमा हिंसाको प्रयोग लगायत माओवादीका कतिपय नीति प्रति सशंकित पश्चिमा देशका राजदूत एवं दातृ निकायका प्रतिनिधिहरुसंग सामूहिक भेट गरेपछि पत्रकारहरुसंग बोल्दै थिए।

संयुक्त राष्ट्रसंघको पुल्चोकस्थित कार्यालयको संयोजनमा बिहीबार आयोजित अन्तरक्रियामा पश्चिमा देशका राजदूतहरुलाई आफ्नो पार्टीको नीति प्रष्ट्याएर बाहिर निक्ले लगत्तै अध्यक्ष प्रचण्डले स्वदेशी तथा विदेशी पत्रकारहरुसंग कुरा गर्दै हिंसाको प्रयोग पूर्णरुपमा त्यागि नसकेको बताएका थिए।

उनले भने, "तत्कालको लागि म सबै किसिमका हिंसा त्याग्न सक्दिनं। तर हामी अहिलेको शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु-याउन चाहन्छौं, जसको माध्यमबाट हामी प्रतिक्रियावादी हिंसा अन्त गर्न चाहन्छौं।" अन्तर्क्रियामा सहभागी विभिन्न देशका राजदूत र दातृ निकायका प्रतिनिधिहरुले विशेषगरी माओवादीको शान्तिप्रतिको प्रतिबद्धताबारे उनीसंग प्रश्न उठाएका थिए।

सहयोग

एक्काइसौं शताब्दिका विज्ञान, प्रविधि र विभिन्न आर्थिक नीति प्रणाली प्रति आफ्नो पार्टि सचेत रहेको वताउने प्रचण्डले अब अन्तर्राष्ट्रिय समुदायले सहयोगको नयाँ प्रक्रिया थाल्ने विश्वास पनि व्यक्त गरे। उनले भने, "पश्चिमी संसारमा नेकपा माओवादीको बारे थुप्रै भ्रमहरुपनि छन् जस्तो हाम्रो शान्ति र बहुदलप्रतिको प्रतिबद्धताबारे। यो अन्तर्क्रियाबाट यस्ता कैयौं जिज्ञासा समाधान भएका छन् र अन्तर्राष्ट्रिय समुदायले नयाँ नेपाल निर्माणको प्रक्रियामा सहयोगको नयाँ प्रक्रिया शुरु गर्नेमा हामी विश्वस्त छौं।"

अन्तर्क्रियामा उपस्थित अमेरिकी राजदूत न्यान्सी पावेलसंग माओवादीलाई आतंककारी सूचीमा राखिरहेको विषयमा कुनै कुरा नभएको प्रचण्डको भनाइ थियो। उनले भने, "हाम्रो सामूहिक रुपमा भेट भयो अलग अलग रुपमा भएन, वहाँले प्रश्नपनि राख्नु भएन, नकारात्मक कुरा पनि गर्नु भएन, सकारात्मक कुरापनि गर्नु भएन। उहाँले अरुको कुरामात्र सुन्नु भयो।" "म के आशा गर्छु भने यो अन्तर्क्रियापछि अमेरिकाले आफ्नो नीतिमा पुनर्विचार गर्नेछ र एउटा सहज वातावरण बनाउने छ," प्रचण्डले भने।

आफ्ना वरिष्ठ सहयोगी डा बाबुराम भट्टराईसंगै अन्तर्क्रियामा आएका प्रचण्डले राजतन्त्रको अन्त्य संविधानसभाको पहिलो बैठकद्धारा गरिने कुरा फेरि दोहो-याए। सेना समायोजनको विषयमा सोधिएको एक प्रश्नमा उनले विशेष समिति मार्फत समायोजनको प्रक्रिया नयाँ संविधान लेख्ने कार्य संगसंगै अगाडि बढ्ने उल्लेख गरे। राष्ट्रसंघीय निकाय अन्मिनको म्याद थप्ने वा नथप्ने विषयमा अरु दलहरुसंग छलफल गरेर निर्णयमा पुगिने उनको भनाइ थियो।

