अवैध हतियार भित्र्र्याएको भन्दै माओवादीद्धारा राजिनामा माग
शेखर अधिकारी
शान्ति सम्झौता र निर्वाचन आचारसंहिता विपरित भारतबाट हतियार भित्राउने काममा संलग्न रहेको भन्दै नेकपा माओवादी अवध राज्य उपसमितिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको राजीनामा माग गरेको छ । रुपन्देही,कपिलवस्तु र नवलपरासी जिल्ला सम्मिलित अवध राज्य उपसमितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी प्रजिअ वाग्लेको राजीनामा माग गरेको हो । चुनावको मुखमा सहमतिविपरित संकास्पद ढंगले हतियार भित्राउनु त्यसबारे बुझ्न खोज्दा निर्वाचन सामग्री हो भनी ढांट्नुले संविधानसभा निर्वाचन विरुद्ध षड्यन्त्रको रुपमा आफ्नो पार्टीले लिएको अवध राज्य उपसमिति संयोजक एवं माओवादी केन्द्रीय सदस्य देबेन्द्र पौडलले बताउनुभयो ।
माओवादी कार्यकर्ताले बुटवल योगीकुटीमा नियन्त्रणमा राखेका हतियारसहितका दुई ट्रकलाई राति ३ बजे निशेधाज्ञा जारी गरी बलजफ्ती लान खोज्दा रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरी पत्रकारसहित आफ्ना एक दर्जन कार्यकर्ता घाइते भएकाले उनीहरुको उपचार र क्षतिपूर्तिको माग पनि माओवादीले गरेको छ । घटनाको विरोधमा रुपन्देही,कपिलवस्तु र नवलपरासी जिल्ला आज साझ ५ बजेसम्मका लागि बन्द गरिएको छ । यस्तै कपिलवस्तुमा केही दिन अघि माओवादी कार्यकर्ता शिवपुजन कुर्मीको हत्यामा कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायको प्रत्यक्ष संलग्नता रहेको भन्दै उनीसहितका दोषीलाई कारवाही गर्न पनि अवध राज्य समितिले माग गरेको छ । कुर्माको हत्यामा उपाध्यायको हात रहेको यथेस्ट प्रमाण आफूहरुसंग रहेको अवध राज्य समिति सचिव निर्मलकुमारले दावी गर्नुभएको छ । पत्रकार सम्मेलन लगत्तै माओवादीले बुटवलमा विशाल विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा लाठीमुङग्रीसहित सयौं वाइसीएल र माओवादी कार्यकर्ता सहभागी थिए । त्यसअघि बुटवलको राजमार्ग चौराहा,पुष्पलालचोक,अस्पताललाइन,अमरपथ,गोलपार्कका प्रहरी बिट जलाइदिएका थिए ।