चीनमा सबभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या गत फेब्रअरीमा २२ करोड १० लाख नाघेपछि उक्त मुलुक विश्वमै सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता बस्ने मुलुक बनेको सरकारी सञ्चारमाध्यमहरुले बिहीबार जनाएका छन् । यसअघि संयुक्तराज्य अमेरिका विश्वमा सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको मुलुक मानिन्थ्यो । सरकारी समाचार एजेन्सी सिन्ह्वाले सूचना उद्योग मन्त्रालयलाई उद्धृत गर्दै उक्त तथ्यांक प्रस्तुत गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । सन् २००७ को अन्त्यमा सार्वजनिक यस्तै तथ्यांकअनुसार चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या २१ करोड थियो । उक्त संख्या त्यति बेला अमेरिकाको तुलनामा ५० लाखले कम थियो । बेइजिङस्थित अनुसन्धान संस्था बीडीए चाइनले पनि गत महिना अमेरिकाको तुलनामा चीनमा इन्टरनेटका प्रयोगकर्ता बढेको जनाएको थियो । उक्त संस्थाका अनुसार सन् २००८ को अन्त्यसम्ममा चीनमा ‘वेब सर्फर’को संख्या २८ करोड पुग्नेछ । ‘इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भए पनि जनसंख्याको तुलनामा त्यो संख्या अति नै न्यून छ,’ मन्त्रालयलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । सन् २००७ को अन्त्यमा इन्टरनेट प्रयोगकर्ताको संख्या जनसंख्याको १६ प्रतिशत रहेको थियो । त्यति बेला विश्व जनसंख्याको तुलनामा इन्टरनेट प्रयोगकर्ताको अनुपात १९.१ प्रतिशत थियो । यसैगरी गत नोभेम्बरसम्ममा चीनमा मोबाइल फोनका प्रयोगकर्ताको संख्या ५४ करोड थियो । उक्त संख्या विश्वकै सबैभदा बढी हो । अनलाइन जनसंख्याको वृद्धिबाट चीन सरकार त्रसित भएको आरोप लगाइन्छ । बन्द समाज रहेको राष्ट्र चीनले स्वतन्त्र सुचनाको अधिकारलाई कुण्ठित पार्दै आएको मानवअधिकारवादीहरुको आरोप छ । राष्ट्रपति हु जिन्ताओले गत वर्ष इन्टरनेट शुद्धीकरण अभियानका लागि निर्देशन दिएपछि सूचनाको अधिकार थप कुण्ठित हुने आशंका बढेको हो । तर इन्टरनेटका माध्यमबाट सर्वसाधारणले विभिन्न जानकारी पनि हासिल गर्दै आएका छन् । उदाहारणस्वरुप गत शनिबार फ्रान्सले तिब्बतमामिला र ओलम्पिक खेललाई एकै स्थानमा मुछ्न खोजेको आरोप लगाउँदै हजारौं चिनियाँ नागरिकले सडकमा फ्रान्सविरोधी प्रदर्शन गरेका थिए । उनीहरुले प्रदर्शनको समय र स्थान पनि ब्लग र इन्टरनेटन पोर्टलको माध्यमबाट एकअर्कालाई जानकारी गराएका थिए । इन्टरनेटको सुविधा नभएको भए प्रदर्शनले यति ठूलो रुप लिन नसक्ने सूचनाप्रविधि विज्ञहरुले दाबी गरेका छन् ।

वाग्मती, फोहोरको डुंगुर र श्रृजना

मुलुक राजनैतिक शुद्धीकरणको अभियानमा अग्रसर भइरहदा मुलुकको राजधानी तिनकुने क्षेत्र भने दुर्गन्धित हुदै गएको छ । उपत्यका सभ्यताकी जननी वाग्मती नदीले वहावकालागि पर्याप्त मात्रामा पानी नपाउदा राजधानीको तिनकुने एरिया दुर्गन्धित वन्न पुगेको हो । मिन भवन र तिनकुनेलाइ जोड्ने वाग्मती पुल खतरामा परेको भन्दै वाग्मती ढल सुधार आयोजनाको पहलमा वाग्मती नदीको मिनभवन तिनकुने खन्डमा तार जाली लगाएपछि यस क्षेत्र फोहर मय भएको हो ।

अहिले सिनामगंल देखि तिनकुनेसम्मको वाग्मती नदीमा पानी देख्न पाइदैन विगतमा वाग्मती नदी वग्ने ठांउ अहिले फोहोरको डंगुरको थुप्रो भएको छ । तस्विरमा तपाइले देख्न सक्नुहुन्छ वाग्मती नदीमा फोहर थुपि्रएको छ भने उक्त फोहरलाइ वगाउने क्षमता अहिले खडेरीको वाग्मतीमा छैन । त्यसैत ढल मिसिएर दुर्गन्धित हुने वाग्मती अझ अहिले फोहोरको थुप्रोमा परिणत भएपछिको हविगत कस्तो होला म जस्ता वाग्मती किनारका वासिन्दाले भोगेको तितो यथार्थ हो यो । त्यसै त गर्मीको महिना त्यसमाथी झ्याल खोल्यो की आउने वाग्मतीको वासना अहिले घरमा वस्न मन पनि हुन छाडेको छ । अझ कति मित्रहरुले मलाइ व्लग अपडेट तथा राम्रा साहित्यिक श्रृजना हुन छाडेको गुनासो गरेका छन । मेरा शुभचिन्तकलाइ के थाहा म कुन हविगत वाट गुजि्रएको छु । छिटो पानी आओस र वाग्मतीको फोहरलाइ एकै निमेषमा सखाप पारोस भन्नुको विकल्प अहिले मसंग वांकी रहेको छैन । अनि वल्ल होला मिठा रचना र सामाग्रीको श्रृजना ।

श्रृजनाकालगि हरियाली,स्वच्छ हराभरा मौषम, सिमसिम पानी उपयुक्त हुन्छ । यस्तो दुर्गन्धमा म कसरी श्रृजना गर्न सकु । प्रख्यात वंगाली लेखक रविन्द्रनाथ टैगोरले आफ्ना अधिकांश रचना साउनको सिमसिम पानीमा झ्यालवाट वाहिरको हरियाली हेर्दै लेखेका थिए रे । टैगोरको स्तरका श्रृजना दिन नसकेपनि पाठकको मन वहलाउने सामग्री दिनपनि मलाइ हम्मे परेको माचोमा म प्रकृतीसंग पानीको प्रार्थना गर्दछु ।

समानुपातिकको सिट सार्वजनिक,माओवादीलाइ सय सिट

Filed under: समाचार

संविधानसभा चुनावमा ३३५ सीटका लागि भएको समानुपातिकतर्फको मतदानमा राजनीतिक दलहरुले पाएको मतका आधारमा निर्वाचन आयोगले दलहरुले पाएको सीट संख्या सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको नतिजा अनुसार २५ दलहरुले समानुपातिक प्रणालीबाट संविधानसभामा प्रतिनिधित्व पाएका छन् । समानुपातिकबाट पनि प्रत्यक्षमा जस्तै माओवादी पहिलो, नेपाली कांग्रेस दोश्रो, एमाले तेश्रो, मधेशी जनअधिकार फोरम चौथो र तराई मधेश लोकतान्त्रिक पार्टी पाँचौ स्थान पाएका छन् ।

योगले प्रकाशित गरेको नतिजा अनुसार, समानुपातिक प्रणालीबाट माओवादीले १००, नेपाली कांग्रेसले ७३, एमालेले ७०, फोरमले २२ र तराई मधेश लोकतान्त्रिक पार्टीले ११ जना संविधानसभामा पठाउन पाउनेछन् । यसैगरी, नेपाल कम्युनिष्ट पार्टी मालेले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, नेपाल कम्युनिष्ट पार्टी संयुक्तले ५, राजेन्द्र महतोको सदभावना पार्टीले ५, जनमोर्चाले ५ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ४ स्थान पाएका छन् । यस्तै, जनशक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले ३, राष्ट्रिय जनमुक्ति पार्टीले २, नेपाल मजदुर किसान पार्टीले २, नेपाल कम्युनिष्ट पार्टी एकिकृतले २, नेपाल सदभावना आनन्दीदेवीले २, नेपाली जनता दलले २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले २ स्थान पाएका छन् ।
संविधानसभामा एक स्थान मात्र पाउने दलहरुमा समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपा राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल र चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल छन् । निर्वाचनमा भाग लिएका ५४ मध्ये २९ दलले भने आवश्यक मत ल्याउन नसकेकाले संविधानसभामा सीट प्राप्त गर्न नसकेको निर्वाचन आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले बताए ।
राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा बैशाख १३ गते आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक दलहरुले आफूले चुनावअघि आयोगमा पेस गरेको बन्द सूचीबाट संविधानसभामा पठाउने ब्यक्तिको नाम ७ दिनभित्र आयोगमा बुझाउनुपर्ने बताइएको थियो ।

April 22, 2008

निर्वाचन पर्यवेक्षणको नौलो अनुभव

ऐतिहासिक संविधानसभा निर्वाचनमा पर्यवेक्षण गरेर मैले नौलो अनुभव सगालेको छु । मैले स्याङजा क्षेत्र नंवर ३ का चार वटा वुथको परयवेक्षण गरेको थिए । मैले पर्यवेक्षण गरेका वुथमा निर्वाचन शान्तीपूर्ण, निश्पक्ष र धांधली रहित भएको थियो । म संगै निर्वाचनको पर्यवेक्षणमा दिलिप पान्डे, अशोक पान्डे, माधव पान्डे, पुरुषोत्तम पान्डे, सुन्दर पान्डे र वलराम पान्डे लगायतले भुमिका निर्वाह गरेका थिए ।

विर्घा कट्टीको मतदान केन्द्रमा पहिलो मतदान गर्दै साथानीय वासी चन्द्रकान्त पान्डे ।

जीवनमै पहिलो पटक हुन लागेका संविधानसभाको निर्वाचनमा मतदान गर्न पंक्तिवद्ध मतदाता ।

जनता मावीको मतदान केन्द्र ।

मतदानको सन्तुष्टिमा एक मतदाता ।

मोहनदाइको विजय र्याली

मेरा गांउले दाइ मोहन पान्डेले ऐतिहासिक संविधानसभाकोे निर्वाचन जितेर हाम्रो सान वढाइ दिएका छन । उनले नेपाली कांग्रेसका तर्फवाट स्याङजा क्षेत्र नम्वर ३ को चुनाव जितेका हुन ।

उनले प्रतिद्धन्दी नेकपा एमालेका मुक्ति पाठक भन्दा १ सय ६२ मत वढि पाएर चुनाव जितेका हुन । ऐतिहासिक स्रविधानसभा निर्वाचनमा पान्डेले करिव १७ हजार मत ल्याएका थिए ।

समग्रमा निर्वाचन रमाइलो रहेको थियो । मोहन पान्डेले चुनाव जितेपछि वैशाख १ गते मेरो गांउ विर्घामा स्वतस्फुर्त रुपमा निस्किको र्याली र वैशाख २ गते मोहन पान्डे विर्घा आइसकेपछिको र्यालीका केही झलकहरु ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com